(येल युनिभर्सिटीका प्राध्यापक रोबर्ट सिलर अर्थशास्त्रतर्फ नोबेल पुरस्कार विजेता हुन्। प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित उनको लेखको भावानुवाद)
कोरोना महामारी बेला अमेरिकी सेयर बजारको गति हेर्दा यसले अर्थशास्त्रको सामान्य तर्कलाई पनि जितेको हो कि जस्तो देखिन्छ।
अर्थतन्त्रमा तीव्र रूपमा माग घटेकाले लगानी र रोजगारी डुबिरहेका बेला सेयर मूल्य भने कसरी तैरिरहेको होला?
अर्थतन्त्रका आधारभूत सूचक र बजारको गतिबीच तालमेल नमिल्दा यो रहस्य झन् गहिरो बन्छ। तसर्थ यसलाई भीडको मनोविज्ञान, महामारीसम्बन्धी आमबुझाइ र महामारी सेरोफेरोमा हालिएका विभिन्न कथाको गतिशीलताका आधारमा विश्लेषण गर्नुपर्ने हुन्छ।
वास्तवमा निश्चित समयमा आइरहेका समाचारबारे अरू मान्छेले कस्तो प्रतिक्रिया जनाउलान् भन्ने लगानीकर्ताको अनुमानका आधारमा सेयर बजारको गति निर्धारण हुने हो। समाचार आफैंले निर्धारण गर्ने होइन। कुनै समाचार आइरहेको छ भने त्यो समाचारलाई अर्को मान्छेले कसरी बुझेको छ भन्ने अनुमान लगाएर लगानीकर्ताले सेयर बजारमा किन्ने र बेच्ने निर्णय गर्छ।
अधिकांश लगानीकर्ताले आर्थिक तथा महामारी सम्बन्धी वैज्ञानिक समाचारको महत्व विश्लेषण गर्न सक्दैनन्। मिडियामाथिको अविश्वास बढिरहेका बेला मान्छेले समाचारभन्दा पनि उनीहरूले चिनेका मान्छेले समाचारमाथि जनाउने प्रतिक्रियाको भर पर्छन्। परिस्थितिको विश्लेषण गर्ने यो प्रक्रियाले केही समय लिन्छ।
यसै कारण परम्परागत सिद्धान्तहरूमा भनिएजस्तो सेयर बजारले समाचारप्रति तुरुन्तै र पूर्ण रूपमा प्रतिक्रिया जनाइहाल्दैन। समाचारले बजारमा नयाँ दिशा पहिल्याउँछ तर यसैका आधारमा सबैले नाफा कमाइहाल्न भने सक्दैनन्।
सेयर बजारलाई कुन चीजले बाटो दिन्छ, पहिल्यै भन्न कठिन हुन्छ। तर घटना भइसकेपछि प्राप्त सूचनाका आधारमा त्यसको विश्लेषण भने गर्न सकिन्छ।
अमेरिकी सेयर बजार तैरिरहेको रहस्यमा तीन चरण छन्।
कोरोना महामारी सुरू हुने बेला (जनवरी ३० देखि फेब्रुअरी १९) 'एस एन्ड पी ५००' मा भएको ३ प्रतिशत वृद्धि पहिलो चरण। त्यसपछि मार्च २३ सम्ममा ३४ प्रतिशत गिरावटलाई दोस्रो चरण। र, त्यसपछिको ४२ प्रतिशत वृद्धिलाई तेस्रो चरण मान्नुपर्छ।
यी सबै चरणको सम्बन्ध मान्छेलाई अलमल्याउने खालका समाचारसँग छ। समाचार पछ्याउँदै बजारले लिएको दिशा हेर्दा त्यस्ता समाचारमा लगानीकर्ताले जनाएको प्रतिक्रिया र रहस्यमयी कथा निफन्दै बजार अगाडि बढेको देखिन्छ।
विश्व स्वास्थ्य संगठनले जनवरी ३० मा नयाँ कोरोना भाइरस अन्तर्राष्ट्रिय स्तरको जनस्वास्थ्य समस्या भएको घोषणा गरेसँगै पहिलो चरण सुरू भएको थियो। यसपछिका २० दिनमा एस एन्ड पी ५०० सूचक ३ प्रतिशत बढ्यो र फेब्रुअरी १९ मा हालसम्मकै उच्च विन्दुमा पुग्यो।
सम्भावित विश्व संकट घोषणा हुँदा सेयरलाई उच्च मूल्य तिर्ने निर्णय लगानीकर्ताले कसरी गरे?
यो समयमा ब्याज पनि घटेको थिएन। सेयर बजारले अर्थतन्त्रमा मन्दी आउँदैछ भन्ने अनुमान किन पहिल्यै गर्न सकेन।
यसको एउटा कारण के भने, महामारी परिचित घटना थिएन। अधिकांश लगानीकर्तालाई अरू लगानीकर्ता र उपभोक्ताले महामारीको समाचारमा ध्यान दिइरहेका छन् जस्तो लागेको थिएन। पछि विस्तारै मान्छेले देखिने गरी समाचार र बजार मूल्यप्रति प्रतिक्रिया जनाउन थाले। उनीहरूलाई सन् १९१८–२० को इन्फ्लुएन्जा महामारी अनुभव थिएन नै। न त्यति बेला महामारीले बजारमा पारेको प्रभावको तथ्यांकीय अभिलेख थियो।
चीनमा जनवरी सुरूदेखि नै लागू लकडाउन बारे अन्तर्राष्ट्रिय मिडियाले खास ध्यान दिएका थिएनन्। विश्व स्वास्थ्य संगठनले कोभिड-१९ भनेर नामाकरण नगरुन्जेल अर्थात फेब्रुअरीको ११ सम्म नयाँ भाइरसले ल्याएको रोगको नाम पनि थिएन।
फेब्रुअरी १९ सम्म मान्छेको ध्यान पहिल्यैदेखि चलिआएका जलवायु परिवर्तन, निरन्तरको आर्थिक गतिहिनता वा ऋणको थुप्रोजस्ता समस्यामा केन्द्रित थियो। फेब्रुअरी ५ मै टुंगिएको भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने-नलगाउने विषय अमेरिकामा पछिसम्म चर्चा भइरहेको थियो। धेरै राजनीतिकर्मी कोरोना महामारीलाई काल्पनिक समस्या मान्थे र यसको धेरै चर्चा गर्नाले व्यर्थको आतंक फैलिन्छ भन्थे।
एस एन्ड पी ५०० फेब्रुअरी १९ देखि मार्च २३ का बीचमा ३४ प्रतिशत घटेपछि दोस्रो चरण सुरु हुन्छ।
यो गिरावट सन् १९२९ को मार्केट क्र्यास जस्तै थियो। फेब्रुअरी १९ सम्म चीनबाहिर थोरै मात्र मान्छे कोरोनाले मरेका थिए। यसबीच लगानीकर्ताको सोच एउटै मात्र कुरा (महामारी) ले नभई त्यससँग जोडिएका अरू धेरै कुराले परिवर्तन गर्यो।
केही समाचार अर्थ न वर्थका थिए। फेब्रुअरी १७ मा पहिलो पटक हङकङमा ट्वाइलेट पेपरका लागि झगडा भएको समाचार आयो। ठट्यौली जस्तो लाग्ने यो समाचारको धेरै चर्चा भयो। तर योसँगै रोग फैलिँदैछ भन्ने संकेत दिने समाचार एकपछि अर्को गर्दै आउन थाले।
मार्च ११ मा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय महामारी भन्यो। मार्च ८ देखि १४ बीचमा इन्टरनेटमा ‘प्यान्डेमिक’ भनेर खोजी गर्ने क्रम उच्च विन्दुमा पुग्यो र मार्च १५ देखि २१ बीचमा इन्टरनेटमा ‘कोरोना भाइरस’ खोज्ने क्रम तीव्र भयो।
दोस्रो चरणमा मान्छेले यो अनौठौ घटनाका मुख्य कुरा बुझ्न खोजेजस्तो देखिन्छ। धेरै मान्छेले यस बारे अत्तोपत्तो पाउन सकेनन्। बजारमा सेयर मूल्यमा प्रभाव पार्न सक्नेले यस बारेमा के सोचिरहेका छन् भन्ने थाहा पाउनु झन् टाढाको कुरा भयो।
बजार ओरालो लाग्न थालेपछि लकडाउनका कारण अर्थतन्त्र र व्यापार व्यवसायमा परेको असरका कथा मिडियामा आउन थाले। लकडाउन गरिएको चीनमा केही मान्छे खानाका लागि किराफट्यांग्रा खोजिरहेका छन् भन्ने समाचार, इटालीमा संक्रमितले भरिएको अस्पतालमा चिकित्सकले कसलाई हेर्ने, कसलाई नहेर्ने भन्दै रोज्न र छाड्न थालेको समाचार निकै डरलाग्दा थिए।
यी कथा सन् १९३० दशकको आर्थिक महामन्दीकै जस्तो भयावह थिए।
एस एन्ड पी ५०० मा ४० प्रतिशत वृद्धि भएपछि तेस्रो चरणको थालनी भएको मान्नु पर्छ। यो चरणमा केही आर्थिक तथा मौद्रिक नीति सम्बन्धी समाचार आए। मार्च २३ मा अमेरिकी केन्द्रीय बैंकले ब्याज घटाएर लगभग शून्यमा झारेको थियो। उसले सिर्जनशील कर्जा सुविधा अन्तर्गत आक्रमक कार्यक्रम ल्याउने घोषणा गर्यो। चार दिनपछि राष्ट्रपति ट्रम्पले २० खर्ब डलर बराबरको कोरोना भाइरस सहायता, राहत तथा आर्थिक सुरक्षा कार्यक्रम घोषणा गरे। उनले यसमार्फत आर्थिक उत्थान हुन्छ भन्ने वचन दिए।
अमेरिकाका यी दुवै उपाय र अरू मुलुकले ल्याएका यस्तै कार्यक्रमहरू, सन् २००८ को आर्थिक मन्दीसँग जुध्न ल्याइएका प्याकेजसँग मिल्दाजुल्दा थिए। सन् २००८ मा पनि यस्तै प्याकेजले सुरूमा सेयर मूल्य विस्तारै र पछि तीव्र गतिमा बढेको थियो।
एस एन्ड पी ५०० ले २००९, मार्च ९ मा छोएको सबभन्दा तल्लो विन्दुको तुलनामा ५ गुणा बढेर २०२० फेब्रुअरी १९ मा उच्चतम विन्दुमा पुगेको थियो।
धेरै मान्छेलाई केन्द्रीय बैंक र राष्ट्रपतिको योजनाबारे थाहा थिएन। तर केही लगानीकर्ताहरू यो प्याकेजले पहिले कसरी काम गरेको थियो भन्ने बारेमा जानकार थिए।
सन् २०१८ यता सेयर बजारमा आएका सानातिना उतारचढावका कथा पनि यसबीचमा धेरै मान्छेले सम्झिए। सन् २००९ मा तल्लो विन्दुमा पुग्दा पनि सेयर नकिनेकामा धेरैले पछुतो पनि माने। उनीहरूलाई सन् २०२० मा बजार पर्याप्त मात्रामा झर्यो भन्ने लाग्यो। उनीहरूले बजार प्रवेश गर्ने बेला यही हो भन्ने ठाने, अहिले नकिने पछि परिन्छ भन्ने सोचे।
कोभिड-१९ का यी तीनै चरणमा समाचारको प्रभाव स्पष्ट देखिन्छ। तर सेयर मूल्य घटबढमा समाचारको प्रभाव तुरुन्त देखिएको वा तर्कसंगत प्रभाव परेको भन्ने ठोकुवा गर्न सकिँदैन। वास्तवमा सेयर बजारमा त्यस्तो प्रभाव दुर्लभ हुन्छ।