हिजोआज म अलि दिक्क मान्न थालेकी छु।
काठ ओछ्याइएको फुटपाथे सडकले मेरो आयु लम्ब्याएको छ। पैदल यात्राको आनन्द लिनेहरूका निम्ति बनाइने त्यस्तो सडकभन्दा दुई ब्लक वर मात्रै मेरो बसोबास छ। म कोनी द्वीपसम्मै हिँडेरै पनि गइदिन सक्छु।
म एक्लै हिँड्छु। त्यसो त यहाँ मेरा केही साथीहरू पनि छन्। साताको एकपटक हामी रमाइलो जमघट गरेर तासका रमाइला खेलहरू पनि खेल्थ्यौं। तर जसै कोरोना आतंक सुरू भयो, मेरी छोरीले 'कोठा भित्रै बस्नुस्' भनेर उर्दी जारी गरिदिइन्।
त्यसैले हिजोआज म टेलिफोनमा कुराकानी गरेर अनि पढेर दिन बिताउँछु। नातिनातिनासँग बेला बेलामा जुममार्फत भेटघाट पनि गर्छौं। त्यसबाहेक म यहुदीहरूको सम्पदा संरक्षित गरेको संग्रहालय 'म्युजियम अफ जुज हेरिटेज'का निम्ति जुममार्फतै व्याख्या गर्ने काम पनि गरिरहेकी छु।
म अहिले ८७ वर्षकी भएँ। यो उमेरमा पनि आफूलाई सक्दो व्यस्त राख्न प्रयास गरिरहन्छु। यो प्रवृत्तिले मलाई असाध्यै सघाएको पनि छ। कुनै पनि चुनौती आइपर्दा लरोतरो नभइ डट्न यस्तो बानीले सघाउँछ।
यति हुँदाहुँदै पनि एउटा कुराले भने मलाई लगातार पिरोलिरहेको छ। त्यो भनेको मैले जीवनकै एउटा अत्यन्तै महत्वपूर्ण वर्ष गुमाउनु परेको छ। डाँडामाथिको जून भएर बाँचिरहेको क्षण भन्नु मानिसको जीवनकै अत्यन्त महत्वपूर्ण समय हो। यस्तो महत्वपूर्ण क्षणबाट एक वर्ष नै खोसिनु असाध्यै दुःखद् कुरा हो।
यति हुँदाहुँदै पनि मैले सकभर बढीभन्दा बढी आफूलाई व्यस्त राख्ने प्रयास गरिरहेकी छु। मानिसले बाँचुन्जेलसम्मै आफू हुनुको अर्थ कायम राख्नु पर्छ। त्यसैले यतिबेला कोरोनाकै बीच पनि म्युजियमले विभिन्न स्कुलका विद्यार्थी वा अन्य इच्छुकहरूका लागि जुम मार्फतै आयोजना गर्ने प्रवचन कार्यक्रममा मैले बोल्न छाडेकी छैन।
त्यस्ता प्रवचनमा मैले भन्ने कुरा यी हुन्ः
मेरो जन्म सन् १९३३ मा चोदोरो नामको सानो सहरमा भएको थियो। त्यो सहरको नाम अहिले बदलिएर खोदोरिभ भएको छ। अहिले ल्वीव नाम रहन पुगेको उहिलेको ल्भोभ सहरबाट मेरो जन्मस्थल गाडीमा तीस मिनेट पर छ। यो ठाउँ कुनै समय पोल्यान्ड अन्तर्गत पर्थ्यो भने हिजोआज युक्रेनको हिस्सा बनेको छ।
सहरकै मध्यभागमा अवस्थित हजुरबुवाले बनाइदिनुभएको घरमा हाम्रो बसोबास थियो। त्यो सहरलाई सन् १९३९ देखि १९४१ सम्म रूसले कब्जामा लिएको थियो। त्यसपछि सन् १९४१ देखि १९४४ सम्म त्यही सहर जर्मनीको कब्जामा पुग्यो।
मेरो बुवालाई सहरभरिकै यहुदी तथा गैरयहुदी समुदायले उत्तिकै मनपराउँथे। सन् १९४२ का प्रारम्भिक दिनमा एकजना मानिस आएर बुवालाई 'महाशय अब ठूलो रक्तपात मच्चिनेवाला छ। त्यसैले आफूहरू लुक्ने राम्रो ठाउँको समयमै व्यवस्था गर्नु उचित रहला' भनेर सुझाव दिएका थिए।
त्यसपछि नै मेरो बुवाले लुक्न तहखाना तयार पार्नुभएको थियो। त्यो तहखानामा मेरा हजुरबुवा जान मान्नुभएन। उहाँलाई घरकै भान्छामा गोली हानेर मारिएको जानकारी हामीले पछि पाएका थियौं।
त्यसको केही समयमै जर्मनीका शासकहरूले बचेखुचेका सबै यहुदीहरूलाई ल्भोभमा एउटै एकीकृत वस्ती बनाएर बसोबास गराउने उल्लेख गरे। यस्तो अवस्थामा मेरो बुवा र फुपूहरू मिलेर आफूहरूको निम्ति स्थायी रूपले लुक्न उपयुक्त बन्दोबस्त गरिदिनसक्ने मानिसको खोजी गर्न थाल्नुभएको थियो।
यस्तो अवस्थामा उहाँहरूले स्टेफानीलाई फेला पार्नुभएको थियो जसको घर सहरकै मुख्य बाटोमा पर्थ्यो। त्यहाँ फराकिलो बगैंचा र खेतको उब्जनी थुप्रो लगाउने जमिन पनि थियो। स्टेफानी र मेरा अभिभावकहरू जीवनका प्रारम्भिक क्षणदेखिकै परिचित थिए।
मेरा बाले उक्त उब्जनी थुप्रो लगाउने ठाउँमै पर्खाल उभ्याउन सुरू गर्नुभयो र त्यहाँभित्र नौ जना मानिस लुक्न मिल्ने ठाउँ तयार पार्नुभयो। त्यसै स्थानमा हामी चाङ लगाएजस्तो गरेर सुत्थ्यौं। सुत्नका लागि बनाएका दूलोहरू चार फिट चौडा र पाँच फिट लामा थिए।
त्यो भित्ताको अर्कोतर्फ उसैगरी सुँगुर र कुखुराहरू पालिएका थिए भने यतातिर हाम्रो बसोबासको पनि उस्तै अवस्था थियो। मेरा अभिभावक, मेरी फुपू, फुपाजु, मावलकी हजुरआमा र हामी चारदेखि बाह्र वर्षसम्मका चारजना केटाकेटीहरू। त्यो तहखानामै हामी लुकेर बाँचेका थियौं।
स्टेफानीका एकजना १६ वर्षे छोराको मद्दतले त्यहाँ अलि फराकिलो ठाउँ व्यवस्था गरेर केटाकेटी स्याहार्ने स्थल तयार पारिएको थियो। त्यसपछिका दुई वर्ष मैले त्यस्तो तहखानामा लुकेर बिताएकी थिएँ। त्यसरी लुकाएर राखिरहँदा फुत्त फुत्त बाहिर निस्किरहने हामी केटाकेटीले गर्दा स्टेफानीले अप्ठ्यारो पनि मान्न थालेकी थिइन्। उनका छोराले भने हामीलाई साथ-सहयोग दिने भएकैले हामी त्यस तहखानाबाट निस्कनासाथ उनको छोरालाई खोज्थ्यौं।
हाम्रा शरीरभरि स्याउँस्याउँती जुम्रा परेका थिए भने हाम्रा आसपासबाट मुसाहरू दगुरिरहन्थे। तै पनि त्यस तहखानामा हरेक दिन केही न केही चमत्कार भइरहन्थ्यो। म अलि अनौठो किसिमकी बच्ची थिएँ। सायद त्यसैले चोदोरोका अधिकांश यहुदीहरू फेरि फर्कन नपाए पनि म भने बाँचिरहेँ।
त्यसैले जतिबेला कोरोना भाइरसको आतंक मच्चियो त्यतिबेलै पनि मैले म चमत्कारी मानिस भएकाले यो आतंकले मेरो केही बिगार्न नसक्ने ठानिसकेको थिएँ। बरू साहसका साथ लड्ने अठोट गरेँ।
जतिबेला दोश्रो विश्वयुद्ध चर्किएको थियो र हामी तहखानामा थुनिएर बसेका थियौं। त्यतिबेला फेरि हाम्रा निम्ति दिन आउला कि नआउला भन्ने पनि थाहा थिएन। हामी पूरै बाँधिएका थियौं। मलाई चर्कोसँग बोल्ने अनुमति पनि थिएन। न हाँस्न सकिन्थ्यो न रून पाइन्थ्यो।
तर, अहिले मैले बेहोरिरहेको आतंक फरक छ।
अहिले म स्वतन्त्रता अनुभव गरिरहेको छु। म झ्यालमा बसेर बाहिर हेर्न सक्छु। प्रत्येक बिहान म उठ्ने बित्तिकै दिनको सुरुआतै बाहिरको संसार नियालेर गर्छु। म जीवित छु। खानेकुरा पर्याप्त छन्। म बाहिर जान्छु, परपरसम्म हिँड्छु र यदाकदा किनमेलका निम्ति बजार पनि पुग्छु।
म ढुक्क छु, मलाई कसैले मार्न खोजिरहेको छैन। त्यो ढुक्क भएकैले म आरामले लेखपढ गर्छु। कहिलेकाहीँ आफैं पकाएर पनि खान्छु। मैले कम्प्युटर पनि चलाउन सिकेकी छु। म कम्प्युटरका खेलहरू पनि खेल्छु।
यति हुँदाहुँदै पनि कहिलेकाहीँ मलाई केही गुमाएको अनुभूति छ। एउटा सिंगो वर्ष पो हातबाट गयो।
त्रासै त्रासमा मेरो बाल्यकाल गुम्यो। मैले जीवनमा किशोरावस्था देख्नै पाइनँ। र, अहिले जतिबेला म वृद्धावस्थामा बाँचिरहेकी छु, यो भाइरस महामारीले मेरो जीवनको एक वर्ष घटाइदिएको छ।
अब त मसँग धेरै वर्ष बाँचेका पनि छैनन्। यो वर्ष हामीले जसरी बाँच्यौं त्यसले हामीलाई धेरै अवसरबाट बञ्चित गरेको छ। मेरा थुप्रै प्रवचनका कार्यक्रम स्थगित भए।
मैले अझ बढी मानिसलाई दोश्रो विश्वयुद्ध ताकाको मेरो त्रासद कथा सुनाउने मौका गुमाएँ। ती थुप्रा मानिसहरूले मलाई नियालेर हेर्ने थिए र हिटलरले हामी यहुदीहरू माथि गरेको नरसंहार भोगेको एउटा ज्यूँदो जाग्दो पात्रलाई बुझ्ने थिए।
यत्रो लामो अन्तरालपछि पनि उनीहरूका सामुन्ने उभिएर कोही भुक्तभोगीले आफ्नो कथा सुनाइरहेको हुने थियो। यो आफैंमा असाध्यै महत्वपूर्ण कुरो हो।
एक वर्षअघि म जुन आकार र प्रकारले प्रस्तुत हुनसक्ने थिएँ, त्यो आज नहुँला भन्ने कुराले डराएकी छु।
गत मार्चमा यो महामारीले आतंक मच्चाउन सुरू गर्दा न्यूजर्सी बस्ने मेरो एक नाति उनको श्रीमतीका साथ माइन पुगे। त्यहाँ गएपछि उनीहरू फर्किएर आएकै छैनन्। अहिले त उतै मेरो पनानि पनि भइसकेको छ। अनि त्यो पनातिलाई पनि म जुममा हेरेरै चित्त बुझाइरहेकी छु। यसरी जुममा देखिएकी जिजु हजुरआमालाई त्यस बच्चाले कहिल्यै स्मरणमा राख्न सक्ने छैन। यो ठूलो नोक्सानी हो।
त्यसैगरी यो बेलामा मानिसले गुमाएका कतिपय झट्ट हेर्दा सामान्य कुरा पनि हुन्छन् जुन ती व्यक्तिको आफ्नो जीवनमा भने असाध्यै महत्वपूर्ण हुन्छ। जस्तो कि मैले प्रार्थना गर्ने स्थानमा भेटेको एकजना पुरुष साथी थिए। हामी मोटर लिएर कतै लामो यात्रामा जान सक्थ्यौं। सायद फ्लोरिडा नै जान्थ्यौं होला। वा केही साताका निम्ति इजरायल नै पो पुग्थ्यौं कि?
तर, अहिलेको परिस्थितिले त्यसलाई बन्देजै लगाइदियो। र, यसले फेरि मेरो आयु छोट्याउने काम गरिदिएको छ। यो नै मेरो ठूलो गुनासो हो।
मानिसहरूमा व्याप्त भय र त्रास मैले बुझेकी छु। यस्तो बेलामा मानिस असाध्यै होसियार हुनुपर्छ भन्ने पनि थाहा छ।
कोरोना भाइरसले दिने तनावको मैले बाल्यकालमा भोगेको तनावसँग कुनै तुलनै हुन सक्दैन। त्यो बेलाको भय र त्रासको कुनै सीमा नै थिएन। अहिलेको भयबारे हामी सबैलाई थाहा छ, यसको कुनै न कुनै दिन अन्त्य हुनेछ। र स्थिति सामान्य हुनेबित्तिकै मैले पहिले गर्ने काम के हुनेछ, म कहाँ घुम्न जानेछु भन्ने जस्ता योजनाबारे सोच्न थालिसकेकी छु।
(टोबी लेभी अवकाशप्राप्त एकाउन्टेन्ट हुन्। पछिल्लो समय उनी म्युजियम अफ जुज हेरिटेजमा स्वयंसेवी प्रवचनकर्ताका रूपमा कार्यरत छिन्)