फेसबुकमा ठीक ३ वर्ष पहिला राखेको फोटो र स्टाटसले सम्झायो आज इन्जिनियर दिवस रहेछ।
यो पेशामा संलग्न सबैलाई शुभकामना!
तर आज देशमा इन्जिनियर भनेर शिर ठाडो गरेर देशमा बाँच्न सक्ने अवस्था छ कि छैन? पेशागत मर्यादामा रहेर कति इन्जिनियरले देश सेवा गरिरहनु भएको छ?
सरकारी कोटामा सरकारको लाखौं अनुदानमा पढेका इन्जिनियरहरू किन विदेश पलायन भइरहेका छन्? के देशलाई इन्जिनियरको जरूरत अब नपर्ने भइसक्यो?
किन प्रत्येक दिन इन्जिनियर घुसकान्डमा फसेका खबर आइरहन्छन्?
यस्ता यावत प्रश्नहरूको जवाफ सरकार र इन्जिनियर पेशामा रहेका सम्पूर्ण नेपाली इन्जिनियरहरूले सोच्नै पर्ने बेला आएको छ।
एक दिन इन्जिनियर दिवस भनेर हल्का रमाइलो गरेर यो दिवसलाई खेर नफालौं।
इन्जिनियर र घुस प्रकरणसम्बन्धी मैले दुई लेख राष्ट्रिय पत्रिका र अनलाइनमा लेखेपछि मेरा केही इन्जिनियर साथीहरूले निकै दुखेसो पोख्नु भएको थियो।
देशमा अनैतिक काम गर्ने इन्जिनियर मात्र छैनन्। ज्यानको बाजी मारेर दिनरात खटनेहरूलाई चित्त दुखाउने मेरो कुनै ध्येय थिएन र छैन पनि।
भर्खर मात्र मेलम्चीमा आफ्नो कर्तव्य निर्वाह गर्दागर्दै एक इन्जिनियरको निधन भयो। माओवादी युद्धताका केही इन्जिनियरको हत्या भयो, धेरैसँग चन्दा असुलियो तर उनीहरूको पीडा न सरकारले सुन्यो न कुनै दल विशेषले।
दिनरात खटिएर सडक, पुल , भवन , जलविद्युत आयोजना निर्माण गर्ने आफ्नो परिवारभन्दा देश निर्माणलाई प्राथमिकता दिने हजारौं इन्जिनियरहरू अहिले पनि देशमा छन्, काम गरिरहेका छन् तर उनीहरूलाई प्रत्येक सेकेन्ड सेकेन्डमा डर छ।
कतै बिनाकसूर अख्तियारले लाने त होइन ? कमसल कामको बिल पास नगरे बापत कसैले नक्कली भिडिओ वा अडिओ बनाएर फसाउने त होइन? अनैतिक काममा हस्ताक्षर गर भनेर अप्राविधिक हाकिमले दवाब दिने त होइन? यस्ता अनेकन तनावका बीचमा रहेर नेपाली इन्जिनियरहरूले काम गर्नु परिरहेको छ।
प्राय:जसो सरकारी कार्यालयहरूमा इन्जिनियरका हाकिम अप्राविधिक व्यक्तिहरू छन्। उनीहरूलाई प्राविधिक कुरो थाहा हुँदैन र बुझाउन खोझ्दा बुझ्न खोज्दैनन् ( सबै होइन धेरै जसो )।
तिनै अप्राविधिक हाकिमले विभिन्न दबाव दिएर अनियमितता गराउने प्रयास गर्दा धेरै इन्जिनियर जागिर छोडेर विदेश भासिएका छन्। केही भने उनीहरूको जालमा फसेर ‘घुसिया इन्जिनियर’ बनेर देशमै करोडौं कमाउँदै मोजमस्ती गरिरहेका छन्।
नेपालमा सरकारी जागिर छोडेर अमेरिका भासिएका मेरा मित्र जो अहिले निर्माण व्यवस्थापनको काम गर्छन्। उनको अनुभवमा नेपालमा १ वर्षमा गर्ने काम सोही व्यक्तिले अमेरिकामा १ महिनामा गर्छ।
यो उदाहरणबाट थाहा हुन्छ हाम्रो सरकारी संयन्त्र कस्तो कमजोर छ भन्ने।
उनका अनुसार नयाँ जोसका साथ काम गर्न गएका युवा इन्जिनियर कार्यालयको काम गर्ने शैली र पुराना इन्जिनियरको घाम ताप्दै तलब पकाउने सल्लाहले विरक्त हुन्छन्। अनि विदेश भासिने सपना बुन्न थाल्छन्।
सरकारी कोटामा इन्जिनियर पढ्दा देशले प्रतिव्यक्ति ८ देखि १० लाखको लगानी गरेको हुन्छ।
हामीले इन्जिनियरिङ पढ्दा वार्षिक शुल्क ७०० रुपैयाँको हाराहारी मात्र थियो।
होस्टल शुल्क निकै न्यून ( मासिक रु १० जती ) अर्थात् सम्पूर्ण खर्च सरकारले नै व्यहोर्थ्यो। पैसा तिरेर पढ्ने कोटा सरकारी क्याम्पसमा थिएन।
तर अपसोच मेरो ब्याचका ७० प्रतिशतभन्दा धेरै इन्जिनियर अहिले विदेशमा छन् जो देशको सेवा गरिरहेका छन्।
उनीहरूलाई मेरो नमन तर सरकारले उनीहरूलाई देश निर्माणकर्ताको पहिचान र कुनै सम्मान दिएको छैन। बरु अप्राविधिक हाकिमले पेलेर राखेका छन्। त्यसरी विदेश पलायन हुनेको संख्या प्रत्येक ब्याचमा उस्तै छ।
सरकारी मात्र होइन निजी क्षेत्रमा पनि इन्जिनियरहरूको हालत बिजोग नै छ।
समयमा तलब नदिने, निकै न्यून तलबमा काम गराउने, शनिबार वा बिदाको दिन पनि काम गर्न बाध्य पार्ने, निर्माण गुणस्तरमा सम्झौता गर्न बाध्य पार्ने लगायत विभिन्न अनुचित दबावहरू उनीहरूले भोग्नु परिरहेको छ।
कतिपय कम्पनीहरूले त ३ महिनाको तलब रोकेर जागिर छोडेमा उक्त तलब नै नपाउने समेत गरेको सुन्न आएको छ।
विशेष गरी निर्माण क्षेत्रमा रहेका इन्जिनियरहरूलाई जीवन र स्वास्थ्य बीमा, सुरक्षित काम गर्ने वातावरण र पिपीई लगायतको व्यवस्था नगरेको प्रशस्त सुन्न पाइन्छ। परिवार छोडेर साइटमा खट्नु पर्ने इन्जिनियरको पीडा कस्ले बुझिदिने? बच्चालाई राम्रो स्कुलमा पढाउने शुल्क तिर्न नपुग्ने तलबले परिवार र आमाबुवाको सपना कसरी पूरा गर्ने ?
इन्जिनियरको जागिर गरेर परिवार र बच्चालाई पाल्न नसक्ने, आमाबुवालाई एक छाक मीठो मसिनो खुवाउन नसक्ने, दिनरात अख्तियारको तनाव हुने, अप्राविधिक हाकिमले मिनेट-मिनेटमा हप्काउने भएपछि विदेश नभासिएर देशमै कसरी बस्ने त इन्जिनियरहरू?
आफैं केही गर्छु भनेर निजी कम्पनी खोल्दै परामर्शदाता वा निर्माण कम्पनीको रूपमा सक्रिय हुन खोज्दा काम पाउन नातावाद/कृपावाद भएपछि कसरी टिक्ने त देशमा ?
देशका कैंयन् आयोजनामा विदेशी इन्जिनियर ल्याएर महिनाको २५-२६ लाख ( विदेशी परामर्शदाताको रेट मासिक १५ देखि ३० हजार अमेरिकी डलर हुने गरेको छ ) सम्म तिर्न तयार हुने तर देशमा रहेका इन्जिनियरलाई विश्वास नगर्ने, काम दिइहालेमा पनि निकै न्यून रकममा काम गराउने परिपाटीको अन्त्य कहिले होला?
विदेशमा रहेर उच्च दक्षता र अनुभव हासिल गरेका नेपाली इन्जिनियरलाई आकर्षक तलब दिएर देशमै काम गराउने वातावरण कहिले बन्ला? की नेपाली इन्जिनियर त ‘घुसिया’ नै हुन् यिनलाई अख्तियार लगाउनै पर्छ, विदेशी ल्याएर काम गर्नैपर्छ भन्ने मानसिकता बलियो बनाउने हो ?
दैनिक आउने घुसकाण्डका समाचारले गर्दा समाजमा इन्जिनियरलाई हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ। घुसियाको ट्याग लागेको छ। हो यो पेशामा त्यस्तो अनैतिक काम गर्नेको कमी छैन तर समग्र इन्जिनियरलाई एउटै कोटीमा राखेर हेर्नु न्यायोचित पक्कै हुँदैन।
ज्यानको बाजी लगाएर परिवार त्याग्दै देश निर्माणमा होमिएका इन्जिनियरको मन दुखाउने काम नगरौं। महाभूकम्प पछिको पुनर्निर्माणमा इन्जिनियरको सहयोग हुन्थेन भने हामी अहिले कुन हालतमा हुन्थ्यौं होला?
मेलाम्चीको पानी खुवाउछु भनेर दिनरात खटिएर आफ्नो ज्यान समेत अर्पण गर्न तयार हुने इन्जिनियरलाई घुसियाकै कोटीमा राख्दा के उहाँको आत्माले सराप्दैन होला? त्यसैले देश निर्माणका खम्बाहरूलाई सकिन्छ उचित सम्मान गरौं, सकिन्न अपमान नगरौं र समग्र इन्जिनियरिङ समुदायलाई नै घुसिया भन्ने ट्याग नलगाऊँ।
जबसम्म देश निर्माणको आधार भौतिक संरचना नै हुन र दीगो र भरपर्दो संरचना निर्माण इन्जिनियरले मात्र निर्माण गर्न सक्छ भन्ने सोच राखेर इन्जिनियरलाई उचित सुविधा र सम्मान देशले दिन सक्दैन, तबसम्म समृद्धिको बाटो तय हुँदैन।
प्रत्येक वर्ष विदेश भासिने इन्जिनियरमार्फत् देशले अर्बौं रकम मात्र होइन देश निर्माणको लागि आवश्यक जनशक्ति पनि गुमाउने गरेको छ।
यो ५८ औ इन्जिनियर दिवसको उपलक्ष्यमा सम्पूर्ण देश निर्माणमा खटिनु भएका अभियान्ताहरूलाई शुभकामना र देश अनि सरकारले उनीहरूको उचित सम्मान गारोस् भन्ने कामना।
समाजमा समग्र इन्जिनियरिङ समुदायलाई बदनाम गराउन अनैतिक काम गर्ने सीमित इन्जिनियरलाई पहिचान गरौं र सामाजिक बहिष्कार पनि गरौं।
(राम राज शर्मा जलविद्युत इञ्जिनियर हुन्)