कोभिड–१९ ले दिनहुँजसो दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीको ज्यान लिइरहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० अप्रिल १५ यता कोभिड–१९ का कारण विश्वभर दैनिक औसतमा ७ हजार ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भइरहेकोे छ। कोरोनाविरुद्ध भ्याक्सिन सर्वसुलभ नभएसम्म सामाजिक कहर र मनोवैज्ञानिक त्रास कम हुने सम्भावना देखिँदैन।
अस्पताल भर्ना गरिएका अतिजटिल अवस्थाका कोरोना पोजेटिभ बिरामीलाई गरिने उपचारात्मक पद्धतिमध्ये 'प्लाज्मा थेरापी' प्रमुख रहेको छ। विकसित अमेरिका, युरोपदेखि विकासशील भारत, नेपालसम्म आइसियु वा भेन्टिलेटरमा राखिएका यस्ता बिरामीलाई यो थेरापी दिइँदै आएको छ।
कोरोना बिरामीलाई गरिने यो उपचार विधिलाई चिकित्सकीय भाषामा 'कन्भेलेसेन्ट प्लाज्मा थेरापी' अर्थात् 'सिपिटी' भनिन्छ। यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेका व्यक्तिको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको 'प्लाज्मा' अर्को संक्रमितलाई दिइन्छ। त्यही भएर यस्तो प्लाज्मालाई 'कन्भेलेसेन्ट प्लाज्मा' भन्ने गरिएको हो।
कोभिड–१९ बिरामीका लागि 'कन्भेलेसेन्ट प्लाज्मा थेरापी' कतिको प्रभावकारी छ, के यो 'सञ्जीवनी बुटी' नै हो त?
यस्तै–यस्तै जिज्ञासा र बहस सतहमा आएका छन्। अर्कातर्फ, यो उपचारात्मक विधि सुरू गरेका विभिन्न अन्तर्राष्ट्रिय अस्पताल तथा स्वास्थ्य संस्थाले यसको प्रभावकारितामाथि वैज्ञानिक अनुसन्धान थालिसकेका छन्। नेपालमा पनि एक महिनायता कोभिड–१९ का गम्भीर बिरामीलाई यो थेरापी दिन थालिएको छ।
अमेरिकाको ह्युस्टन मेथोडिस्ट नेटवर्क अफ हस्पिटल्सले एक अध्ययनको विश्लेषण सार्वजनिक गर्दै 'कन्भेलेसेन्ट प्लाज्मा थेरापी' प्रभावकारी देखिएको जनाएको छ। ह्युस्टन मेथोडिस्टले अस्पताल भर्ना भएर यो थेरापी लिएका ३ सयभन्दा बढी कोभिड–१९ बिरामीमा अध्ययन सुरू गरिसकेको छ। यसको प्रारम्भिक विश्लेषणको नतिजा हालै 'द अमेरिकन जर्नल अफ प्याथोलोजी' मा प्रकाशन गरिएको छ।
गत मार्च २८ मा ह्युस्टन मेथोडिस्टले अमेरिकामा पहिलोपटक अतिजटिल अवस्थाका कोभिड–१९ बिरामीलाई 'कन्भेलेसेन्ट प्लाज्मा' दिन सुरू गरेको थियो, जुन निको भएका कोरोना बिरामीको रगतबाट निकालिएको थियो। ह्युस्टन मेथोडिस्टअन्तर्गतका आठ अस्पतालमा उपचार गराइरहेका कोभिड–१९ का गम्भीर बिरामीमाथि मार्च २८ देखि जुलाई ६ सम्म अध्ययन गरिएको थियो।
यो अध्ययनबाट प्राप्त वैज्ञानिक निचोडलाई यसरी उल्लेख गर्दै भनिएको छ, 'गम्भीर बिरामीलाई उच्च एन्टिबडी भएको प्लाजा दिँदा मृत्युदर कम भएको छ, अस्पताल भर्ना भएको ७२ घन्टाभित्रै 'प्लाज्मा थेरापी' गरिएका अधिकांश बिरामी निको भएको पाइएको छ।'
अनुसन्धानका अनुसार चाँडै थेरापी पाएका बिरामीमा प्लाज्मा रहेको एन्टिबडीले कोराना भाइरसविरुद्ध जुध्ने क्षमता विकास गरेकाले उनीहरू उपचारपछि निको भए। तर, कोभिड–१९ संक्रमणपछि अनेक जटिल समस्या उत्पन्न भएर उपचारै नहुने आखिरी अवस्थामा पुगेका दीर्घरोगी बिरामीलाई यो थेरापी दिइएको थिएन।
ज्यादै वृद्धवृद्धा अवस्थाका मुटु वा फोक्सोमा समस्या देखिएका बिरामीलाई 'कन्भेसेलेन्ट प्लाज्मा' दिँदा काम नगर्न सक्छ। यस्तोे अवस्थामा 'प्लाज्मा' दिँदा त्यसलाई उनीहरूको शरीरले नथेग्न सक्छ।
के हो 'प्लाज्मा थेरापी'
रगत रक्तकोष र प्लाज्माले बनेको हुन्छ। रगतमा ५५ प्रतिशत प्लाज्मा हुन्छ भने बाँकी ४५ प्रतिशत रातो रक्तकोष (आरबिसी), सेतो रक्तकोष (डब्लुबिसी) र प्लेटलेट्स।
प्लाज्मा हल्का पहेलो रंगको तरल पदार्थ हो, जसमा ९२ प्रतिशत पानीका साथै बाँकी प्रोटिन, इन्जायम्स, भिटामिन्स, हर्मोन्स र विकार पदार्थ हुन्छ। रगतबाट रातो रक्तकोष (आरबिसी), सेतो रक्तकोष (डब्लुबिसी) र प्लेटलेट्सलाई हटाउँदा बाँकी रहेको भागलाई 'प्लाज्मा' भनिन्छ।
'प्लाज्मा थेरापी' कोभिड–१९ को सन्दर्भमा मात्र होइन, यसअघि नै प्रचलित छ। यो प्लाज्मा दिएर गरिने उपचार पद्धति हो। कहिलेकाहीँ कुनै व्यक्तिलाई हेमोफिलिया (रगत बग्ने समस्या) भयो भने प्लाज्मा दिनुपर्ने हुन्छ। त्यस्तै, न्युट्रियन्स डिफिसियन्सी भएका बेला पनि यसकै माध्यमबाट उपचार जरुरी हुन्छ।
'अटो इम्युन डिजिज' मा त पूरै प्लाज्मा फेर्नुपर्ने अवस्था पनि आउनसक्छ। यी सबै प्लाज्मा थेरापीका विभिन्न रूप हुन्।
अब 'प्लाज्मा थेरापी' को सुरूआती दिनतर्फ जाऔैं।
विश्वमा 'प्लाज्मा थेरापी' सुरू भएको सय वर्षभन्दा बढी बितिसकेको छ। जर्मन वैज्ञानिक (फिजियोलोजिस्ट) इमिल भोन बेहरिङले प्लाज्मालाई सबभन्दा पहिले रोगविरुद्ध प्रतिरोधात्मक क्षमताका लागि प्रयोग गर्न सकिने तथ्य पत्ता लगाएका थिए।
ब्याक्टेरिया संक्रमणले श्वासप्रश्वासमा हुने समस्यालाई डिप्थेरिया (भ्यागुते रोग) भनिन्छ। प्लाज्माको प्रयोगद्वारा यसको उपचार गर्न सकिन्छ भनी खोज गरेबापत् इमिललाई सन् १९०१ को नोबेल पुरस्कारसमेत दिइएको थियो।
सन् १९१८ देखि १९२० सम्म विश्वभर 'स्पेनिस फ्लु' को महामारी फैलियो। त्यस महामारी बेला पनि अमेरिका, युरोप लगायत विभिन्न मुलुकका बिरामीलाई 'प्लाज्मा थेरापी' दिइएको थियो। यो थेरापी लिएका बिरामी निको भएका थिए।
त्यतिखेर विश्वका करिब ५० करोड मानिसमा स्पेनिस फ्लुको संक्रमण देखिएको थियो। करिब ५ करोडले ज्यान गुमाएका थिए। अमेरिकामा मात्र उक्त फ्लुले ६ लाख ७५ हजारको मृत्यु भएको थियो। त्यस बेला पनि अहिले कोभिड–१९ जस्तै महामारीले विश्व हायलकायल भएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार यसअघिका कोरोना भाइरस महामारी बेलामा पनि बिरामीलाई 'कन्भेसेलेन्ट प्लाज्मा थेरापी' दिइएको थियो। सन् २००३ मा सार्सको महामारी फैलिएका बेला पनि बिरामीलाई यो थेरापी दिइएको थियो। त्यस बेला गरिएका केस स्टडीअनुसार यसरी 'कन्भेसेलेन्ट प्लाज्मा' लिएका बिरामीमा स्वास्थ्य अवस्था जटिल नभइकन चाँडै सुधार भएको थियो।
सन् २०१३ देखि २०१६ सम्म खासगरी अफ्रिकी मुलुकमा फैलिएको इबोला भाइरसको महामारी बेला पनि 'कन्भेसेलेन्ट प्लाज्मा' उपचार विधि प्रयोग गरिएको थियो। यसले धेरै बिरामीमा राम्रो नतिजा दिलाएको थियो।
संक्रमणबाट निको भएका बिरामीबाट कसरी 'कन्भेसेलेन्ट प्लाज्मा' प्रयोग गर्ने भन्नेबारे विश्व स्वास्थ्य संगठनले निर्देशिकासमेत जारी गरेको छ। त्यसलाई सबै मुलुकले पालना गर्दै आएका छन्।
नेपालमा कोरोना संक्रमितलाई 'प्लाज्मा थेरापी'
गत साउन पहिलो साता विराटनगरका डा. ज्ञानेन्द्र कार्कीलाई कोरोना संक्रमण देखियो। विराटनगर र धरानमा बेथा बिसेक नभएपछि थप उपचारका लागि उनलाई काठमाडौंको टिचिङ अस्पताल ल्याइयो।
टिचिङको आइसियुमा राखेर उपचार गर्दा पनि स्वास्थ्यमा सुधार आएन। आखिर परिवारसँगको परामर्शपछि कार्कीलाई टिचिङका डा. सुवास आचार्य लगायतको टिमले 'कन्भेलेसेन्ट प्लाज्मा थेरापी' बाट उपचार गर्यो।
नेपालमा कोभिड–१९ बिरामीलाई 'प्लाज्मा थेरापी' गरिएको यो पहिलो केस थियो। यसका लागि ग्रान्डी अस्पतालका ब्लड ट्रान्सफ्युजन विशेषज्ञ डा. विपिन नेपाल नेतृत्वको टोलीले कोरोना संक्रमित एक युवकबाट रगत लिएर 'प्लाज्मा' लाई अलग पारेकोे थियो।
ग्रान्डी अस्पतालबाट ल्याइएको त्यही 'कन्भेलेसेन्ट प्लाज्मा' डा. कार्कीलाई दिइएको थियो। 'प्लाज्मा थेरापी' गरिएको केही घन्टामै उनको स्वास्थ्यमा सुधार देखियो। उनी पूर्ण स्वस्थ भएर त्यसको केही दिनमै अस्पतालबाट डिस्चार्ज भए।
डा. नेपालका अनुसार त्यसयता उपत्यकाका विभिन्न अस्पतालमा १८ जना बिरामीलाई 'प्लाज्मा थेरापी' गरिएको छ। उपत्यकाबाहिर धरान र बुटवलमा 'प्लाज्मा थेरापी' बाट कोभिड–१९ बिरामीको उपचार सुरू गरिएको छ। चितवनमा यो थेरापीबाट बिरामी उपचार गर्ने तयारी भइरहेको छ।
नेपालमा पनि 'कन्भेलेसेन्ट प्लाज्मा थेरापी' प्रभावकारी देखिएको डा. नेपाल बताउँछन्। 'भेन्टिलेटरमा राख्नुपर्ने अवस्था भएका कोभिड–१९ का बिरामीलाई यसले राम्रो काम गरिरहेको छ, तर अनेकथरि रोग लागेर अति जटिल अवस्था भइसकेका बिरामीलाई यो थेरापीले काम नगर्न सक्छ,' उनी भन्छन्।
तथापि, कोभिड–१९ बिरामीमाथि गरिएको 'कन्भेलेसेन्ट प्लाज्मा थेरापी' कति प्रभावकारी देखियो त?
यसबारे नेपालमा गरिएको कुनै पनि अनुसन्धानको नतिजा सार्वजनिक गरिएको छैन। कोभिड–१९ सम्बन्धी रिसर्चको नेतृत्वदायी भूमिका स्वास्थ्य मन्त्रालयअन्तर्गतको नेपाल हेल्थ रिसर्च काउन्सिल (एनएचआरसी) ले गर्दै आएको छ। एनएचआरसीका सदस्य–सचिव डा. प्रदीप ज्ञवालीका अनुसार अहिलेसम्म 'कन्भेलेसेन्ट प्लाज्मा थेरापी' को प्रभावकारिता समेटिएका अनुसन्धान रिपोर्ट सार्वजनिक भएको छैन।
'कन्भेसेलेन्ट प्लाज्मा थेरापी' प्रति चासो
विश्वभरका वैज्ञानिक तथा डाक्टरहरू कोभिड–१९ विरुद्धको भ्याक्सिन बनाउने दौडमा लागिपरेका छन्। रसियाले भ्याक्सिनको सफल परीक्षण गरेको जनाउँदै चाँडै मास उत्पादनमा जाने जनाउ दिइसकेको छ। चीन, अमेरिका, बेलायत (अक्सफोर्ड) र भारतका वैज्ञानिकहरू पनि चाँडै बजारमा भ्याक्सिन ल्याउन अग्रसर देखिन्छन्।
तुरुन्तातुरुन्ती भ्याक्सिन उपलब्ध नभएको अवस्थामा कोरोना सक्रमणले जटिल अवस्थामा रहेका बिरामीका लागि 'कन्भेसेलेन्ट प्लाज्मा थेरापी' विकल्पका रूपमा देखिएको हो।
पछिल्लो कतिपय बिरामीको प्रतिरक्षात्मक क्षमता बढाउन 'रेमडेसिवीर' नामक औषधि चलाइएको छ। तर, केही अपवाद छाडेर गम्भीर प्रकृतिका बिरामीका लागि यो थेरापीमाथि नै सबैको निर्भरता बढ्दै गएको छ। त्यही भएर पनि यसको सबैतिर चर्चा हुनु स्वाभाविक छ।
अहिलेसम्म विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्ध यही औषधि उपयुक्त हुन्छ भनेर प्रमाणित नगरेको अवस्था छ। भ्याक्सिन बन्न केही महिना अझै लाग्ने देखिन्छ। तसर्थ, गम्भीर बिरामी यही थेरापीको शरणमा जानुपर्ने स्थिति छ। विश्वका धेरै मुलुकले कोभिड–१९ बिरामीको उपचारका लागि यही थेरापी प्रयोग गर्दै आएका छन्।
नेपालमा साउन पहिलो सातादेखि कोभिड–१९ बिरामीका लागि दिन थालिएको यो थेरापीले निरन्तरता पाउँदै आएको छ।
यो थेरापीले कसरी काम गर्छ त ?
जब कुनै व्यक्तिलाई कोभिड–१९ वा अन्य भाइरल संक्रमण हुन्छ, शरीर आफैंले रोगसँग लड्ने क्षमता विकास गर्छ। कुनै पनि सूक्ष्म जीव, जस्तै भाइरस सम्पर्कमा आएपछि त्यसको प्याथोजिन शरीरमा घुस्छ। हो, त्यही प्याथोजिनविरुद्ध शरीरमा एन्टिबडी बन्छ। उक्त एन्टिबडी प्लाज्मामा गएर बस्छ।
संक्रमणबाट निको भएर २९ दिन पूरा गरेका कुनै व्यक्तिबाट रगत लिन मिल्छ, त्यसबाट प्लाज्मा छुट्याएर अर्को बिरामीलाई दिन सकिन्छ। प्लाज्मामा रहेको एन्टिबडीले अर्को बिरामीलाई कोभिड–१९ सँग जुध्ने क्षमता दिन्छ र, त्यो बिरामी पनि निको हुन्छ।
यसरी यो 'कन्भेलेसेन्स प्लाज्मा थेरापी' त्यहाँ बनेको एन्टिबडीले गरिने उपचार हो। एकपटक कुनै पनि व्यक्ति भाइरसको संक्रमणबाट मुक्त भए पनि त्यो एन्टिबडी चाहिँ निश्चित अवधिका लागि प्लाज्मामै रहन्छ।
तसर्थ, डाक्टरले निको भइसकेको व्यक्तिबाट 'कन्भेसेलेन्ट प्लाज्मा' लिन्छन्, र भाइरससँग जुध्दै गरेको अर्को बिरामीलाई दिन्छन्। यसरी एन्टिबडीले संक्रमण देखिएका व्यक्तिको इम्युन प्रणाली बलियो बनाउने काम गर्छ। केही समयभित्रै उक्त व्यक्तिले कोरोना भाइरसलाई पराजित गर्न सक्छ।
रक्तदाता पाउनै मुस्किल
कोभिड–१९ लागेर जटिल अवस्थामा पुगेका बिरामीलाई 'कन्भेसेलेन्ट प्लाज्मा थेरापी' का लागि ब्लड ग्रुप मिल्ने कोरोना संक्रमणपछि निको भएका व्यक्तिले रगत दिनुपर्छ। तर, निको भएका संक्रमितले रगत दिन आनाकानी गरिरहेका छन्।
पछिल्लो समय दैनिक २० जनाभन्दा बढी व्यक्तिका लागि 'प्लाज्मा' को माग भए पनि त्यसलाई पूरा गर्न नसकेको डा. नेपालको भनाइ छ। रक्तदाता नभएकाले 'कन्भेसेलेन्ट प्लाज्मा' तयार पार्न असहज भएको छ।
'कोरोना संक्रमणपछि निको भएका व्यक्तिले हम्मेसी 'ब्लड' दिन चाहँदैनन्। खै किन हो! मलाई अचम्म लागेको छ। अन्य बेला 'ब्लड डोनेसन' गर्नेको कति राम्रो मोटिभेसन छ। तर, मैले २ सय जना निको भएका बिरामीलाई रक्तदान गर्न फोन गरे हुँला, आग्रह स्वीकार गरेर आउने पाँच जना पनि छैनन्,' डा. नेपाल सुनाउँछन्, 'कोरोनालाई लुकाउन खोजेको हो कि? कोरोना लागेको थाहा भएपछि समाजले के भन्ला भनेर डरले पो हो कि? उनीहरू रक्तदान गर्न लालायित छैनन्।'
जनचेतना जगाएर उनीहरूलाई रक्तदानका लागि राजी बनाउन सकियो भने गम्भीर बिरामीको ज्यान बचाउन सकिने उनी बताउँछन्। डा. नेपाल नेपालका एक मात्र ब्लड ट्रान्सफ्युजन गरेका विशेषज्ञ डाक्टर हुन्।
कोरोना संक्रमणलाई जितेका व्यक्तिले अर्को व्यक्तिलाई रगतबाट निकालिएको 'प्लाज्मा' दिँदा केही फरक पर्दैन। दुई दिनमै अर्थात् ४८ घन्टामा रगतमा 'प्लाज्मा' परिपूर्ति हुन्छ। त्यसैगरी, आरबिसी परिपूर्ति हुन चाहिँ आठ साता लाग्छ। डब्लुबिसी र प्लेटलेट्स परिपूर्ति हुन ८ देखि १० दिनसम्म लाग्न सक्छ। त्यही भएर निको भएका व्यक्तिले रक्तदान गर्दा अप्ठ्यारो नपर्ने विज्ञहरूको धारणा छ।
डा. नेपालको विचारमा बिरामीलाई आवश्यकताअनुसार कम्पोेनेन्ट छुट्टयाएर रगत दिनुपर्ने हुन्छ। अझै पनि नेपालका ७० प्रतिशतभन्दा बढी स्थानमा जस्तैसुकै अवस्था रहे पनि 'होल ब्लड' दिने गरिएको छ।
'बिरामीलाई कुन ब्लड चाहिएको हो, त्यहीअनुसार छुट्टाछुट्टै दिनुपर्छ भन्ने अवधारणा दुनियाँभर चलेको छ, हामीले पनि नेपालमा यही अवधारणाअनुसार काम गरेको ४–५ वर्ष भयो,' उनी भन्छन्। यसलाई मुलुकभर विस्तार गरेको खण्डमा अन्य रोगका बिरामीलाई पनि सजिलो हुने देखिन्छ।
नेपाल रेडक्रसले ५४ वर्षदेखि ब्लड बैंक चलाउँदै आएको छ। यति लामो अवधि बिते पनि रेडक्रसमा अझैसम्म एक जना पनि ब्लड ट्रान्सफ्युजन विशेषज्ञ छैनन्। एमबिबिएस डाक्टर र प्राविधिकको भरमा रेडक्रसले मुलुककै ठूलो ब्लड बैंक 'ह्यान्डलिङ' गर्दै आएको छ। अहिलेसम्म पनि परम्परागत विधिबाटै रक्त संकलन भइरहेको छ।
विज्ञहरूका अनुसार रगतलाई दुई तरिकाले छुट्याउन सकिन्छः
पहिलो, व्यक्तिको शरीरबाट 'होल ब्लड' लिने र प्रविधि प्रयोग गरी त्यसबाट आवश्यकताअनुसार आरबिसी, डब्लुबिसी, प्लेटलेट्स र प्लाज्मा छुट्याउने।
दोस्रो, 'एफेरेसिस मेसिन' प्रयोग गरी एकैचोटि रगत छुट्याउने।
यो मेसिनले एउटा हातबाट संकलित रगतबाट प्लाज्मा वा आवश्यक कुनै कम्पोनेन्टको मात्रा छुट्याएर बाँकी रगत पुनः अर्को हातबाट शरीरमै पठाइदिन्छ। विज्ञहरूका विचारमा मेसिनले एक व्यक्तिको रगतबाट छुट्याएर संकलन गरेको 'कन्भेलेसेन्स प्लाज्मा' चार जना कोरोना संक्रमित व्यक्तिलाई दिन पुग्छ। उक्त प्लाज्मा एक वर्षसम्म सुरक्षित राख्न सकिन्छ।
अहिले सिभिल हस्पिटल, काठमाडौंमा मात्र 'एफेरेसिस मेसिन' सञ्चालनमा आइरहेको छ। यो मेसिन टिचिङ अस्पतालमा भए पनि प्राविधिक नभएको भन्दै सञ्चालन नगरिएको थाहा भएको छ। पछिल्लो समय अन्य केही अस्पतालले यो मेसिन ल्याएका छन्।
मलुकभर 'ब्लड बैंक' को जिम्मेवारी लिएको रेडक्रसले त अहिलेसम्म यो मेसिन प्रयोगमा ल्याएको छैन।
विश्व स्वास्थ्य संगठनका अनुुसार विश्वका करिब २ करोड ४० लाख व्यक्ति कोरोना संक्रमित हुनुका साथै ८ लाख २४ हजारको मृत्यु भइसकेको छ। १ करोेड ६६ लाख व्यक्ति निको भएका छन्। नेपालमा संक्रमित संख्या ३४ हजार ४ सय १८ र मृत्यु हुनेको संख्या १ सय ७५ पुगेको छ। यो तथ्यांक अझै बढ्दो क्रममा छ।
विश्वभरका डाक्टर तथा विज्ञहरूले अहिलेको अवस्थामा जटिल अवस्थामा पुगेका कोभिड–१९ बिरामीका लागि 'कन्भेसेलेन्ट प्लाज्मा थेरापी' सुझाएका छन्। साँच्चिकै भन्ने हो भने यो थेरापी अहिले कोरोनाका जटिल बिरामीका लागि ठूलो भरोसाको दियो बनेको छ।
कतिपय बिरामीले योे थेरापीबाट पुनर्जीवन पाएका छन् भने कतिपय बिरामी निको हुन सकेका छैनन्। नेपालमा पनि कोभिड–१९ संक्रमण भएका केही बिरामी 'कन्भेसेलेन्ट प्लाज्मा थेरापी' बाट निको भएका खबर आएका छन्। यो थेरापी लिएका मेडिसिटी अस्पतालका एक र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एक गरी दुई जना बिरामीको मृत्यु भएको जानकारी आएको छ।
यो थेरापीले यतिसम्म अवस्थामा पुगेका कोभिड–१९ का बिरामीलाई निश्चितताका साथ निको पार्छ भन्ने चाहिँ कुनै वैज्ञानिक अनुसन्धान भएको देखिँदैन।
अहिलेसम्म 'कन्भेसेलेन्ट प्लाज्मा थेरापी' बाट स्वास्थ्यलाभ गरेका बिरामीलाई हेर्दा यो थेरापी उपयोगी छ भन्नेमा चाहिँ कुनै शंका छैन। आखिर, कोरोनाका जटिल बिरामीलाई उपचारका लागि भरपर्दोे अर्को विकल्प पनि त छैन नि!