मलाई सल्लाका रुखहरू हेर्दै तिनका सरसराहटमा हराउन मन लाग्छ। आकाशमा उड्ने बादल पछ्याउँदै हिँड्न मन लाग्छ। प्रकृतिसँग मेरो मन रमाउँछ। उसको काखमा म कहीँ नपाइने शान्ति पाउँछु।
हिमालसँग त झन् म सानैदेखि लोभिएकी थिएँ। सगरमाथाका प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ शेर्पाले प्रयोग गर्नुभएको टेन्ट हाम्रो घरमा थियो। उहाँहरूले विपीबा (विपी कोइराला) लाई दिनुभएको। त्यो टेन्ट हामीले छतमा राखेका थियौं। सानामा त्यो टेन्टमा खुब खेल्थ्यौं। सानैदेखि मेरो मनमा सगरमाथाको एउटा चित्र बसेको थियो। त्यो चित्र नियाल्दै म सोच्थेँ- सगरमाथालाई एकदिन म नजिकबाट हेर्छु।
म लामो समय नेपालबाहिरै बसेँ। त्यसैले मलाई जहिले पनि आफ्नो देश कहिले हेर्न पाउँछु भन्ने लाग्थ्यो। मेरा साथीहरू, छिमेकी, विदेशी नेपालका कुना-कुना डुलेर आएका तस्बिर राख्थे। मलाई आएर आफ्नै देशबारे सुनाउँथे। त्योबेला मलाई भने ‘कहिले आफ्नो ठाउँ घुम्न जाने होला?’ भन्ने हुन्थ्यो।
यसपालि त्यो मौका जुर्यो। मेरा स्कुलका साथीहरूले प्रस्ताव राखे, ‘एभरेष्ट बेस क्याम्प जाम्।’
त्यो सुन्दा म अलिकति उत्साहित भएँ। केही डर पनि लाग्यो। मेरो क्यान्सरको इतिहास छँदै थियो, त्यहीमाथि उमेर। सकुँला कि नसकुँला भन्ने डर थियो। तर, म यो अवसर गुमाउन चाहन्थिनँ। केटाकेटी बेलादेखि नै मलाई एभरेष्टको भूत जो सवार थियो।
अनि मैले आँटे।
मेरा साथीहरू, डकुमेन्ट्री बनाउनेहरू र नेपाल टुरिजम बोर्डका केही साथीभाइसहित करिब १३ जनाको टोली बेस क्याम्पका लागि हिँड्यौं।
आठ दिनको यात्रामा लुक्लाबाट हिँड्नुपर्ने थियो। यात्रामा हिमाल, पहाड, खोला लगायतका अद्भूत दृश्यहरू हेर्न पायौं।
हामी हिँडेको बाटो गुराँसको जंगल रहेछ। मैले रातो रङको मात्रै गुराँस देखेकी थिएँ। यसपालि गुलाबी र सेतो रङको पनि देख्न पाएँ। तर पूरा जंगलको सौन्दर्य देख्न पाइनँ। हामी अघि नै हिँडेछौं। केही महिनापछि जाने हो भने गुराँसको मनमोहक जंगलको बाटो हिँड्न पाइने रहेछ।
सोच्नुस् त! सोता गुराँसले ढकमक्क ढाकिएका बाटो!
यो यात्रामा मैले धेरै कुरा सिकेँ। त्योमध्ये एक हो ‘याक चिज’। हामीले भन्दै आएको याक चिज त खासमा ‘नाक चिज’ रहेछ। किनकी याक भनेको त भाले हो।
यो कुरा थाहा पाउँदा निकै रमाइलो र हाँसो लागेको थियो।
त्योबाहेक त्यहाँको संस्कृति, त्यहाँ बस्ने मान्छेहरूले पनि लोभ्याए। कति बलिया उनीहरू!
म सानो ‘रुक स्याक’ बोकेर हिँडेकी थिएँ। तै पनि स्याँस्याँ भइराथेँ। हामीसँगै शेर्पाहरू भने ठूल्ठूला झोला र अक्सिजनका सिलिन्डर बोकेर ठमठम हिँड्नुहुन्थ्यो। कसरी सक्नुभएको होला?
म उहाँहरूको क्षमता देखेर अचम्मै परेँ। शेर्पाहरू हिमालका रक्षक नै हो। उहाँहरूले नै हो हामीलाई हिमाल देखाउने। उहाँहरूले नै हाम्रो हिमाललाई राम्ररी बुझ्नुभएको छ। उहाँहरूले यति दुःख साथ पर्वतारोहीको यात्रा सहज बनाइदिनुहुन्छ।
उहाँहरूलाई केही भयो भने के होला? बिरामी भए उहाँको परिवारको हालत के होला? एकदिन काम गर्नुभएन भने के होला?
यी सबै प्रश्न त्योबेला झैं अहिले पनि मेरो मनमा घुमिरहेका छन्। त्यति बेलादेखि नै मलाई लागिरहेको छ कि हामीलाई हिमालमा सहयोग गर्ने शेर्पालाई हामीले पनि केही न केही गर्नुपर्छ।
त्यहाँ आवश्यक भएको मुख्य कुरा हो– शिक्षा। त्यो ठाउँ एकदमै विपन्न पनि छ। मलाई जहिले पनि लाग्छ, आफ्नो विगत जस्तो छ, त्यस्तै वर्तमान र भविष्य हुनुपर्छ भन्ने छैन। त्यसका लागि त्यो ठाउँमा शिक्षा एकदम आवश्यक रहेको मैले देखेँ। त्यसैगरी, गोरक्क्षेप भन्ने ठाउँमा पानीको निकै समस्या रहेछ। त्यहाँ ‘रेनफरेस्ट हार्भेस्टिङ’ गर्न सकियो भने समस्या केही समाधान हुनसक्ने मैले देखेँ।
त्योबाहेक यातायात, सडक लगायत अन्य कुराको पनि व्यवस्थापन आवश्यक छ।
सडकका कुरामा विपीबा (विपी कोइराला) ले भन्नुभएको सम्झन्छु। उहाँ भन्नुहुन्थ्यो, ‘हामीलाई ठूला सडक चाहिँदैनन्। स-साना गोरेटो भए पुग्छ। खेती गर्ने जमिन र राम्रो जिवन भए पुग्छ।’
यी सबै समस्या मध्यनजर गर्दै लुक्लाबाट सुरु भएको हाम्रो यात्रा मोन्जो, लोबुछे, गोरक्क्षेप हुँदै बेस क्याम्प पुग्यो।
यात्राबीच बाटामा धेरै विदेशीहरू भेटिन्थे। नेपाली भने एकदमै कम। म नेपालीलाई पनि हाम्रा हिमाल हेर्न आग्रह गर्न चाहन्छु। हामी कति भाग्यमानी छौं भन्ने हिमाल पुग्दा थाहा पाउनेछौं। यो सित्तैमा पाइने अलौकिक अनुभूति हो।
बाटामा भेटिएका एक विदेशीलाई मैले यात्रा अनुभव सोधेकी थिएँ।
उहाँले भन्नुभयो, ‘गाह्रो थियो। तर हिमालमा हिँडेका प्रत्येक पाइला फलदायी।’
मलाई पनि त्यस्तै अनुभूति भयो। पृथ्वीमा कहीँ स्वर्ग छ भने मैले त्यो हेरेर आएँ।
त्यहाँको तापक्रम माइनस २५ डिग्री सेल्सियस थियो। स–साना टेन्टबीच कुचुक्क परेर त्यो रात बित्यो।
बिहान उठेर चारैतिर हेरेँ- अचम्म!
बाहिर ठूल्ठूला पहाड थिए। बीचमा हाम्रो टेन्ट। यस्तो सिरिंग भयो। त्यो दृश्यले एकैछिनमा सम्मोहित भएँ।
म एकदमै खुसी भएँ।
‘सकुँला–नसकुँला’ भन्ने डरका बाबजुद मैले त्यस्तो यात्रा गर्न पाएँ। त्यस्तो दृश्य देख्न पाएँ।
म हिँड्दै गर्दा दुई बलिउड निर्देशकले मलाई फोन गर्नुभएको थियो- दिवाकर बेनर्जी र आशुतोष गोवारीकर।
म एभरेस्ट बेस क्याम्पतिर हिँडेको भन्दा उहाँहरू उत्साहित सुनिनुहुन्थ्यो। भन्नुभयो, ‘तिमी निकै भाग्यमानी छौ। पूरै डाहा लागिरहेको छ।’
मैले गरेको यात्रालाई जोडेर ‘गार्डियन्स अफ हिमालय’ वृतचित्र पनि बन्दैछ। यसले पनि संसारलाई सगरमाथा चिनाउनेछ भन्नेमा विश्वस्त छु।
मेरो आमाबुवाले मलाई कहिल्यै केही काममा हतोत्साहित गर्नुभएको छैन। सधैं साथ दिनुभएको छ।
यो यात्रा गरेर फर्किएपछि उहाँहरूले गौरवान्वित महशुस भएको बताउनुभयो।
म आफैंलाई पनि आफैंसँग गर्व महशुस भइरहेको छ। मैले फेरि एकपटक डरलाई जितेर आएँ।
त्यहाँ पुगेपछि मलाई लाग्यो, संसारमा केही असम्भव छैन। बरु असम्भव भन्ने कुरा सम्भव बन्न तपाईंलाई पर्खिरहेको छ!
(मनीषा कोइरालाले बिहीबार सञ्चारकर्मीसँग सगरमाथा बेस क्याम्प यात्रा अनुभव बाँड्दा गरेको कुराकानीमा आधारित)