पछिल्लो समय नेपालमा महिलाको शरीर, यौन, वस्त्र र व्यक्तिगत छनौटका विषयमा बहस चलिरहेको छ। यो बहसले बौद्धिक तहको समेत ध्यान तान्न सकेको छ, जुन निकै सुखद पक्ष हो।
यो लेख यही विषयमा छ। तर कुनै सिद्धान्तको चिरफारमाभन्दा पनि विभिन्न वादले महिलालाई कसरी नजरअन्दाज गरेको छ भन्नेमा यो लेख केन्द्रित छ।
कार्ल मार्क्सको सिद्धान्तअनुसार सामाजिक संस्था, राजनैतिक संरचना र राज्यको स्वरुप उत्पादन प्रणालीले निर्धारण गर्छ। र, उत्पादन प्रणालीले निर्धारण गरेका संरचनाले उपरी संरचना (सुपर स्ट्रक्चर) जस्तै संस्कृति, विचारधारा, मूल्य-मान्यता र पहिचान निर्माण गर्छ।
मार्क्सवादले पुँजीवादी उत्पादन प्रणालीले मालिकलाई उद्यमी र दासलाई मजदुर बनाउँछ र यसैका आधारमा नयाँ संरचना निर्माण हुन्छन् भन्ने तर्क राख्छ। मजदुर वर्गको श्रमको ज्याला कटाएर उद्यमीहरू नाफा कमाउँछन् भन्ने मार्क्सवादले गरेको पुँजीवादी उत्पादन प्रणाली माथिको सबभन्दा ठूलो आलोचना हो।
तर सामन्तवाद र पितृसत्तामा आधारित संरचना र उपरी संरचना नजरअन्दाज गर्दा पुँजीवादी उत्पादन प्रणालीले विशुद्ध नभई ठिमाहा रूप लिन सक्छ भन्ने तर्फ मार्क्सवादी विश्लेषण चुकेको छ।
मार्क्सवादी तर्कविपरीत महिलाको श्रमलाई निःशुल्क मान्ने पितृसत्तात्मक मान्यतामा टेकेर पुँजीवादले बजारमा महिलाको श्रमको अवमूल्यन गर्यो र महिलाको श्रम शोषण बजारका लागि सबभन्दा ठूलो नाफाको श्रोत बन्न पुग्यो। पुँजीवादले स्थापना गरेको बजार व्यवस्थामा आज पनि महिला श्रमिकहरू समान काम र समान ज्यालाका लागि संघर्ष गरिरहेका छन्।
हामी बाँचेको मानव समुदाय यति जटिल छ कि यहाँ कुनै पनि 'वाद' स्वतन्त्र हिँड्न सक्दैन। सामन्तवाद वा पितृसत्ताको प्रतिस्थापन पुँजीवाद होइन, यो त सामन्तवादले निर्माण गरेको संरचना र उपरी संरचनामा टेकेर अगाडि बढेको वाद हो। सम्पत्तिको निजीकरणले जन्माएको अंश र वंशको हस्तान्तरणसँगै महिलामाथिको नियन्त्रण संस्थागत हुँदै आएको ऐतिहासिक पृष्ठभूमीमा नै पुँजीवादले आफ्नो पखेटा फिँजाएको छ।
वादले परिकल्पना गरेभन्दा विकृत संरचना निर्माण पुँजीवादमा मात्र होइन, हरेक वादमा भएको छ।
अध्यात्मवादले महिलाको महिनावारीलाई मासिक धर्मका रूपमा व्याख्या गरेको छ तर समाजमा नछुने वा छाउपडी प्रथा संस्थागत छ। सबै धर्मले अहिंसा, शान्ति, मानव जगतको कल्याणको कुरा गर्छन् तर आज पनि संसारमा सबभन्दा धेरै हिंसा धर्मकै नाममा भएका छन्। पुँजीवादले श्रमले पुँजी निर्माण गर्छ भन्ने मान्यता राखेको छ तर श्रम बजारमा सबभन्दा धेरै श्रम बेच्नेहरू नै सर्वहारा छन्।
हरेक वादमा यस्ता गैर तार्किक तथ्य भेटिन्छन् र व्यापकताका आधारमा यस्ता गैर तार्किक तथ्यहरू अपवाद पनि लाग्दैनन्।
मार्क्सवादले परिकल्पना गरेको मजदुर एकता र समाजवादको उदय पनि एउटा मिठो भ्रमको रुपमा देखिँदै छ। समाजवाद खुम्चँदै छ भने विकसित राष्ट्रहरू नवउदारवादको अभ्यासमा लागेका छन्। हिजो जो मालिक थिए, अर्थ बजार उनीहरूकै नियन्त्रणमा पुगेको छ। पुँजीवाद मजदुरलाई जुटाउनेभन्दा फुटाउने संरचना बनाउन सफल भएको छ।
पुँजीवादले महिलाको शरीरको वस्तुकरणको अवधारणा कहाँबाट ग्रहण गर्यो त? महिलाको श्रम र शरीरको वस्तुकरण इतिहास कत्रो छ?
पूर्वीय दर्शन हेर्ने हो भने उत्तर वैदिक कालमा राजा ययातीले गालवको श्यामकर्ण घोडा जम्मा गर्ने अभीष्ट पूरा गर्न आफ्नी पुत्री माधवी गालवलाई सुम्पिएको देखिन्छ। के यो महिलाको शरीरको वस्तुकरण होइन?
सम्राट हर्यश्व, दिवोदास र उशीनरका लागि माधवीले एक एक चक्रवर्ती पुत्र प्रदान गरेवापत दुई-दुई सय घोडा प्राप्त गर्दा पनि विश्वामित्रले माग गरेअनुसार दुई सय घोडा नपुगेपछि यसको बदलामा गालवले माधवीलाई नै सुम्पिएको कथा छ।
महिलाको शरीर वस्तुकरणको योभन्दा उग्र उदाहरण के हुन सक्छ?
त्रेता युगमा सीताको पवित्रता पुष्टि गर्न गरिएको अग्नि परीक्षा महिलाको शरीर र यौनिकतामाथिको नियन्त्रण होइन? यतिले नपुगेर रैतीको मान राख्न गर्भवती श्रीमतीलाई दरबार निकाला गर्नु वस्तुकरणकै स्वरुप होइन?
महाभारत कालमा पाँच पान्डवले कौरवसँग खेलेको जुवामा आफ्ना सर्वश्व गुमाइसके पनि द्रौपदीको शरीर थापेको कथा छ। हार्नेहरू जित्नेको दास हुनुपर्ने शर्तमा खेलिएको जुवामा सबै हारिसकेपछि श्रीमतीको शरीर थाप्नुभन्दा ठूलो महिला शरीरमाथिको नियन्त्रण र वस्तुकरण अरू के हुन सक्छ?
नारीका बत्तीस लक्षण र सोह्र श्रृंगार कुनै नयाँ विधा होइन। हामीहरू धेरै अप्सरा र परीका कथा सुनेरै हुर्किएका हौं। बजारले यसलाई सौन्दर्यका मानकमा रूपान्तरण गर्यो र महिला सौन्दर्यलाई पुँजीकरण गर्न सक्यो। फरक यति हो, वैदिक कालमा राजा-महाराजाको सेवा गर्न र ऋषिहरूको ध्यान भंग गराउन अप्सरा प्रयोग गरिन्थ्यो, बजारले यौन किनबेच गर्न र उत्पादनको बजारीकरणमा महिलाको सौन्दर्य प्रयोग गर्छन्। प्राचीन कालमा महिलाहरू यौनदासीका रूपमा थिए भने पुँजीवादमा महिलाको संलग्नतामा चलेको यौन बजार सबभन्दा कमाउ बजार हो।
महिलाको शरीरको वस्तुकरण एउटा वादले निर्माण गरेको अवधारण होइन। महिलाको ज्ञान र श्रमभन्दा शरीर र यौनलाई महत्व दिने कुरा आदीम कालदेखि प्रचलित छ। र, यसलाई हरेक वादले आफ्नो फाइदाका लागि परिमार्जन र सुधार गर्दै ल्याएको छ। यहाँनेर महिलावादबारे पनि कुरा गर्नु उपयुक्त हुन्छ।
आजसम्म हामीले उत्पादन गरेको अनुभव र ज्ञानले विद्यमान प्रणाली र संरचनालाई 'रेट्रोफिटिङ' गर्न जानेको छ, न कि विभेदरहित अलग संरचना र मूल्यमान्यता निर्माण गर्न। त्यसैले त हामी तीजको 'फ्रेमवर्क' मा महिला सशक्तिकरण खोज्दैछौं। ऋषि पन्चमीको पूजा विधिमा महिनावारी सरसफाइ।
हामी शिक्षामा छोरीको पहुँच बढाउन लालाहित छौं। तर विद्यालय, विश्वविद्यालयले विद्यमान सामाजिक, आर्थिक र राजनैतिक प्रणाली र संरचनामा आधारित शिक्षा दिइरहेकामा नजरअन्दाज गरिदिन्छौं। त्यसैले त हाम्रो शिक्षा प्रणालीले उत्पादन गर्ने स्त्री रोग विशेषज्ञहरू लिंग पहिचानका आधारमा गर्भपतन गराउने पेसाबाट पुँजी निर्माण गर्न उद्दत छन्। वैज्ञानिकका अनुसन्धान एसिड आक्रमणबाट जोगिने मास्क बनाउनतर्फ लक्षित छन्। अनि अधिकारकर्मीहरू यौन हिंसा र बलात्कारबाट बच्न कोठामा बलियो चुकुल राख्ने, शरीर ढाकिने लुगा लगाउने, समयमै घर फर्कने, एक्लै नहिँड्ने जस्ता नैतिक ज्ञान बाँड्छन्।
जब परम्परा, धर्म, संस्कारमा आवश्यक सुधार र परिवर्तनका कुरा आउँछन्, हलो व्यक्तिगत रोजाइमा गएर अड्किन्छ। शिक्षा र ज्ञानमाथि पूर्णरूपमा पुरुषको नियन्त्रण भएका समयमा निर्माण गरिएका संस्कार बचाउमा अहिले सबभन्दा धेरै महिलाको व्यक्तिगत छनौटलाई जोडेर वकालत गर्नेहरू धर्मका अभियन्ता छन्।
उनीहरू महिलाको व्यक्तिगत छनौटमाथि नयाँ राजनीति गर्दैछन् जसले गर्दा धर्म संकृतिको रक्षा सहज बनोस्। अर्कोतर्फ पुँजीवाद व्यक्तिगत छनौटलाई बजारीकरण गरेर अर्थ आर्जन गर्न तल्लीन छ। तर कुनै पनि वाद महिलाको व्यक्तिगत छनौटलाई व्यक्तिगत रहन दिन तयार छैनन्। महिलाका छनौटलाई स्वतन्त्र अगाडि बढ्न दिए न नयाँ मूल्य-मान्यता विकास हुने हो! यहाँ त महिलाबाट जब कुनै फरक काम हुन्छ, आ—आफ्ना सिद्धान्त बोकेर कि त विरोधमा, कि समर्थनमा जुटिहाल्ने संकार विकास भएको छ।
यस्ता अभ्यासले नयाँ विकल्प खोजी र ज्ञान आर्जनमा पूर्ण रोकावट सिर्जना भएको छ।
व्यक्तिगत छनौट र स्वतन्त्रताको मिलन कहाँ हुन्छ भन्नेबारे अझ व्यापक बहस जरुरी छ। किनकि यी विषयवस्तु निर्विवाद, अझ भनौं निरपेक्ष हुनै सक्दैनन्। मार्क्सवादले अर्थ लगाए जस्तै संस्कृति, विचारधारा, मूल्य-मान्यता र पहिचान उत्पादन प्रणालीबाट निर्देशित उपरी संरचना हुन् भने व्यक्तिगत छनौटमा पनि उत्पादन प्रणालीको प्रभाव अवश्य नै पर्छ।
त्यसकारण महिलावादीहरू 'पर्सनल इज पोलिटिकल' मा विश्वास गर्छन्। व्यक्तिगत छनौट र स्वतन्त्रतालाई विशुद्ध व्यक्तिगत राख्न विद्यमान लैंगिक बुझाइ, भूमिका, मूल्य-मान्यताबाट आफूलाई स्वतन्त्र राख्न सक्नु पर्छ।
म जुन समुदायमा हुर्किएकी छु, मेरो व्यक्तिगत विश्वास, मूल्य-मान्यता, मैले महशुस गर्न नसक्ने पूर्वाग्रहहरू पनि मसँगै हुर्किएका छन्। यसलाई आफूबाट अलग गरेर वास्तविक ममा रूपान्तरण हुने प्रक्रिया निकै जटिल हो। र, यो नै महिला सशक्तिकरणको पहिलो र सबभन्दा महत्वपूर्ण चरण पनि।
अर्कोतर्फ लैंगिकतामा आधारित संरचना, मूल्य-मान्यताले सबै उत्पादन प्रणालीमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पारेको कुरा नकार्न सकिँदैन। त्यसकारण लैंगिक समानता हरेक वादको निर्देशित सिद्धान्त हो। कुनै निश्चित वादमाथि पक्ष-विपक्ष भएर बहस गर्दैमा लैंगिक समानताको लक्ष्य पूरा हुँदैन।
(सावित्रा ढकालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)