विश्वब्यापी महामारीले ल्याएको नियतिको परिणामस्वरुप मुलुक करिब दुई महिना यता कोरोनाको कहरस्वरुप बन्दाबन्दी (लकडाउन) मा गतिहीन हुन बाध्य छ।
विश्वका सबैजसो मुलुकको सामाजिक जीवन एकै छ तर आर्थिक दृष्टिले हाम्रो लागि लकडाउन गरिबी तथा बेरोजगारीका कारण अझ मरणासन्न अवस्थाको द्योतक भएको छ।
आज कोरोनाको नाममा हामी महामारी र लकडाउन भोग्दैछौँ भने आइन्दा यस्तो महामारी र लकडाउन आइलाग्दैन भन्ने ग्यारेन्टी छैन, बरु भविष्यमा पनि यस्तै दुरावस्था दोहोरिने सम्भावनालाई दृष्टिगत गर्दै आजको बन्दाबन्दीबाट भोलिको सम्भावित खतरालाई सामना गर्ने उपाय पत्ता लगाउने जिम्मेवारी हाम्रो पुस्तामा आएको छ।
यो भोगाइ र अनुभवबाट भावी पुस्ताले कुनै ज्ञान वा मार्गदर्शन पाउन सकेन भने वर्तमान पुस्ता नालायक हुनेछ। यही नालायकीबाट आजको संकट पैदा भएको हो कि भन्ने भ्रम भावी पुस्ताको बुझाइ हुनसक्छ।
जसरी सन् १९१८ को स्पेनिश फ्लूको महामारीमा अपनाइएको बन्दाबन्दीलाई १०२ वर्षपछि आएर हामी एक्काईसौँ शताब्दीको महामारीमा पनि अपनाउन बाध्य छौँ।
त्यसैगरी आजको महामारीका भोगाइ र अनुभवहरूबाट निकालिएको उपाय भावी पुस्तालाई साझा गर्ने अघोषित जिम्मेवारी पनि भएको छ आजको महामारी, बन्दाबन्दी र यसको प्रभावस्वरुप सिर्जित आम मानसिकता।
बन्दाबन्दीको नियम तथा आवश्यकतालाई दृष्टिगत गर्दै जनजीवन, ब्यावसायिक गतिविधि र उत्पादकत्वलाई अधिकतम कसरी सुचारु र सम्भव बनाउने भन्ने दिशामा विश्वभरि नै बन्दाबन्दीका विभिन्न अवस्था र यसका सैद्धान्तिक, ब्याबहारिक तथा नीतिगत छलफल तथा प्रयत्नहरू घनिभूत ढङ्गले भैरहेका छन्।
ती उपाय र प्रयत्न हाम्रो परिप्रेक्षमा समेत उपयोगी हुन सक्छन्। बन्दाबन्दीको कारणले मानव विकाशको क्रममा गम्भीर असर पर्दै गइरहेको र यसका बहुआयामिक परिणाम तथा प्रभावका विविध पक्षले आगामी दिनमा अझ ब्यापक र घनीभूत रुपमा नकारात्मक असर पार्ने विषयमा कुनै विवाद छैन। एउटा पुस्ताको मानब विकाशमा असर पर्नु भनेको भावी पुस्तामाथि गम्भीर असर पर्नु हो। मानव बिकाश बहुआयामिक हुन्छ, साथसाथै यसको अध्ययन–अनुसन्धानका विधि विविध पद्धतिमा आधारित हुन्छ।
तीमध्ये लामो इतिहास भएको र धेरै अनुभव आर्जन गरेको एउटा पद्धति, क्षमतावादी दृष्टिकोण (क्यापबिलिटी अप्रोच) हो।
प्राचीन अध्येता एरिस्टोटल, प्लेटोदेखि औद्योगिक क्रान्ति तथा युरोपेली पुनर्जागरण कालमा उदय भएका एडम स्मिथ, कार्ल मार्क्सलगायत फ्रान्सका जाँ जाक रुसो, स्कटल्याण्डका डेभिड ह्युम, जर्मनीका इम्मानुएल कान्ट, अमेरिकाका थोमस जेफर्सन र बेन्जामिन फ्रान्कलिन् लगायत तत्कालिन दार्सनिकहरूले प्रत्यक्ष रुपमा यस्तै प्लेग वा फ्लूका महामारी, अनिकाल वा युद्धको विभिषिकाको दुष्परिणाम, दास किनबेच तथा मानिसमाथिको प्रत्यक्ष शोषण, शासकीय अत्याचारले निम्त्याएको गरिबी, महाअवरोध र संकटलाई पाठ बनाएर समाज विकासको क्रमलाई गति दिने अनेकौँ आर्थिक, दार्शनिक, समाजशास्त्रीय र राजनीतिक दृष्टिकोणको विकास गरेका हुन्।
उनीहरूका अध्ययन–अनुसन्धान तथा नयाँ सूत्र वा सिद्धान्त प्रतिपादनका स्रोत यस्तै ऐतिहासिक भवितब्य वा महासंकटहरू नै थिए।
हाम्रो समकालीन पुस्तामा क्षमतावादी दृष्टिकोण (क्यापाविलिटी अप्रोच) मा आधारित भएर अमत्र्य सेन र मार्था नुस्बौमले मानब विकासको विषयमा वैज्ञानिक तथा ब्यावहारिक अनुसन्धानलाई गति दिएका हुन् र यसलाई निरन्तरता दिइरहेका पनि छन्।
अमत्र्य सेन महाअनिकालबाट उत्पन्न मानवीय जनजीवनको विभत्स अवस्थालाई अध्ययन गरेर अनिकाल विज्ञ अर्थशास्त्री बने। तसर्थ, क्यापबिलिटी अप्रोचको विकासको मुख्य श्रेय सेन र नुस्बौमलाई जान्छ। उनीहरुको अनुसन्धान र मान्यतामा कतिपय तात्विक भिन्नता पनि छन् भने तात्विक समानता पनि छन्।
एकातिर अमत्र्य सेनको दृष्टिकोण पद्धतिअनुरुप मानिसको क्षमता समुह (क्यापाविलिटी सेट) लाई मानिस स्वयंले निर्धारण गर्ने हो र समाजको क्षमता समुहलाई प्रजातान्त्रिक पद्धतिअनुरुप समाज स्वयंले। निर्धारण गर्ने हो।
यस मानेमा सेनले उच्चतम् प्रजातान्त्रिक विधि अपनाएका छन्। अर्कातिर मार्था नुस्बौमले भने केही निश्चित क्षमता समुहको उपस्थिति अनिवार्य जस्तै हुनुपर्छ भनी वकालत गरेकी छन् र यसबारे कतिपय अध्येताहरूले कडा प्रतवाद पनि गरेका छन्।
यस आलेखको उद्देश्य बन्दाबन्दीको कारणले मानव विकासको आधारभूत तत्व, मानिसको क्षमता वा दक्षतामाथि पर्ने असरलाई, अमत्र्य सेनको जटिल राजनीतिक दर्शनका आधारमा क्यापबिलिटी अप्रोचलाई मध्यनजर गर्दै संक्षेपमा ब्याख्या गर्नु हो।
सामान्य भाषामा ‘क्यापाबिलिटी अप्रोच’ले मानिस के बन्न चाहन्छ अथवा बन्नसक्छ तथा ऊ के गर्न चाहन्छ? वा गर्न सक्छ? भन्ने प्रश्नमा सुक्ष्म तरिकाले अध्ययन गर्दछ।
यस सन्दर्भमा मानिस ‘के बन्न चाहन्छ? वा बन्नसक्छ?’ का सम्भाव्य उत्तर यस प्रकारका हुनसक्छन– मानिस खुशी बन्न चाहन्छ (सक्छ), स्वस्थ्य बन्न चाहन्छ (सक्छ), सुरक्षित बन्न वा हुन चाहन्छ (सक्छ), शिक्षित बन्न चाहन्छ (सक्छ), स्वतन्त्र बन्न चाहन्छ (सक्छ), स्वाबलम्बी बन्न चाहन्छ (सक्छ), सम्मानित हुन चाहन्छ (सक्छ), राजनीतिक रुपले सक्रिय बन्न चाहन्छ (सक्छ), लगायत अन्य अनेकौँ . . . बन्न चाहन्छ (सक्छ)।
अर्कोतर्फ, मानिसले ‘के गर्न चाहन्छ? अथवा गर्न सक्छ?’ को सम्भाव्य उत्तर यस प्रकारका हुन सक्छन्– मानिस राम्रो काम गर्न चाहन्छ (सक्छ), अध्ययन गर्न चाहन्छ (सक्छ), छुट्टि मनाउन जान चाहन्छ (सक्छ), शारीरिक कसरत गर्न चाहन्छ (सक्छ), आफ्नै व्यापार गर्न चाहन्छ (सक्छ), बिबाह गर्न चाहन्छ (सक्छ), बच्चा जन्माउन चाहन्छ (सक्छ), घुम्न जान चाहन्छ (सक्छ), सन्तुलित भोजन गर्न चाहन्छ (सक्छ) लगायत अन्य अनेकौँ . . . . चाहन्छ (सक्छ)।
यी माथिका समस्त उत्तरहरु व्यक्तिअनुसार फरक हुन सक्छन्। व्यक्तिको उत्तरलाइ सामाजिक परिवेशले पनि प्रभावमा पारेको हुन्छ।
मानिस ‘के बन्न चाहन्छ? वा बन्न सक्छ?’ तथा उ ‘के गर्न चाहन्छ वा गर्न सक्छ’ जस्ता प्रश्नको उत्तर नै वास्तबमा सम्बन्धित व्यक्तिको अन्तवर्ति क्षमताका समुह हुन्।
त्यसैले मानिसहरुको क्यापबिलिटी तथा मानव विकासलाई ‘क्यापबिलिटी अप्प्रोच’बाट अध्ययन–अनुसन्धान गर्नु चुनौतीपूर्ण कार्य हो।
महत्वपूर्ण तथ्य के हो भने, मानिसको ‘केही बन्ने चाहना र बन्ने क्षमताका’ साथै मानिस ‘के गर्न चाहन्छ वा के गर्न सक्छ’ को बीचमा उचित तालमेल हुनुपर्दछ।
यदि त्यस्तो तालमेल नभएमा ‘के गर्न सक्छ’ले ‘के बन्न सक्छ’को उत्तर दिँदैन। जस्तो, मानिसले स्वस्थकर भोजन गर्नसक्छ फलस्वरूप उ स्वस्थ्य बन्न सक्छको बीचमा सम्बन्ध तथा तालमेल पनि छ।
अझ रमाइलो त के छ भने, सेनले त यस दृष्टिकोणलाई ब्यापक आयाम बनाउँदै प्रजातन्त्र र न्यायका सिद्धान्तमाथि पनि पर्याप्त गहन अनुसन्धान गरेका छन्।
यस सन्दर्भमा महत्वपूर्ण आधारभूत तथ्य हो, मानिसका सम्भावना, क्षमता, उपयोगिता, आकांक्षा, ध्यान वा चिन्तन अनियन्त्रित तथा ब्यापक हुन्छन् । उसको क्षमता र चाहनाकाबीच उचित सन्तुलन र तालमेल हुनुपर्दछ, तर उचित तालमेल नभएको खण्डमा ‘के गर्नसक्छ’ले, ‘के बन्नसक्छ’ भन्ने सवालको उत्तर दिँदैन।
यस्ता क्षमता र सम्भावनालाई वर्तमानको अवरोधले कैद गरिदिए पछि मानिसको मानवीय पक्ष प्रकारान्तरले महानिद्रा हाईबरनेसनझैँ सुसुप्त हुन जान्छ।
बन्दाबन्दीको परिणामका साथ मुख्य प्रभाव मानिसको नकारात्मकका साथै सकारात्मक र रचनात्मक दुवै स्वतन्त्रतामाथि परेको छ। नकारात्मक स्वतन्त्रतामा लागेको बन्देजले अपराधको संख्यादेखि प्रदूषणसम्मको मात्रा घटाएको छ, तर मानब विकासमा अतुलनीय भूमिका हुने सकारात्मक स्वतन्त्रतामा उत्पन्न बन्दाबन्दीको अवरोधले मानिसको हुनसक्ने र बन्नसक्ने क्षमता र सम्भावना दुवै खाले सार्थकतालाई कुण्ठित र अवरुद्ध बनाएको छ।
समकालीन संकटमा मानिसले भोगेको भौतिक संकट, शारीरिक र मानसिक यातनाका परिणाम यही पुस्तामा रहन्छन् भने त्यसका दूरगामी असर वा प्रभावहरू आगामी पुस्तासम्म पुग्नेछन्।
जस्तै, बन्दाबन्दीमा विद्यार्थीको पढाई अवरुद्ध हुँदा तात्कालीक असरहरू यही पुस्ताले भोग्ने हो, तर त्यसले विद्यार्थी जस्तो भावी पुस्ताको संवाहक वा भावी संसारको सञ्चालकमा पर्ने असरहरू विविध रुपका हुन्छन्।
ज्ञान र विज्ञानको गति पनि बन्दाबन्दीको गतिहिनतासँगै अवरुद्ध भएर भावी पुस्तासम्म पुग्छ।
सकारात्मक स्वतन्त्रताको अभाव अथवा अनुपस्थितिमा मानिसले गर्न चाहेको कार्य चाहे जति गर्न सक्दैन फलस्वरूप उसले चाहेजति उपलब्धि हासिल गर्न सक्दैन।
उदाहरणका लागि, विद्यार्थी बिद्यालय जान चाहन्छ, बिरामी अस्पताल जान चाहन्छ, कामदार काम गर्न चाहन्छ।
मान्छे दौडन, व्यापार गर्न, भ्रमणमा जान, किनमेलमा जान, किसान खेतमा काम गर्न तथा आफ्ना उत्पादन बिक्रि गर्न चाहन्छ, आफ्ना स्वाधीन सोख पूरा गर्न चाहन्छ इत्यादि।
मानिस भन्नु नै नवसिर्जना न्यु क्रिएशन र पुन:संरचना वा दक्षता निर्माण रिक्रिएशनको प्रक्रियामा मानवतालाई सार्थक बनाउने प्राणी हो। तर जब न्यु क्रिएशन र रिक्रिएशनको प्रक्रियालाई बन्दाबन्दीले अवरुद्ध गरिदिन्छ, तब उसका लागि घरैमा बसे पनि अनुकूल बाताबरण हुँदैन, सकारात्मक स्वतन्त्रता गुमेको अवस्थामा मानिस बस्नु परेको शून्य अवधिको अवस्थाले रचनात्मक परिणाम दिन सक्दैन।
गति अवरोधको दुष्चक्रबाट उम्किने रणनीति तात्कालीक हो भने त्यसका अल्पकालीन र दीर्घकालीन परिणाम भोग्नुपर्ने कटु यथार्थ अर्को पक्ष हो।
यस्तो अवस्थामा घरेलु हिंसा, सन्तानोत्पादन, आदतजन्य स्वभावमा नकारात्मक परिणाम, आफैँमाथिको वैराग्यता, निराशा, रहरको मरण आदिले अनेकौ हाउभाउ देखाउन थाल्छन्।
कोरोना होस् वा कुनै पनि महामारीबाट बच्न र संक्रमण दरलाई न्यून गर्न बन्दाबन्दी प्रभावकारी पुरातन उपाय हो। तर यो नै महामारीको वास्तविक उपचार र संकटको समाधान होइन।
यसको पालनामा मानव समुदायले महँगो मूल्य चुकाउनु परेको छ। त्यसकारण बन्दाबन्दी आवश्यक पनि छ तर लामो समयसम्म यो भईरहेको खण्डमा मानिसले कोरोना संक्रमणबाट बच्न आफ्नो सकारात्मक स्वतन्त्रता अधिकतम गुमाउनु पर्दा त्यसले उत्पन्न गर्ने वैराग्यता, निरासा, सिर्जनहिनता हावी हुने सम्भावना बढ्छ।
आध्यात्मिक ज्ञानले भन्छ, मानिसका दुईटा मानसिकता हुन्छन्– अनुराग र विराग। मानिसको केही बन्न चाहने, गर्न चाहने, हुन चाहने पक्ष अनुराग हो। अनुरागले नै इच्छाशक्ति जगाउँछ। ईच्छाशक्तिले उर्जा दिन्छ। उर्जाले जाँगर दिन्छ र जाँगरले नवसिर्जना न्यु क्रिएशन र पुन:संरचना रिक्रिएशनमा प्रवृत्त गराउँछ।
विरागले संसार क्षणभंगुर हो, मानवीय मोक्षको मार्गमा अवरोध हो, यो संसार नै भ्रम हो भन्ने चेतना दिन्छ, जसले वैराग्य मार्गमा लैजान्छ।
हामीले जानखोजेको बाटो वैराग्यमार्ग होईन अनुरागको हो, न्युक्रिएशन र रिक्रिएशनको हो, जसको प्रत्यक्ष प्रभाव मानिस केही बन्ने चाहना र बन्नसक्ने क्षमतामाथि पर्दछ।
फलस्वरूप मानिसको क्यापबिलिटीमाथि उल्लेखनीय नकारात्मक असर पर्दछ। अन्तत्तोगत्वा मानब विकासमा गम्भीर ह्रास आउँदछ, र यो भनेको मानब सभ्यताकै कहालीलाग्दो अवस्थाको सम्भावना प्रशल हुनु हो।
तसर्थ आजको आवश्यकता, बन्दाबन्दीकै अवस्थामा पनि मानिसको क्यापबिलिटीमा गम्भीर ह्रास उत्पन्न हुन नदिने स्थितिको सिर्जना गर्नु हो।
त्यसको लागि अध्ययन, अनुसन्धान, बहस, विचारविमर्श, साझा निष्कर्ष बनाउने दिशातिर जानु जरुरी छ।
कोरोना संक्रमणको महामारी सकिएपछि पनि नयाँ विश्वब्यापी महामारी वा संकट त आइरहने सम्भावना वर्तमान महामारीले नै देखाइसकेको छ।
भविष्यको गर्भमा यस्ता अनेकौँ विश्वब्यापी महामारी वा संकटहरू लाम लागेर बसेका होलान्। मानिसको बन्नसक्ने र हुन चाहने क्षमता र सम्भावनाले आजका अदृश्य भावी सम्भावनासँग सामना गर्ने क्षमताको विकास गर्नु जरुरी भएको छ।
अमत्र्य सेनको क्यापविलिटी अप्रोचले हामीलाई धेरै हद सम्म यस्तै यस्तै सम्भाव्य समस्याको सुक्ष्म विधिद्वारा समाधान खोज्दै मानव विकासको हालको अवस्थालाइ अझ मजबुद पार्ने मार्ग देखाउँदछ।
हरेक आधुनिक राज्य र प्रजातान्त्रिक सरकारको दायित्व यस्ता महामारी र संकटबाट मानब विकासलाई विजयी बनाउँदै सिंगो पृथ्वीलाई मानिस तथा सम्पूर्ण प्राणीहरूको साझा घर बनाउन सफल हुनु हो। अन्ततः मानिसको बन्न चाहने र हुनसक्ने क्षमतावादी दृष्टिकोणको अन्तिम सार पनि यही नै हो।