बिपी कोइराला नेपाली आधुनिक राजनीतिक प्रणालीभित्रका शिखर पात्र हुन्। यसका पछाडि केही विशिष्ट कारण छन्।
दोस्रो विश्वयुद्धपछि शासकीय पद्धतिमा आएका शून्यतामा दक्षिण एसियामा मौलिक प्रवृत्ति परिकल्पना, राजनीतिक दल राज्य सञ्चालनमा महत्वपूर्ण संयन्त्र भएको स्वीकारोक्ति र त्यसको अन्तर्राष्ट्रिय महत्त्वसहितको गठन अनि विपरीत दृष्टिकोणको सम्मान बिपी विशेषता हुन्।
नेपालमा नागरिक अधिकारको अगुवाइ गर्ने, सामाजिक मुद्दालाई राजनीतिक आन्दोलनसँग जोड्ने, प्रजातान्त्रिक, वैधानिक र स्वतन्त्र संस्थाको परिकल्पना गर्ने अनि तिनको संस्थागत अभ्यासमा लाग्ने बिपी छोटो अवधि सत्ताको नेतृत्वमा बसेर पनि समाज पुनर्संरचना गर्न सकिन्छ भन्ने उदाहरण पस्केका व्यक्तित्व हुन्।
घटनाक्रमले विद्रोह र सत्ताको निरन्तर नेतृत्वमा बिपीलाई स्थापित गर्यो। जस्तो कि, क्रान्तिपछिको गृहमन्त्री र पहिलो जननिर्वाचित प्रधानमन्त्री भइसकेको व्यक्तिले पुनः एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनको पनि नेतृत्व गर्नुपर्यो। त्यो पनि लामो समयको कारावास र निर्वासनमै रहेर।
विद्रोह गर्दा र सत्तामा बस्दाको निरन्तर क्रान्तिकारी भावना बिपीको वैयक्तिक स्वभाव बन्यो भने साहित्यमा झल्किने समाज र राजनीतिको चित्रण अनि राष्ट्रियताका सवालमा आन्तरिक शक्तिसँगको अविच्छिन्न सम्बन्धले नेपाली राजनीतिमा 'बिपी चेतना' निर्माण भयो।
पार्टी निर्माणको आह्वानमै देशभित्रको नागरिक अधिकार र छिमेकी देश भारतको स्वतन्त्रता केन्द्रमा राख्नु साना राष्ट्रहरूको अन्तर्राष्ट्रियस्तरमा बेजोड उपस्थिति हुन्छ भन्ने प्रमाण दिने र त्यो अडानमा नडगमगाउने नेतृत्व गुण पनि रह्यो उनमा। क्रान्तिपछि शक्ति बाँडफाँटमार्फत राणा नेतृत्वको मन्त्रिमण्डलमा र निर्वाचनमार्फत दरबारसँग जनताको प्रतिनिधिका हैसियतमा प्रस्तुत हुने सौभाग्य प्राप्त गरेका बिपीको राजनीतिक दृष्टिकोण संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि उत्तिकै सान्दर्भिक देखिएका छन्।
बिपीकै विचार र नेतृत्वमा गठित र प्रशिक्षित दलकै नेतृत्वमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभामार्फत नयाँ संविधान जारीसमेत भयो।
कतिपय पुराना नेता तथा कार्यकर्ता एवम् विश्लेषकले त कांग्रेसले संवैधानिक राजतन्त्र छाडेर बिपी विचारमा अडिग रहन नसकेको आरोप पनि लगाउँछन्। २०४६ सालको आन्दोलनपछि भएका घटनाक्रममा कांग्रेस नेतृत्वको गतिविधि र त्यसबाट उत्पन्न परिस्थितिले यी तर्क प्रस्तुत गर्नेलाई पक्कै ऊर्जा थपेको छ।
प्रतिपक्षी दलसँगको सम्बन्धबारे बिपीको आफ्नै अडान थियो— विचार फरक भएपछि आ–आफ्नो बेग्लै अस्तित्व हुन्छ तर त्यसको अर्थ निषेधको राजनीति होइन।
बिपीको देहावसानपछि फरक विचारधारा भएका र आफ्ना राजनैतिक दस्तावेजमा दलाल पुँजीपतिको संज्ञा दिएर वर्ग शत्रु घोषणा गरेका दलहरूसँग कांग्रेस आन्दोलन सत्ता र निर्वाचन चिह्न सबैखाले मोर्चामा मिसिन पुग्यो। एकातिर कांग्रेसले सबै राष्ट्रिय शक्तिलाई संसदीय व्यवस्थामा ल्याएर प्रजातान्त्रिक प्रणालीमा स्थापित गराउन सफल भएकोमा गर्व गरेको छ भने अर्कोतिर तिनै शक्तिबाट प्रजातन्त्रमाथि खतरा भएको एजेन्डामा निर्वाचनमा होमिने गरेको छ।
दरबारलाई साझा शत्रु मानेर आफ्नो सैद्धान्तिक जगभन्दा माथि नागरिक हक छ भन्ने 'रणनीतिक विश्वास' मा पुगेका दलहरू गणतन्त्र घोषणापछि आ–आफ्नै सिद्धान्तको टेको समात्न खोजेका छन्। एकदलीय कम्युनिष्ट व्यवस्था र साम्यवादलाई अन्तिम लक्ष्य मानेका शक्तिलाई यीबाहेक अन्य सबै व्यवस्था 'रणनीति' मात्र भएकाले खासै फरक परेन।
तर, २०६२-६३ पछि संसदीय सर्वोच्चतालाई आधार बनाएको कांग्रेसमा सैद्धान्तिक चेत 'सुखद चुनौती' बन्न पुगेको छ। गणतन्त्रमा बिपी विचारको उपस्थिति केलाउन कांग्रेसको प्रजातान्त्रिक समाजवादी घोषणापत्र महत्त्वपूर्ण आधार बन्नसक्छ।
२०१२ सालमा छैटौं राष्ट्रिय महाधिवेशन वीरगञ्जबाट स्वीकृत प्रजातान्त्रिक समाजवादी घोषणाको राजनीतिक व्यवस्थाअन्तर्गत राष्ट्रको सर्वोच्च पदमा 'प्रजातन्त्रको आवश्यकताहरूलाई दृष्टिगत गरेर नेपालमा पनि इंग्ल्यान्डको जस्तो लचिलो राजतन्त्र' परिकल्पना गरेको कांग्रेसले भूमिसुधारलाई प्राथमिकतामा राख्यो। सरकारद्वारा किसानलाई कृषिका लागि पूँजी र ऋण मिनाहा, घरेलु उद्योगलाई प्रोत्साहन, प्रगतिशील कर प्रणाली, मुद्रा सुधार र ठोस बैंकिङ व्यवस्था, साधारण शिक्षाका साथै व्यावसायिक र औद्योगिक प्रशिक्षणजस्ता आधार सोही बखतका बाचा थिए जुन गणतान्त्रिक संविधानअन्तर्गतका पनि आधारस्तम्भ देखिएका हुन्।
'वैधानिक राजतन्त्रअन्तर्गत प्रजातान्त्रिक समाजवाद' र नेपालको संविधान २०७२ ले परिकल्पना गरेको लोकतान्त्रिक समाजवादउन्मुख राज्यमा राजनीतिक प्रणाली फरक देखिएको छ। शिक्षा, स्वास्थ्य, समावेशिता र पहिचानका मुद्दा, गणतन्त्र नेपालका पनि उत्तिकै सान्दर्भिक विषयवस्तु हुन्। नयाँ संविधानको प्रस्तावनामा उल्लेख छः
'...आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने...लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण...।'
वर्षौंसम्मको राजनीतिक आन्दोलनपछिको आर्थिक क्रान्तिको मृगतृष्णामा रुमल्लिएको देशमा घोषित र जनतासामु बाचा गरिएका योजना कार्यान्वयमा कुन शासनव्यवस्था उत्तम भन्ने बहसभन्दा पनि त्यसलाई हस्तक्षेप गर्ने दलीय संयन्त्र र प्रणाली कस्तो भन्ने प्रश्न पनि उत्तिकै सान्दर्भिक छ। झनै, गणतन्त्र घोषणापछि खुम्चिएको कूटनीति, प्रचारमुखी शैलीमा रमाएको सत्ता र प्रतिपक्ष, प्रजातान्त्रिक संस्थाहरूको आफूअनुकूल व्याख्या र प्रयोगले सामाजिक समस्याको उठान दलीय कर्तव्यभन्दा टाढा देखिन थालेको छ।
प्रजातन्त्र प्रणालीप्रधान व्यवस्था हो, वैयक्तिक अग्राधिकार होइन। निश्चय पनि दलहरूको निष्ठा, इमान्दारिता अनि नेतृत्व विकास र चयनको स्वस्थ प्रतिस्पर्धा नै प्रजातन्त्रको मेरुदण्ड हो।
यहाँ त बिपीलाई सम्झन पनि अधिवेशन पर्खनुपर्नेजस्तो देखिन्छ। ठूला परिवर्तनका अगुवाइ र निर्वाचनमार्फत तिनको संस्थागत गर्ने प्रयास गरेको कांग्रेसले बिपीको चिन्तन, दैनिकी सोच र दृष्टिकोणलाई महाधिवेशनको बेला नेतृत्व चयनको साँघुरो घेरामा लगेर कैद गरेको देखिन्छ।
कांग्रेस आधुनिक राजनीतिक दलका रूपमा स्थापनाकालदेखि नै वैयक्तिक टकरावको शृंखलाबाट अगाडि बढेको दल हो। तर त्यो टकरावको पछाडि स्थापनाकालमा दरबारसँगको सम्बन्ध र क्रान्तिको विधि (हिंसात्मक-अहिंसात्मक) कारण बन्थे। पछिल्लो समय राष्ट्रियस्तरमा पनि बहस चल्दा नेताविशेषको नाममा वैयक्तिक गुणदोषका आधारमा र विरासतको लेपमा जबर्जस्त व्यक्तिको उठान गर्न थालिएको छ, प्रजातान्त्रिक समाजवादी एजेन्डा तटस्थ राखेर।
कुनै बेला देशको विकास प्रणालीमा पिछलग्गु र दलाल पुँजीपतिको दरबारसँग निकटता देखाउने बिपीको कांग्रेस आज त्यसैको शिकार भएको भान हुन थालेको छ।
सन् १९४७ जनवरी २६ मा नेपाली राष्ट्रिय कांग्रेसको प्रथम महाधिवेशनमा मन्तव्य राख्ने क्रममा 'दाताहरूको सहायतामा नेपाली भाषामै साप्ताहिक पत्रिका काशीबाट प्रकाशित हुने......तिनीहरू सुगमतापूर्वक र छिटो प्राप्त गर्न हामीलाई विशेष चन्दास्वरूप कम्तीमा पाँच रुपैयाँका साथ आफ्नो ठेगाना अपेक्षित छ' भन्ने बिपीका भनाइ दृष्टिगत गर्दा आजका कांग्रेस अनि कांग्रेसीको आर्थिक व्यवस्थापन र आचरण के गणतन्त्र सुहाउँदो छ त?
जनता र व्यवसायमा कुन चाहिँ पहिले भन्ने मूल प्रश्न खडा हुन्छ यहाँ, गणतन्त्रमा बिपीको उत्तराधिकारीको दावा गर्ने जो कोहीलाई पनि।
राजनीतिमा पदभन्दा सम्बन्ध र जिम्मेदारी अनि आदेशभन्दा मर्यादा प्राथमिकतामा राख्ने बिपी परिपाटी अहिलेको कांग्रेसमा कमजोर देखिएको छ। आबद्ध सबैलाई कुनै न कुनै पदमा रहनुपर्छ र पदबिना 'राजनीति कर्म' असम्भव छ भन्ने भ्रमले गाँजेको छ। दलका विभिन्न संरचनामा नभएदेखि कुनै नेता विशेषको नाम अथवा मिल्दोजुल्दो स्वतन्त्र समूह सामाजिक सञ्जालमै घोषणा गरेर भए पनि पद लिने र बाँड्ने 'पद संस्कृति' विकास भएको छ।
समुदायमा रहेका नवीन समस्या पहिचान र त्यसको सम्बोधनका लागि पद नै चाहिन्छ भन्ने जबरजस्त आधार निर्माण गरिएको छ। मूल राजनीतिक संस्थाको सांगठनिक गतिविधि कमजोर भएका बेला समानान्तर तरिकाले नेता विशेषको छत्रछायामा बसेर गरिने यस्ता प्रवृत्तिले अन्ततोगत्वा दलभन्दा व्यक्तिप्रधानको संस्कृति निर्माण गर्छ।
कुनै पनि सङ्गठन स्थापनाको एउटा ध्येय हुन्छ। राजनीतिक दलको ध्येय र दलनिकट जन्मने संस्थाले गर्ने मूल कार्यभारमा के फरक छ त?
जब एउटै समूह, दल र नागरिक समाजको वकालत एकै समयमा गर्न खोज्छ त्यसले 'नागरिक वृत्त' को पहिचान साँघुरो बनाउँछ। यसै पनि गणतन्त्र स्थापनापछि नागरिक आन्दोलन नेपालमा कमजोर हुँदै गएको छ। कतिपय विश्लेषक र नागरिक अगुवाले बहस र संवादको वृत्तलाई प्रजातान्त्रिक परिपाटीभन्दा टाढा राख्छन्।
उदाहरणका लागि– कुनै राजनीतिक दलको नेतृत्व 'कस्तो' हुनुपर्छ भन्दा पनि 'को' हुनुपर्छ भन्ने 'उच्च वरीयता' को बहस नै चलेको छ। जुन बहस सम्बन्धित दलका स्थानीयस्तरसम्म खटिएका आम राजनीतिकर्मीबीच लैजान सक्ने छलफलको किसिम निर्माण गर्नुपर्थ्यो।
जतिबेला बिपीले पार्टी र सरकारको नेतृत्व गर्दा भूगोल, जनजाति, महिला, पिछडिएका वर्ग र अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेका थिए, गणतन्त्र नेपालमा संवैधानिकरूपमा नै सुनिश्चित गरिएका बेला झन् त्यसको व्यावहारिक आगत पक्ष कमजोर देखिन्छ।
अर्कोतिर अन्तर्राष्ट्रिय सम्बन्धको आयामका बारेमा नेपालले विश्व चरम ध्रुवीकरणमा रहेका बेलासमेत आफ्नो धारणा बनाउने हैसियत राखेको बिपी युगले आफ्नो राष्ट्रियताको बहससमेत अर्को देशलाई आधार बनाएर गर्न खोजेको देख्नुपरेको छ।
यी यावत परिस्थितिबीच जसले सामाजिक आन्दोलनको अगुवाइ र आन्दोलनभित्र नै प्रजातान्त्रिक संस्थाको जगेर्ना गर्दै राजनीतिक आन्दोलनसँग जोड्ने क्षमता राखेको हुन्छ, उही नेतृत्वको बिम्ब हुन आउँछ।
(पिताम्बर भण्डारीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)