प्रधानमन्त्री केपी ओलीले रामको जन्म भारतको अयोध्या होइन, नेपालको ठोरीमा भएको हो भन्ने अभिव्यक्ति दिएपछि रामजन्मभूमि चर्चामा छ। कतिपय नेपाली विद्वानले त्यसको समर्थन गरेका छन् भने नेपाल, भारत लगायतका धेरै विद्वान, साधुसन्त, पत्रकार, धार्मिक आस्था भएका व्यक्ति र राजनीतिज्ञहरू समेतले त्यसको कडा विरोध पनि गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्ति धार्मिक आस्थामाथिको प्रहार भन्ने उनीहरूको भनाइ छ।
यो लेखमा वाल्मीकि रामायणका आधारमा प्राचीन मिथिला राज्य र त्यसको राजधानी जनकपुर तथा कोसल राज्य र त्यसको राजधानी अयोध्या नगरको भौगोलिक परिचयको चर्चा गर्ने प्रयास गरेको छु।
वाल्मीकि रामायणमा वर्णन गरिएका दुईवटा यात्रा विवरणको संक्षिप्त कथाबाट चर्चा प्रारम्भ गरौं। यी यात्राको विवरणबाट प्राचीन मिथिला र कोसल राज्यको भौगोलिक अवस्थिति बुझ्न सहज हुने छ।
रामायण कालमा आर्यावर्त अनेक राज्यमा विभाजित थियो। ती राज्यमध्ये मिथिला र कोसल स-साना राज्य थिए। मिथिलामा राजर्षि जनक राजा थिए। मिथिलाको राजधानी जनकपुर थियो। कोसल राज्यको राजधानी अयोध्या नगरी थियो।
सूर्यवंशी इक्ष्वाकु वंशका राजाहरूद्वारा शासित कोसल राज्यमा दशरथ राजा थिए। दशरथका सन्तान नभएपछि उनले पुत्रेष्टि यज्ञ गरेका थिए। त्यसपछि दशरथका तीन रानीमध्ये कौशल्याबाट राम, कैकेयीबाट भरत र सुमित्राको कोखबाट लक्ष्मण र शत्रुघ्न गरी चार छोरा जन्मेका थिए। उनका ज्येष्ठ पुत्रका रूपमा रामको जन्म भएको थियो।
त्यस समय विश्वामित्र नाम गरेका एक प्रसिद्ध ऋषि थिए। राक्षसहरूले यज्ञमा वाधा पुराएर ऋषिहरूलाई दु:ख दिन्थे। विश्वामित्र ऋषिले यज्ञमा विघ्न गर्ने राक्षसको वध गराउन चाहन्थे। त्यो काम रामबाट मात्र सम्भव हुने ऋषिले विश्वास गरेका थिए। त्यसैले एक दिन विश्वामित्र ऋषि राम र लक्ष्मणलाई वनमा लिएर जाने उद्देश्यले राजा दशरथको दरबार पुगे। त्यस बखत राम युवावस्थामा थिए।
दशरथको अनुमति लिएर ऋषि विश्वामित्रले राम र लक्ष्मणलाई साथमा लिएर अयोध्याबाट सरयूको दक्षिण किनारबाट दक्षिणपूर्वतर्फ गएका थिए।
यात्राको पहिलो दिन उनीहरू अयोध्याबाट छ कोश टाढा सरयूको दक्षिण किनारमा बास बसेका थिए (वाल्मीकि, बालकाण्ड, सर्ग २२, श्लोक ११)। त्यस स्थानमा विश्वमित्र ऋषिले रामलाई बला र अतिबला विद्या प्रदान गरेका थिए। उनीहरू सरयू नतरेर नै दक्षिण किनारबाट सरयू र भागीरथी गंगाको संगमसम्म पुगेका थिए।
ऋषि विश्वामित्रले त्यस संगममा सरयू नदीको उद्गमस्थल र त्यसको किनारमा अवस्थित अयोध्याको भूगोल राम र लक्ष्मणलाई सुनाएको प्रसंग रामायणमा वर्णन छ। विश्वामित्र रामलाई सम्बोधन गर्दै भन्छन्, 'हे राम कैलास पर्वतमा ब्रह्माको मानसिक संकल्पद्वारा प्रकट भएको एउटा सुन्दर सरोवर छ। मानसिक संकल्पबाट प्रकट भएको हुँदा त्यस सरोवरको नाम ‘मानस सरोवर’ रहेको छ। सो पवित्र ब्रह्म सरोवर क्षेत्रबाट उत्पन्न भएको हुँदा यो नदी सरयू नामले विख्यात भएको हो। अयोध्या नगरको स्पर्श गरेर बग्ने यही पवित्र नदी सरयू हो। यहाँ सरयू नदी जाह्नवी गंगामा मिसिएको छ। ती दुई नदी मिसिँदा यहाँ ठूलो आवाज उत्पन्न भएको हो (वाल्मीकि, बालकाण्ड, सर्ग २४, श्लोक ८-१०)।'
सरयू र गंगाको संगमभन्दा पश्चितर्फबाट अर्थात् गंगामा सरयू मिसिनुभन्दा पहिले राम, लक्ष्मण र विश्वामित्रले डुंगाबाट गंगा तरेर दक्षिणतर्फ मदल र करूष नाम गरेका जनपदमा पुगेका थिए। प्राचीन राज्यलाई जनपद भनिएको छ। ती जनपद पार गरेर ताटकवनमा प्रवेश गरी विश्वामित्रको आज्ञाअनुसार रामले राक्षसी ताटकाको वध गरेका थिए।
त्यसपछि उनीहरू ऋषिहरूका आश्रम रहेको सिद्धाश्रम पुगेका थिए। विश्वामित्रले त्यस आश्रममा छ दिनको यज्ञको अनुष्ठान सम्पन्न गरेका थिए। त्यस यज्ञमा व्यवधान गर्न आएका सुबाहुसहितका राक्षसको रामले वध गरेका थिए भने मारीच रामको वाणबाट प्रताडित भएर दक्षिणतर्फ समुद्रको तटमा पुगेको थियो।
यज्ञको अनुष्ठान सम्पन्न गरी राम र लक्ष्मणलाई साथमा लिएर विश्वामित्र सिद्धाश्रमबाट मिथिलाका लागि प्रस्थान गरेका थिए। मिथिलाका लागि यात्रा प्रारम्भ गरेका उनीहरू सर्वप्रथम शोणभद्र नदीको तटमा पुगेका थिए। शोणभद्रको तटमा अवस्थित प्रदेशमा पहिले आफ्ना पूर्वजहरूले शासन गरेको इतिहास विश्वामित्रले राम र लक्ष्मणलाई सुनाएका थिए। विश्वामित्र पनि ऋषि हुनुभन्दा पहिले त्यस राज्यका राजा थिए।
शोणभद्रको तटमा उनीहरू एक दिन बास बसी अर्को दिन गंगाको तटतर्फ लागेका थिए। राम, लक्ष्मण र विश्वामित्रले गंगाको तटमा एक रात बिताई अर्को दिन बिहान गंगा तरेर उत्तरतर्फ लागेका थिए (वाल्मीकि, बालकाण्ड, सर्ग ४५, श्लोक ९)। त्यसपछि उनीहरू विशाला पुरीमा पुगी त्यस नगरका तत्कालीन राजा सुमतिको आतिथ्य स्वीकार गरी एक रात त्यहाँ विश्राम गरेर अर्को दिन मिथिलातर्फ प्रस्थान गरेका थिए (वाल्मीकि, बालकाण्ड, सर्ग ४८, श्लोक ९)।
कौशिकी (कोशी) नदी उनीहरूको यात्रा मार्गको पूर्वतर्फ रहेको थियो। यसै यात्रामा विश्वामित्रले पुण्यसलिला दिव्य नदी कौशिकी (कोशी) को तटमा हिमालयको नजिक आफ्नो निवास आश्रम रहेको राम र लक्ष्मणलाई सुनाएका थिए (वाल्मीकि, बालकाण्ड, सर्ग ३४, श्लोक १०)।
उनीहरू विशालाबाट प्रस्थान गरेर सोही दिन मिथिला राज्यको वनमा अवस्थित गौतम ऋषिको आश्रममा पुगेका थिए। त्यस आश्रममा रामको दर्शन प्राप्त गरी गौतम पत्नी अहल्या श्रापमुक्त भएकी थिइन्। अहल्या र गौतम ऋषिको सत्कार ग्रहण गरी राम र लक्ष्मण विश्वामित्रलाई अगाडि लगाएर आश्रमदेखि पूर्वउत्तर दिशामा रहेको मिथिला नरेश जनकको राजधानी जनकपुरतर्फ प्रस्थान गरेका थिए।
जनकपुरमा रामले शिवधनुष तोडेपछि रामको सीतासँग र लक्ष्मणको उर्मिलासँग विवाह निश्चित गरिएको थियो। विवाहको निश्चय भएपछि मिथिलाबाट अयोध्या दूत पठाइएको थियो । राजा जनकका दूत वाहनहरू थाकेका हुँदा तीन रात मार्गमा विश्राम गरेर चौथो दिन अयोध्या पुगेका थिए (वाल्मीकि, बालकाण्ड, सर्ग ६८, श्लोक १)। विवाहको सन्देश पाएका राजा दशरथ पनि चार दिनको यात्रा गरेर मिथिला राज्य पुगेका थिए (वाल्मीकि, बालकाण्ड, सर्ग ६९, श्लोक ७)।
जनकपुरमा सीतासँग राम, उर्मिलासँग लक्ष्मण, माण्डवीसँग भरत र श्रुतकीर्तिसँग शत्रुघ्नको विवाह सम्पन्न गरी अयोध्या फर्केका थिए। त्यसपछि विश्वामित्र भने आफ्नो आश्रम कोशीको तटतर्फ लागेका थिए।
राजा दशरथ ज्येष्ठ पुत्र रामलाई राजा बनाउन चाहन्थे। सौतेनी आमा कैकेयीको षडयन्त्रले रामलाई चौध वर्ष वनवास पठाइयो। वनवासका लागि राम अयोध्याबाट दक्षिणपश्चितर्फ लागेका थिए। घोडाको रथमा प्रस्थान गरेका राम पहिलो दिन तमसा नदीको तटमा पुगेर विश्राम गरेका थिए। दोस्रो दिन रामको साथमा गएका पुरवासीलाई सुतिरहेको अवस्थामा छाडेर तमसा नदी तरेर दक्षिणतर्फ गएका थिए। गोमती र स्यन्दिका नदी तरेर कोसल राज्यको सीमा पार गरी सोही दिन गंगाको तटमा अवस्थित श्रृङ्गवेरपुर निषाद राज्य पुगेका थिए।
निषाद राजा गुहको सत्कारसहित दोस्रो रात बिताएर रथ फिर्ता गरी तेस्रो दिन सुन्दर डुंगामा बसी गंगा तरेर वत्सदेशमा प्रवेश गरेका थिए। त्यसपछि एक रात जंगलमा रूखमुनि बिताएर अर्को दिन लक्ष्मण र सीतासहित राम गंगा र यमुनाको संगम प्रयागमा रहेको भारद्वाजको आश्रममा पुगी एक रात विश्राम गरेका थिए। प्रयागबाट भारद्वाजले बताएको मार्ग अनुसरण गरी उनीहरू यमुना नदी तरेर चित्रकूट पर्वततर्फ लागेका थिए।
वाल्मीकि रामायणमा गरिएको प्रस्तुत यात्रा विवरण वर्तमान जनकपुर र अयोध्याको भूगोलसँग मिल्नुका साथै यसबाट जनकपुर र अयोध्यापुरीको भौगोलिक अवस्थितिका सम्बन्धमा निम्न लिखित विषय प्रमाणित हुन्छ।
रामायण नै अयोध्या र जनकपुरको भूगोलका सम्बन्धमा सबभन्दा महत्त्वपूर्ण प्रमाण हो। अन्य कसैका मतबाट प्रमाणित गरिरहनु पर्दैन।
विश्वामित्र ऋषिले राम र लक्ष्मणलाई साथमा लिएर अयोध्यादेखि जनकपुरसम्म पैदल यात्रा गरेका थिए। पैदल यात्राको मार्ग अयोध्याबाट प्रारम्भ गरी सरयू नदीको किनारबाट गंगाको तटमा पुगेका थिए। यस यात्रामा सरयू नदी उनीहरूको उत्तरतर्फ थियो। उनीहरू गंगा तरेर दक्षिणतर्फ सिद्धाश्रमसम्म पनि पैदलै यात्रा गरेका थिए। त्यहाँबाट मिथिलाका लागि प्रस्थान गरेपछि उनीहरू गंगा तरेर उत्तरतर्फ लागेका थिए।
गंगाको तटबाट उत्तरतर्फ पैदल यात्रा गरेर पहिलो दिन विशाला नगरीमा वास बसेका थिए र दोस्रो दिन मिथिलाको सिमानामा प्रवेश गरेका थिए। हाल गंगाको तटदेखि जनकपुरसम्मको सीधा दूरी करिब १२० किलोमिटर छ। यो दूरी दुई दिनमा पैदल हिँडेर पूरा गर्न सम्भव हुने देखिन्छ।
मिथिलाबाट राजा जनकका सन्देशवाहक दूतहरू घोडा चढेर पश्चितर्फ चार दिनको कठिन यात्रापछि अयोध्या पुरी पुगेको स्पष्ट उल्लेख छ। दूतको सन्देश पाएका राजा दशरथ दुई छोरा भरत र शत्रुघ्नलाई साथमा लिएर सुरक्षा बलसहित जनकपुर गएका थिए। राजा दशरथ पनि चार दिन घोडाको यानमा यात्रा गरेर जनकपुर पुगेका थिए। विवाहपछि जनकपुरबाट अयोध्या फर्कने बेला हात्ती घोडामा फर्केको मात्र वर्णन रामायणमा उल्लेख छ। तर फर्किँदा कति दिन लाग्यो त्यसको उल्लेख वाल्मीकि रामायणमा छैन।
घोडाबाट जनकपुर र अयोध्या पुरीबीचको दूरी पार गर्न चार दिन लागेको थियो। वर्तमान जनकपुर र अयोध्याबीचको सीधा दूरी करिब ३७० किलोमिटर छ। घोडाबाट चार दिनमा यो दूरी पूरा गर्न असम्भव छैन। यसबाट मिथिलाको जनकपुरबाट पश्चिमतर्फ घोडाबाट मुस्किलले चार दिनमा पुग्न सकिने दूरीमा प्राचीन अयोध्या पुरी अवस्थित थियो भन्ने वाल्मीकि रामायणबाट प्रमाणित हुन्छ।
राम वनवास जाने क्रममा अयोध्याबाट रथमा चढेर दक्षिणतर्फ तमसा, गोमती र स्यन्दिका नदी तरेर कोसल राज्यको सीमा पार गरी दोस्रो दिन गंगाको तटमा अवस्थित श्रृङ्गवेरपुर पुगेका थिए। तमसा र गोमती नदी कोसल राज्यको सीमाभित्र परेको बुझिन्छ। स्यन्दिका नदी कोसल राज्यको सिमानामा थियो। स्यन्दिका नदी तरेर निषाद राज्यमा प्रवेश गरी रामको रथ श्रृङ्गवेरपुर गंगाको तटमा पुगेको थियो। वर्तमान अयोध्यादेखि श्रृङ्गवेरपुरसम्मको सिधा दूरी करिब १७० किलोमिटर रहेको छ। दुई दिनमा घोडाको रथबाट त्यति दूरी यात्रा गर्न सम्भव देखिन्छ।
रामायणमा गरिएको वर्णनअनुसार कैलास पर्वतस्थित मानसरोवर क्षेत्र सरयू नदीको उद्गमस्थल हो। मानसरोवरबाट निस्केको नदीलाई हाल नेपालमा कर्णाली भनिन्छ। कर्णाली नदी दक्षिणतर्फ भारतमा पुगेपछि महाकाली नदीसँग मिसिएर बनारसभन्दा पूर्वतर्फ गएर मात्र गंगा नदीमा मिसिन्छ। हाल यस नदीलाई भारतमा घाग्रा भनिन्छ। यही नदीको रामायण कालिक नाम सरयू थियो। मानसरोवरबाट उत्पत्ति भएको यो बाहेक अन्य कुनै नदी यस क्षेत्रमा प्रवेश गर्दैन। वाल्मीकि रामायणअनुसार यसै सरयूको किनारमा अवस्थित अयोध्या पुरी नै भगवान् रामको पावन जन्मभूमि हो।
इतिहासको लामो कालखण्डमा रामजन्मभूमि प्राचीन कोसल राज्यको राजधानी अयोध्यामा अनेक परिवर्तन आए। वालमीकि रामायणमा यसलाई अयोध्या पुरी भनिएको छ। बौद्ध कालमा यसको नाम साकेत प्रचलित हुन गएको थियो। साकेत र अयोध्या एउटै हुन्। कालान्तरमा कोसल राज्यलाई अबध भनिएको हो।
वैदिक सनातन धर्म र सभ्यता संसारमा जीवित रहेका सभ्यतामध्ये प्राचीनतम सभ्यता हो। संसारभरका हिन्दुहरूले रामायण कालदेखि नै रामजन्मभूमि अयोध्यालाई पावन तीर्थ मान्दै आएका छन्। पुण्य सलिला सरयूमा स्नान गर्दै आएका छन्। रामको जन्मदेखि वर्तमानसम्म अविच्छिन्न रूपमा अयोध्या हिन्दुहरूको धार्मिक आस्थाको केन्द्र रहँदै आएको छ। जैन र सिख धर्माबलम्बीहरू पनि अयोध्यालाई पवित्र भूमि मान्दछन्।
हिन्दु धर्मलाई होच्याउने तथा आस्थामा विचलन ल्याउने कलुषित उद्देश्यबाट प्रेरित विधर्मी र नास्तिकहरूका विचारलाई प्रमाणको रूपमा प्रस्तुत गरेर वर्तमान अयोध्या सक्कली अयोध्या होइन भन्नु हिन्दु धर्ममाथि गरिएको प्रहार हो। अनेक प्रहार पार गरेर खारिएको हिन्दुहरूको आस्थामा यस्ता विचारले कुनै नकारात्मक प्रभाव पार्न सक्ने छैनन्।
रामायणमा वर्णन गरेको भूगोलबाट मानसरोवर उद्गमस्थल भएको सरयू नदीको तटमा अवस्थित अयोध्या नगरी नै रामको पावन जन्मभूमि प्राचीन अयोध्या प्रमाणित हुन्छ। प्राचीन मिथिला राज्यको राजधानी जनकपुर नै सीताको पावन जन्मभूमि वर्तमान जनकपुर हो । जनकपुर र अयोध्या विश्वका समस्त हिन्दुहरूका पावन धार्मिक तीर्थ हुन्।
(लेखक डा. पाण्डेय हिन्दु राजनीतिक दर्शनमा विद्यावारिधि हुन्।)