‘रेस्ट इन पिस माई सिस्टर!’
म झसंग भएँ।
यो फेसबुक स्ट्याटस साथीको दाइले पोस्ट गरेका थिए। सिरानको क्याप्सन पढिसक्नेबित्तिकै आँखा तल भएको फोटोमा ठोक्कियो। फोटो उही मेरो क्लासमेटको थियो। करेन्टको झड्का लागेजस्तै म केही बोल्नै सकिनँ। गला अवरुद्ध भयो। एकछिनसम्म एकोहोरो फोटो हेरिरहेँ। फोटोमा मेरी साथी सधैंका लागि ढलिरहेकी थिइन्।
उनका एकजोर आँखा बन्द थिए। फोटो हेर्दा यस्तो लाग्थ्यो, मानौं उनी गहिरो निन्द्रामा छिन्। समाजका सबै बन्धन तोडेर स्वतन्त्र भई खुला आकाशमा बादल माथि माथि उडिरहेको सपना देखिरहेकी छन्। तर आँखा छेउको निलडामले प्रस्ट हुन्थ्यो, उनी स्वतन्त्रताको सपनामा होइन, निर्दयी बिपनाबाट विदा भएकी छन्।
उनको च्यातिएको कपडाले भनिरहेझैं लाग्थ्यो, ‘उर्मिला! स्कुल पढ्दा हामीले सँगै देखेको सपना यो कपडाजस्तै धुजा धुजा भएर च्यातियो।’
...
उनी मधेसी मूलकी थिइन्, म जनजाति मूलकी।
समुदाय फरक भए पनि हामी एउटै गाउँमा हुर्किर्यौं, एउटै स्कुलमा पढेर सपना सजायौं। हाम्रो गाउँ खयरमारा, जिल्ला महोत्तरी। उनको पूरा नाम सुनीला यादव। करिब आधा घन्टाको दुरीमा छ, उनको र मेरो टोल। त्यो दुरी हामीलाई टाढा लागेन। जीवनको एक दशक एउटै स्कुल पढेर, सँगै बजारमा फिल्म हेर्न गएर बितायौं।
स्कुले जीवन रमाइलो थियो। मधेसको टन्टलापुर घाममा कहिले पसिना पुछ्दै, कहिले मुटु कमाउने शितलहरमा पुराना कागज बालेर आगो ताप्दै हामीले बाल्यकाल बितायौं। आगो ताप्ने ग्याङ्गमा सुनिला र मसँगै चन्चला, फुलन, आरती, बबिता, राम पनि हुन्थे। मबाहेक उनीहरू एउटै टोलका थिए, सबै मधेसी मूलका।
हामी एकदमै मिल्ने साथी थियौं। म तामाङ टोलबाट स्कुल पुग्थेँ। उनीहरू लाइन लागेर माहुरीजस्तै हुरुरु एकैपटक कक्षा कोठामा पस्थे अनि हामी सँगै बस्थ्यौं। उनीहरू कक्षाकोठामा पसेपछि पूरै कोठा नरिवल तेलको बासनाले भरिन्थ्यो।
मलाई त्यो तेलको गन्ध पटक्कै मन पर्दैन थियो। त्यही कारणले मसँग सुनिलाबाहेक अन्य साथीहरूको झगडा परिरहन्थ्यो। साथीहरू भन्थे, ‘पहाडीया छौंडी, तोरा बाप तोरा माई...’ कुन्नि के के भन्थे भन्थे। पक्कै गाली गरेको होला भनेर म उनीहरूसँग झगडा गर्न जान्थेँ। तर सुनिलाले कक्षाकोठामा झगडा गरेको कहिल्यै देखिनँ।
कक्षाकोठामा सर, मिस नहुने बेला झगडा पर्यो भने सुनिला छुट्याउन आउँथिन्, झगडा गर्नु हुँदैन भन्दै हामीलाई सम्झाउँथिन्। उनले भनेपछि सबैले मान्थे। म पनि मनमा रिस पोको पारेर चुपचाप बस्थेँ। साच्चै रमाइला थिए ती स्कुले दिनहरू।
काली भएनी हिस्सी परेकी थिइन् सुुनीला। सधैं कर्ली कपाल नरिवलकै तेलमा टिलिक्क पारेर दुई चुल्ठी बाटेर आउँथिन्। कक्षाकोठामा पस्ने बेला सरसँग अनुमति सधैं सुनिलाले नै लिन्थिन्। किनकि अरू साथीहरू सरसँग बोल्न भनेपछि बाघसँग डराएजस्तै डराउँथे। सुनिला चाहिँ डराउँदिन थिइन्। उनी भन्थिन्, ‘गल्ती नगरेसम्म किन डराउनु!’
सुनीला साथीहरूको मात्र होइन, सर-मिसहरूकी पनि प्यारी थिइन्। उनी अरू साथीको तुलनामा एकदम फरक स्वभावकी थिइन्। उनको समुदायमा प्रायजसो विवाहित महिलाजस्तै अविवाहित केटीहरूले पनि पोते लगाउने रहेछन्। सुनिला पनि स्कुल आउँदा चुरा, पोते अनि पाउजु लगाएर आउँथिन्। तर विस्तारै उनको पहिरन फरक हुँदै आयो। पाउजु लगाउन छाडिन्, गलामा पोते लगाउन छाडिन्, हातमा चुराको सट्टा घडी लाउन थालिन्। सायद उनको समाजसँग पहिलो विद्रोह त्यही होला।
पढ्न पनि अब्बल थिइन् सुनिला। हाफछुट्टी हुँदा स्कुल पछाडि आँपको रूखतिर घुम्न जान्थ्यौं हामी। चौरमा बसेर उनी भन्थिन्, ‘धेरै पढेर ठूलो मान्छे बन्नुछ।’
म नजिकैको अग्लो रूख देखाएर जिस्क्याउँदै भन्थेँ, ‘यस्तै अग्लो ठूलो बन्ने हो ?’
उनी हाँस्दै भन्थिन्, ‘होइन के, मलाई सबैले चिन्ने, सबैले सम्मान गर्ने मान्छे बन्छु भनेको क्या।’
उनको त्यो सुन्दर सपना सामाजिक कुरीतिको जाँतोमा पिसिन्छ भन्ने त्यस बेला हामीलाई के थाहा!
स्कुले जीवनमा हाम्रो लागि मनोरञ्जनको साधन भनेको एकअर्काले गाउने गीत थिए। रुमाल चोर, कबड्डी, लुकामारी, गट्टा, चिँ मुसि चिँ, यस्तै खेलहरू खेलेर हामी खुब रमाउँथ्यौं। हामीले खाने खाजा कहिले भुटेको चिउरा, कहिले स्कुलको गेट बाहिर राखेको डुङ्री, पकौडा अनि चटपटे। हामी टिफिन टाइममा त्यही खान्थ्यौं।
हाम्रो लागि क्यान्टिन भन्नुनै त्यही स्कुल बाहिरको चिया र चटपटे पसल थियो।
...
समयसँगै हामी पनि बालापन, किशोरावस्था हुँदै युवा भयौं।
समय बित्दै गयो। अब हाम्रा सपनाहरू विस्तारै फेरिँदै गए। बालसुलभता, चञ्चलता आफैं हराउँदै गयो। सुनीला अब विभेदविरुद्ध लड्ने कुरा गर्न थालिन्। सामाजिक कुप्रथाको विरोध गर्ने कुरा गर्न थालिन्। उनी भन्थिन्, ‘समाजको यस्तै विभेद, असमानता हटाउन मेरो बुवा जनयुद्धमा हिँड्नुभयो।’
सुनिलाको कुरा सुनिरहँदा लाग्थ्यो, उनले यो समाजको कुरीतिविरुद्ध एकदिन विद्रोह गर्नेछिन्।
गाउँमा विकासको लहर विस्तारै आउन थाल्यो। विभिन्न संस्थाहरूले दलित, जनजाति महिला र मधेसी महिला विद्यार्थीलाई स्कुलको ड्रेस नि:शुल्क प्रदान गर्यो। उत्कृष्ट र जेहेन्दार विद्यार्थीलाई दिइने कलम कापी उपहार पनि सुनिला नै पाउँथिन्। छात्राहरूले स्कर्ट होइन, पाइन्ट लगाउने नयाँ योजना स्कुलमा आयो। म लगायत अन्य साथीलाई पाइन्ट लगाउन गाह्रो भएन। किनकि हामीले पहिला नै लगाइसकेका थियौं। सुनिलाका लागि पाइन्ट लगाएर स्कुल आउनु निकै गाह्रो काम थियो। उनको समाजले पाइन्ट लगाउन अनुमति दिँदैन थियो। तर सुनिला झुकिनन्।
उनी स्कर्ट छाडेर पाइन्ट लगाएर स्कुल आइन्। सुनिलाले पाइन्ट लगाएर आएको दिन क्लासमा उनलाई हामीले सबैले हाँसेर उडायौं, जिस्क्यौं। उनी केही नबोली रातोपिरो भएर बेन्चमा बसिन्।
त्यो दिन सुनिला कक्षाकोठाबाट बाहिर चटपटे खान पनि गइनन्। पानी खान पनि निस्किनन्। दोस्रो दिनदेखि सुनिला पाइन्ट नै लगाएर स्कुल आउन थालिन्। सुनिला र हामी बाँचेको सामाजिक कुरीतिको पहिलो हार त्यही थियो।
हाम्रो एसएलसी नजिकियो। हामी सबै पढाइको तयारी गर्दै थियौं। उनी निकै दिन स्कुल आइनन्। उनी स्कुल नआउँदा नरमाइलो लाग्यो। उनकै छिमेकी अर्का साथीबाट थाहा पाएँ, सुनीलाले बिहे गरिसकी छन्।
धेरै पढेर ठूलो मान्छे बन्ने सपना बोकेकी उनले किन बिहे गरिन्? उनकै इच्छाले गरिन् कि जबर्जस्ती बिहे भयो? म अचम्भित भएँ। निकै दुःख लाग्यो।
उनको विद्रोही मन किन यसरी झुक्यो? उनीसँग प्रश्नै प्रश्न गर्न मन लाग्यो।
एसएलसीको तयारीमा भेट भएन। परीक्षा बेला सुनिलासँग भेट भयो। उनी रातो सारीमा सिन्दुरपोते लगाएर, हातमा चुरा लगाएर घुम्टो ओढिरहेकी अवस्थामा भेटेँ। बल्लबल्ल पाइन्ट लगाउन आइपुगेकी सुनिला फेरि घुम्टोमा पुगिछिन्। त्यो दृश्य देखेर एकदमै रिस उठ्यो । मैले रिसाउँदै ‘किन यति छिट्टै बिहे गरेको? खुशी छस्?’ भनेर सोधेँ।
उनले विस्तारै भनिन्, ‘अँ खुसी छु।’
‘अनि तेरो सपना सबै बिर्सिस्?’
उनी बोलिनन्।
फेरि सोधेँ, ‘बिहे गरेर खुसी त छस्?’
फेरि उही उत्तर, ‘अँ खुसी छु।’
त्यसपछि अरू प्रश्न गर्न मन लागेन। गरिनँ पनि।
बिहेअघिको सुनिला र पछिको सुनिलामा आकाश-जमिनको फरक पाएँ। एकदमै हतारमा ‘राम्रोसँग पढ् है उर्मिला’ भन्दै उनी ओझल परिन्। त्यही नै हाम्रो अन्तिम भेट हुन पुग्यो।
...
केही महिनापछि एसएलसीको रिजल्ट आयो। उनले मौका परीक्षा दिने अवसर पाइन्। त्यो सुन्दा म चकित भएँ। त्यस्तो राम्रो पढ्ने मान्छेले सोझै पास गर्न सक्थिन्। अनुमान गरेँ, सायद वैवाहिक जीवन फापेन होला।
पछि मौका परीक्षामा कुन्नि कुन श्रेणीमा उत्तीर्ण भइन् रे भन्ने अरू साथीबाट थाहा पाएँ। एसएलसीपछि उच्च शिक्षाका लागि म लागेँ राजधानीतिर, सुनिला लागिन् घरगृहस्थी सम्हाल्नतिर।
वर्षहरू बितिरहे। मैले प्लस-टू पास गरेँ। ब्याचलर अन्तिम वर्ष पढ्दै थिएँ। पुराना साथीहरू झनै पुरानो हुँदै जाने र नयाँ साथीहरू बन्ने भइरह्यो।
करिब पाँच वर्षपछि प्रितम रोय भन्ने फेसबुक अकाउन्टबाट फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल पिक्चरहरू हेरेँ। भित्र सुनिलाको फोटो थियो। प्रितम रोय उनको छोरा रहेछ। तर फेसबुकमा छोरा र उनको मात्रै फोटो देखेँ। श्रीमानको फोटो कतै देखिनँ। किन राखिनन् होला भन्ने कौतूहल जाग्यो। तर सोधिनँ।
फेसबुकमा साथी भएको केही दिनपछि सुनिलाले ‘हाइ’ भन्दै मेसेज पठाइन्। बोल्न आतुर मैले हाइ भन्दै रिप्लाई दिएँ।
थाहा नभए जसरी 'सुनीला हो' भनेर सोधेँ।
उनको 'अँ हो' भन्ने रिप्लाई आउनेबित्तिकै दुइटा लभको इमोजी पठाइदिएँ।
पाँच वर्षको एक छोरा भइसकेछ उनको। श्रीमानको बारेमा सोधेँ। उनले जवाफ फर्काइनन्। पटक-पटक सोधेँ। तर कुरा अन्तै मोडिरहिन्। सायद झगडा भयो होला भन्ने सोचेर पछिपछि सोध्नै छाडिदिएँ। त्यो फेसबुक च्याटमा बोलेको कुरा नै फेरि अन्तिम हुन्छ भनेर मैले कहिल्यै सोचेको थिइनँ।
सुनिलासँग बोलेको केही महिनापछि एउटा खबर फैलियो। त्यो खबर थियो, ‘दाइजोको निहुँमा बुहारीको हत्या।’
यस्तो पनि खबर सुनियो, ‘दाइजोमा कोट नदिएको निहुँमा बुहारीको हत्या।’
त्यो अभागी बुहारी उही सुनिला थिइन्। खबर सुनेर विश्वास लागेन। मनले होइन होइन भनिरह्यो। वरपरका साथीहरूलाई सोधेँ। कसैले पनि भरपर्दो उत्तर दिएन। मन छटपटिरह्यो। अन्तिममा सुनिलाकै दाइले आफ्नो फेसबुकमा सुनिलाको फोटो राखेर श्रद्धाञ्जली लेखेपछि मेरो छटपटी रोकियो। अब आँखा भरिन थाल्यो। सुनिलासँगका सम्झना एकएक गरी आँखाअघि सिनेमाको रिलजस्तै नाच्न थाले।
हिजो सामाजिक कुप्रथाको विरोध गर्ने सुनिला आज आफैं त्यसको सिकार बनिन्। सुनिला भन्थिन्, ‘मलाई महिलामाथि भएको हिंसा, विभेद पटक्कै मन पर्दैन।’
तर आज त्यही हिंसाको शिकार भइन् सुनिला।
प्रहरीले सुनिलाको श्रीमान र ससुरालाई पक्राउ गरेर हिरासतमा राख्यो। अहिले ससुरा धरौटीमा छुट्यो। पोस्टमार्टमको रिपोर्ट अझै आएको छैन। माइती पक्ष छोरीको न्यायका लागि सदरमुकाम धाइरहेको छ। सुनिलाले न्याय पाउने हो कि होइन? केही थाहा छैन।
लकडाउनका कारण अहिले म गाउँमै छु। उही सुनिलासँगै पढेको स्कुल वरपर बेलाबेला पुग्छु। गट्टा खेलेको, चिँ मुसी चिँ खेलेको झलझली सम्झिन्छु। आँपको रूखमुनि बसेर, म सबैले सम्मान गर्ने ठूलो मान्छे बन्छु भनेको सुनिलाको आवाज कानमा बेलाबेला गुन्जिन आइपुग्छ।
त्यसपछि बसिरहेको ठाउँबाट उठेर हिँड्छु। पर खेतको आलीबाट सुनिलाले चिच्याउँदै भनेजस्तो लाग्छ, ‘उर्मिला मैले न्याय कहिले पाउँछु? दाइजोमा कोट नपाउँदा म मरेँ। मजस्ता अरू कहिलेसम्म मर्ने होला? महिलाविरूद्धको हिंसात्मक यो रूपको अन्त्य कहिले हुन्छ? महिला हिंसा कहिले अन्त्य हुन्छ?’