आजकाल सामाजिक सञ्जालमा महिलाको ढाडको चर्चा छ। एक महिला कर्मचारी आफ्ना सहकर्मीसँग सरकारी बाइकमा चढेकी रहिछन् र कसैले उनको पछाडिबाट तस्वीर खिचेर सामाजिक सञ्जालमा राखिदिएछ। त्यसपछि यसमा कमेन्टहरू यसरी आउन थाले, मानौं ती महिलाले गर्नै नहुने कुनै अपराध गरिन्।
एउटा ढाडमा किन हाम्रो सामाजिक सञ्जाल यस्तरी तातिन्छ ? किन एक युवतीको पोशाकमा यसरी आकर्षित हुन्छन्, मानौं त्यसमा देशको न्याय, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, विकासका विषय जोडिएका छन्!
निर्मलालाई न्याय दिन नसकेको देशले यसरी युवतीको ढाडमाथि चासो राखेको देख्दा उराठ लाग्छ!
भाइरल भएको यस तस्वीरको सन्दर्भमा ट्विटरमा निकै चर्काचर्की देखें, फेसबुकमा कमेन्ट पढें।
एक मनले त सोच्यो, यो त सधैं भइरहने कुरा हो। तर, यसो भनेर कति चुप लाग्ने? यसरी पितृसत्ताको बोझ बोकेको यो समाजले महिलालाई हेर्ने दृष्टिकोण कहिले बदलिएला? यही गन्थन यहाँ लेख्दै छु।
सरकारविरूद्ध बोले जेल जाने डर हुनेलाई कुनै महिलाको चरित्रहत्या गर्न चाहिँ केहीले पनि छेक्ने रहेनछ।
अरू त अरू, एक जना ‘उपल्लो तह’का व्यक्तिको प्रतिक्रियाले पनि मलाई अचम्ममा पारेको छ।
मेरो एउटा प्रश्न छ उहाँलाई, हालै एउटा अनलाइन पत्रिकामा दिएको विवरण अनुसार उहाँलाई त्यो तस्वीर कुनै साथीले पठाउनुभएको थियो र सरकारी मोटरसाइकलमा त्यस्तो लुगा लगाएको देख्दा उहाँले अचम्म मान्दै त्यो फोटो पोष्ट गर्नुभयो। गर्लफ्रेन्ड होइनन् र दुवै कर्मचारी हुन् भनेपछि उहाँले त्यो फोटो हटाउनुभयो।
के ब्याइफ्रेन्ड/गर्लफ्रेन्ड हुनु चाहिँ अपराध हो? अनि के त्यस फोटोका पुरूषले गन्जी लाएर त्यो बाइक चलाएको भए तपाईंको ध्यान त्यो दृश्यले आकर्षित गर्थ्यो?
मेरो यो प्रश्न उहाँहरू सबैका लागि हो, जसले कमेन्टमा नानाभाँतिका तुच्छ शब्द प्रयोग गरी ती महिलालाई गाली गर्नुभयो।
एकमनले सोचूँ औपचारिक पोशाक भएन भनेर पोष्ट गर्नेहरूले अरुको सहमति बिना पोष्ट गर्नु हुन्न भन्ने ज्ञान चाहिँ पाउनुभएको रहेनछ।
यो त त्यही कुरा भयो नि “अर्काको आङको जुम्रा देख्ने र आफ्नो आङको चाहिँ भैंसी नि नदेख्ने” अझ पढे/लेखेका भनाउँदाले पनि हँसीमजाक गरेको देख्दा मन नै कटक्क खायो।
केही बोलौं, “ऊ हेरन, केही भन्नै नहुने लेखिहाल्छन्,” भनेर यो लेख पढ्ने एक समूहले भन्नुहुन्छ भन्ने थाहा छ।
कति त आफैंले पनि चिन्छु, पितृसत्ता बोकेर हिँड्नेले त पढे/लेखेर जान्ने भएको भनिहाल्छन्। तर, पुरूषहरूले राजनीतिका गफ, सेमिनार बहसमा चियाको चुस्की लिँदै बोल्दा महिलाको उपस्थिति जरूरी नठान्ने, तर यहाँमात्र एउटा महिलाको ढाडको फोटोले मनमा आगो बालिदिने रहेछ।
अचम्मको हैन त हामी पनि। त्यही ठाउँमा पुरूषले गन्जी लगाउँदा गर्मी थियो होला भनेर सामान्य मान्ने हामी महिलालाई चाहिँ संस्कार र परम्पराको ज्ञान दिन अग्रसर सर्छौं।
अनि अर्को वर्ग आउनुहुन्छ, मर्यादा भन्ने चिज हुन्छ नि भन्दै।
विचरा अंकललाई कसैको शरीरसँग जोडिएको मर्यादाको कति पिर! कठै, एउटा स्त्रीको मोटरसाइकल पछाडिको लुगाले अमर्यादित हुने हाम्रो सोच।
अलिकति कुरा गरौं न त भनेर साथीभाइ आफन्तमाझ कुरा गरेको त फेमिनिस्ट भनिहाले।
हुन त फेमिनिस्ट प्यारो शब्द हो मेरो लागि, जो सबैले समान अधिकार पाउनुपर्छ भन्ने कुरामा विश्वास राख्छौं।
लौ गन्थन सुरू गरें है मैले पढ्नुभयो भने भन्नुहोला, यस्तैले समाज बिगारेको भन्ने गाली आखिर कहिले पो नखाइने हो र? सबै गाली महिलालाई नै केन्द्रित छन्।
यो फोटा बिना सहमति खिचिएको हो, जसले ती इन्जिनियरको मानसिक स्वास्थ्यलाई समेत असर गर्यो भनेर एक पत्रिकामा उल्लेख छ।
भर्खंरै मात्रै युवाल नोआह हरारीको ‘सेपिएन्स’ भन्ने किताब पढिरहेकी थिएँ। उनले अगाडिका पानाहरूमा भनेका केही अंश सम्झिएँ।
उनले मानिसहरू कुरा काट्ने कामलाई अत्यन्तै आवश्यक रूपमा लिन्छन् भनेका छन्। त्यसलाई सामाजिक सञ्जालले झनै हो भन्ने महशुस गरायो।
मनमा अभाव छ र मानिसले त्यही कारण यस्ता विषयमा टिप्पणी गर्न रुचि भएको होला तर यो कुरा त्यसमा सीमित छैन भन्ने मेरो अन्तर्मनलाई मज्जाले थाहा छ।
पछिल्लो समय सामाजिक सञ्जाल धेरै कुराको चहलपहलले भरिएको छ। त्यसमध्ये धेरै कुराहरू भने महिला र उनीहरूका अभिव्यक्तिसँग जोडिएको छ, महिलाको लगाउने, गाउने, बोल्ने आदि विषयवस्तु। के समाज महिलाको अभिव्यक्तिप्रति असहिष्णु भएकै हो त ?
अर्को प्रश्न भनेको, त्यो पत्रिकासँग छ, जसले फेरि त्यही तस्वीर प्रयोग गरी कर्मचारीको मानसिक तनावमा परेको व्याख्या गर्यो।
अरे बाबा, मैले त पत्रकारिता भन्ने विषय पढ्दा पीडितलाई उत्पीडन दिने केही प्रयोग गर्नुहुन्न भनेर पढेको थिएँ,तर सायद चलनचल्तीमा भएको क्लिकले सुरूमै त्यो फोटो राखियो होला, अथवा हुनसक्छ त्यसप्रति कसैको ध्यान नै आकर्षित भएन।
सायद, मिडियाको विद्यार्थी भएर होला, अलिक यस्तो विषयमा म सहनशील छैन।
त्यही पोष्टमा एउटा महिलाले कमेन्ट गर्नुभएको थियो – परिस्थिति अनुसार लुगा लगाएको भए यस्तो तनाव हुने थिएन। उहाँलाई महिलाले लुगा हतारमा पनि लाएको हुनसक्ने कुरा याद भएन कि वा उनी घुम्न निस्केको पनि हुनसक्ने कुरा नकारिदिनु भएको हो?
अब हामी त खेदो खनेपछि कहाँ अरुको कुरा सुन्छौं र हैन? टीकाटिप्पणी गर्नजस्तो सहज पनि त छैन अरुको कुरा सुन्न।
मानसिक स्वास्थ्यबारे त मान्छे मरेपछि पो कुरा गर्छौं, जिउँदै त कसैलै स्वतन्त्र रूपले बाँच्न कहाँ पाइने?
घरको कुरा गरौं न, कहिलेकाहीँ जब पाहुना आउँछन् ,मेरो आमा दौडिएर सल ओढ्न जानुहुन्छ,मानौं कि उहाँको बोलिचाली, आदर सत्कारभन्दा उहाँको पहिरनले उहाँलाई चिनाउँछ।
हुन त घरमा सहज लुगा लाएर बस्न समेत अप्ठ्यारो मान्नु पर्ने हामीले बाहिर त्यस्तो आँट गर्ने?
मन गन्थन गन्थन गर्दै थियो अचानक अमर्यादित ढाड भनेर एक तस्वीर देखें। ओहो! महिलाहरू बोलेको देखेर, बलेको मनमा अलिकति भएनि सन्तुष्टि प्राप्त भयो,एक जनाले त इन्टाग्राममा “मेरो ढाड तिमीलाई के को बाल” लेख्नुभएको थियो।
म पनि सामाजिक सञ्जालमा चलेको त्यो सानो अभियानको हिस्सा बनें र मेरो अमर्यादित ढाड भन्दै इन्स्टाग्राममा एक स्टोरी हालें।
महिलालाई समाजमा कति नियम कानून है ? यो दमन मानसिकताबाट महिलाहरूले कहिले छुट्कारा पाउलान्?
अरूलाई खुसी पार्नुपर्छ भनेर सिकाइने महिलालाई आफ्नै जिउमा केही लगाउन पनि अप्ठ्यारो मान्नु पर्ने! अनि पुरूषहरू भने लुङी गन्जीमा पनि ढुक्क भएर बस्न पाइने!
यतिखेर, साली तिम्रो जोवन कसले लाने हो? साली माग्दा सासूले लखेटिन् भनेर गीतमा झुम्नेहरू भने एउटा ढाडले यत्रो आवेगमा आएका छन्।
महिलाको सारीलाई इज्जत र मानमर्यादामा जोडी उसको इज्जत उछाल्नु कतिसम्म मर्यादित काम होला? मेरो शरीर, मेरो भौतिक स्वरूप हो, यसले मेरो चरित्र निर्धारण गर्दैन।
एक महिला कोसँग हिँड्छिन्, के लाएर हिँड्छिन् भन्ने कुराले यदि विकृति ल्याउँछ भने त्यो केवल हाम्रो सोचको विकृति हो।
एक महिलालाई हामी कि देवीको दर्जा दिन्छौं कि त तुच्छ शब्दले गाली गर्छौं। हामी उनलाई कहिले सामान्य मानिसको नजरले हेर्दैनौं।
म यसकारण सम्मानको लायक होइन कि म कसैको छोरी, चेली, दिदी, बहिनी हो। म सम्मानको हकदार यसकारण हुन्छु किनकी हरेक पुरूषको जसरी सम्मानपूर्वक बाँच्ने अधिकार छ मेरो पनि छ ।
(न्यौपानेले काठमाडौं विश्वविद्यालयबाट मिडिया अध्ययनमा स्नातक गरेकी छन्)