मंगलादेवी सिंहसँग बिताएको सुखद क्षण बताउन आग्रह गर्दा गणेशमान सिंह भन्नुहुन्थ्यो, ‘हाम्रो जीवनको अधिकांश समय दुःखमै बित्यो। तर, आफ्नो कर्तव्यको बाटोमा हिँड्दा के दुःख के सुख? वास्तव हामीले जीवनको सुख र दुःख छुट्टयाउने समय नै पाएनौं। जस्तोसुकै विपरीत परिस्थितिमा पनि उनले आफ्नो लक्ष्य छाडिनन्।’
आज उनै मंगलादेवीको २४ औं स्मृति दिवस हो। उहाँ बाँचिरहनुभएको अहिले ९६ वर्षको हुनुहुने थियो।
उहाँ मेरो सासूआमा हुनुहुन्थ्यो। तर, यो लेख म बुहारीको नाताले लेखिरहेको छैन। म उहाँलाई प्रजातान्त्रिक आन्दोलनप्रति आजीवन समर्पित एक निडर नेताका रूपमा सम्झन चाहन्छु।
राणाकाल, त्यसमाथि बडाकाजीकी बुहारी। त्यस्तो समय महिला हकहितको निम्ति आवाज उठाउनु चानचुने कुरा थिएन। आफ्नो खानदान, सामाजिक प्रथा र त्यसले सिर्जना गरेको पर्दा तोडेर उहाँ आफ्नो श्रीमान गणेशमान सिंहसँग काँधमा काँध मिलाएर प्रजातान्त्रिक आन्दोलनमा होमिनुभयो। गणेशमान प्रवासमा वा जेलमा रहँदा बालबच्चा सम्हाल्ने जुन जिम्मेवारी उहाँले निर्वाह गर्नुभयो, त्यसको निम्ति त उहाँको स्थान अझै एक कदम अगाडि छ।
चाहे महिलाले भोट हाल्ने अधिकार होस् वा महिलाले स्कुल जान पाउनुपर्ने अधिकार– उहाँले त्यसको निम्ति निरन्तर संघर्ष गर्नुभयो।
२०३६ सालमा जनमत संग्रह घोषणा हुँदा महिला बहुदल प्रचार प्रसार समिति गठन भएको थियो। त्यसको केन्द्रीय अध्यक्ष मंगलादेवी हुनुहुन्थ्यो। जिल्ला जिल्लामा पनि यसका शाखाहरू गठन भएका थिए। गोरखा जिल्लाको अध्यक्ष म थिएँ। मैले त्यही बेला पहिलोपटक उहाँलाई नजिकबाट जान्ने र बुझ्ने मौका पाएँ।
कलेज पढ्न काठमाडौं आएपछि म नेपाल विद्यार्थी संघमा आबद्ध भएँ। २०३८–३९ सालको कुरा हो। शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा विजयी भएपछि हामीले विजय जुलुस निकालेका थियौं। हामी सहर परिक्रमा गर्दै गणेशमान निवास चाक्सीबारी पुग्यौं। त्यो बेला मंगलादेवीले हामी विद्यार्थीहरूलाई सर्बतपानी पिलाउनुभएको थियो।
पछि उनै गणेशमान र मंगलादेवीसँग मेरो पारिवारिक नाता जोडियो।
मंगला आमाकै पहलमा उहाँको कान्छा छोरा प्रकाशमानसँग २०४१ सालमा मेरो मगनी भएको थियो। त्यसैको अर्को वर्ष २०४२ सालमा सत्याग्रह सुरू भयो। गणेशमान, मंगलादेवी र प्रकाशमान सबै जेल पर्नुभयो। जेलबाट छुटेलगत्तै मंगलादेवी र गणेशमान बिहेको कुरा छिन्न मेरो माइती गोरखा आउनुभएको थियो।
त्यसै वर्ष फागुनमा प्रकाशमानसँग मेरो विवाह भयो।
हाम्रो विवाहको दिनसम्म पनि सत्याग्रहमा जेल परेका साथीहरू छुट्दै हुनुहुन्थ्यो। विवाह भोजमा कति साथी त सिधै जेलबाट आएको कुरा गर्दै हुनुहुन्थ्यो।
विवाहपछि म राजनीतिबाट टाढै बस्न चाहन्थेँ। आफ्नो पूरा समय परिवारलाई दिन चाहन्थेँ। तर, मंगला आमालाई यो मञ्जुर थिएन। उहाँ मलाई जुनसुकै कार्यक्रममा सँगसँगै लैजानु हुनुहुन्थ्यो। ती कार्यक्रममा सक्रिय रूपले भाग लिन प्रेरित गर्नुहुन्थ्यो।
२०४६ को जनआन्दोलन सुरू भएपछि गणेशमान र मंगलादेवी दुवै जना घरमा नजरबन्द हुनुहुन्थ्यो। त्यही बेला उहाँहरू बिरामी पर्नुभयो। अस्पताल भर्ना गर्नुपर्ने भयो। प्रकाशमान र पिएल दाइ जनआन्दोलनको एक्सन कमिटीमा हुनुहुन्थ्यो। माघ ५, ६ र ७ गतेको सम्मेलनलगत्तै उहाँहरू भूमिगत भइसक्नुभएको थियो।
त्यो समय आमा र बाको हेरविचार गर्ने जिम्मा मैमा थियो। तर, आमालाई देश र पार्टीबाहेक अरू कुराको मतलब थिएन, आफ्नै स्वास्थ्यको पनि। उहाँले आफू ओछ्यान पर्दा पनि मलाई 'पद्मकन्या कलेजमा गृहिणीहरूको थाल ठटाउने कार्यक्रम छ, भाग लिन जाऊ' भनेर पठाउनुभयो।
म लगायत मेरी आमाजू रीता दिदी र नन्द मीता सिंह कार्यक्रममा गयौं। प्रहरी कारबाही भयो। हामी पद्मकन्या कलेज पछाडिको पर्खालबाट उम्कन सफल भयौं। मेरी माइली नन्द कान्ता सिंह लगायत थुप्रै महिला साथीहरूलाई प्रहरीले पक्राउ गरेको थियो।
जनआन्दोलनको सफलतापछि नेपाल महिला संघ सक्रिय भयो र पुनर्गठन पनि भयो। महिला संघको अफिस स्थापना भयो। त्यसपछि मंगला आमा पूरै तन, मन, धनका साथ महिला संघप्रति समर्पित हुनुभयो। उहाँले घरको गिलास, किस्ती, मेच, टेबल सबै संघको अफिस स्थापनाका लागि लग्नुभएको थियो। उहाँ भन्नुहुन्थ्यो, ‘आफ्नो घर त चलिरहेकै छ, चलिरहन्छ। महिला संघलाई मजबुत बनाउन सकियो भने देशभरिका महिलाहरूको निम्ति बलियो घर बन्छ।’
उहाँको नेतृत्वकालमा महिला आरक्षणको जोडदार आवाज उठेको थियो। संसदमा ३३ प्रतिशत महिला सहभागिताको माग भएको थियो। उहाँले सम्पत्तिमा महिलाको समान अधिकारका लागि आवाज पनि उठाउनुभयो।
त्यस्तै, महिला कानुनी शिक्षाका लागि कानुनी प्रशिक्षण भइरहन्थ्यो। काठमाडौं लगायत विभिन्न जिल्लामा प्रौढ कक्षाहरू र स्वास्थ्य शिविर सञ्चालन भएको थियो। महिलाका लागि आएको सिट महिला संघले नै निर्णय गरेर पठाउन पाउनुपर्छ भन्ने उहाँको मान्यता थियो। उहाँ सक्रिय रहेसम्म यसमा अडिग हुनुभयो र त्यसैअनुरुप गराउनुभयो।
उहाँको समय संयुक्त राष्ट्रसंघमा होस् वा अरू कुनै सभा सम्मेलनमा महिला प्रतिनिधित्व गराउनुपर्दा महिला संघले नै निर्णय गरेर पठाउने चलन थियो।
उहाँ आफ्नो संस्कृति, परम्परा र रीतिरिवाज जोगाउनुपर्छ भन्नेमा पनि सजग हुनुहुन्थ्यो। हामीले जोगाएनौं भने भावी सन्ततिले यसको जगेर्ना गर्दैन भन्नुहुन्थ्यो। उहाँले आफ्नो संस्कृतिबारे एउटा पुस्तक नै प्रकाशन गर्नुभएको छ– संस्कृतिका छटाहरू।
यसबाहेक उहाँले आफ्नै जीवनमा आधारित रहेर ‘नारी संघर्षका पाइलाहरू’ भन्ने किताब पनि प्रकाशित गर्नुभएको छ।
उहाँले प्रजातन्त्र प्राप्तिका लागि कयौंपटक जेल जीवन बिताउनुभयो। तै पनि बच्चाहरूको भविष्यका लागि कहिल्यै विचलित हुनुभएन। बच्चाहरूलाई आमाको ममताबाट टाढा हुन दिनुभएन। कठिन समयमा पनि छोराछोरीको शिक्षादीक्षाको पूरै ख्याल राख्नुभयो। त्यो समय गणेशमान बा कहिले प्रवासमा त कहिले जेलमा हुनुहुन्थ्यो। जस्तोसुकै परिस्थितिमा पनि उहाँले कत्ति विचलित नभई परिवारको देखरेख गर्नुभयो।
मैले सुनेअनुसार एकचोटि आमा जेल पर्नुभएका बेला उहाँले मेरो नन्द मीता सानै भएकाले आफूसँगै जेलमा राख्नुभएको थियो।
कतिपय समयमा मलाई उहाँ कडा स्वभावको लाग्थ्यो। तर, आज सम्झँदा त्यो उहाँको निडरपन, हक्कीपन र कसैसँग पनि नचाहिने कुरामा सम्झौता नगर्ने स्वभाव हो भन्ने लाग्छ। त्यही स्वभावले नै उहाँलाई मंगलादेवी सिंह भनेर चिनाएको हो।
जीवनको उत्तरार्द्धमा उहाँ अस्वस्थ हुनुभयो। उहाँको दुवै मिर्गौलाले काम गरेन। उहाँलाई डायलाइसिस गर्नुपर्ने भयो। उहाँको डायलाइसिस म र मेरो नन्द डा. मीताले घरमै गर्थ्यौं। हामीले कलकत्ताबाट प्रशिक्षण लिएर आएका थियौं। त्यो समय पनि उहाँलाई महिला संघकै चिन्ता थियो।
उहाँ अस्वस्थ हुनुभएकै बेला मन्त्रिपरिषदले महिला संघलाई जग्गा दिने निर्णय गर्यो। तत्कालीन मन्त्री लीला कोइराला र मेरो श्रीमान प्रकाशमान सिधै मन्त्रिपरिषद बैठकबाट आएर आमालाई उक्त कुरा सुनाउनुभयो। त्यो समय आमा यति खुसी हुनुभयो, जुन बयान गरी साध्य छैन। उहाँले खुसी हुँदै भन्नुभयो, ‘महिला संघ अब आफ्नै खुट्टामा उभिन्छ।’
त्यसअघि २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेपछि नेपाल महिला संघको नाममा रहेको ‘रमा गृह’ लगायत सम्पूर्ण सम्पत्ति जफत गरिएको थियो। त्यसलगत्तै उहाँलाई पनि गिरफ्तार गरी जेल चलान गरिएको थियो। त्यति बेलादेखि नै उहाँले महिला संघलाई आफ्नै भौतिक पूर्वाधारसहित देशभरि सञ्जाल फैलिएको संगठनका रूपमा पुनर्स्थापित गर्ने लक्ष्य लिनुभएको थियो।
उहाँले आफू बित्नुभन्दा केही दिनअघि पनि महिला संघका साथीहरूलाई बोलाएर घरमै मिटिङ राख्नुभएको थियो। जबकि, त्यो बेला उहाँलाई खुवाउने, नुहाइदिने काम पनि अरूले नै गर्नुपर्थ्यो।
२०६१ सालको एउटा घटना म यहाँ सम्झन चाहन्छु। तत्कालीन राजा ज्ञानेन्द्रले शाही घोषणा गरेर शासनसत्ता हातमा लिएपछि मेरो श्रीमान प्रकाशमान लगायत थुप्रै नेतालाई झूटो आरोपमा मुद्दा लगाइएको थियो। त्यो समय शाही सरकारले जति पनि दुःख दिन सक्ने र जति पनि समय हिरासतमा राख्न सक्ने सम्भावना थियो।
मेरो श्रीमानले बयान दिन नजाने राजनीतिक अडान लिनुभयो। अन्तमा उहाँलाई घरबाट घिसार्दै अमानवीय शैलीमा गिरफ्तार गरियो। तर, म आफ्नो मन दह्रो बनाएर बसेँ। अप्ठ्यारो समयमा मन दह्रो बनाउनुपर्छ भन्ने प्रेरणा मैले मेरी सासूआमा मंगलादेवी सिंहबाटै पाएको हुँ।
मेरो ससुरा गणेशमान बाले जीवनमा धेरै दुःख पाउनुभयो। जस्तोसुकै दुःखमा पनि मंगला आमाले बटुलेको साहस सम्झँदा मलाई सधैं प्रेरणा मिल्छ। उहाँले पाएको दुःख र पीडाको तुलनामा मैले त केही दुःख पाएको छैन भन्ने लाग्छ। त्यही प्रेरणाले मलाई आजपर्यन्त डोर्याइरहेको छ।
प्रजातान्त्रिक मूल्य–मान्यताका लागि आजीवन निर्भिकतापूर्वक लडेर उहाँले जुन निष्ठापूर्ण राजनीतिक संस्कारको बाटो देखाउनुभयो, त्यसमा हिँड्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।