कुइरेको डायरीः सानो बेलामा मैले एक फ्रेन्च नागरिकबारे पढेको थिएँ। उसले साइकल खाएको थियो, मान्छेले खाना खाएजस्तै सामान्य तरिकामा।
उसले पूरै साइकल चपाउन मिल्ने आकारमा टुक्राटुक्रा पारेर एकपछि अर्को गर्दै सबै पाटपूर्जा खाएको थियो। अनि प्रत्येक टुक्रा एक घुड्की पानीले घुटुक्क गर्दै निलेको थियो रे।
ऊ पक्कै पनि बहुलाएको हुनुपर्छ। तर त्यति बेलाको उसको हरकतले मेरो मस्तिष्कमा गहिरो छाप छाडेको थियो।
मलाई जहिल्यै लाग्थ्यो, यो संसारको तौरतरिका अनुभव गर्न खानाको माध्यबाट चिहाउनुपर्छ। तर तिमीले जे खान्छौ, त्यही मात्र खान्छु भन्यौ भने अर्काको संसार चिहाउन गाह्रै पर्छ।
जीन्दगीमा मैले खाना जत्ति अरू कुनै कुरा सोचिनँ होला। म खानालाई माया व्यक्त गर्ने माध्यम ठान्छु। अझ बिहे भएयताका प्रत्येक दिन मैले श्रीमतीका लागि खाना बनाएँ। ल्वाङ, सुकुमेल, अदुवा हालेर मेरा हातले बनाएको दूध-मसाला चिया पिएरै श्रीमती दिनको सुरूआत गर्थिन्।
मैले जहिल्यै आफ्नो समुदायभन्दा फरक मान्छेका खाना खुसीसाथ खाएँ। यस्ता खाना जुन अर्को समुदायका मान्छेलाई बिल्कुलै वाहियत वा सोच्नै नसकिने लाग्थ्यो। घोङ्गी, कमलको फूलको जरा, घोडे खुट्टा गंगटाको अन्डा, रुखमा लागेका लेउ, भ्यागुताको खुट्टा, मकैका विरुवामा लागेको झ्याउ, हाँसको खुट्टाका औंला बीचको छाला, ऊँटको गर्दन, तारेको फट्यांग्रादेखि अक्टोपसका लामा-लामा आन्द्रा।
यी सबै अनौठा खाना मेरो घाँटीको प्वालबाट छिरेको अनुभव छ।
तोगो, पश्चिम अफ्रिकामा कुकुर ग्रिल गरेको पनि अनुभव छ। तर खाएका अनौठो खानामध्ये एउटा अनुभव मैले नेपालकै एउटा गाउँमा गरेको थिएँ। यो नेपाल-भारत सीमा नजिकै नवलपरासीको मुसहर गाउँमा थियो।
खाना मान्छेको जीवनको सबभन्दा महत्वपूर्ण पाटो। सबैले खान्छन्, तर के खान्छन् भन्ने कुराले ऊ को हो भनेर बुझाउँछ। खानाले मान्छेको पहिचान खुलाउँछ। एउटा नेवार महिलालाई यःमरि मनपर्छ भने त्यो केबल स्वादका कारणले मात्र होइन। यःमरिले उसको परिवार बाल्यकाल र चाडपर्वको पनि झल्को दिन्छ।
यःमरि चामलको पिठोभित्र चाकु हालेर बनाएको अद्वितीय खानेकुरा हो। नेवारहरूले यःमरि खाँदा उनीहरूले आफूलाई नेवार हुँ भन्ने पुष्टि पनि गरिरहेका हुन्छन्।
मलाई अनौठो खाना खाने रहर लाग्नुको कारण अचम्म लाग्दो नै छ। घरीघरी म अमेरिकन सिनेमाको प्रमुख पात्र 'इन्डियाना जोन्स' हुँ की जस्तो लाग्छ। इन्डियाना जोन्स निडर भएर कत्ति पनि थाहा नपाएको र उत्तिकै भयानक स्थान चहार्दै हिँड्छ। म पनि आफ्नो जिब्रो तिखार्ने रहरका लागि ठाउँठाउँ डुल्छु।
पृथ्वीको कुनै भूभागमा मैले कहिल्यै नखाएका खाना मान्छेले खाइरहेका छन्, भने मलाई त्यो खाना पनि चाख्नुपर्छ। चाहे त्यो घडियाल होस् या जेब्रा नै किन नहोस्।
मैले जीवनमा धेरैचोटी खाएपछि वान्ता हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि अनौठा खाना खाएको छु। ताकि म पछि भन्न सकूँ- मैले त्यो खाना खाएको छु।
तर झिँगा भन्केका र राम्ररी नपाकेको खानेकुरा खानुहुँदैन। त्यसले पक्कै पनि 'फुड प्वाइजनिङ' गराउँछ।
मान्छे आफूले के खाँदैनन् भन्ने कुराले पनि उनीहरूको पहिचान दिलाउन चाहन्छन्।
हिन्दूहरू बिफ (गाइगोरूको मासु) खाँदैनन्। मुस्लिमहरू सुँगुर खाँदैनन्, त्यस्तै त्यस्तै। सबभन्दा नराम्रो पक्ष चाहिँ मान्छे एकअर्काका खानेकुराको छनोटलाई लिएर भेदभाव गर्छन्।
जस्तै नेपालमा केही क्षत्री-ब्राह्मणहरूले जनजातिले सुँगुर खान्छन् भनेर छिःछिः दुरदुर गरेको देख्छु।
जर्मनहरूलाई दोस्रो विश्वयुद्धताका 'क्रेट्स' भनेर बोलाइन्थ्यो। 'सावर क्रेट्स' जर्मनहरूको लोकल खाना हो। यो भनेको गालेर बनाइएको बन्दाको अचार हो। क्रेट्स खाना नोर्डिक संस्कृतिमा अर्थात् युरोपका फ्रान्स, रसियातिर पनि खान्छन्। तर युद्धका बेला अमेरिकन र ब्रिटिसहरूले जर्मनलाई खसालेर हेप्नका लागि क्रेट्स भनेर बोलाउँथे।
मैले सोमालियामा जागिरताका बस्दा ऊँटको थुनबाट प्रत्यक्ष तातो दूध खाएको थिएँ। सोमालीहरूको विशेष कार्यक्रममा सहभागी हुने मौका नै अहोभाग्य थियो मेरा लागि। सोमाली सहकर्मीले मलाई त्यसरी दूध खाँदा वान्ता हुनसक्ने सुझाएका थिए।
तर म सोमालीहरूलाई उनीहरूको खाना खाएर उनीहरूको समुदायप्रति जान्न उत्सुक छु भन्ने विश्वास दिलाउन चाहन्थेँ। त्यस्तै पश्चिमी अफ्रिकामा तारेको धमिरा र नेपालमा फोक्सो खाएको अनुभव पनि त्यस्तै थियो मेरा लागि। तर यी सबै खाँदा मलाई वान्ता भने भएन।
गत साउन महिनामा श्रीमती र म नेपाल-भारत सीमानजिक नवलपरासीको एउटा गाउँ पुगेका थियौं। तराईका कच्ची बाटामा घचक-घचक गर्दै धानका बाला झुलेका खेत छिचोल्दै हामी पुगेका थियौं।
झन्डै सय मिटरअगाडि एउटा सानो खरले छाएको घर नपुग्दै हामी रोकियौं। त्यहाँ झाँगिएको अग्लो रूख थियो। बडेमानको रुखमुनि केही मान्छे गफिँदै थिए।
उनीहरूको समुदायलाई मुसहर भनिँदो रहेछ। मैले कतै पढेको थिएँ- मुसहरहरू घुमन्ते भएर डुली हिँड्दाहिँड्दै नेपाल, भारत र बंगलादेशमा रैथानेका रूपमा बसोबास गर्दै आए। उनीहरूको आफ्नै भाषा र संस्कृति छ। तर उनीहरूको त्यो सभ्यता विस्तारै सकिँदै छ। अचेल दलित समुदायका सबभन्दा तल्लो स्तरमा रहेको समुदायमा पर्छन् मुसहर। दलित समुदायका मान्छेले पनि उनीहरूलाई भेदभाव गरेको देखेँ मैले।
मुसहर नाम मुसाबाट आएको भनिन्छ। मुसहरहरू मुसा समात्छन् र पोलेर वा तरकारी जस्तै पकाएर खान्छन्।
मुसहरटोलका एक हुल गाउँले अग्लो रुखको छहारीमा भेला भएका थिए। म जस्तो गोरालाई देखेर उनीहरूका उत्सुक आँखा मैतिर बरालिरहेका थिए। महिला, पुरुष सम्भवतः सबै उमेरका मान्छे मलाई पछ्याउँदै नजिकै आइपुगे।
मैले 'नमस्ते, मेरो नाम याकप हो' भनेपछि उनीहरू म भएकै ठाउँ आइपुगे। मैले उनीहरूलाई 'तपाईंहरूको खान्की एकदम अनौठो र अद्भूत लाग्यो' भन्दा उनीहरू लजाए। सायद 'यो गोराले मुसाकै बारे जान्न खोजेको' भन्ने लाग्यो होला।
सुरूमा उनीहरू केही हच्किए। सायद पुस्तौंदेखि उनीहरूको मुसा खाने संस्कारलाई अन्य समुदायले होच्याउँदै दुर्व्यवहार गर्दै आएका थिए होला।
उनीहरूको खान्कीकै कारण उनीहरू समुदायबाटै बहिष्कारमा परेका छन्। प्रायः आदिवासी समुदायले आफ्नो भाषा संस्कृतिमा गर्व महशुस गर्नुपर्ने हो। कतिपय समुदायमा आफ्नो भाषा र संस्कृतिलाई खुलेर माया देखाउन पनि कारण चाहिने होला, जस्तै मुसहरहरू। मुसा खान्छौं भनेर गर्व साथ भन्न उनीहरूसँग कारण छैन होला।
मेरी श्रीमतीले उनीहरू लजाएको देखेरै फ्याट्टै भनिन्, 'मेरो श्रीमान तपाईंहरूसँग बसेर मुसा खाने रे।'
त्यति भनेपछि उनीहरूको ध्यान पूरै मतिर तानियो। तीमध्ये केही गललल हाँसे र केही मेराबारे कानेखुसी गर्न लागे।
'अहिले सिजन चैं हैन,' हुलका एकजना बोले।
मलाई कहिल्यै थाहा थिएन, मुसाको पनि सिजन हुन्छ। उनी गाउँका 'मुसा उस्ताद' रहेछन्। उनको नाम सोध्न भ्याइनँ।
'खासगरी अन्नबालीको मौसममा हामी मुसा समात्छौं,' उनी फेरि बोले।
मैले सोचेँ, अन्नबाली मौसममा मुसाले धान-गहुँ बोटमै खान पाउने भएपछि मोटो पनि हुने होला। र, त्यही बेला पक्रिन नि सजिलो होला !
उनीहरू त्यति राम्रोसँग नेपाली बुझ्न सकिरहेका थिएनन्।
'हत्तेरिका, म त यही मुसा खान काठमाडौंदेखि आएको' भनेपछि उनीहरू फेरि गललल हाँसे। हाँस्न त बुझेरै हाँसे होलान् भन्ने मेरो ठम्याइ।
सायद, म गोराले उनीहरूभन्दा राम्रो नेपाली बोलिरहेको पो थिएँ कि, वा जाबो मुसा खान यो गोरा कहाँबाट यस्तो गाउँ आएको भन्ने लाग्यो होला।
अथवा दुवै कारण हुनसक्छ।
त्यसपछि एक जना जुरुक्क उठेर 'म तपाईंका लागि मुसा खोज्न जान्छु' भन्दै लम्किहाल्यो। उनी थिए सामनारायण मुसहर। काखमा एउटा नानी बोकेर उनी मेरा लागि मुसा खोज्न हतारिए।
मनमनै फुर्किँदै सोचेँ, 'साँच्चिकै यो सब भइरहेको छ, उनीहरू मेरा लागि मुसा समात्न हिडिँसके। म मुसाको भोजन गर्नेछु आज।'
गोरो छालाकै कारण म सधैं नेपालीमाझ विशेष बनेको छु। एकैछिनमा गाउँका पूरै मुसहर भेला भए। सबैजना खेत चहार्न थाले। झन्डै आधा गाउँले नै आउँदा भिड नै लागेको थियो।
हामी मुसा समात्न तम्सिएकाको पछि लाग्यौं। बाढीले खेतका बाली चुर्लुम्म थिए। आली छेउछेउ हुँदै लम्किएका खुट्टाले भिजेका गिलो माटो कुल्चिँदै गर्दा फ्वास-फ्वास आवाज आइरहेको थियो।
गाउँलेहरूका अनुसार पानी नजिकैको दुलोमा लुकेर बस्छन् रे मुसा। नभन्दै मुसा लुकेर बसेको दुलो गाउँलेले पत्ता लगाए। सामनारायण एउटा कोदालीले मुसाकै आकार जत्तिको सुरुङ जस्तो खन्न थाले।
उनीहरूको भाषा मैले बुझिनँ।
कसैले एक बाल्टिन पानी ल्याएर खाल्डोमा खन्यायो र फेरि खन्न थालियो। खन्दा र पानी हाल्दा मुसा घर नफर्किसकेको अवस्था पुष्टि भयो।
त्यही बेला अर्को ठाउँमा एक हुल चिच्याएको आवाज आयो। उनीहरू पनि मुसा खोज्दै रहेछन्। हामी सबै उतैतिर दगुर्यौं।
उत्साहित गाउँलेको गुनगुन चलिरहँदा एक जनाले यहीँनिर मुसा छ भन्दै गर्ल्याम्म कोदालोले जमिनमा खोपे। उनका सहयोगीले एक बाल्टिन पानी ल्याएर खाल्डोमा खन्याए। मुसा भेटिने आशमा हेर्ने जति सबै खुसीले चिच्याउन थाले।
तर मुसा भेटिएन। फेरि अर्को खाल्डो खनियो। त्यहाँ एक बाल्टिन पानी हालियो। खन्ने र पानी हाल्ने कामले गाउँलेमा उत्साह पैदा गरेको थियो।
एकैछिनमा माटोमय मुसाको टाउको पानीमाथि सलबलाउन थाल्यो। 'मुसा उस्ताद' ले झ्याप्पै मुसाको पुच्छर समाते। मुसा उनको हातबाट फुत्किन खोज्यो, सकेन।
उस्तादले मुसा बाल्टिनमा पछारे। पुच्छर तनक्क तन्काएर उस्तादले मुसाको सास लिए। भुइँमा लात्ताले हानेर मुसाको अलिअलि बाँकी सास उडाए।
हामी मरेको मुसा लिएर गाउँ फर्कियौं। जगतपुर वडाका वडासदस्य हरिराम पासी पनि गाउँ आइसकेका थिए। 'आज मुसाको ज्यान लिइदिनुभयो तपाईंले' भनेर मलाई जिस्क्याउन पनि भ्याए।
मरेको मुसा एकदम सानो र दुःखी देखिन्थ्यो। मैले एकदम लाज महशुस गरेँ, उसको मृत्युको कारण म थिएँ।
तर ऊ बाँचुन्जेल राम्रै जीन्दगी बाँच्यो होला।
म यो कुरा किन गरिरहेको छु कुन्नि! मैले धेरै जनावरको मासु खाएको छु र उनीहरूलाई पनि मारिएको थियो। तर मैले खाएका जनावर मारिएको दृश्य हेरेको थिइनँ। म यसपालि मुसा हत्याको साक्षी बनेको थिएँ।
हामी बाँसको झ्याङमुनिको रुखमा जम्मा भयौं। रुखका पात छिचोलेर सूर्यका किरण भुइँतिर पछारिन तँछाडमछाड गरिरहेका थिए। झन्डै सयजना हाराहारीमा गाउँले मुसा हेर्न आएका थिए। मानौं, उनीहरूले पनि पहिलोपटक मुसा मारेको देखेका थिए।
वा, सायद पहिलोपटक एक कुइरे उनीहरूको गाउँ आएको थियो, मुसा मारेर खान।
मदनजीले तत्कालै मुसाको परिकार बनाउने चाँजो मिलाइहाले। पातपतिंगर र बाँसका ढोड भाँचेर आगोको व्यवस्था पनि गरे। भुइँमा लम्पसार मरेको मुसा आगोमा पोल्न थाले। पोलिसकेको मुसाको करङ निकालेर मासु टुक्राटुक्रा पारे र एउटा झिरमा राखेर फेरि आगोमै पोले। एकैछिनमा मुसाको मासु तयार भयो। पाकिसकेपछि म भान्छे मदनसँग गफिन थालेँ।
मदनसँगै मुसाको शिकारमा गएका साम मुसहर पनि थिए। मुसाको परिकार उनीहरूले पुस्तौंदेखि खाँदै आएको सुनाए। 'मुसा नखाने अरू समुदायकाले के भन्छन्' भनेर मैले सोध्दा 'ब्राह्मणहरूले पनि मिठो मानेर खान थालेको' उनले बताए।
सामले खुसुक्क कानमा भने, 'वास्तवमा धेरै समुदायका मान्छेले खान्छन्। विशेष उत्सवमा झन् खान्छन्। तर मुसा खाने मुसहर भनेर हामीलाई मात्र भन्छन्।'
सामका अनुसार सबै समुदायकाले मुसा खाए पनि उनीहरूको समुदायलाई चाहिँ 'मुसा खाने' भनेर धब्बा लागेको जस्तो व्यवहार अरू समुदायले गर्छन्।
मलाई शंकै छैन, उनीहरूमाथि भेदभाव लाद्नुको कारण उनीहरूको असाधारण गरिबी, अशिक्षा र सोझोपन हो। मुसा खाएकै कारण गरिने भेदभाव देखावटी मात्र हो।
कुरा गरिरहँदा पोलेको मासुको 'स्मोकी' बासना आइरहेको थियो। आगोमा मुसा पूरै सुनौलो भइसकेको थियो।
मदनले मुसा राम्ररी पकाइसकेका थिए। उनले केराको पातमा मुसाको मासु काटेर सजाउन समेत भ्याए। मुसाको खुट्टाको मासु चाखेर पाक्यो कि पाकेन भनेर जाँच पनि गरे। अनि मासु पूर्णरूपमा खानयोग्य भनेर प्रमाणित गरे।
एउटी सानी फुच्ची खाली खुट्टा कुदेर आइपुगी र मासुको पहिलो टुक्रा खुट्टाको पिस खान जोडले रोएर जिद्दी गरी। मदनले सानो टुक्रा दिएपछि तुरुन्तै रुन बन्द भइहाल्यो। मेरो भागमा पनि सानो टुक्रा परेको थियो। मदनसँगै मासु खाँदै म उनीहरूको समुदायको भलाकुसारीमा व्यस्त भएँ।
मुसाको मासु म अनकनाउँदै र जति सक्दो ढिलो खाँदै थिएँ। यही मासुको परिकार खान त म त्यो गाउँ पुगेको थिएँ। गाउँलेहरू पनि मलाई नै हेर्न झुम्मिएका थिए।
म सतर्क हुँदै मासु चपाइरहेको थिएँ। मानौं, त्यो 'चिकन विङ्स' हो, मुसाको खुट्टा हैन, धेरै सानो चिकन विङ्स जुन ग्रिल गरेको जस्तै स्वादको मिठै थियो। मनमनै अलिकति नुन र खुर्सानी राखेको भए मासु खल्लो हुने थिएन कि भन्ने लागेको थियो।
भनिन्छ, सुन्दरता हेर्ने मान्छेको आँखामा हुन्छ। ठ्याक्कै खानाको स्वाद खाने मान्छेको जिब्रोमा हुन्छ।
यो संसारका हरेक मिठा स्वाद तपाईंको जिब्रोको सम्झनलायक स्वाद बन्न पर्खेर बसिरहेको हुँदोरहेछ। चाहे त्यो खाना होस् या व्यवहार।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि पढ्नुस्ः