कोरोना युगका मान्छे-२
मानवजातीले 'क्वारेन्टाइन'लाई सम्भावित जोखिमबाट आफूलाई बचाउने एक अचुक अश्त्रका रुपमा अर्थ्याउँदै र प्रयोग गर्दै आएको छ। तर आज विज्ञानले जतिसुकै चरमोत्कर्षमा प्रगति गरेको भए पनि सुरूआती अवस्थामा यसको जसरी विकास भएको थियो, सिद्धान्तत: त्यसमा खासै नयाँ आयाम थपिएको देखिएन।
कोरोना भाइरसको चपेटामा च्यापिएको वर्तमान मानवजातिले अहिले आएर खाद्यान्नको उपलब्धता, स्वनिर्भरता र त्यसको महत्वलाई हृदयदेखि नै महशुस गर्ने अवस्थामा पुगिरहेको छ। पृथ्वीको एकतिहाई व्यापार ठप्प छ। पसल खाद्यान्नविहिन भइरहेका छन्।
समाचारमा सुनिएअनुसार बेलायत जस्तो विकसित मुलुकमा समेत मधुमेहका रोगीले पनि बिक्री हुन बाँकी रहेका गुलिया चक्लेट र पानी खाएर दिन गुजारिरहेका छन्।
सन् १३४७ मा सुरु भएर १३५१ सम्म मानवजातीलाई ब्युवनिक प्लेग अर्थात् ब्ल्याक डेथ भन्ने भयंकर महामारीले तहसनहस पारेको इतिहास छ । सन् १३४७ को अक्टोबरमा इटालीको सिसिलीस्थित मेसिना बन्दरगाहमा 'ब्ल्याक शी' हुँदै १२ वटा मालवाहक पानीजहाज आइपुग्छन्।
जहाज हेर्न जम्मा भएका मानिसले अत्यन्तै डरलाग्दो दृश्य देख्छन। जहाजका अधिकांश यात्रु मरिसकेका हुन्छन्। जति जिउँदा हुन्छन्, उनीहरू अन्तिम अवस्थामा पुगेका बिरामी हुन्छन्। रगत र पिपले बनेको कालो फिँजले पुरिएका हुन्छन्।
मानिसहरुले कुहिँदै गरेका शव र बिरामी बाहिर निकाल्छन् र सबैलाई एकै खाल्डोमा पुरिदिन्छन्। त्यो सरुवा रोग थियो तर तत्कालीन मानवजातिलाई त्यस रोगबारे थाहै थिएन। रोगको कुनै ओखती पनि थिएन। रोग तुरुन्तै नजिकका वस्तीहरूमा सल्किहाल्यो। वस्तीमा हृदयविदारक दृष्य देखा पर्दै गए। यसबारे अघिल्लो भागमा लेखिसकिएको छ।
बाँचेका केही मान्छे बिरामीको अवस्था हेर्न नसकेर टाढा जंगलतिर भागेका थिए। तिनै आत्मकेन्द्रित मानवीय गुणका बाछिटाको प्रभावले आजको मानवजाती आफ्नो प्राकृतिक गुणभन्दा टाढा छ, कृत्रिम छ, परनिर्भर छ, र पुँजिवादी छ।
विगतको ब्युवनिक प्लेगदेखि आजको कोरोनासम्म हामीले व्यहोरेका रोगव्याधी र वालीवस्तुका रोगकीरा मूलत: मान्छेको आवतजावत, बसाइँसराइबाटै एक ठाउँबाट अर्को ठाउँमा सर्ने पाइएको छ। मान्छेले आफूसँगै व्यापारका लागि लिएर हिँडेका पशु, वस्तु र खाद्य सामग्रीबाटै एक ठाउँ-ठाउँमा महामारी सल्किएका प्रशस्त उदाहरण छन्।
उन्नाइसौं शताब्दीको मध्यकालमा युरोपले व्यहोरेको 'आइरिस फेमिन' होस् वा दोश्रो विश्व युद्धअगाडि अमेरिकन जंगलले व्यहोरेको रबर व्लाइट पश्चात् ढलेको अमेरिकन व्यापारको एकाधिकार होस्, मानव सभ्यतामा ठूलो उथलपुथल पारेका बिरुवाका रोग र कीराले पनि युद्ध र विज्ञानलाई नयाँ नयाँ दिशानिर्देश गरेका छन्। त्यसैले त व्यापारले अभुतपूर्व छलाङ मारेको छ। पुँजिवादले उत्कर्ष प्राप्त गरेको छ।
चौधौं शताब्दीमा इटालीको रसुगा बन्दरगाह नै (तत्कालीन भेनिस, हाल क्रोएसिया) एसिया र युरोपबीच सिल्क रोडको बाटो हुँदै चल्ने व्यापारको सबभन्दा ठूलो बन्दरगाह थियो। एसियन र युरोपियनका बीच हुने सबभन्दा बढी आवतजावत र कृषि उत्पादनको व्यापारिक ओसारपसार पनि यही बन्दरगाहबाट हुन्थ्यो।
यसरी आवतजावत हुँदा सँगसँगै बाली-बिरुवा र मानिसका रोग पनि युरोप र एसियामा आवतजावत हुनु स्वाभाविक थियो।
त्यस बेला 'प्रभुको श्रापबाट मात्रै कुष्ठरोग लगायत रोग लाग्छन्' भन्ने विश्वाश थियो। कुष्ठरोगीलाई छुन हुँदैन र छुट्टै राखिनुपर्छ, अन्यथा जसले छुन्छ उसलाई पनि 'पाप' लाग्ने छ भनेर पुरानो बाइबलमा लेखिएको थियो। यसैले त्यस्ता रोगीलाई प्लेग महामारीअगाडि देखि नै छुट्टै राख्ने प्रचलन युरोपभर थियो।
त्यस बेला कुष्ठरोग लगायतका 'पाप' बोकेर व्यापार सिलसिलामा एसियादेखि युरोप जानेलाई अन्यन्तै ठूलो दुर्व्यवहार गरिन्थ्यो। तर फिर्ता पठाइँदैन थियो। जब प्लेग महामारीबाट युरोपियनहरूले अन्यन्तै भयानक मानवीय क्षति व्यहोरे, त्यसपछि मात्रै विदेशबाट आउने रोगीलाई छुट्टै राख्नुपर्छ भन्ने तर्क आउन थाले।
प्लेगपछि कुनै पनि महामारी लागेका युरोपका गाउँमा आवतजावत गर्ने चलन हराइसकेको थियो। आउजाउ गर्नेलाई तत्कालीन सेनाले त्यसो गर्न रोक्ने चलन चलिसकेको थियो। यसबारे कुनै कानुन भने बनिसकेको थिएन।
इसा पूर्व पाँचौं शताब्दीमा हिप्पोक्रेट्सले भनेका थिए- कुनै पनि रोगको लक्षण देखिन ४० दिन लाग्छ। त्यही तर्क आधार मानेर इटाली प्रवेश गर्नेले कुनै रोग लिएर आएका छन् भने उनीहरूलाई मुलुक प्रवेश गर्नुअगाडि ४० दिनसम्म थुनेर राख्नुपर्ने बहस हुन थाल्यो। यही तर्क तत्कालीन राजनीतिज्ञले रसुगाका रेक्टर समक्ष राखे। अनेक बहस र छलफलपछि रसुगाका मुख्य चिकित्सक ज्याकवलाई प्राविधिक सल्लाहका लागि बोलाइयो। उनले पनि राजनीतिज्ञको तर्क अनुमोदन गरिदिए।
बिदेशबाट आउने शंकाश्पद मान्छेलाई सहरबाट टाढा कतै लगेर ४० दिनसम्म थुनेर हेर्नुपर्छ र कुनै रोगको लक्षण नदेखिए मात्रै मुलुक प्रवेश गर्न दिनुपर्छ भनिदिए। ज्याकवको सल्लाहअनुसार सामान बोकेर आएका पानीजहाज पनि कृषि सामग्रीमार्फत् रोग सार्न सक्ने भएकाले ३० दिनसम्म 'डकिङ' नगररी राख्नुपर्ने तर्क पनि अनुमोदन भयो।
यसरी सन् १३७७ मा तत्कालीन इटाली सरकारले ३० दिनसम्म जहाज रोक्ने (ल अफ टेरान्टा) र ४० दिनसम्म मान्छे रोक्ने (ल अफ क्वारेन्टा) कानुन बनायो। इटालियन भाषामा ३० दिनलाई टेरान्टा र ४० दिनलाई क्वारेन्टा भनिन्छ।
तुरुन्तै दुवै कानुन मिसाएर एउटै कानुन 'ल अफ क्वारेन्टा' लागू गरियो। यही क्वारेन्टा भन्ने तत्भव धातुबाटै आज हामीले प्रयोग गरिरहेको क्वारेन्टाइन शब्द व्युत्पन्न भएको मानिन्छ। यसरी अलग्गै राखिने प्रक्रियालाई संस्कृतमा संनिरोध भनिन्छ।
क्वारेन्टा कानुन सक्रियता र निर्ममतापूर्वक लागू गरिएपछि युरोपमा रोग भित्रिने र फैलिने दर धेरै कम भएको थियो भनेर डिपल विश्वविद्यालयका प्राध्यापक मोकाइटिसले लेखेका छन्।
इटालीले उल्लेख्य प्रगति गरेको देखेपछि अन्य राष्ट्रले पनि क्वारेन्टाइनसम्बन्धी कानुन बनाएर लागू गरे। मानिस, बिरुवाजन्य वस्तु र जनावरको आवतजावतका कारण हुनसक्ने महामारी जोखिम कम गर्न सम्भावित खतरालाई निश्श्चित स्थानमा निश्चित समयका लागि 'होल्ड' गरिनु नै क्वारेन्टाइन गरिनु हो।
मानिसको, विरुवाजन्य वस्तुको र जनावर क्वारेन्टाइन मार्फत गरिने 'प्रोफाइल्याक्टिक' उपाय त्यही बेलादेखि विकास भएर आज सम्म आइपुगेका छन्। छ सय वर्षअगाडि आविष्कार भएको क्वारेन्टाइन पद्धतिमा आधारभूतरुपमा कुनै नयाँ आयाम थपिएको छैन।
'प्रिभेन्सन इज बेटर द्यान क्योर' भन्ने पदावली क्वारेन्टाइनको मुख्य सिद्धान्त हो। समयको गतिसँगै स्वास्थ्य क्षेत्रमा भएको प्रगतिले मानिसलाई ४० दिनसम्म क्वारेन्टाइनमा राखेर रोगको अध्ययन गरिनु व्यवहारिक हुन छाड्यो। त्यसकारण मानिसको क्वारेन्टाइन गर्ने विषयतर्फ खासै ध्यान दिइएन।
तर आज कोरोनाबाट बचाउन संसारभर त्यही क्वारेन्टाइनको सहारा चाहिएको छ। तर अहिले क्वारेन्टाइन ४० दिने छैन। मानवजातीले अब कतिदिनसम्म ठप्प भएर बस्न सक्छ हेर्न बाँकी छ।
हामी प्लेगको युगमा जस्तै आज पनि डराइरहेका छौं। रिसाइरहेका छौं। घृणा गरिरहेका छौं। अराजक भएका छौं।
सन् १९६० दशकमा पहिलो पटक देखिएको कोरोनाको परिमार्जित र भयानक संस्करणले प्लेगजस्तै डरलाग्दो रुप लिइरहेको छ।
हिजोसम्म विज्ञान र प्रविधिको चरम विकास गरिसकेको फुर्ति लगाउने हामी आज एक्कासि बन्द कोठामा कैद छौं। मानवजातीसँग कोरोना महामारीविरुद्ध कुनै औषधी छैन। हात जोडेर प्रार्थना गरिरहेका छौं। हामी अहिले पनि आदिम नै छौं।
क्रमशः
(लेखक पौडेल, कृषि मन्त्रालयमा 'प्लान्ट क्वारेन्टाइन 'अफिसर (उपसचिव) छन्)
यो पनि पढ्नुस्ः महामारीको गर्जन किन सुन्दैनन् कोरोना युगका मान्छे?