कोरोना भाइरसविरूद्ध खोप पत्ता लगाउन संसारभरका वैज्ञानिक जुन रफ्तारमा अनुसन्धान गरिरहेका छन्, त्यही रफ्तारमा भाइरसको प्रकृति र स्वभावमाथि पनि अनुसन्धान जारी छ।
दुवै अनुसन्धान एकअर्कासँग सम्बन्धित छन्। भाइरसको प्रकृति र स्वभाव यकिन भएपछि मात्र यसलाई परास्त गर्ने खोप पत्ता लगाउन सकिन्छ।
वैज्ञानिकहरूका निम्ति सबभन्दा चुनौती नै यो भाइरसले मानव शरीरमा प्रवेश गरिसकेपछि कसरी आफ्नो असर देखाउँछ भनी यकिन गर्नु हो। हरेक देशमा यसको असर फरक-फरक पाइएको छ। सुरूमा यसले बढी उमेरका व्यक्तिलाई धेरै असर पार्छ भनिन्थ्यो। पछिल्लो समय शिशुहरूमा पनि संक्रमण देखिन थालेको छ। नेपालमै दुई महिने र छ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ।
यति मात्र होइन, खुला हावामा भाइरसको असर कम हुने भन्दै कतिपय मुलुकले लकडाउन खुकुलो पारेर मानिसलाई हिँडडुल गर्न छुट दिएका छन्।
भाइरसको स्वभाव नै के भने, यो जति फैलिँदै जान्छ, यसको स्वरूप र यसले पार्ने असर उति परिवर्तन हुँदै जान्छ। साढे चार महिनाअघि चीनको वुहानमा देखिएको कोरोना भाइरस र पछिल्लो समय नेपालमा भेटिएको भाइरसको प्रकृति फरक हुन सक्छ। त्यो पहिलेभन्दा घातक पनि हुनसक्छ वा कमजोर भइसकेको पनि हुनसक्छ।
अमेरिका लगायत कतिपय मुलुकमा भाइरसले घातक स्वरूप लिएको अनुसन्धानले देखाएको छ। जबकि, भारत, नेपाल लगायत देशमा आइपुग्दासम्म कोरोनाको क्षमता कमजोर भइसकेको हो कि भन्ने आकलन पनि छ।
यो हामी तब मात्र यकिनसाथ भन्न सक्छौं, जब नेपालमा पाइएका कोरोना भाइरसको जीनमा के-कस्ता परिवर्तन आए भनी वैज्ञानिक परीक्षण हुनेछ।
नेपालमा अहिलेसम्म २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्। यी सबै बिरामीमा भेटिएको भाइरसको नमूना केन्द्रीय प्रयोगशालासँग छ। त्यसको जीन परीक्षण गर्ने हो भने नेपाल आइपुगेको भाइरसको स्वरूप र घातक क्षमता पत्ता लगाउन सकिन्छ। चीनमा भेटिएको भाइरसको दाँजोमा कुन हदसम्म आफ्नो स्वरूप र प्रकृति फेरिसक्यो भन्ने पनि जीन परीक्षणबाट थाहा हुन्छ।
अब प्रश्न उठ्छ, नेपालमा फेला परेको भाइरसको वैज्ञानिक परीक्षण गर्ने काम कसको? के हामी यो परीक्षण आफैं गर्न सक्षम छौं?
म बायो-टेक्नोलोजीको विद्यार्थी हुँ। त्रिभुवन विश्वविद्यालय, केन्द्रीय बायो-टेक्नोलोजी विभागबाट स्नातकोत्तरको थेसिस लेख्दैछु। यस आधारमा कोरोना भाइरस मेरो अध्ययनको विषय हो।
म यो लेखमा दुईवटा विषयमा चर्चा गर्दैछु - हाम्रो बायो-टेक्नोलोजी विभाग भाइरसको वैज्ञानिक परीक्षण गर्न सक्षम छ कि छैन? र, हामी आफ्नो तमाम प्राविधिक सीमितताका बाबजुद के-कस्ता परीक्षण गर्न सक्छौं?
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले केही समयअघि विभिन्न सञ्चार माध्यममार्फत् बायो-टेक्नोलोजी तथा माइक्रो-बायोलोजी विभाग कोरोना परीक्षणमा सक्षम रहेको बताउँदै सम्बन्धित प्राध्यापक तथा विद्यार्थीलाई यसमा खटाउने जानकारी दिनुभयो।
यो समाचार पढेर हामी उत्साहित भयौं। हामीलाई आफ्नो ज्ञान र सीप देशको भलाइमा प्रयोग गर्ने अवसर पाएको अनुभूति भयो।
कोरोना परीक्षणका लागि अत्यावश्यक पिसिआर, बिएसएल-२ क्याबिनेट लगायत उपकरण हाम्रो बायो-टेक्नोलोजी विभागसँग छ। हामी यस विभागका विद्यार्थी ती उपकरण चलाउन सक्षम छौं।
बायो-टेक्नोलोजी विभागका प्रमुख प्रा.डा. कृष्णदास मानन्धरले पनि सरकारका सम्बन्धित निकायलाई हाम्रो प्राविधिक तथा विद्यार्थीहरूको क्षमता अवगत गराउँदै पिपिई लगायत सुरक्षा सामग्री उपलब्ध भए कोरोना परीक्षणमा काम गर्न तयार रहेको बताइसक्नुभएको छ।
प्रा.डा. मानन्धरले भारत लगायत विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्दै द्रुत परीक्षण गर्न बायो-टेक्नोलोजी विद्यार्थी परिचालन गर्न सकिने पनि जानकारी गराइसक्नुभएको छ। यसबारे हामीले स्वास्थ्य मन्त्रालयदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद लगायतसँग पटकपटक चासो राखिसकेका छौं।
उहाँहरूले दुईपटक कोरोना परीक्षणमा काम गर्न सक्ने दक्षता भएका विद्यार्थी जनशक्तिको नामावली माग्नुभएको थियो, जुन हामीले बुझायौं। नामावली बुझाएपछि हामीले छिट्टै अनुसन्धानमा सरिक हुन पाइने आश गरेका थियौं। तर, त्यस्तो भएन।
अरू देशमा यस्ता महत्वपूर्ण घटना हुँदा सबभन्दा पहिला विश्वविद्यालयलाई नै अध्ययन-अनुसन्धानमा सरिक गराइन्छ। हामीकहाँ भने अध्ययन गर्न सक्षम छौं भन्दाभन्दै स्वास्थ्य मन्त्रालयले विश्वविद्यालयलाई सरिक गराउन कुनै तत्परता देखाएन।
बरू कीर्तिपुर नगरपालिकाले कोरोना परीक्षणका लागि बायोटेक विभागसँग समन्वय गर्यो। नमूना परीक्षणका लागि नयाँ प्रयोगशाला बनाउने तयारी भयो। नगरपालिकाले भवन पनि उपलब्ध गराउने भयो। मेयर र हाम्रा विभाग प्रमुखसहितको टोलीले उक्त भवन निरीक्षण गरिसकेको थियो।
यसबीच विभाग प्रमुख प्रा.डा. मानन्धर उपकुलपतिलाई यसबारे जानकारी दिन जानुभयो। फर्किएर आउँदा उहाँले यो काम रोक्नुपर्यो भन्नुभयो। उपकुलपतिबाटै काम अघि नबढाउनू भन्ने निर्देशन आएपछि हामी रोकियौं।
यसले कोरोना परीक्षणमा सहभागी हुने र नेपालमा फैलिएको भाइरसको प्रकृति र स्वरूप पत्ता लगाउने हाम्रो उद्देश्यमा फेरि पनि तुषारापात भयो।
आज संसारका विभिन्न मुलुकले आफ्नो क्षमताले भ्याएसम्म कोरोना भाइरसबारे वैज्ञानिक अनुसन्धान गरिरहेका छन्। अमेरिका, युरोप, चीन लगायत मुलुकमा भइरहेका अनुसन्धानको दाँजोमा हामी पुग्न सक्दैनौं। त्यसनिम्ति न हामीसँग प्राविधिक क्षमता छ, न हाम्रो ज्ञानको दायरा त्यति फराकिलो छ।
यसो भन्दाभन्दै हामी बायोटेकका विद्यार्थी र प्राध्यापकहरू त्यति तन्नम पनि छैनौं। हामी हाम्रै प्रयोगशालामा कोरोना भाइरसको जीन विश्लेषण (सिक्वेन्सिङ) गरेर त्यसको स्वरूप र प्रकृतिलाई अन्य मुलुकमा पाइएका भाइरससँग दाँज्न सक्छौं।
यसनिम्ति सरकारले अहिले भइरहेको कोरोना परीक्षणमा हामीलाई सरिक गराउन पनि पर्दैन। केन्द्रीय प्रयोगशालाले अहिलेसम्म कोरोना पुष्टि भएका २९१ जनाको नमूना हामीसँग सेयर गरे मात्र पुग्छ।
सरकार र सम्बन्धित निकायले हामीलाई ती नमूना परीक्षण गर्न दिने हाे भने हामी नेपालमा देखिएको कोरोना भाइरसको प्रभाव केलाउन सक्छौं। औसत नेपालीहरूको रोग प्रतिरोधात्मक क्षमताले यो भाइरससँग कत्तिको लड्न सक्छ भन्ने पनि पहिचान गर्न सक्छौं। त्यस्तै, भाइरसको जीन सिक्वेन्सिङ गरी त्यसको स्वरूपमा आएको परिवर्तनबारे पूर्ण जानकारी प्राप्त गरेर सरकारलाई सुझाव दिन सक्छौं।
जीन सिक्वेन्सिङबाट अन्य मुलुकमा देखिएको र नेपालमा पाइएको कोरोना भाइरसबीच के-कति अन्तर छ र कति प्रतिशत उस्तै छ जाँच्न सकिन्छ। यो अनुसन्धानबाट कस्तो खालको भाइरस हो भन्ने पनि बुझ्न सकिन्छ। अरू देशमा पाइएको भाइरसभन्दा यो कमजोर छ कि बलियो भन्ने पनि थाहा पाउन सकिन्छ। यसका लागि हामीसँग नेपालमै 'नेक्स्ट जेनरेसन सिक्वेन्सिङ' (एनजिएस), 'फ्लो साइटोमेट्री' लगायत उपकरण उपलब्ध छन्।
त्यस्तै, बिरामीको रगतको नमूना प्राप्त भए भाइरसको आक्रमणपछि शरीरले कस्तो रोग प्रतिरोधात्मक प्रणाली (एन्टिबडी) विकास गरेको छ भन्ने पनि अध्ययन गर्न सकिन्छ। नेपालमै परीक्षण किट बनाउने कोशिस पनि गर्न सकिन्छ।
दिनप्रतिदिन संक्रमित बढ्दै गएको र भारतसँगको खुला सीमाका कारण अझै धेरै संक्रमण बढ्न सक्ने जोखिममा रहेको नेपालका लागि भाइरसको स्वरूप थाहा पाउन जरूरी छ। भोलिको जोखिम हेरेर हामीले आजबाटै खोज र अनुसन्धानमा जोड दिनुपर्छ।
हामी यसमा कति सफल हुन्छौं र हाम्रो अनुसन्धान प्रभावकारी हुन्छ कि हुँदैन भन्ने त भोलिको दिनमा थाहा होला। नेपालमा कोरोना भाइरसको प्रकृति पत्ता लगाउन र महामारी काबूमा राख्न हाम्रो अनुसन्धान उपयोगी साबित होला कि नहोला वा हामी कुनै निष्कर्षमा पुग्न सकौंला कि नसकौंला भन्ने पनि हामीलाई थाहा छैन। तर, त्यो थाहा पाउन पनि त हामीलाई अनुसन्धानमा भाग लिन दिनुपर्यो।
आज हरेक देश आफ्नो क्षमताले भ्याएसम्म अनुसन्धानमा जुटेका छन्, हामीकहाँ भने प्राविधिक क्षमता भएको विश्वविद्यालयले नै अनुसन्धान गर्ने इच्छा देखाउँदा पनि किन अवसर दिइएको छैन? कम्तिमा हामीलाई काम गर्ने अवसर त दिनुपर्यो नि। भाइरसको नमूनामा पहुँच नै नदिएपछि हामीले आफ्नो प्राविधिक क्षमता र ज्ञान कसरी प्रयोग गर्ने?
हामीसँग अनुभव नभएको पनि होइन। यसअघि त्रिवि बायो-टेक्नोलोजी विभागले डेंगी भाइरस, इप्सटिन बार भाइरस लगायतमा काम गरेको थियो। उपयोगी भाइरसहरू प्रयोग गरी बहुऔषधि प्रतिरोधात्मक ब्याक्टेरियल रोगहरूको उपचार विधिमा पनि काम भइरहेका छन्। नयाँ एन्टिबायोटिक्स उत्पादनमा पनि अनुसन्धान भइरहेको छ।
भाइरसहरू समय र परिस्थितिअनुसार छिट्टै आफ्नो रूप परिमार्जन गर्न सक्छन्। त्यसमा पनि आरएनए भाइरस एकदम छिटो रूप परिमार्जन गर्ने वर्गमा पर्छ। कोरोना भाइरस पनि यहीअन्तर्गत पर्छ। अमेरिकामा पत्ता लागेको भ्याक्सिनले त्यहाँको मान्छेमा काम गरे पनि यहाँ काम नगर्न सक्छ। आरडिटी परीक्षणबाट विश्वसनीय नतिजा नआउनुको कारण यही हो।
त्यसैले, हाम्रो देशमा देखिएको कोरोना भाइरसको पनि द्रुत गतिमा परीक्षण र अनुसन्धान हुनु जरुरी छ। हामीकहाँ पहिलो कोरोना मृत्यु पुष्टि भएको बिरामीले गम्भीर अवस्थामा नपुग्दै एक्कासि सास फेर्न गाह्रो भएर ज्यान गुमाएको विवरण आएको छ। यसले ती महिलामा भएको भाइरसले नयाँ स्वरूप लिएको हुन सक्छ।
सम्पूर्ण मानव जातिमाथि नै आइपरेको संकटको यो घडीमा आफ्नो व्यक्तिगत वा संस्थागत स्वार्थ त्यागेर सबैले आ-आफ्नो तर्फबाट योगदान गर्नु जरूरी छ। यस्तो अवस्थामा हेलचेक्र्याइँ र ढिलासुस्तीको हामीले ठूलो मुल्य चुकाउनुपर्ने हुनसक्छ। अझै पनि हामीकहाँ भयावह स्थिति आइसकेको छैन। अवस्था बिग्रियो भने हामी कोही सुरक्षित रहन सक्दैनौं। रोग नै नलागे पनि प्रत्यक्ष-अप्रत्यक्ष रूपमा हामी सबै प्रभावित हुने छौं।
हामीले कुनै रहर वा रोगको संवेदनशीलता नबुझेर अनुसन्धान गर्ने इच्छा देखाएका होइनौं। अरू देशमा रोग उपचारमा संलग्न डाक्टर-नर्सहरू नै संक्रमित भएको र ज्यान गुमाएको हामीलाई थाहा छ। त्यसो भन्दैमा यही विषय अध्ययन गरेका हामी विद्यार्थीले हात बाँधेर बस्ने कुरा आउँदैन।
हामीले क्षमताले भ्याएसम्म आफ्नो ज्ञान उपयोग गर्नुपर्छ। सरकारले किन हामीलाई यसको अनुमति नदिने? यस्तो अवस्थामा पनि बायोटेक्नोलोजिस्ट र माइक्रोबायोलोजिस्ट किन परिचालन नगर्ने?
सरकारलाई यहाँका विद्यार्थीको क्षमतामा विश्वास लाग्दैन भने यस्तो शिक्षामा किन लगानी गर्नु, जुन आवश्यक परेका बेला काम लाग्दैन? बेरोजगार उत्पादन गर्ने यस्तो शिक्षा खारेज किन नगर्ने?
(लेखक त्रिभुवन विश्वविद्यालयमा बायो-टेक्नोलोजीमा एमससी पढ्दैछन्।)