नेपालको इतिहासमा जयतु संस्कृतमको महत्व सुपरिचित छ। एकतन्त्री राणा शासनको समयमा राजपरिवारसँग सम्बन्धितबाहेक सर्वसाधारण जनतालाई औपचारिक शिक्षा लिने अवसर दिइएको थिएन।
जयतु संस्कृतम राणाशासकविरुद्ध बोलेमा फाँसी चढ्नुपर्ने समयताका संस्कृत छात्रावासमा बस्ने विद्यार्थीले आधुनिक विषय पढ्न पाउनुपर्छ भन्ने माग राखेर सुरू गरेको अभियान थियो। राणाकालमा स्वस्फूर्त आएको यो अभियानले राणाशासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न ठूलो सघाउ पुर्यायो।
तर, पञ्चायती शासनकालमा प्रजातन्त्रको शंखनाद गर्ने र मानव विचारलाई प्रश्रय दिने सबै संघसंस्था र तिनका विचारमा प्रतिबन्ध लागेसँगै जयतु संस्कृतम आन्दोलन पनि प्रतिबन्धित भयो र मौनप्रायः बस्यो।
२०५४ सालमा संस्कृत क्षेत्रका अग्रणी एवं जयतु संस्कृतमका अभियन्ताहरूद्वारा अभियान स्थापनाको स्वर्णमहोत्सव मनाएसँगै संस्कृत वाङ्गमयको संरक्षण गर्ने मूल उद्देश्य राखेर जयतु संस्कृतम संस्थै स्थापनागरी कानुन बमोजिम दर्ता गरियो। जयतु संस्कृतमका अभियन्तामध्येकै श्रीभद्र शर्मा संस्थाका पहिलो अध्यक्ष भएका थिए।
वर्तमान युगलाई यन्त्रयुग भनिए पनि विवेक, न्याय, प्रकृतिप्रतिको आस्था सर्वोपरि हुुन्छ। यसैले अहिले संसार शान्तिको खोजीमा तड्पिइरहेको छ। घरमा, समाजमा, देशमा र अन्ततः विश्वभर नै शान्तिको खोजी गरिन्छ। यसको अभावमा हिजोआज मानवीयता, भाइचारा, पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्व जस्ता विषय इतिहासका पुस्तकमा सीमित हुँदै गएका छन्।
घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दवदवा व्यापक हुँदै आएको छ। आमाबाबुको सल्लाह नमान्ने, अखाद्य भनिएका वस्तुहरूको सेवन गर्ने, गुरुको अनादर गर्ने, स्वार्थी प्रवृत्तिमा बढोत्तरी भइरहेको छ। फलतः परिवारमा झगडा, मनमुटाव बढ्दै गएको र यसले हत्या र आत्महत्यासम्म पुर्याएका समाचार दिनकैजसो हेर्न र पढ्न पर्ने भइरहेको छ।
यो अवस्था लम्बिँदै गए, शाश्वत मानवअस्तित्वमा गम्भीर कठिनाइ आएर सिङ्गो समाजमा नै ठूूलो दुर्घटना हुुनसक्ने सम्भावना अनुमान लगाउन सकिने भएको छ। यो अवस्थाको बोध गरेर आपसी भलाइका लागि उपयुक्त बाटो पहिल्याउन जरूरी भइसकेको छ। यसनिम्ति कुन सूत्र उपयोगी हुनसक्छ भन्ने खोजीमा समाज लागिसकेको पनि छ।
हामीले सुन्दै र भोग्दै आएका कुरा विभिन्न अध्ययनले पनि सिद्ध गरिसकेका छन्। खानपानले आचरणमा असर गर्छ, आचरणले अध्ययनमा असर पार्छ। अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्या-कर्तव्यलाई प्रभाव पार्छ। कर्तव्या-कर्तव्यले सुकीर्ति र दुस्कीर्ति फैलाउँछ। सुकीर्ति र दुस्कीर्तिले मानिसलाई मरेतूल्य बनाउँछ वा अजरामर तुल्याउँछ। यो विश्वजनीन सत्य हो। यो नै शाश्वत सत्यको विषय हो, प्राकृतिक नियम पनि यही हो। वेद, पुराण, कुरान, बाइबलले भन्दै आएका तथ्य पनि यसैभित्र समेटिएका छन्।
जुनसुकै धर्म सम्प्रदाय मान्नेका लागि पनि धार्मिक ग्रन्थ नै नीति, कानुन, समाज व्यवस्था र सामाजिक सद्भाव जगाउने श्रोत हुन्। राज्यको नीतिनियम, संविधान पनि धार्मिक ग्रन्थहरूकै आधारमा विकास हुँदै आएको हो। परोपकार, प्रेम, मित्रता, पारस्परिक सहयोग, विश्वबन्धुत्वको जगेर्ना गर्ने श्रोत र आधार पनि तिनै हुन्।
त्यति हुँदाहुँदै पनि सबै धार्मिक ग्रन्थ सर्व–स्वीकार्य छैनन्। समूह वा जाति विशेषलाई लिएर लेखिएका देखिन्छन्। त्यस्ता धार्मिक लिखतहरू नयाँ पनि लेखिँदैछन् र बजारमा (समाजमा) आइरहेका पनि छन्। यस अवस्थामा अहिलेसम्म उपलब्ध भएका अपेक्षाकृत निर्विवादी श्रोतहरूलाई आधार बनाउनुपर्ने हुन्छ।
त्यस्ता श्रोतहरूमा वेद नै सर्वमान्य छ र विश्वभरमा वेदविरुद्ध कुनै ग्रन्थ लेखिएको मलाई जानकारी छैन। यद्यपी वेद पनि धेरै वटा भएकाले केही अन्योल भएको हुनसक्छ। तर गौढ गरेर अध्ययन गरेको खण्डमा वेदमा निरन्तरता छ, विवाद र विरोधाभास छैन। यसैले वेद धार्मिक ग्रन्थका रूपमा नलिएर नीति, कर्तव्या-कर्तव्य, राज्य व्यवस्था, समाज व्यवस्था र मानवीयताका सम्बन्धमा लेखिएको प्राचीनतम ग्रन्थ हो।
यसमा पृथ्वी, अन्तरिक्ष, वनस्पति, सूर्यको महत्व दर्शाइ महत्वपूर्ण मानिएपछि पूजा गर्नुपर्छ भन्ने मान्यता बस्दै आएकाले वेदलाई पनि यदाकदा धार्मिक ग्रन्थका रूपमा परिभाषित गर्न थालिएको हुनसक्छ। वेदको मूलरुप संस्कृत हो भन्नेबारे कुनै विवाद पाइँदैन। वेदमै विज्ञान, आयुर्वेद, तन्त्र, ज्योतिष, वातावरण आदिको वृहत चर्चा छ।
अहिले जर्मनी, बेलायत, फ्रान्स, अमेरिका, चीनमा भएका खोज र अनुसन्धानले पनि वेदको महत्व अतुलनीय भएको र यसको भाषा अत्यन्त वैज्ञानिक भएको तथ्य स्वीकारिसकेका छन्। वेदकै विषयलाई टिकाटिप्पणी, व्याख्या र विश्लेषण गर्ने क्रममा उपनिषद, पुराण र आख्यान बनेका हुन्। संस्कृतजत्तिकै वैज्ञानिक भाषा अहिलेसम्म प्रचलनमा आएका भाषामा अरू भेटिन्नन्। यसलाई नासाले नै पुष्टि गरिसकेको छ।
संस्कृत वाङ्मयमा यस्ता महत्वपूर्ण विषयको श्रोत र उपलब्धता हुने भएकाले संस्कृतलाई देवभाषा वा प्राचीनतम भाषाका रूपमा मानिँदै आएको छ। हरेक व्यक्ति, संस्था र राष्ट्रले आ–आफ्नो अस्तित्वको रक्षा गर्न पाउनु पर्छ। एक अर्कामाथि थिचोमिचो हुनुहुँदैन। स्वतन्त्रता र समानताका आधारमा आ–आफ्नो अस्तित्व उपयोग गर्न पाउनुपर्छ। यो भावनाको बिजारोपण गर्नेदेखि पल्लवित र स्थापित गराउने विद्या वा वाङ्मय भनेको संस्कृत नै हो।
सबै मानिस सुखी होऊन्, निरोगी बनून्, सबैको उन्नति होस् (सर्वे भवन्तु सुखिनः) भन्ने विश्व जनीन चिन्तन बोक्ने आदर्श संस्कृत वाङ्मयमै छ। संस्कृत वाङ्मयले आकाश, पृथ्वी, पशु, चरा, सर्प, पानी सबैलाई ईश्वर मानेको छ। यिनीहरूको अस्तित्वमा नै संसार खडा भएको छ। हामी यसैभित्र छौं।
‘यत्र विश्वं भवत्येक नीडम्’ लाई लोकव्यवहारमा ल्याउने शास्त्रसमेत संस्कृत वाङ्मय नै हो। यसमा संसारका कुनै पनि विद्वानले विरोध जनाएका छैनन्, अपितु सहमति गरेका छन् र विश्वको प्राचीनतम कल्याणकारी ग्रन्थ वेदलाई मानेका छन्।
संस्कृत भाषा र वाङ्मयलाई उपयोगमा ल्याउने, यसभित्रको विज्ञान पक्षको महत्व बोध गराउने समेत उद्देश्यले देशमा संस्कृत विश्वविद्यालय लगायतका केही संस्था स्थापना भएका छन्। त्यसरी स्थापना भएका संस्थामध्ये एउटा हो – ‘जयतु संस्कृतम’।
जयतु संस्कृतम के हो?
जयतु संस्कृतम मानव मूल्यको जगेर्ना गर्न र पहिचान दिन इतिहास जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङ्मयको संरक्षणमा लागिपरेको संस्था हो। जयतु संस्कृतमको अर्थ संस्कृत वाङ्मयको जय होस् भनिएको हो। संस्कृत वाङ्मयको जय होस् भनेको– संस्कृत भाषामाआवद्ध सार्वजनीन कुरा अर्थात् सह–अस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदि भावनाको जय होस् भनिएको हो।
सनातन धर्म, आपसी प्रेम, सद्भावको अभ्युत्थान होस् भन्ने आदर्श भावनाको शंखघोष नै जयतु संस्कृतमको सन्देश हो। हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वले आआफ्नो अस्तित्व राख्न पाउनुपर्छ, ‘स्व’– को पहिचान दिन सक्नुपर्छ, एक–अर्कामाथि थिचोमिचो हुनुहुँदैन, स्वतन्त्रता र समानताका आधारमा सबैले आआफ्नो अस्तित्वको उपयोग गर्न पाउनुपर्छ भन्ने चिन्तनको नाम जयतु संस्कृतम हो।
यो संस्थाले हाल संस्कृतमा भएका अमूल्य सम्पत्तिलाई धेरैले बुझ्ने र बोल्ने भाषामा अनुवाद पनि गरिरहेको छ। संस्कृतमा भएका चार प्रमुख पक्षहरू– दर्शन, साहित्य, विज्ञान र कर्मकाण्ड (समग्रमा वाङ्मय) प्रचारप्रसारमा यसका नियमित र विशेष कार्यक्रम निर्धारित छन्। विश्व संस्कृत सम्मेलनको तयारी गर्दैछ। महाभारतकालपछिको विश्व इतिहास तयार गर्ने उद्देश्यले उत्तर महाभारत लेख्न थालेको छ। नेपाल एकेडेमी, खुला विश्वविद्यालय लगायत संस्थासँग सहकार्य गर्दैछ।
जयतु संस्कृतम् कुनै भाषा, जात र जातिको नारा होइन, विश्व–मानवको समुन्नति, शान्ति र कल्याणकारी कार्यनिम्ति एक भएर अघि बढौं भन्ने आह्वान र विचार हो। म को हुँ, कसरी आएको वा बनेको हुँ, म बसेको समाजको निर्माण कसरी भएको छ, मेरो र राष्ट्रबीच कस्तो सम्बन्ध छ र हुनुपर्छ जस्ता प्रश्नको जवाफ जयतु संस्कृतमले दिएको छ।
म भन्नाले मभित्रको ऊर्जा, अवयव, क्षमता सबै हो। जुन समाजमा हामी जन्मे–हुर्केका छौं, जसको छहारी पाएका छौं, त्यसको संरक्षण गर्नु र महत्व बुझ्नु हाम्रो कर्तव्य हो। यो वास्तविकताको शंखघोष जयतु संस्कृतमले गर्दै आएको छ।
संस्थाको जन्मदिन असार १ गतेका दिन पुनः एकपटक वाङ्मय, भाषा र संस्कृतिको संरक्षणमा हौसला र सहकार्यमा सामेल हुन राज्य संयन्त्र लगायत स्वदेशी विदेशी सम्पूर्ण शुभेच्छुकमा अनुरोध गर्छु। आजका दिनले मानवीय मूल्यको महत्वबोधको सन्देश फैलाउन मद्दत गर्ने दृष्टिकोण प्रस्तुत गर्दै दिवसको सफलताको कामना गर्छु।
(लेखक पोखरेल जयतु संस्कृतमका अध्यक्ष हुन्)