एक साताअघि 'विपद् व्यवस्थापनमा युवाको भूमिका' बारे भर्चुअल कार्यक्रम हुँदै थियो। अतिथिहरूले आफ्ना भनाइ राखिरहँदा मेरो मनमा केही प्रश्न खट्किरहेका थिए।
म आफ्नो जिज्ञासा मेट्न कम्प्युटरको दायाँपट्टि रहेको हात उठाउने संकेत चिह्न पटक-पटक थिचिरहेको थिएँ। तर, कार्यक्रम सञ्चालकले कुनै प्रतिक्रिया जनाउनुभएन।
करिब दस मिनेटपछि मैले उहाँको व्यक्तिगत च्याटमा प्रस्ताव राखेँ, ‘सर म कर्णाली प्रदेशको सुर्खेतबाट आफ्ना केही प्रश्न र जिज्ञासा राख्न चाहन्छु।’
त्यसपछि पनि कुनै प्रतिक्रिया आएन।
मैले फेरि भनेँ, ‘सर समय अभाव छ भने म एक मिनेटभित्र सबै कुरा राख्छु, मलाई बोल्ने पालो दिनुहोस्।’
धेरैचोटि आग्रह गर्दा पनि उहाँको कुनै प्रतिक्रिया नआउँदा मलाई त्यो छलफलबाटै बाहिरिउँ कि जस्तो भयो। तर, मन मानेन। कुरा सुनेर बसिरहेँ।
त्यहाँ झन्डै ५० जना सहभागी थिए। तीमध्ये मैले मात्र हात उठाएको थिएँ। कार्यक्रम सञ्चालक भने हात नै नउठाएका पुरूषहरूलाई 'युवाको जिज्ञासा के छ' भन्दै नामै उच्चारण गरेर बोल्ने मौका दिइरहनुभएको थियो। मैले चाहिँ लगातार हात उठाउँदा पनि सुनुवाइ भएन। च्याटमै अनुरोध गर्दा पनि बेवास्ता गरियो।
एक छिनपछि अर्का एक अतिथिले आफ्नो भनाइ राख्नुभयो। जाँदा जाँदै उहाँले भन्नुभयो, ‘आजको कार्यक्रममा युवाहरूको उत्साहजनक उपस्थिति छ, धेरै युवाहरूले आफ्नो जिज्ञासा पनि राख्नुभएको छ, अब एक-दुई जना महिलालाई पनि पालो दिनुहोस्, महिला दिदीबहिनीहरूलाई बोल्न दिनुहोस्।’
उहाँले त्यसो भन्नेबित्तिकै कार्यक्रम सञ्चालकले मेरो नाम उच्चारण गर्नुभयो।
म सुरूमा त अलमल्ल परेँ। मलाई धन्यवाद पनि भनुँ कि नभनुँ लाग्यो। खिल्ली उडाउन खोजेको त थिइनँ, तर हाँसो खटाउन पनि सकिनँ।
मैले हाँस्दै भनेँ, ‘मेरो उमेर २५ वर्षको भयो, म महिला कि युवा? म युवा हुन चाहन्छु। भलै मेरो लिंग महिला होला, तर म युवा हो। युवा भनेर सम्बोधन गर्नुहोस्। मलाई महिलाका रूपमा होइन, युवाको दर्जामा अवसर दिनुहोस्।’
हुन पनि हामीलाई जुनसुकै कार्यक्रममा महिलाको कोटा पुर्याउन मात्र टिपेर राखेजस्तो गरिन्थ्यो। मैले उठान गरेको प्रश्नले सबैको मनमा एकपटक खिन्नताबोध भयो होला। तर, महिलाका रूपमा मात्र सम्बोधन गरिने हामीलाई पटक-पटक हिनताबोध भएको छ। त्यसको हिसाब कसले गर्ने?
युवा भन्ने शब्द नै लैंगिक रूपले तटस्थ हुन्छ। यसले महिला-पुरूष दुवैलाई बुझाउँछ। हामीकहाँ भने युवा भन्नेबित्तिकै पुरुष नै हो भन्ने मानसिकता छ। कसैले 'देश बनाउन युवा अघि बढौं' भन्यो भने पुरुषलाई मात्र अघि बढाउन खोजेको बुझिन्छ। जबकि, यो भनाइको आसय महिला र पुरूष दुवै अघि बढौं भन्ने हो।
हिजो मात्रै आयोजित राष्ट्रिय युवा सम्मेलनमा एक जना अतिथि आउनुभएको थियो। सम्मेलनमा म पनि सहभागी थिएँ। उहाँ उमेरले ३३-३४ वर्षको देखिनुहुन्थ्यो। नेपालमा महिलाको अवस्था कस्तो छ भन्ने विषयमा बोल्दै गर्दा उहाँले सुरूआतमै भन्नुभएको कुरा मलाई अझै याद छ।
उहाँले भन्नुभएको थियो, ‘म १९ वर्षदेखि सामाजिक कार्यमा आबद्ध छु, विभिन्न अभियानमा अभियन्ता बनेर हिँडिरहेको छु, तर यो उमेरसम्म आइपुग्दा मैले युवाको दर्जा कहिल्यै पाइनँ।’
उहाँको यो प्रसंगले मैले पटक–पटक झेलिरहेका तितामिठा अनुभव एकैपटक झल्यास्स सम्झनामा ल्यायो।
यही समय अर्को एउटा तितो अनुभव यहाँ उल्लेख गर्न चाहन्छु।
मैले नेतृत्व गरिरहेको अभियानको समाचार बन्दै रहेछ। मलाई त थाहा पनि थिएन। एक सञ्चारमाध्यमको संवाददाताले फोन गरेर भन्नुभयो, ‘म अभियानको समाचार बनाउँदैछु, मैले सुरजजीसँग कुरा गरिसकेको छु, उहाँले सबै कुरा भनिसक्नुभयो, महिलाको पनि भनाइ राखौं कि भनेर तपाईंलाई फोन गरेको।’
उहाँका यी शब्दले म एकछिन रनभुल्लमा परेँ।
मैले त्यो अभियानको नेतृत्व र परिचालन गरिरहेको थिएँ। म त्यो अभियानको सदस्य मात्र हुन्थेँ भने मलाई महिलाका तर्फबाट भनाइ राखौं भनेर नसोधेको भए पनि हुन्थ्यो।
यसबारे उहाँसँग राम्रै बहस चल्यो। भोलिपल्ट भिडिओसहितको समाचार आएछ। तलपट्टि मेरो नामको पछाडि सदस्य झुन्ड्याइएको थियो। मैले नेतृत्व गरेको नपत्याएर होला, समाचारमा लेखिएको थियो- सजना सुनार, सदस्य।
त्यतिखेर मेरो लिंग महिला भएकाले मलाई गिज्याइरहेको महशुस भएको थियो।
नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद ऐन तथा राष्ट्रिय युवा नीतिले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। विक्रम सम्बत् २०६८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा, यो कुल जनसंख्याको ४०.३५ प्रतिशत हुन आउँछ।
यो उमेर समूहका लिंग पुरुष होस् या महिला, दुवैलाई युवा मानिनुपर्छ। तर, हाम्रा विभिन्न नीति-नियम कागजमा सीमित भएजस्तै म १६ देखि १९ वर्षसम्म किशोरीका रूपमा सम्बोधन हुन्थेँ। अहिले महिलाका दर्जामा सम्बोधन हुन्छु। झुक्किएर मात्र युवामा गनिन्छु, सम्बोधनमा पर्छु। कारण, त्यहाँ महिलाको सहभागिता पुर्याउनैपर्ने अनिवार्यता हुन्छ।
युवा शब्द सुन्नेबित्तिकै अधिकांशले पुरुषलाई बुझ्छन्। लिंग महिला भए पनि १६ देखि ४० वर्ष उमेर समूहका महिला युवा हुन् भन्ने मानसिकता अझै छैन। यहाँसम्म कि, सम्बोधन पनि स्त्री जातिबाटै गर्छन्, जस्तै युवती।
एउटा घरको छोरा युवामा पर्न सक्छ, तर त्यही घरकी बुहारी युवामा पर्न सक्दिनन्। उनी महिलामा पर्छिन्। सरकारले लागू गरेको युवा स्वरोजगार कार्यक्रमका लाभान्वितहरूमा पुरुष मानिने युवा धेरै हुन्छन्, जसले लिंग महिला भएका युवा सरकारले प्रदान गर्ने सेवा-सुविधाको पहुँचमा छैनन् भन्ने प्रस्ट पार्छ।
युवा उमेर समूहभित्रै पर्दा पनि पटक–पटक महिलाका रूपमा सम्बोधन गरिनु र पछौटेपनमा पर्नु आफैंमा विडम्बना हो। हाम्रो नेपाली समाजमा रहेको चेतना स्तरको पराकाष्ठा पनि हो।
मेरो एक जना विदेशी मूलकी साथी थिइन्। एउटै कार्यक्रममा भएकाले हामी तीन महिना सँगै थियौं। हामीलाई नेतृत्व गर्ने एक जना सर हुनुहुन्थ्यो। उहाँले सबै जनालाई ‘म्यान’ भनेर सम्बोधन गर्नुहुन्थ्यो। चाहे त्यो बोलाउँदा होस्, चाहे सल्लाह-सुझाव दिने बेला होस्।
मेरो विदेशी साथीले कामबाट फर्किएर कोठामा आइसकेपछि गुनासो गर्थिन्, ‘त्यो सरले सधैं किन म्यान भन्छ, म त केटी पो हो!'
त्यस बेला उनको कुराले मलाई पनि कहीँ कतै त्यस्तै लाग्थ्यो। किन ‘म्यान’ भनेको होला!
तर, आज आएर सोच्दा सरले भन्नुभएको स्वाभाविक नै लाग्यो। अंग्रेजीमा ‘म्यान’ नेपालीमा ‘मान्छे’। हामी मानव जातिलाई मान्छे भनेर सम्बोधन गर्नु ठिकै होइन र? लन्डनमा जन्मे-हुर्केकी मेरी साथीलाई पनि मान्छे भन्नेबित्तिकै पुरुष जाति नै लाग्दो रहेछ। त्यसरी नै हाम्रो नेपाली समाजमा युवा भन्नेबित्तिकै पुरुष जाति नै लाग्छ।
व्यक्तिको लिंग महिला भए सम्बोधनमा पनि युवती भनेर स्त्रीलिंग लाग्छ। एउटै उमेर समूहभित्र पर्ने पुरुषलाई युवा नेता भनेर सम्बोधन गरिन्छ। तर, लिंग महिला भएकै आधारमा महिला नेतृ भन्ने गरिन्छ। मलाई बडो गर्व लाग्छ, जब रञ्जु दर्शनालाई युवा नेतृ भनेर सम्बोधन गरिन्छ। तर, यो पनि सत्य हो, विवाह भइसकेको हुन्थ्यो भने उनी महिला नेतृ हुन्थिन्।
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भइन्। त्यस बेला उनले भनेकी थिइन्, ‘मैले मेरो उमेर वा लिंगबारे कहिल्यै केही सोचेकी छैन।’
मरिन प्रधानमन्त्री भइसकेपछि उनलाई चिन्ने-नचिन्ने सबैले बधाई र शुभकामना दिए। नेपाली नागरिकहरूका सामाजिक सञ्जालमा पनि उनलाई बधाई र शुभकामना दिइएको छ्याप्छ्याप्ती भेटिन्थे। तर, उनलाई युवा प्रधानमन्त्री भनिएको थिएन, कम उमेरकी महिला प्रधानमन्त्री भनेर सम्बोधन गरिएको थियो।
यहाँ धेरै अनुभवी र राम्रो काम गरेका उदाहरणीय महिलाहरू हुनुहुन्छ। जसले आफ्नो जीवन कालको युवा उमेरमा पनि आफूलाई युवा भनेर भन्न सक्नुभएन, न कसैले युवा भनेर सम्बोधन नै गर्यो।
युवाभित्र पनि महिला र पुरुष भनेर विभेद गरिनु, महिला र पुरुषको दर्जाले अवसर दिइनु, युवा भन्नेबित्तिकै पुरुषलाई इंगित गरिनु- यी सबै कत्तिको जायज छन्? आज अन्तर्राष्ट्रिय युवा दिवसको दिन तपाईं-हामी सबैले यो कुरा एकपटक मनन् गरौं। हामी क्षमताका आधारमा मूल्यांकन गरौं, न कि व्यक्तिको लिंगका आधारमा।
मैले यो युवा दिवसभरि १२ देखि १५ वटासम्म भर्चुअल छलफल र अन्तर्क्रियामा भोगेका अनुभवसँगै सबैसँग यही अनुरोध गर्न चाहन्छु, मजस्ता युवाहरूलाई युवाकै दर्जा दिएर सम्बोधन गरिदिनुहोस्।