स्पेनका एक युवा फुटबलरको पेनाल्टी किक हान्दा हद्यघातका कारण निधन भएको छ। गत आइतबार स्पेनको सेभिया नजिकै रहेको गिनेस नगरपालिकाको फुटबल मैदानमा १३ वर्षीय इडवार्डो टिराडो टाबारेजको हद्यघातका कारण निधन भएको हो। उनी कामास फुटबल क्लबबाट खेलिरहेका थिए।
पेनाल्टी हान्ने क्रममा उनको धडकन बन्द भएको थियो। उनलाई तत्कालै भिर्जेन डेल रोसियो अस्पताल भर्ना गरिएको थियो। जहाँ चिकित्सक उनको ज्यान जोगाउन असफल भए।
‘हामी किशोर खेलाडी इडवार्डे टिराडो टाबारेजको निधन भएको खबर सुनाउनु पर्दा निकै दुःख लागेको छ,’ कामास क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ।
उनको निधनको खबर सुनेर स्पेनिस फुटबलका ठूला क्लबका खेलाडी पनि चकित परेका छन्। रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले टाबारेजको निधनमा दुःख प्रकट गरेका छन्। उनले यो घटनाले आफू स्तब्ध भएको बताएका छन्।