चितवनको भरतपुर र रुपन्देहीको बुटवल सहर छेउ हुँदै दुई नदी बग्छन्, नारायणी र तिनाउ।
माथिबाट बग्दै आएका यी नदीजस्तै दुवै सहरमा पहाडबाट बसाइँ सरेका धेरै मानिस भेटिन्छन्। जसरी तिनाउभन्दा नारायणी ठूलो छ, त्यसैगरी पूर्वाधार र जनसंख्यामा बुटवलभन्दा भरतपुर ठूलो छ। बुटवल उपमहानगर हो, भरतपुर उपमहानगरभन्दा ठूलो महानगर।
राजनीतिक संस्कारमा भने ठूलो भरतपुरलाई सानो बुटवलले उछिनिदिएको छ। आफूभन्दा ठूलो र करिब १ सय २० किलोमिटर मात्र टाढा रहेको छिमेकी महानगरलाई बुटवलले लोकतान्त्रिक राजनीतिक संस्कारको गहिरो सन्देश दिएको छ– चुनावी परिणामलाई सहर्ष स्वीकार्ने।
भरतपुर पहिलो चरणमा वैशाख ३१ गते निर्वाचन भएर अहिलेसम्म मतपरिणाम सार्वजनिक हुन नसकेको महानगर हो। यो सहरले अहिलेसम्म नयाँ जनप्रतिनिधि पाएको छैन। लोकतान्त्रिक इतिहासमा मतपत्र च्यातिएको दोस्रो घटनाको साक्षी पनि बनेको छ। जेठ १५ गते भरतपुरमा मतगणना भइरहँदा च्यातिएको मतपत्रका विषयमा अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ।
जबकि, दोस्रो चरणमा असार १४ गते चुनाव भएको बुटवल उपमहानगरमा पनि भरतपुरजस्तै सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए। बुटवलका वडामा त कांग्रेस–माओवादी गठबन्धनमा राष्ट्रिय जनमुक्ति पार्टी पनि मिसिएको थियो।
यति हुँदाहुँदै बुटवलमा भरतपुरजस्तो मतपत्र च्यात्ने काम कसैले गरेन। बरु कांग्रेस–माओवादी गठबन्धनका पराजित उम्मेदवार खेलराज पाण्डे र जगतबहादुर पोखरेलले निर्वाचन परिणाम घोषणा भएलगत्तै निर्वार्चित मेयर शिवराज सुवेदी र उपमेयर गोमा आचार्यलाई फूलमाला लगाइदिए। अबिर घसिदिए।
बुटवल उपमहानगरको मतगणना क्रममा पहिलो दिन वडा नम्बर १ को नतिजाबाट कांग्रेसका पाण्डेले सुरुआती अग्रता लिएका थिए। त्यसपछि वडा नम्बर ११ सम्म एमालेका सुवेदीले पाण्डेलाई उछिन्दै गए। उनीहरूको मतान्तर २ देखि ३ हजारसम्म रह्यो। तैपनि पाण्डेको आशा मरेको थिएन। तिनाउ पारिका वडा नम्बर १२ देखि माथि पुग्दा नतिजा उल्टिनेमा उनी ढुक्क थिए। तर, उनले सोचेजस्तो भएन।
कमै उम्मेदवार यस्ता हुन्छन्, जसको अनुहारको रङमा चुनावको नतिजाले हर्ष वा विस्मातको लहर दौडाउँदैन।
खेलराज पाण्डे त्यस्तै निस्किए।
प्रतिस्पर्धी उम्मेदवारभन्दा लगातार पछाडि परे पनि उनको अनुहार सधैं उज्यालो रह्यो। मतगणनास्थलमा बसेर सबैसँग उसैगरी प्रस्तुत भइरहे, जसरी पहिले हुन्थे। मतपरिणाम आफू अनुकूल आओस्–नआओस् त्यसलाई सहजै स्वीकार गर्न उम्मेदवारी घोषणा भएपछि नै तयार रहेको उनको भनाइ छ।
बिपी कोइरालाको मेलमिलाप नीतिलाई आदर्श मान्दै आएकाले देशलाई संकट पर्दा लडेर होइन मिलेर जानुपर्ने आफ्नो सिद्धान्त रहेको उनी बताउँछन्। ‘बुटवललाई आर्थिक समृद्धिको बाटोमा लैजान राजनीतिक द्वन्द्व होइन, मिलेर जानुपर्छ,’ उनले सेतोपाटीसँग भने, ‘यही सोचाइले पनि मलाई निर्वाचन परिणाम स्वीकार गर्न सहज बनायो।’
त्यसैले त, बुधवार बिहान सुवेदीको जित सुनिश्चित भएपछि पनि उनले मतगणना स्थल छाडेनन्।
साँझ पाँच नबज्दै एमाले कार्यकर्ता मतगणना स्थलबाहिर फूलमाला र अबिर लिएर जम्मा भएका थिए। बाहिरको माहोल खुसियालीपूर्ण थियो। बाजाको तालमा एमाले कार्यकर्ताहरू नाचगानमा मस्त थिए। भित्रको दृश्यले भने सबैलाई भावुक बनाउँदै थियो। निर्वाचन अधिकृत भरतमणि पाण्डेले एमालेका सुवेदीलाई मेयर घोषणा गरेलगत्तै कांग्रेसका पाण्डेले उनलाई अबिर माला लगाइदिए। अंगालो मारे। सुवेदीको खुसीमा खुसी बाँडे। कार्यसफलताको शुभकामना दिए। र, बुटवलको विकासमा आफ्नो निरन्तर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे।
सुवेदीले पनि पाण्डेलाई अबिर लगाइदिए। माला लगाइदिएर अंगालो मारे। निर्वाचन बेला प्रतिस्प्रर्धीका रूपमा आमनेसामने उभिए पनि अब राजनीतिभन्दा माथि उठेर समृद्ध बुटवल निर्माणमा सहयोग र सहकार्य गर्ने बाचा गरे।
प्रतिस्पर्धी उपमेयरका बीच पनि यही क्रम चल्यो।
माओवादी केन्द्रका जगत पोखरेलले उसैगरी उपमेयर विजेता एमालेकी गोमा आचार्यलाई फूलमाला र अबिर लगाइदिएर अंगालो मारे। गोमाले पनि पोखरेललाई अबिर र माला लगाइदिइन्, अंगालो मारिन्।
यस्तो दृश्य देखेर त्यहाँ पुगेका एमाले कार्यकर्ता र शुभेच्छुकसमेत भावुक बने।
जगत त गोमाको व्यवहार र क्रियाशिलताबाट पहिलेदेखि नै प्रभावित थिए। चुनावी प्रचारका क्रममा एकदिन गोमाले जगतका बुवालाई भेटेर भनेकी थिइन्, ‘बुवा, बुटवलको उपमेयरमा दुई छोराछोरी उठेका छौं, छोरालाई अंश दिनुभएको छ, छोरीलाई एउटा भोट दिनुहोस्।’
बुटवलका व्यापारी चूडाबहादुर पोखरेललाई गोमाको यस्तो शैली र आत्मीयताले गम्भीर बनायो। बेलुकी आफ्नो चुनावी अभियानबाट फर्केका छोरा जगतलाई उनले भने, ‘छोरा, भोट त गोमालाई दिउँजस्तो लाग्यो।’
उपमेयरमा पराजित जगतले पनि नतिजा घोषणालगत्तै आफ्नो फेसबुकमा पोस्ट गरे– ‘जीवनमा लडिन्छ, तर लड्नु बेइज्जती होइन, लडेर उठन नसक्नु बेइज्जती हो। प्रतिस्पर्धामा हार–जित हुनु भनेको लोकतन्त्रको एउटा सुन्दर र सबल पक्ष हो। मन जित्नेले नै जगत जित्न सक्छ। मन र मत दुवै जित्ने प्रयास रहँदा रहँदै पनि मन जित्न शतप्रतिशत सफल रहेँ, तर मत जित्न कहीँ कतै असफल रहेँ। तथापि आगामी दिनहरूमा मन र मत जित्न निरन्तर रूपमा कोशिस रहने छ।’
‘म कहिल्यै हार्दिनँ– या त जित्छु या त सिक्छु ... निर्वाचन क्रममा मैले धेरै कुरा सिक्ने अवसर पाएँ, यसलाई मैले पुरस्कारको रूपमा ग्रहण गरेको छु। सबै मानिसको मन धमिलो हुँदैन, सबै मानिस धोकेबाज पनि हुँदैनन्। कहिलेकाहीँ तेल सकिएर दियो निभेको हुन सक्छ, हरेक समय हावा मात्र दोषी हुँदैन।’
प्रतिस्पर्धी राजनीतिक दलका उम्मेदवारहरूबीच चुनावी प्रचारकै क्रममा देखिएको सौहार्दता मतपरिणाम घोषणापछि पनि जारी रहनुले स्वच्छ प्रतिस्पर्धा र राजनीतिमा आपसी भाइचाराको सन्देश दिएका बुटवलका स्थानीय र पार्टी नेताहरूको भनाइ छ।