दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सहभागि हुन मतदाता आ–आफ्नो घर फर्किएपछि बुटवल बजार सुनसान देखिएको छ।
लुम्बिनी अञ्चलको प्रमुख केन्द्र बुटवलबाट बिभिन्न जिल्लामा जाने मतदाताको केही दिनदेखि बसपार्कमा भिड बढेको थियो।
मंगलबार रुकुम, प्यूठान र दाङ बन्द आव्हान गरिएपनि साँझ पाँच बजेपछि गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा लगायतका जिल्ला जानेको बसपार्कमा भिड देखिन्थ्यो।
विप्लव नेतृत्वको नेकपा माओवादीले मंगलबार बन्द आव्हान गरेपछि टाढा जाने मतदाता पहिले नै गएपनि छिमेकी जिल्लाका भने मंगलबार साँझ फर्किएका हुन्।
त्यस्तै आइतबारदेखि शैक्षिक संस्था बन्द भएपछि शिक्षक, विद्यार्थी पनि विदालगत्तै फर्किसकेका थिए।
बुटवल बसपार्कमा भेटिएका मालिका गाउँपालिका ४ गुल्मीका धनीश्वर अर्यालले दुई दशकपछि अधिकार सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागि हुन पाउँदा खुसी लागेको बताए।
बुटवलमा व्यवसाय संचालन गर्दै आएका अर्यालले निर्वाचनको छुट्टै महत्व भएकोले व्यवसाय बन्द गरेरपनि जान लागेको बताए।
गुल्मीकै सुरज ज्ञवाली पनि नेतृत्वबिहिन स्थानीय तहलाई नेतृत्व स्थापित गर्ने निर्वाचनमा मतदान गर्न घर जान लागेका हुन्।
यता राजनीतिक दलले पनि मतदातालाई घरसम्म लैजान यातायातको व्यवस्था गर्दै आएका छन्।
पश्चिम नेपाल बस व्यवसायी संघका महासचिव जीवन कुमार बञ्जाडेले बुटवलबाट सबैभन्दा धेरै सवारीसाधन गुल्मी र अर्घाखाँची जाने बताए।
आइतबार र सोमबार मात्र नियमित रुटभन्दा दिनमा १ सयभन्दा धेरै बस दुई जिल्लामा पठाईएको उनले जानकारी दिए। त्यसैगरी पाल्पाको रामपुरमा पनि नियमितभन्दा दैनिक २५ वटा धेरै बस जाने गरेको बञ्जाडेले बताए।
तीनदिनमा मात्रै मतदाता लैजान करिब चार सय बढी बसहरु तीन जिल्लाका लागि छुटेको उनले जानकारी दिए। ठूला बससँगै जिप, भाडाका साना तथा निजी सवारीमा जाने मतदाताको संख्यापनि उल्लेख्य छ ।
मतदाता बाहिरिएपछि बुटवल बजार सुनसान नै बनेको छ।