नेपाल-भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरालाई लिएर विवाद जारी रहेका बेला शनिबार नेपालको प्रतिनिधिसभाले ती भू-भाग समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्वित गर्ने गरी संविधान संशोधन गर्दैछ।
दार्चुला जिल्लाको व्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुलेक क्षेत्र करिब ६० बर्ष देखि भारतीय नियन्त्रणमा छ।
सन् १९६२ को भारत-चीन युद्धको बेला नेपालको कालापानीमा आएर बसेको भारतीय सेना नेपालको भू-भाग ओगटेर बसिरहेको छ।
भारत-चीन युद्धको बेला तत्कालिन भारतको उत्तरप्रदेशको बाराहोतीबाट चिनियाँ सेनाले वास्तबिक नियन्त्रण रेखाभन्दा २० किमीभित्र धकेलिदिए पछl भारतीय सेना कालापानीमा एकत्रित भए।
१९६२ को युद्ध अन्त भएसँगै लिपुलेक नाका बन्द भयो। तर राजनीति र सामरिकरुपले भारतका लागि कालापानी जत्तिको महत्वपूर्ण ठाउँ अर्को भएन।
ऐतिहासिक रूपमा पनि भारतसँग नेपालको सबैभन्दा महत्त्वपूर्ण कूटनीतिक सम्बन्ध रहीआएको छ। तर हाल भारतले लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रको नेपाली भूमिलाई भारतमा समावेश गरी नयाँ नक्सा जारी गर्ने र नेपालको भूमिहुँदै मानसरोवर जाने सडक उद्घाटन गरेपछि दुई देशबीच तनावको स्थिती पैदा भएको छ।
भारतको दाबी:
नेपाल सरकारले अधिकारिक रुपमै नक्सा जारी गरेर लिपुलेक, कालापानी र लिम्पियाधुरामा आफ्नो दाबी गरेपछि भारतीय पक्षबाट नेपालले भारतको सार्बभौमसताको रक्षा गर्नुपर्छ भन्ने विदेश मन्त्रालयको बक्तब्य आएको छ।
नेपाली मिडियामा नेपालका दाबी प्रमाणहरु आइरहँदा भारतीय पक्षबाट भने नेपालले चीनको इशारामा भारतसँग सबन्ध बिगार्न खोजेको भन्ने बाहेक अरु ठोस प्रमाण केही देखिँदैन।
भारतीय मिडिया, सेनाका पूर्वअधिकारीहरू र पूर्वप्रशासकहरुबाट आएको भनाइलाई मान्ने हो भने उनीहरु यो नेपालले चीनको उक्साहटमा लागेर चालेको कदम बाहेक अरु तर्क गर्नै चाहँदैनन्।
नेपाल मामिलाका जानकार भनेर चिनिएका केही भारतीय अधिकारीहरु चीनले नेपालसँग १९६० को सन्धीमा लिपुलेकलाई सीमाना भनिसकेको, कालीको मुहान पंखगाड खोलाबाट आएको र कालापानीमा भारतीय क्षेत्रमा भएको बारम्बार दोहोर्याइरहेछन्।
जारी विवादका बीच नेपाल भारत वार्ता हुने तत्काल कुनै लक्षण नदेखिए पनि यदी नेपाल-भारत वार्ता भयो भने भारतले पेश गर्न सक्ने प्रमाण र आधारहरु के-के हुन सक्छन् भन्ने बारे यहाँ चर्चा गर्न खोजिएको छ।
साथै भारतले पेश गर्न सक्ने उक्त प्रमाण र दाबीहरुलाई चिर्न नेपालसँग के तयारी छ। अथवा कुन नक्सा वा डकुमेन्ट छ, यसबारे चर्चा गरौं।
भारतले दाबी गर्ने पहिलो प्रमाण:
भारतीय पक्षले पेश गर्न सक्ने एउटा प्रमाण सन् १८६० को सन्धी र त्यसको धारा ३ हो। सन १८६० मा नेपाल र तत्कालीन ब्रिटिश सरकारबीच भएको भनिएको सन्धीको तीन नम्बर आर्टीकलले भन्छ- नेपाल भारत सीमाना बगौरा तालबाट उत्तर काली वा शारदा नदीको तिरसम्म हो।
ब्रिटिश लेफ्निनेन्ट कर्नेल जर्ज राम्से र नेपालका राजा सुरेन्द्रबिक्रम शाहबीच नोभेम्बेर १, १८६० मा भएको उक्त सन्धीमा ब्रिटिश सरकारद्वारा नियुक्त सर्बेयरले बनाएको सीमानालाई नेपाल र तत्कालिन ब्रिटिश इन्डिया र नेपालको सीमाना मान्ने उल्लेख गरिएको छ।
त्यसपछि तत्कालिन ब्रिटिश सर्भेयरले १४ जुलाई १८९२ मा लेखेको पत्रमा पनि नयाँ सर्बेक्षणमा सन १८६० को सन्धीको धारा तीन अनुसार काली वा शारदालाई सिमाना मानेर सर्बेक्षण गर्न भनिएको छ र सुगौली सन्धीको धारा ५ लाई आधार बनाउनु भन्ने लेखिएको छ।
तर सन १८६० को उक्त सन्धीको धारा दुइले भने सुगौली सन्धीले कायम गरेको सीमानालाई असार नपर्ने गरी सिमाना निर्धारण गर्ने भनेको हुनाले कदाचित भारतको यो दाबी सत्य ठहरिँदैन।
सन् २००७ मा भारतीय लोकसभामा तत्कालिन बिदेश मन्त्री प्रबण मुखर्जीले दिएको जवाफ अनुसार पनि नेपाल र भारतको सीमा निर्धारण सुगौली सन्धी अनुसार नै हुनेछ भन्ने उल्लेख छ।
भारतले प्रस्तुत गर्नेसक्ने दोस्रो प्रमाण भनेको सन १८७५ को नेपालका प्रतिनिधि सिद्धिमान सिंह राजभन्डारी र ब्रिटिश कनिस्नर आएफ म्याकेन्ड्रु बीचको पत्राचार हो।
तर उक्त पत्रले पनि महाकालीको सिमाना भारतले दाबी गरेजस्तो लिपुलेकबाट सुरु हुने काली नदीको सहायक नदीलाई मानिँदैन। हाल भारतको बिहारमा पर्ने बगौरा तालको उत्तर र पहाडको फेदमा भन्ने अस्पस्ट वाक्य उल्लेख गरिएको छ।
हालै नेपालका लागि भारतीय पूर्वराजदुतले यही १८७५ को सर्बेलाइ आधार मानेर काली नदीको मुहान पंखगाड खोलामा सिफ्ट गरिएको तर्क गरेका छन्। तर तत्कालिन सर्बे अफ इन्डियाले सन १८८७ मा प्रकाशित गरेको नक्साले भने कालीको मुहान लिम्पियाधुरा नै देखाउँछ। उक्त नक्सामा देखाइएको पंखगाड र काली खोलाको मुहानमा ठुलो धेरै अन्तर देखिन्छ।
भारतीय पक्षले उठाउन सक्ने तेस्रो कुरा भनेको नेपालले चलनचल्तीमा ल्याएको पुरानो नक्सा हो। नेपाल भारत बिच सहमति हुन नसक्दा नेपालले कालापानी लिम्पियाधुरा र लिपुलेक समाबेश नयाँ नक्सा जारी गर्ने नसकेपछि तत्कालीन पन्चायती ब्यबस्थाकै कमजोर भनेर चिनिने नगेन्द्रप्रसाद रिजाल प्रधानमन्त्री भएको बेलामा जारी भएको बुच्चे नक्सा हो।
नापी विभागका तत्कालीन महानिर्देशकका अनुसार दरबारबाटै लिपुलेक र कालापानीको नापी नगर्नु भन्ने आदेश दिएपछि नेपालले बुच्चे नक्सा प्रचलनमा ल्यायो।
तत्कालिन नेपालका शाशकहरुको भारतभक्तिको जवाफ नेपालको वार्ता टोलीले कसरी दिन्छ त्यो भने आउने दिनमा देखिनेछ।
चौथो र भारतले बार्ताको क्रममा उठाउन सक्ने महत्पूर्ण कुरा नेपाल चीन बिच १८६१ मा भएको सन्धी हो। भारत र चीनबीच २१ अप्रिल सन १९५४ मा भएको सन्धी अनुसार हिन्दू र बौद्ध धर्मका तिर्थयात्रीहरु कैलाश मानसरोवर जान र व्यापार गर्न लास्साभित्र जानका लागि पाँचवटा तिब्बतीनाकाहरु प्रयोग गर्ने र ती पाँच नाकामध्ये लिपुलेक पासलाई पनि एउटा बिन्दु तोकिएको थियो।
तसर्थ सो सन्धीअनुसार लिपुलेक आफ्नो भुभाग हो भन्ने भारतको दाबी छ। सन् २०१५ को भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ सहमति अनुसार लिपुलेक नाका हुँदै भारत र चीन ब्यापार गर्ने सम्झौता भएको हो।
त्यसै गरी भारतिय पक्षले हाल पनी उठाइरेहेको अर्को कुरा हो नेपाल चीन बिचको १८६१ को सन्धी। भारतीय दाबी अनुसार सन १८६१ को नेपाल-चीन सन्धीअनुसार लिपुलेक नेपाल, भारत र चीनको सिमाना हो, लिपुलेकबाट उत्पती हुने काली नदी नै महाकालीको मुहान हो।
तर नेपाल-चीनको सीमा निर्धारण गर्दा जिरो पिल्लर/सीमानाको सुरुवाती बिन्दु किटान गरिएको छैन। त्रिदेशीय बिन्दु नछुट्टि सीमाको सुरुवाती बिन्दु पहिल्याउन नसकिने भएर त्यो बिषय पूर्व र पश्चिम दुवैतिर त्यसै छोडिएको छ।
सीमानाको सुरुवाती बिन्दु अर्थात जिरो पिल्लर नराखिएको भन्ने थाहा भएर पनि भारतले बुझ पचाएको मात्रै हो। यसबाहेक भारतले नेपाल भारत संयुक्त समितिले बनाएको २०३२ सालको नक्सामा विवाद झिक्न सक्छ।
त्यो नक्सामा विवादित कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू-भाग देखाउन भारतले अस्वीकार गरेको र त्यो नक्सामा नेपालको हस्ताक्षर नभएको नेपाली अधिकारीहरूले बताइसकेका छन्।
नेपालले प्रस्तुत गर्न सक्ने आधार र प्रमाणहरु:
नेपालसँग तत्कालीन सर्बे अफ ईन्डियाले प्रकासित गरेका नक्सा मात्र होइन, बिभिन्न भारतीय दस्ताबेज र राजपत्र र तत्कालिन समयामा आदानप्रदान भएका पत्रहरु छन्।
त्यसबाहेक २०२४ सालसम्म नाबी, कुटी गुन्जी लगायतका क्षेत्रका बासिन्दाले तिरेको तिरो, २०१८ सालको जनगणना, र बिभिन्न मितिमा गएिएका सन्धी सम्झौता मुख्य हुन्। नेपालको सबैभन्दा ठुलो प्रमाण भनेकै सुगौली सन्धीको धारा ५ हो। यो धाराले इफबट नभनी कालीनदीलाई नेपाल भारत सीमामा मान्छ।
सन् १८१६ को सुगौली सन्धीबाहेक कुनै पनि सन्धीले नेपालको पश्चीमी सिमालाई निर्धारण गर्दैनन्। यसबाहेक पनि नेपालले पेश गर्नसक्ने केही अकाटय प्रमाणहरु छन्। ब्रिटिश सर्भे अफ ईन्डियाले सन १८२४ देखि १८५७ सम्म प्रकाशित गरेको नक्सामा पनि महाकाली नदीको मुहान लिम्पियाधुरा भनेर देखाएको छ।
नेपालले पेश गर्न सक्ने पहिलो प्रमाण हो तत्कालीन समयमा जारी भएको नक्साहरु:
सुगौली सन्धीको तीन बर्षपछि सन् १८१९ मा ब्रिटिश सर्बेयर वेबले बनाएको यो नक्सा ले स्पस्टरुपमा काली नदिको उत्पती लिम्पियाधुराबाट हुने देखाउँछ। यो नक्सामा काली नदी कुती हुँदै बगेको छ।
नेपालले पेश गर्ने सक्ने अर्को नक्सा १८४६ को नामको नक्सा हो। यो नक्सामा कालापानी नेपाल भित्रै छ भने पनि काली नदीको मुहान लिम्पियाधुरा पास देखाउँछ।
त्यसैगरी हालै नेपालका लागि पूर्वभारतीय राजदुतले दाबी गरेजस्तो पंखगाड खोलालाई कालीको मुहान होइन भन्ने प्रमाणको लागि नेपालले माथि उल्लेखित जनवरी १८७९ को नक्सा पेशगर्न सक्छ।
यसबाहेक नेपालले पेश गर्नु पर्ने अर्को दस्ताबेज हो सन १९११ को अल्मोडा राजपत्र।
सन् १९११ मा प्रकाशित अंल्मोडा गजेट भाग ३५ -ले भन्छ- काली नदीको मुख्य नदी कुटियाङदी बाटसुरु हुन्छ।
त्यसैगरी Hostorical papers relating to Kumaun 1809-1842 मा समाबेस ड्ब्लु एल गार्डनर (पछि नेपालका लागि ब्रिटिश प्रतिनिधि) ले १४ मे १८१५ मा कालीनदीको उत्पती बारे लेखेको पत्र। उक्त पत्रमा लेखिएको छ, काली नदी बुदी र गार्बु गाउँको हिमान्चलबाट सुरु हुन्छ।
भारतीय मिडिया र पूर्व प्रशासहहरुले १८७५ मा काली नदीको मुहान पंखगाड खोलामा सिफ्ट गरिएको भन्ने दाबीलाई सन् १९२८ मा लन्डनकोबाट प्रकाशित भएको तलको नक्साले गलत साबित गर्दछ। यो नक्साले काली नदीको मुहान कुतीभन्दा माथि देखाउँछ।
नेपालकै नेपालकै गणेशबहादुर केसीले बनाएको २०३० सालको यो नक्सामा पनि कालापानी रातो घेरामा नेपालभित्र देखिन्छ।
यो नक्साको ब्रिटिश लाइबेरीमा रहेको छ। नेपालको लागि यो नक्सा एउटा अर्को महत्वपूर्ण प्रमाण हो ।
सन १८२४ मा प्रकासित पेपर रेस्पेक्टिङ टु नेपाल वारको पेज न ५६६ अनुसार १ जुन १८१५ मा तात्कालिन इस्ट इण्डिया कम्पनीको गभर्नर जनरल लर्ड मोइराले लेखेको गोप्यपत्रमा काली नदिको बारे "पूर्वतर्फको हाम्रो सीमा काली नदी हुनेछ जुन हिमालयबाट निस्किन्छ र सिधा बाटोबाट दक्षिणी क्षेत्र हुँदै समथर भू-भागमा पुग्छ र गोग्रा भनेर चिनिने छ’ भनेर लेखिएको छ। यो नेपालको अर्को महत्वपूर्ण प्रमाण हो।
(लेखक कालापानी क्षेत्रको विषयमा खोज तथा अनुसन्धान गरिरहेका छन्।)