साताभर नेप्से परिसूचक २१ अंकले बढेको छ। आइतबारदेखि बिहीबारसम्म २१ अंकले बढे पनि अघिल्लो साताको तुलनामा भने ११ अंकले मात्रै बढी हो। अघिल्लो साता कारोबार बन्द हुँदा १६ सय ४ अंकमा अडेको नेप्से यो साता बन्द हुँदा १६ सय १५ अंकमा कायम भएको छ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीहरुको कारोबार भएको छ। तीन अर्ब ३५ करोड रुपैयाँको सेयरहरु खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा १७ दशमलव ६४ प्रतिशत बढी हो।
गत साता १५८ कम्पनीहरुको दुई अर्ब ८४ करोड रुपैयाँको सेयर खरिद बिक्री भएको थियो। यस साता बैंकिङ २५, विकास बै.क २७, जलविद्युत २० र बिमा समूह ३२ अंकले उक्लिए भने फाइनान्स ३ र होटल समूह १२ अंकले ओर्लिएका छन्। उत्पादनमूलक समूह पनि झिनो अंकमा ऋणात्मक रह्यो। ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५ अंकले बढेको छ।
यस साता कारोबार रकमका आधारमा स्टाण्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो। उसको ३० करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड तथा सिभिल बैंकको ११ करोडको सेयर किनबेच भएको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन। यस साता ६ कम्पनीको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ। बैंक अफ काठमाण्डु, रिलायन्स फाइनान्स, डिप्रोक्स लघुवित्त, कृषि विकास बैंकको बोनस सेयर तथा एनएमबि माइक्रोफाइनान्स र सगरमाथा फाइनान्सको हकप्रद सेयर सूचीकृत भएको छ।