रोल्पामा शुक्रबार राति नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। झडपमा दुई जना वडासदस्य पदका उम्मेदवारसहित दुबै पार्टीका गरी ११ जना घाईते भएका छन्।
एमाले रुन्टीगडी गाउँपालिका वडा नं. ८ का वडासदस्य पदका उम्मेदवार कृष्णबहादुर बुढा र महिला सदस्य इन्द्रा कुमारी पुन घाइते भएका भएको नेकपा एमालेका रुन्टी गाउँपालिकाका अध्यक्ष उम्मेदवार बालाराम वुढाले जानकारी दिए।
घाईतेहरुको होलेरीस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। झडपमा एमालेका शान्तराज बुढा, धनकुमार बुढा, दीपक बुढा र हरीप्रसाद बुढा र माओवादी केन्द्रका कुमार पुन, प्रेम बुढा, कमल बुढा घाइते भएका छन्। यसैबीच माइती घर गएकी मनरुपा कुँवर र नेपाली काँग्रेसका भरत बुढा पनि उक्त झडपमा परी घाईते भएका छन्।
दुई पार्टीका बीच फोहोर पानीको विषयलाई लिएर झडप भएको हो। एमाले कार्यकर्ताहरु प्रचारप्रसार भ्याएर राति खाना पकाउँदै गर्दा स्थानीय रुद्रबहादुर बुढाले घरसँगै फोहोर पानी फालेपछि उत्पन्न विवाद उत्कर्षमा पुग्दा झडप भएको हो।
ढाले घर बाहिर फालेको फोहर पानी एमालेको भान्सामा परेको विषयमा झडप भएको नेकपा एमालेका निकट अनेमा संघकी रोल्पा जिल्ला अध्यक्ष ईश्वरी जिएमले जानकारी दिइन्।
उनले जानाजान आफूहरुको भान्सामा माओवादी केन्द्रका व्यक्तिले फोहोर पानी फालेपछि किन यस्तो गरेको भनी सोध्न खोज्दा उल्टै आक्रमण गरेको सेतोपाटीलाई जानकारी दिइन्।
तर फोहोर पानी फाल्ने रुद्रबहादुर बुढाले भने आफूले जानाजान उनीहरुको भान्सामा फाल्न नखोजेको दाबी गर्दै आएका छन्। ‘पानी फाल्न खोज्दा त्यहाँ पर्यो होला तर मेरो नियत उनीहरुको भान्सा खराब गर्नु थिएन,’ बुढाले भने। एकाएक एमाले कार्यकर्ता झगडा गर्न घरमै आएपछि झडपको स्थिति सृजना भएको उनले बताए।