केही दिनअघि एक आफन्तले आफ्नो फेसबुक प्रोफाइलमा स्ट्याटस राख्नुभयो ‘राणाकालमा राणाले गरेनन्। पन्चायतमा राजाले गरेनन् भनेर म आफैं पनि संलग्न भएर ल्याएको गणतन्त्रमा नेताले नि गरेनन्! अब म के गरूँ?’
यो स्ट्याटस अहिले प्रत्येक नेपालीले भोगेको चरम निराशाको उद्घोष हो। के नेपालको रूपान्तरण हुने सम्भावनाको आशा मरेकै हो त?
नेपालमा अहिले सबैले भोगिरहेको राजनीतिक अवसादको मूल कारण पत्ता लागे निदान सम्भव छ। रोग कहाँबाट सुरू हुन्छ र ओखती के हो त?
तिलस्मी नेताको खोजी
मन्चमा नेताज्यू देखिनुहुन्छ (जो मुख्यतः प्रौढ पुरूष हुनुहुन्छ)। भुइँमा बसेका मानिसहरू उहाँको मुखबाट तिलस्मी वाणी सुन्ने पर्खाइमा हुन्छन्। नेताज्यूलाई त्यो कुरा राम्ररी थाहा हुन्छ। उहाँ आफ्नो कुरा होइन, त्यही कुरा भन्नुहुन्छ जुन भुइँमा बसेका मान्छेहरू सुन्न चाहन्छन्।
‘हामीले देशमा समृद्धिको विगुल फुक्नु छ। प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्नुछ आदि।’ तालीको गडगडाहट आउँछ अनि नेताज्यू आफूलाई पूर्ण रूपमा बिर्सनुहुन्छ र पूर्ण आत्मविश्वासका साथ त्यही बनिदिनु हुन्छ जुन भुइँमा बसेका मान्छेहरू उहाँमा देख्न चाहन्छन् - अद्भुत तिलस्मी मुक्तिदाता!
मन्चको नेताज्यूका अद्भूत वाणीहरू अनवरत चलिरहन्छन्। पुरानो फेल हुने बित्तिकै नयाँ कथा रचिहाल्नु हुन्छ।
देश निर्माण नेता एक्लैको वशको कुरै होइन, त्यसमा त सबैको समान सहभागिता र योगदान चाहिन्छ। तर त्यसरी कुरा गरे उनीलाई मुक्तिदाता कसले मान्ने ? यस प्रकारको तिलस्मी नेताको खोजीले एउटा मान्छेबाट उसको मानवीय गुणको हरण गर्छ। उसलाई क्रमश: ढोंगी, निरंकुश र स्वार्थी बनाउँदै लैजान्छ।
‘रमिते’भुइँमान्छेहरू
अब भुइँमा बसेर ताली पड्काइरहेका र तिलस्मी नेताको जादू फेल भएपछि गाली बर्साइरहेका भुइँ मान्छेहरूको कुरा गरौं।
वास्तवमा लोकतान्त्रिक व्यवस्था तवमात्र सफल हुनसक्छ जब भुइँमान्छेहरू बसेर नाटक मन्चन हेर्दै ताली वा गाली दिने रमिते हुन बन्द गर्छन् र उठेर देश, समाज बनाउने कार्यमा आफ्नो भूमिका खोज्न थाल्छन्। उनीहरूले बुझ्नुपर्छ कि उनीहरूको भूमिका दर्शकको होइन, देश र समाज निर्माताको हो।
कागजमा गणतन्त्र लेखेर समृद्धि आउँदैन। समृद्धि तब आउँछ जब सबै भुइँमान्छे राज्य शक्तिमा आफ्नो नागरिक सर्वोच्चता र देश निर्माणमा आफ्नो उत्तरदायित्व खोज्ने क्षमता राख्छन्। भुइँमान्छेहरू कृषक, शिक्षक, स्वास्थ्यसेवी, व्यापारी, कलाकार, पत्रकार, श्रमिकलगायत सबै हुन् जसको श्रम र करले देश धानेको हुन्छ। भुइँमान्छेहरू पल पल समाजलाई चलायमान बनाउँछन् ; भुइँमान्छेहरू पल पल समाज बुनिरहेका हुन्छन्। नेता त व्यवस्थापक र सहजकर्ता मात्र हुन्, निर्माता त भुइँमान्छे नै हुन्!
समाज बनाउने पनि भुइँमान्छे हुन् र त्यसको व्यवस्थापनका लागि नेता चयन गरेर पठाउने पनि भुइँमान्छे नै हुन्। भुइँमान्छेले आफ्नो भूमिकाको महत्व बुझ्नुपर्छ र आफूले चयन गरेको नेतालाई फूलमाला लगाएर सिंहासनमा पुर्याउने होइन कि जिम्मेवारी दिएर आफैं माझ राख्न सक्नुपर्छ।
सबभन्दा महत्वपूर्ण कुरा भुइँमान्छेहरूले नेतासँगको आफ्नो सम्बन्धमा व्यक्तिगत होइन कि राष्ट्रिय हित खोज्न सक्नुपर्छ। भुइँमान्छेले बुझ्नुपर्छ कि देश बनाउनका लागि सामूहिक हित अनुरूप सबैको सहकार्यको आवश्यकता पर्दछ। जब भुइँमान्छेहरू साँघुरो व्यक्तिगत स्वार्थबाट निर्देशित भएर आफ्ना छनोटका निर्णय र क्रियाकलापहरू गर्छन् ती भुइँमान्छेहरूलाई नेतृत्व दिनेहरूले पनि त्यहीँ चरित्र देखाउँछन्।
संसारभरि हेरौं, हरेक देशमा जस्ता जनता छन् नेता त्यस्तै छन्।
गणतन्त्र र लोकतन्त्र बारेको बुझाइ
गणतन्त्र राज्यशक्ति र स्रोतलाई विकेन्द्रीकरण गर्ने एक प्रकारको लोकतान्त्रिक राज्य संरचना हो। मानौं गणतन्त्र बारीमा बनाएइको ब्याड हो। हामीले बुझ्नुपर्ने के भने ब्याडले तरकारी फलाउन सजिलो बनाउने हो तर आफैं तरकारी फलाउने होइन। त्यहाँ तरकारी फल्ने कि नफल्ने भन्ने त अन्य धेरै कुराहरूमा निर्भर गर्छ।
अमेरिकन शिक्षाशास्त्री जोन डिविका अनुसार "लोकतन्त्र भनेको सरकारको स्वरूपभन्दा बढी हुन्छ; यो मुख्यतया सामाजिक जीवनको एक तरिका हो, संयुक्त संचारको/सम्बन्धको अनुभव।"
अर्थात् साँच्चै लोकतन्त्रलाई सफल बनाउने हो भने व्यवस्था परिवर्तनले मात्र पुग्दैन। हामीले समग्र सामाजिक जीवनशैली परिवर्तन गर्न सक्नु पर्दछ।
लोकतन्त्र हाम्रो घरभित्रका परिवारका सदस्यमाझ, कक्षा कोठामा शिक्षक र विद्यार्थीहरूको सम्बन्धमाझ, सामाजिक जीवनमा प्रत्येक सदस्यमाझ सफल हुन सके मात्र राजनीतिक व्यवस्थामा पनि सफल हुन सक्छ।
लोकतन्त्रको वास्तविक जग भनेको राज्य व्यवस्थाका लोकतान्त्रिक संरचना होइन लोकको विवेक हो। लोकतन्त्र सफल र उन्नत रहेको देशको कथाले त्यही भन्छ। त्यहाँ सरकार मात्र लोकतान्त्रिक आचरण देखाउँदैनन् कि जनजन हरेक श्वासमा लोकतान्त्रिक ढंगले जीवन बाँचिरहेका हुन्छन्।
सफल लोकतन्त्र भएका देशमा नागरिक जति आफ्नो अधिकारप्रति सचेत हुन्छन् त्यति नै आफ्नो उत्तरदायित्वप्रति पनि सचेत हुन्छन्। तसर्थ लोकतन्त्रको सफलता र विफलतामा नागरिक र नेतृत्वको बराबर हात हुन्छ।
राजनीति छलनीति कि जनसेवा
‘राजनीति साँच्चै महत्त्वपूर्ण कुरा हो। यसले हामी जन्मेदेखि मरुन्जेलसम्म जीवनको हरेक पक्षमा प्रत्यक्ष ढङ्गले हस्तक्षेप गरेको हुन्छ। म सचेत छु। मलाई कहिलेकाहीँ प्रत्यक्ष राजनीतिमा सहभागी पनि हुन मन लाग्छ तर म राजनीतिको लागि बनेको होइन। राजनीतिमा छलकपटबिना सफल हुन सकिन्न। छलबिना त्यहाँ रहेर पनि केही गर्न सक्ने अवस्था हुन्न र मसँग त्यो क्षमता छैन। त्यसैले म राजनीतिदेखि टाढै रहन्छु।’
धेरै साथीहरूले बोलेर वा नबोलेरै पनि मलाई यो कुरा अभिव्यक्त गर्नुभएको छ। यो कुरा नितान्त हामीले निर्माण गरेको समाजमा भर पर्दछ। यो अकाट्य यथार्थ होइन किनकी संसारमा धेरै यस्ता देशहरू छन् जहाँ राज्यको नेतृत्व लिनेले छलकपट होइन कि समानुभूति र विवेकको प्रयोगले सफल भएका छन्।
न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिण्डा आर्डेनको नेतृत्व एउटा ज्वलन्त उदाहरण हो।
२०१९ को डिसेम्बरमा न्युजिल्याण्डको क्राइस्टचर्चमा जब केही गोरा अतिवादीहरूले मुसलमान समुदायमाथि आतंकवादी हमला गरे त्यहाँकी ३९ वर्षीया प्रधानमन्त्रीले गहिरो समानुभूतिका साथ सफलतापूर्वक छिटो र निर्णायक ढंगले कार्वाही अगाडि बढाइन्।
उनले स्पष्ट अडान लिँदै टेलिभिजनमा बोलिन् कि जो आप्रवासी त्यस देशको स्वतन्त्रता र लोकतन्त्र देखेर त्यहाँ घर बनाउन आएका छन् त्यो देश उनीहरूको घर हो र ती गोरा आक्रमणकारी जो आतंक र घृणा फैलाउन चाहन्छन् न्युजिल्याण्ड उसको घर हुन सक्दैन।
उनले पीडितहरूसँग मित्रवत ढंगले अस्पतालमा भेटेर र निरन्तर सम्पर्कमा रहेर आफू उनीहरूको साथमा रहेको अनुभूति दिन पनि सफल भइन्।
उनै आर्डेन कोरोना महामारीका बेला सबभन्दा उत्कृष्ट काम नेतृत्वको रूपमा पहिचान बनाउँदैछिन्। उनको सरलता र समानुभूतिपूर्ण नेतृत्वको विश्वभरि चर्चा चलिरको छ। उनले नियमित फेसबुक लाइभमार्फत् नागरिकसँग कुरा गर्ने क्रममा उनको पृष्ठभूमिमा कहिले भित्तामा टाँसिएका साना केटाकेटीले पठाएका प्रेमपूर्ण शुभकामना पत्र देखिन्छ भने कहिले उनको शिशुको खेलौना।
उनी नागरिकसँग ठ्याक्कै यसरी कुरा गर्छिन् मानौं कि उनी आफू नजिकको साथीभाइसँग कुरा गर्दैछिन्। कोरोनाको विपतमा उनी र अन्य पनि उनी जस्तै नेतृत्वहरूको सफलता र ट्रम्पजस्ता नेताहरूको असफलताले संसारलाई आवश्यक नेतृत्व कस्तो भनेर छर्लङ्गै भएको छ।
अवश्य पनि, ज्यासिण्डा जस्तो नेतृत्व राज्य शक्तिमा पुग्नको लागि न्युजिल्यान्डका जस्ता विवेकी र आफ्नो उत्तरदायित्वबोध भएका नागरिक पनि चाहिन्छन्।
अब नेपालमा त्यसको नेतृत्व चाहिँ प्रत्येक विवेक जागेको नागरिकले लिनुपर्छ। नेतृत्व लिनु भनेको कुनै पदमा पुग्नु वा पदको जिम्मेवारी लिनु मात्र होइन।
नेतृत्व लिनु भनेको आफू रहेकै ठाँउबाट परिवर्तनका लागि भूमिका खेल्नु पनि हो। कहाँबाट कसरी सकिन्छ, प्रत्यक्ष राजनीतिमा लागेर वा जिम्मेवार नागरिक भएर राजनीतिलाई सफा गर्ने सामान्य नेपालीले नै हो। राजनीति स्वार्थहरूको फोहोरी खेल होइन, उच्चतम मानवीय संवेदना सहितको लोकको सेवा हो।
गणतान्त्रिक राज्य व्यवस्था र छलनीतिबाट असफल नेतृत्वको कारण नयाँ सम्भावना पनि खुलेको छ। हामीलाई राजनीतिको नयाँ परिभाषा स्थापित गर्ने अवसर मिलेको छ, आ-आफ्नो ठाउँबाट योगदान दिऔं।
अन्त्यमा,
तसर्थ अबको आवश्यकता अर्को कोही तिलस्मी नेताको खोजीको होइन भुइँमान्छेहरूको विवेकको जागरणको हो। यो देशलाई नयाँ दिशा दिने अब तपाईं हामी मध्येकै सामान्य तर विवेक जागृत भएका भुइँमान्छेहरूले नै हो।
यदि हामी अहिलेको हाम्रो देशको दुर्दशापूर्ण राजनीति फेरेको देख्न चाहन्छौं र साँच्चै नै लोकतन्त्र उन्नत भएर परिणाम दिएको हेर्न चाहन्छौं भने उपाय एउटै छ। हामीले आफूभित्र रहेको "पीडित पात्र" लाई "परिवर्तनकारी पात्र" मा परिणत गर्नैपर्छ । आउनुहोस्, अब यो देशमा विवेकको दीयो बालौं !