विगत केही समयदेखि लगातार आइरहेका बलात्कारसम्बन्धी समाचारहरूको पृष्ठभूमिमा हाम्रो समाज केही सूचकका हिसाबले कति निकृष्ट रहेछ, त्यो देखिइरहेको छ। साढे तीन वर्षका नानीसमेत गरेर गत आर्थिक वर्षमा १२ सय ४४ महिलाको बलात्कारसम्बन्धी उजुरी परेको सरकारी तथ्याङ्क छ।
सम्भवतः यो विशाल समुद्री हिमशिलाको दृष्टिगोचर टुप्पोजस्तो मात्र होला। किनकि, विद्यमान अनेक संरचनागत सामाजिक र प्रशासनिक व्यवधानहरूले गर्दा बलात्कारमा पर्ने असंख्य महिला र बालिकाहरूले उजुरी गर्न पनि पाएका छैनन् भन्ने अनुमान गर्न सकिन्छ।
सरकारी आँकडा अनुसार विगत केही वर्षमा बलात्कारका घटनाका उजुरी हरेक वर्ष १०% ले बढ्दै गरेको देखिएको छ। यो बलात्कारको दर नै बढेकाले हो वा पीडितहरूको आँट बढेकोले, कम्तीमा उजुरी गर्ने दर बढेकोले हो? त्यो स्पष्ट छैन। यति चर्चा हुँदा पीडकहरूले सजाय पाउने दर बढ्दैछ कि घट्दैछ भन्ने एउटा मुख्य तथ्याङ्क अझै अनुत्तरित नै छ। तर, विगत तीन वर्षको तथ्याङ्कबाट मात्रै पनि के स्पष्ट छ भने सरदरमा हरेक दुई दिनमा कम्तीमा एउटी दस वर्षमुनिकी बालिकाको बलात्कार भइरहेको छ।
बलात्कार पीडितहरूमा सुस्त मनस्थिति, अपाङ्ग बालिका वा नारीहरूको पनि जनसांख्यिक अनुपातभन्दा बढी उपस्थिति छ। केन्द्रीय बालकल्याण समितिको पछिल्लो चौमासिक प्रतिवेदन अनुसार प्रकाशमा आएका बालिका बलात्कार घटनामा आठ प्रतिशत सामूहिक बलात्कार रहेछन्।
कुनै समाज कति सुसभ्य छ भन्ने कुराको मापन त्यो समाजका सबैभन्दा शक्तिहीन, आवाजहीन नागरिकलाई गरिने व्यवहारबाट गर्न सकिन्छ। यस्तो समयमा ‘मैले त बलात्कार गरेको छैन’ भनेर हामी कोही पनि जिम्मेवारीमुक्त हुन मिल्दैन।
कवि भूपी शेरचनका थोरै परिवर्तित तलका पंक्तिमा आफैंले बनाएको समाजका प्रतिनिधिको रुपमा हामी सबैको ऐना देखिन्छजस्तो लाग्छ।
सधैं सधैं मेरो सपनामा
(नेपालका असंख्य असख्य बलात्कृत बालिका र नारीहरूको)
आँशुको एक ठूलो सागर बन्छ
जसको प्रत्येक लहरमा
एक लाश माथि उठ्छ
एक लाश तल डुब्छ
तर डुब्नुभन्दा अगाडि मलाई
प्रत्येक लाशले घृणाले हेर्छ ...!!
विगत केही हप्तामा विभिन्न पत्रपत्रिकामा नेपालमा बलात्कारका घटना किन भइरहेका छन्? बलात्कारका घटनामा राजनीतिक र प्रशासनिक क्षेत्रबाट के–के गरिनुपर्ने हो? भन्ने विषयमा धेरै लेख छापिए।
यी मध्ये धेरै लेखमा नेपालमा बलात्कारका घटना किन हुन्छन्? भन्ने विषयका केही टड्कारै देखिने आधारभूत सामाजिक कारणहरूको समेत चर्चा छैन। केही लेखमा उमेरअनुसार केटाकेटीलाई यौन शिक्षा दिइनुपर्छ भनिएको छ। त्यो बाहेक यो ‘विषवृक्ष’लाई सुकाउन समाजमा बस्ने हामी आम नागरिकले के गर्न सक्छौं? त्यसको चर्चा मैले कहीँ भेटिनँ।
म समाजशास्त्री हैन। तर, सामान्य विवेकले देखिने कुराहरू नै बलात्कार रोक्न महत्वपूर्ण छन्। म यहाँ तिनै उपायका बारेमा चर्चा गर्न चाहन्छु।
यो लेखको मुख्य जिकिर के हो भने बलात्कारका घटनामा सायद सबैभन्दा महत्वपूर्ण कारण हाम्रो समाजका यावत् व्यवहारमा र सामाजिक शक्ति–सम्बन्धमा नारीको स्थान दबित, अवहेलित हुनु नै हो। बलात्कारका घटना कम भएको साँच्चै हेर्न चाहने हो भने राजनीतिक वा प्रशासनिक क्षेत्रले कागजी रुपमा लैङ्गिक समानता दिएर वा बलात्कारीलाई कारबाही गरिदिएर मात्र हुँदैन। आम नागरिकले पनि सामाजिक सम्बन्ध र व्यवहारमा नै नारीको स्थान उठाएर पुरुषसँग सबै हिसाबले समान बनाउन पहल गर्नुपर्ने हुन्छ। यसको लागि तत्कालै गर्न सकिने कुरा प्रशस्तै छन्।
हाम्रो समाजमा तथाकथित शिक्षित परिवारमै पनि सानै उमेरदेखि छोरीहरूले आफ्ना दाजुभाइको दाँजोमा आफू दोस्रो दर्जाका सन्तान हौं भन्ने कुराको बोध गर्छन्। दैनिक जीवनमा परिवार, छर–छिमेकका मानिसले नारीमाथि गर्ने व्यवहारले उनीहरूको अवचेतन मनमा 'नारीवर्ग तल्लो दर्जाको' भन्ने छाप बसाल्छ। अनि अधिकांश छोरीहरू त्यस्तो शक्ति–सम्बन्धलाई स्वाभाविक ठानेर स्वीकार गर्छन्। आफ्ना अपेक्षा र व्यवहार पनि तदनुसार नै परिवर्तन गर्छन्।
अर्कोतिर, छोराहरूले पनि सानैदेखि आफ्नो स्थान आफ्ना दिदीबहिनी भन्दा माथि छ भन्ने बुझ्दछन्। पुरुषवर्गको स्थान र अधिकार पनि त्यसैगरी समग्र स्त्रीवर्ग भन्दा माथि छ भन्ने ग्रहण गर्छन्। त्यसैसँग अभ्यस्त हुन्छन्। यस्तो शक्ति–सम्बन्ध परिवार र छर–छिमेकमा मात्र हैन, सम्पूर्ण समाज, राज्य, धर्म, परम्परा, राज्य प्रशासनका प्रतिनिधि पात्रको कार्यशैलीमा लगातार प्रतिबिम्बित भइरहन्छ। त्यसले महिलालाई मनोवैज्ञानिक रूपमै हतोत्साहित गराउँछ भने पुरुषवर्गलाई नारीको सापेक्षमा सशक्तिकृत गराउँछ। थोरै सामान्यीकरण गरेर भन्दा, त्यही अन्यायपूर्ण शक्ति–सम्बन्धको सरदरभन्दा विकृत स्वरुप नै कालान्तरमा बलात्कारको रुपमा प्रकट हुने हो।
बालिका वा बयस्क नारीलाई कुनै पुरुषदेखि खतराको पूर्वाभास हुँदा पनि सम्भावित आक्रमणबाट बच्न उनले के–के सावधानी अपनाउन सक्छिन्? क–कसलाई गुहार्न सक्छिन्? आक्रमणकारीलाई आफैंले कसरी प्रतिकार गर्न सक्छिन्? त्यो पनि आक्रमणकारी पुरुष र पीडित नारीका मनोविज्ञानले कसरी काम गरेको छ, त्यसमा धेरै निर्भर हुन्छ।
नेपालमा कुन–कुन जातीय वर्ग वा क्षेत्रमा बलात्कारको दर कति छ भनेर समाजशास्त्री र अन्य अध्येताले तथ्याङ्क देखाएर लेखाजोखा गरिदिएका छैनन्। कतिपय क्षेत्र वा समुदायमा प्रहरी प्रशासनप्रतिको अविश्वास, लोकलाज वा प्रतिहिंसाको डर विभिन्न कारणले अधिकांश बलात्कारका घटनाबारे उजुरी नै नपरेका होलान्।
नेपालभित्रै नयाँ ठाउँमा चिकित्सक वा सामाजिक कार्यकर्ता भएर नयाँ भुमिकामा पहिलोचोटी जानेहरू भेटिएका बलात्कारपीडितको संख्या कल्पनै नगरेको सुनाउँछन्। सुदूरपश्चिम नेपालको साहित्य मात्र पढ्दा पनि त्यस क्षेत्रमा बलात्कारका घटना कति प्रचुर होलान् भन्ने आभास हुन्छ। तर, हाम्रा समाज विज्ञानका अध्येताहरूले विभिन्न क्षेत्र र समुदायका महिलाको नाम नखुलाई सजिलै गर्न सकिने सर्वेक्षण पनि गरेको थाहा पाइएको छैन। पत्रपत्रिकाका समाचारमा उल्लेखित पीडक र पीडितको थर हेर्दा अधिकांश बलात्कारका घटनामा पीडक र पीडित दुबै हिन्दु वर्ण सम्प्रदायभित्र पर्ने देखिन्छ। त्यो पनि खस समूह वा मधेसी समूहका कथित उच्च जातदेखि दलितसम्मका बढी भएको देखिन्छ। बलात्कारको दर सम्भवतः यी समुदायको जनसांख्यिक अनुपातभन्दा निकै बढी छ। छोरीमान्छेको स्थानभन्दा परिवारमा अलि उच्च रहने शेर्पा, थकाली, राई, लिम्बू आदि समूहमा यी समूहको जनसांख्यिक अनुपातभन्दा धेरै कम मात्र बलात्कार हुन्छ कि जस्तो देखिन्छ।
बलात्कारको कहरले विक्षुभ्द छु भन्ने सबै नेपालीले आफ्ना धर्म वा सम्प्रदायमा, आ–आफ्नै घरका बारेमा बिचार गर्नुपर्छ— पुरुषको दाँजोमा नारीलाई दबाएर राख्ने साधन केकस्ता छन्? तिनलाई सुधार्न के–के गर्न सकिन्छ?
तिनका अनगिन्ती उदाहरण छन्। तीमध्ये तीन असाध्यै निकृष्ट उदाहरण छन्, तिनको मात्र यहाँ चर्चा गर्छु।
पहिलो, गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचानपछि गरिने गर्भपतन गैरकानुनी हुँदाहुँदै पनि यो हाम्रो देशमा प्रशस्त संख्यामा भइरहेको छ भन्ने थुप्रै आँकडाले पुष्टि गरेका छन्। केन्द्रीय तथ्याङ्क विभागको प्रक्षेपण अनुसार यो देशमा अहिले १२१ छोरा जन्मिँदा मात्र १०० छोरी जन्मिन्छन्। थापाथलीस्थित प्रसूति गृहमा सरदरमा ५४ प्रतिशत् छोरा र ४६ प्रतिशत् छोरी जन्मिन्छन्। त्यस्तै असमान दर सबै प्रदेशका अस्पतालमा वर्षौंदेखि कायम छ। लैङ्गिक असमानताको यस्तै प्रवृत्ति कायम रहिरहे देश चाँडै जटिल समाजशास्त्रीय उल्झनमा फस्ने छ। तर, अहिले नै पनि अभेद्य नैतिक समस्या उठिसकेको छ। स्त्रीलिङ्गी भ्रूणहत्याको यस्तो पापको भारी कुन समाजले नैतिक रुपले थेग्न सक्छ? कुन समाजले यस्ता बोझ बोक्दै बीचमै बिशृङ्खलित नभई शान्ति र समुन्नतिको सभ्यतासम्मको यात्रा पूरा गर्ने आश गर्न सक्छ?
हाम्रा छोरीहरूले लिङ्ग पहिचानपछि स्त्रीलिङ्गी भ्रूणहत्या हुन्छ भन्ने जब थाहा पाउँछन्, उनीहरूले यो समाजमा आफ्नो स्थानलाई कसरी बुझ्छन्? आफूप्रति समाजको अपेक्षा, सम्मान कस्तो रहेछ भन्ने बुझ्छन्? त्यस्तै, छोराहरूले के बुझ्लान्— उनीहरूको आफ्नो स्थान र नारीहरूको दर्जाको बारेमा? छोराहरूलाई पुरुष र नारी समान हुन् भनेर तपाईंले वा सरकारले बताउँदैमा उनीहरूले नारी समान हुन् भन्ने मान्लान्?
यो समस्या यति व्यापक छ कि हामी सबैले लिङ्ग पहिचानपछि भ्रूणहत्या गर्ने वा गर्न चाहने कोही न कोहीलाई चिन्छौं। वा तिनको बारेमा सुनेका छौं होला। तर हामी मध्ये कतिले उनीहरुमाथि औला उठाउछौं?
नैतिक आत्मसम्मान नगुमाएका नागरिक हौं भनेर गर्व गर्न चाहने हामी सबैले त्यस्ता बाबु–आमालाई सम्झाउन कोसिस गर्नुपर्छ। नमानेर अपराध गरे भने तिनलाई र भ्रूणको लिङ्ग पहिचान गरिदिने चिकित्सकलाई सजाय दिलाउन मद्दत गर्नुपर्छ। सरकारले अनेक ‘स्टिङ अपरेशन’ गरेर त्यस्ता पात्रलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ।
जन्मदरको आँकडा नै यस्तो असमान हुँदा भ्रूणको लिङ्ग पहिचान गरिदिने खराब डाक्टर एक-दुई जना मात्र हुनै सक्दैनन् भन्ने सजिलै बुझिन्छ। नेपाल चिकित्सक संघ र नेपाल रेडियोलोजिस्ट एसोसिएसनले समग्र चिकित्सकको, विशेष गरी रेडियोलोजिस्टहरुको, व्यावसायिक मर्यादा र नैतिक साखमा नै प्रश्नचिह्न उठ्ने यस्तो जघन्य अपराधको शृंखलालाई रोक्न कम्तीमा समस्या रहेको स्वीकार गर्नुपर्छ। आफ्नो समूहका दोषी चिकित्सकलाई पहिचान गरी कारबाही गर्न सरकारलाई सहयोग गर्ने तत्परता देखाउनुपर्छ, दवाव दिनुपर्छ।
दोस्रो, हाम्रो समाजमा नारी भनेका वस्तु वा पुरुषका ‘भोग्या’ मात्र हुन् भन्ने बिम्व अनेकन् रुपमा सर्वत्र देख्न सकिन्छ। नारीलाई दोस्रो दर्जाका बनाउने कारकहरूको बारेमा पहरेदारी र खबरदारी गर्नुपर्ने जिम्मेवारी संचार जगतको पनि हो। तर सञ्चारजगत् आफैं नारी वा नारीका अङ्गलाई वस्तुको रुपमा देखाउँछ। कतिपयले त्यसैलाई कमाउने धन्दा बनाउँछन्। पत्रिकामा बलात्कारको विरोधमा सम्पादकीय लेखिएकै दिन अर्को पेजमा नारीका अर्धनग्न तस्वीर राखिएका हुन्छन्, जबकि ती तस्विरको सँगै लेखिएको समाचारसँग कुनै तादात्म्य हुन्न। त्यस्तो दुईजिब्रे चरित्र सञ्चारजगत्ले नियन्त्रण गर्न सक्नुपर्छ।
केही दशकअघिका बलिउडका हरेकजसो चलचित्रमा कम्तीमा एउटा बलात्कारको ‘सिन’ राखिन्थ्यो। सायद, दर्शक र आम्दानी बढाउने अपेक्षामा। केही यस्ता अभिनेता थिए, जो धेरै चलचित्रमा बलात्कारीको भूमिका खेल्थे। उनलाई पत्रिकाले ‘रेप स्पेशलिस्ट’ भनेर भाउ दिन्थे, अन्तर्वार्ता छाप्थे।
पछिल्ला भारतीय चलचित्रमा सिधै बलात्कारका दृश्य कम राखिन्छन्। तर अचेलका निर्देशक र निर्माताहरूले पनि महिलालाई उपभोग्य वस्तुका रुपमा प्रस्तुत गर्ने चलाखीपूर्ण उपाय निकालेका छन्। अचेलका हरेकजसो चलचित्रमा 'आइटम गीत'मा कथानकसँग पटक्कै सम्बन्ध नभएका अर्धनग्न नारी पात्र ‘आइटम गर्ल’ को रुपमा प्रस्तुत हुन्छन्। नारीको शरीरलाई ‘आइटम’ वा वस्तुकै रुपमा पस्कने नयाँ तरिका हो यो।
नेपाली चलचित्रले पनि ठ्याक्कै त्यही प्रवृत्तिको सिको गरेका छन्। नेपाली र भारतीय चलचित्रमा र टेलिभिजन सिरियलमा पनि पुरुष पात्रले नारी पात्रलाई खुलेआम सडकमा पीछा, छेडखान र अवहेलना गरेको देखाइन्छ।
त्यसले ती चलचित्र हेर्ने सानै उमेरदेखिका पुरुष र महिला दर्शकको मानसमा त्यस्तो व्यवहारलाई सामान्यीकरण गरेर ग्राह्य बनाइदिन्छन्।
यसरी हाम्रा सञ्चार सामग्री, श्रव्य–दृश्य मनोरञ्जनका निर्माता, व्यापारीहरूले नारीका अङ्गलाई उपभोग्य वस्तु र स्वयं नारीलाई पुरुषहरूको ‘भोग्या’को रुपमा समाजमा स्थापित गराइराख्ने प्रवृत्तिले अन्ततः शारीरिक हिंसालाई सामान्यीकरण गराउने भूमिका खेलिरहन्छ। यसप्रति आफ्नो भूमिकाको अंशको जिम्मेवारी लिन र आफ्ना प्रस्तुतिप्रति संवेदनशील हुन लगाउन पनि हामी आम नागरिकको कर्तव्य हुन आउँछ।
सबै मिलेर नारीलाई गलत चित्रणका गरिएका सामग्रीका बारेमा प्रचार गरिदिनुपर्छ। पत्रिकाका सम्पादक, टेलिसिरियल, चलचित्रका निर्देशक, निर्माताहरूलाई लज्जाबोध गराउनसक्नु पर्छ। समग्र समाजले आफ्नो असन्तुष्टिको बारेमा उनीहरूलाई सचेत गराउन सामाजिक सञ्जालमार्फत् सजिलो पनि छ। समाजका सदस्यले विभिन्न माध्यमबाट शालीन रुपले साँच्चै सशक्त विरोध गरे भने निर्माता, निर्देशकहरूले व्यापारिक मुनाफा नै खतरामा पर्ने देख्नेछन्। पर्दामा नारीको चित्रणमा सुधार हुने छ।
तेस्रो, हाम्रो समाजमा लैङ्गिक असमानता सधैंको लागि कायम राख्न सक्ने एउटा प्रमुख अस्त्र र असमानताको मार्मिक प्रतीक हो — खस र मधेसी सम्प्रदायमा रहेको महिनावारी बार्ने प्रथा। 'स्यानिटरी प्याड' सजिलै पाइने सहरी क्षेत्रमा पनि यो प्रथा परम्परा वा धर्मको नाममा अधिकांश घर–परिवारमा जरो गाडेर बसिरहेको छ।
कतिपयले फरक ढंगले तर्क गर्ने गरेका छन्— छोरी–बुहारीले घरभित्र कमारा–कमारी जसरी काम गर्नुपरेको छ। रक्तश्राव भइरहेको बेला यसले महिनामा दुई–चार दिन राहत त दिन्छ, विरोध नगरौं भनेको पनि सुनिन्छ। यस्तो प्रथाले नारीलाई र हुर्कँदै गरेका छोरीहरूलाई नारीको शरीर पुरुषको समान होइन भन्ने संदेश जान्छ। यो विकारले भरिएको छ, अछुत हुन्छ र नारीले पुरुषसँग दाँजिन हुँदैन, एउटा कुनामा अलग्गै बस्नुपर्छ भन्ने कुरा अपराधीलाई श्रम शिविरमा पठाएर प्रशिक्षण गरेझैं गर्छ। अनि ती छोरी वा नारीलाई आफू पुरुषसँग समान हुँ, हुन सक्छु भन्ने आत्मविश्वास कहिल्यै पनि नआउन सक्छ। अझ आफू तल्लो श्रेणीकै रहेछु भन्ने उनीहरूको मानसमा बस्न सक्छ। नारीलाई त्यस्तो व्यवहार गरेको सानैदेखि देखेका पुरुषहरूले पनि नारी आफू समान होइनन्, हुन सक्दैनन् भन्ने ग्रहण गर्छन्। यो नै लैङ्गिक असमानतालाई चिरस्थायी बनाउन पर्याप्त छ।
छाउपडी प्रथाको बारेमा चर्चा पर्याप्त भएका छन्। तर, सहर–बजारका ‘तथाकथित’ सुशिक्षित परिवारमा रहेको छाउपडीको यो अर्को रुपको चर्चा भएको छैन। मध्य र सुदूरपश्चिम नेपालको छाउपडी प्रथा तबसम्म नहराउने पक्का छ, जबसम्म सहर–बजारका ‘सुकिला मुकिला’हरूले आफ्नो घरमा छाउपडी बन्द गर्दैनन्।
अचेल कमसेकम सहर–बजारमा केही आधुनिक शिक्षाको प्रभावले र केही बढ्दो संख्यामा विदेश भ्रमण र बसोबास गर्न थालेका नेपाली नारीमा बदलाव आउन थालेको छ। यो प्रथा साँच्चै गलत हो र यसलाई निरन्तरता दिनुहुँदैन भन्नेहरूको परिवर्तनकारी संख्या तयार भइसकेको छ। सहर–बजारका सचेत नागरिकले साँच्चै कल्पनाशील भएर सामूहिक रूपले अभियान चलाउने हो भने कम्तीमा सहर–बजारका घरबाट यसलाई हटाउन गाह्रो हुँदैन।
सोचौं त, सहरी क्षेत्रका सबै किशोरी र नारीहरूले एकै स्वरले यसो भनून्। हामी यो आततायी प्रथा मान्दैनौं। ज–जसलाई यो प्रथा चाहिन्छ जस्तो लाग्छ उनीहरूसँग शालिन र तार्किक बहस गर्न हामी तयार छौं। जानकारी नहुनेहरूलाई महिलाको प्रजनन् प्रणालीको प्राकृतिक चक्रको बारेमा बुझाउन पनि हामी तयार छौं। उनीहरूलाई नवीन विषयवस्तु र दृष्टिकोणलाई पर्गेल्न र बुझ्न केही समय चाहिन्छ भने त्यो दिन पनि तयार छौं। तर, अब यसरी सधैं थुनिएर बस्न हामीलाई मान्य छैन। एउटा निश्चित् दिनदेखि (जस्तै, २०७६ को वैशाख १ गते देखि) हामी देशभरका छोरी चेलीले महिनावारी बार्न बन्द गर्नेछौं।
एक-दुई छोरीले एक्ला एक्लै आफ्ना घरमा मात्र यसो भने भने केही परिवर्तन नहोला। तर सबै छोरीचेलीले समवेत स्वरमा, देशभर लहर उर्लने गरी एकैचोटी यसो भने भने कम्तीमा सहर–बजारका अधिकांश छोरीचेलीले यो अन्यायबाट मुक्ति पाउँथे।
त्यस्तो देशव्यापी सामूहिक अभियान ट्विटर, फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत् अगाडि बढाउन अचेल धेरै सजिलो भइसकेको छ। त्यस्तो काम हुन सक्यो भने देशभरका नारीको स्थान उकास्नको लागि कति धेरै वेग र शक्ति मिल्छ होला। त्यस्तो अभियानले सिर्जना गर्ने लहरले सहर–बजारका मात्र हैन, गाउँघरका महिलालाई पनि अहिलेसम्म नपाइएको नैतिक साहस र आडभरोसा प्राप्त हुनेछ।
मननयोग्य कुरा के भने गाउँघरमा मात्र हैन, सहर–बजारका पनि छोरीचेली एक्ला–एक्लै यो अन्यायले छटपटाइरहेका छन्। तर, त्यो छटपटीलाई सामूहिक रुप दिइयो परम्परावादी सोच राख्ने वर्ग कमजोर हुनेछ। महिनावारी बार्ने प्रथाबारे आवाज नागरिककै तर्फबाट, त्यो पनि छोरीचेलीबाटै उठ्यो भने, त्यो बढी प्रभावकारी हुनेछ।
यसमा सरकारले पनि ठूलो भूमिका निभाउन सक्छ। देशका ग्रामीण क्षेत्रमा केटा र केटीको छुट्टाछुट्टै चर्पी हुन्न। आर्थिक रूपले विपन्न वा दुर्गम क्षेत्रमा स्यानिटरी प्याड पनि उपलब्ध हुन्न। त्यहाँ छोरीचेलीले हरेक महिना पाँच–सात दिन स्कुल जान पाउँदैनन्। अन्ततः पूरै हतोत्साहित भएर कतिपयले विद्यालयको पढाइ नै छोड्छन्। यस्तो समस्याप्रति सरकार संवेदनशील हुन जरुरी छ।
सरकारले कम्तीमा सबै विद्यालयमा छात्र र छात्राको लागि छुट्टाछुट्टै शौचालय बनाउने नियम बनाइदिने, दुर्गम क्षेत्रमा छात्राहरूलाई स्यानिटरी प्याड विद्यालयबाटै निःशुल्क वितरण गराउने हो भने त्यसले आम रुपमा अत्यन्तै सकारात्मक सन्देश जान्छ।
सारांशमा, हामीले ‘दोषीलाई कारबाही गर’, ‘बलात्कारीलाई फाँसी दे’ भनेर लेख लेख्ने, नारा लगाउने, जुलुस गर्नेजस्ता प्रतिक्रियात्मक गतिविधिले मात्र बलात्कारका घटना कम हुने छैनन्। नारीलाई पुरुषभन्दा तल्लो दर्जामा राख्ने, नारीका अङ्ग र शरीरलाई उपभोग्य वस्तुको बिम्व बनाउने, नारीप्रतिको दुर्व्यवहार र हिंसालाई सामान्यीकरण गर्ने, नारीको शरीर वा व्यक्तित्वलाई पुरुषको नियन्त्रणमा राख्ने सम्पूर्ण संरचनागत पक्षहरू पहिल्याई एक–एक गरी सुधार्ने कामले मात्र बलात्कारका घटना कम हुनेछन्।
यो सजिलो छैन। तर, यो विकराल बिषवृक्षलाई लर्तरो प्रयासले मात्र लडाउन पनि सकिँदैन। जस–जसलाई महिनावारी बार्ने परम्परा राख्नैपर्ने जस्तो लाग्छ वा आर्थिक मुनाफाको लागि पत्रपत्रिका, चलचित्रमा नारीलाई अर्धनग्न देखाउनु व्यावसायिक, अभिव्यक्ति स्वतन्त्रताको लागि महत्वपूर्ण हुन् जस्तो लाग्छ, उनीहरूले पनि मनन् गर्नु जरुरी छ— हेर्दा मामुली लाग्ने त्यस्तै चलनले नारी दमन र अन्ततः बलात्कारजस्ता दुष्कर्मको बढोत्तरी भइरहेको छ।
छोराका बाबु–आमाले पनि सानैदेखि आफ्नै व्यवहारको उदाहरणले नारीहरूसँग समानताको व्यवहार गर्न सिकाउनु पर्छ। छोराहरूलाई केटी साथी र अन्य नारीलाई कुनै पनि प्रकारले होच्याउने वा सताउने काम गरिस् भने सह्य हुने छैन भनेर बुझाउनुपर्छ। आफैं ठीक–बेठीक छुट्याउन नसक्ने, उमेरले काँचा केटाकेटीले इन्टरनेटमा पोर्नोग्राफी हेर्न नपाउन् भनेर पनि घरको वाईफाई र कम्प्युटरमा ‘अभिभावकीय नियन्त्रण’ स्थापित गर्न सक्नुपर्छ।
सायद माओले भनेका हुन्, नारी स्वतन्त्रता भनेको वास्तवमा उनीहरूले आर्थिक स्वतन्त्रता प्राप्त गरेपछि मात्र सम्भव छ। तर, त्यो अवस्थासम्म नपुगुञ्जेल पनि हामीले समाजका जिम्मेवार सदस्यको रूपमा गर्ने काम धेरै छन्। धेरै गर्न सकिन्छ।
लेखक पेसाले चिकित्सक हुन्।