चउरभरी सेवाग्राही। कोही अपुग कागज मगाउँदै। कोही भएका कागज मिलाउँदै। कोही सिफारिस बिगारिदिएकोमा वडा अध्यक्षलाई फोनमा थर्काउँदै। कोही पालो कुर्दै। सबै आफ्नै धुनमा।
खुट्टामा गोल्डस्टार जुत्ता, टाउकोमा ढाका टोपी। टोपीमाथि कान ढाक्ने गरी गम्छा बेरेका एकजना बा ढिस्कोमा उभिएर कागजको 'रोल' खोलिरहेका। मान्छेभन्दा पनि रातो-कालो अक्षर कुँदिएको कागज टाढैबाट टल्किएपछि नजिकै गएर सोधेँ, 'के हो यो?'
'जनम पर्तिका।'
नेपाली कागज। बुट्टेदार कला। सफा अक्षर। तीन मिटरभन्दा लामो चिना (जन्म-कुण्डली) रहेछ।
चिना! त्यो पनि जिल्ला प्रशासन कार्यालयमा? ज्योतिष भन्ठाने कि क्या हो सिडिओलाई?
कुण्डली सबैलाई देखाउनु हुन्न भन्छन्! अफिसमा किन ल्याउनुभएको?
'नागरिकता बनाउन आयाको थियाँ। जनम मिति खुलेइन भन्यो। वडाले जनम खुल्न्या केही कागज बनाइ दिएन। खुबै खोज्या उमेर खुल्न्या नागरिकता भेटाँएन, चिना भेटाएँ। यसमै लेख्याको छ भन्छन्। देखाउन आयाको हुँ।'
नागरिकता प्रतिलिपि लिन आएका। पुरानो नागरिकताको प्रष्ट प्रमाण नभएका। कार्यालयबाट यसअघि प्राप्त चाहिने कागजातको सूचीबमोजिम नाम र पुरानो नागरिकता नम्बर त जग्गाधनी प्रमाण पूर्जामा भेटेछन्। जन्म मिति र जारी मिति रहेनछ। यता २०५८ सालअघि बनेको उनको नागरिकताको अभिलेख अछाम, मंगलसेन आक्रमण हुँदा नष्ट भएकाले कार्यालयसँग पनि थिएन।
उमेर खुल्ने प्रमाणको रूपमा चिना बोक्ने बा भन्दै थिए, 'जनम मिति यसमै लेख्याको छ। सात साल जन्म्याको हुँ।'
चिनामा २००७ साल चैत्रमासे रोज १२ वा यस्तै केही लेखिएको थियो। बाको निर्दोषपनले चकित तुल्यायो।
नागरिकता त नयाँ नै जारी गर्नुपर्छ। सनाखत गर्ने को छन् त साथमा?
'कान्छा बाज्याको नाति।'
आफ्नै दाजुभाइ, छोरा छैनन्?
'छोरो इन्डिया छ। उइको नागरिकता ल्यायाको छु। श्रीमती बितिसकी। उइको पनि नागरिकता छ। दाजुभाइ नाइँ।'
उनी नागरिक भएको लालपूर्जा, छोराको नागरिकताबाट खुलिसक्यो। पहिले नागरिकता लिएको प्रमाण पनि भेटिइसक्यो। कुरा रह्यो उमेरको। चिनालाई उमेरको कानुनी प्रमाण मानिने मैले पढे-सुनेको छैन। तर भाग्यमा विश्वास गर्ने नेपाली, बरू नागरिकतामा विश्वास नगर्ला, चिनामा गर्छ। त्यसैले अरू कागजमा तलमाथि गर्ला, चिना शतप्रतिशत ठीक बनाउँछ।
थप प्रमाण जुटाउन कष्ट दिनुभन्दा चिनाकै जन्म मिति कायम गरी नागरिकता बनाइदिने विश्वास दिलाएँ। चार घन्टा हिँडेर आएका उनको चिनासहितको फोटो खिच्न अनुमति मागेँ। खुसी भए। दंग पर्दै भुइँमै बसे। सिलाइ उध्रिएको कालो झोलामा हात छिराएर तीन दाना सुन्तला निकालेर 'खानुहोस्' भन्दै दिए।
किनेर ल्याएको होला, पछि घाम ताप्दै खानू, राख्नुस् भन्दा मानेनन्।
'घरबाटै ल्यायाको हुँ, अझै छन् झोलामा,' भन्दै उनले दिएको सुन्तला केवल सुन्तलाको दाना थिएन, आशीर्वादको बिउ थियो।
मतदाता सूचीमा उनको अभिलेख छ कि? दुई मिनेट पर्तिरको निर्वाचन कार्यालयमा हेर्न पठाएँ। नामावली रहेछ। चिनाको उमेरभन्दा दुई वर्ष कम, २००९ साल जन्म मिति प्रमाणित भएर आयो। तोकादेश गरेँ। नागरिकता बन्यो।
जाने बेला अघि सुन्तला दिने हात जोडेर भन्दै थिए, 'धेरै दुःख पायाको थियाँ जनम मितिले। आज कसै न कसैको मन पग्लिजाला भनिकन चिनै बोकेरै आयाको थियाँ। हजुरकै मन पग्लिग्यो। 'सिडिउ'लाई भेट्नै परेन।'
'टिगट पर्दैन आमा, यो सरकारी गाडी हो'
मंगलसैन मास्तिर ठूलासैन छ। ठूलासैन पर्तिर मध्यपहाडी लोकमार्गसँग छुट्टिएर अन्तै मोडिने एउटा सुनसान दोबाटो। बिहान ११ बजे दोबाटोको ढुंगामा बसेकी एकजना आमै। हामी सवार सरकारी गाडी रोक्न जुरुक्क उठेर हात दिइन्।
स्कारपियो गाडीमा पाँच जना। अगाडि जम्मै भरिएको, पछाडि मात्र खाली। कमलबजार कार्यक्रममा पुग्न हतारो। तै पनि रमेशले गाडी रोके।
आमै नजिकै आइन्। इशारा पाएपछि हवलदार साहेबले झरेर पछाडिको ढोका खोल्नै लाग्दा 'पछाडिका सिट बस्या बान्ता हुँदो। अगाडि बस्न्या हुँ म' भन्दै हक जमाइन्।
हवलदार साहेब पछाडि बसे, आमै हवलदार साहेबका ठाउँमा।
आमा कतासम्म जानुहुन्छ?
'कमलबजार जान्या हो क्या यो गाडी? उताइ जान्या हुँ।'
कमलबजार कहाँ जाने आमा?
'माइत।'
ए ! आज पुस १५। माइती भेटघाट गर्दै चाड मनाउने। हैन आमा? हाँसीखुसी सोधेको प्रश्नले लज्जित बनायो।
'भदा बितेको छ बाबु। भेटघाट गर्न जान्या हुँ। क्या त्यार मनाउनु!'
कति उमेरको भदा आमा?
'म जान्दैन, २०-२५ वर्षको हुँदो हो।'
कहाँ बिते?
'इन्डिया।'
कसरी?
'क्या पो बिरामी थियो?'
एकछिन के बोलौं, के बोलौं भयो।
(केहीबेरको सन्नाटापछि) आमाको नाम के नि?
'पार्वती खड्का।'
घर?
'जनाली बण्डाली।'
सन्तान कति छन्?
'छ छोरा, दुई छोरी हुन्। एक छोरा, एक छोरी त पाँच वर्षकै हुन्या बेला बितिगया। अब पाँच छोरा, एक छोरी छन्।'
के गर्छन् आमा? कहाँ छन्?
'अऽऽऽ तीन छोरा इन्डिया। एक छोरा, एक छोरी टिकापुर बस्ता। जेठो यतै छ। तर बाबु, मु भन्या अलग्गै बस्छु।'
अलग्गै किन?
'के गर्न्या, छोराबुहारीसँग कुरा मिल्दैन। आफैं पकाउँछु, आफैं खान्छु।'
श्रीमान?
'उनु बित्याको एघार वर्ष भइगया।'
ओहो ! तपाईंको उमेर कति भयो त?
'साठी पुग्न पाँच बाँकी।'
सिधै पचपन्न भन्न सक्थिन्। लाग्यो जिन्दगीको उल्टो 'काउन्ट डाउन' सुरू गरिसकिछन्। जीवन कष्टकर भएकाले हो सायद।
कमलबजार आइपुगेछ। माइती घरसम्म गाडी पुग्ने रहेनछ। नगरपालिका गेटैमा झरिन्।
धोतीको फेदमा डल्लो पारेको पैसाको गाँठो फुकाउँदै हवलदार साहेबलाई 'बाबु टिगट कति हो?' भनी सोध्दा मेरो मनमा गाँठो परेर आयो।
आमैलाई अगाडि आउन भनेँ। पछि सम्झिएँ मै पो झरेर जानुपर्ने।
नमस्कार गर्दै भनेँ, 'टिगट दिनु पर्दैन आमा। यो सरकारी गाडी हो। म जिल्लाको सिडिओ हुँ।'
उनलाई के थाहा गाडी पनि सरकारी र सार्वजनिक हुन्छ भन्ने। भाडा नतिरी गाडी चढेको पहिलो पटक हुनसक्छ। अनि के थाहा सिडिओ? म सिडिओ भन्ने व्यर्थै फूर्ति गरिरहेथेँ।
आमैले खोलिसकेको गाँठो फेरि कसिन् र मलाई मेरी आमाले जस्तै आशीर्वाद दिइन्- 'बाँचिरह्या बाबु।'
आमैलाई यात्रामा साथ दिनुबाहेक पुस १५ को शुभकामना पनि भन्न सकिनँ।
आमैका आँखा फेरि चिम्सा भए
नाम- मन्धरी। थर- भडारी।
वर्ष- सत्तरी। वर्ण- गहुँ गोरी।
उचाइ- चार फिट। हिँडाइ- पिट पिट।
सप्को- सलको। औंठी- पित्तलको।
दाँत- झरिसके। श्रीमान- मरिसके।
सन्तान- जन्मिएनन्। माइती- रहेनन्।
बनाउनुपर्ने- नागरिकता। धाउनुपर्ने- कता कता।
सहारा- छिमेकीको। भरोसा- सिडिओको।
अस्ति सिडिओ उनकै वडामा पुगेर छाउगोठमा बसेकी चार दिनकी सुत्केरीका परिवारलाई सम्झाइ-बुझाइ पहिलो पटक घरभित्र राख्दा गाउँमा 'सिडिउ'ले राम्रो गर्दा रहेछन् भन्ने चर्चा सुरू भएछ। उनका छिमेकीले सुनेपछि ती 'सिडिउ'ले नागरिकता बनाइदेलान् भन्ने लागेर कागजात बटुलेर आमैको नागरिकता बनाउन ल्याएछन्।
सेवाग्राहीको भिडमा निराश मुद्रामा थिइन्। कागजात के-के नपुग्दाको र सनाखत गर्ने तीन पुस्ताभित्रको कोही नहुँदाको निराशा रहेछ। नागरिकता बन्दैन कि भन्ने पिर रहेछ।
आमा।
'औ।'
घर कहाँ हो?
'किमतोला।'
उमेर कति भयो?
'राउँदैन (जान्दिनँ)। झिक्कै (धेरै) भइग्या।'
नागरिकता किन ढिलो? अहिलेसम्म किन बनाउनुभएन?
'उनुले (बितिसकेका श्रीमानतिर संकेत गर्दै) बनाइ दिएन। हेलाँ मान्यो।'
ए! अब बनाएर के गर्नुहुन्छ नागरिकताले?
'पैसा, भत्ता पाउँला।'
अनि पैसाले के गर्ने त?
'गुन्यूँ किनुँला। चोलो किनुँला। गुड किनुँला। लाउँला, खाउँला।'
सत्तरी वर्षीया आमैका रहरले ऊर्जा थप्यो। सोचेँ, तपाईंको गुन्यूचोलो किन्ने रहर पूरा हुने भयो।
सनाखत गर्ने मान्छे नभएको त हो। यत्तिको मान्छेलाई छिमेकीको सनाखतबाट नागरिकता दिए फरक पर्दैन। तोकादेश मात्र गरिनँ, सबभन्दा पहिले बनाइदिन भनेँ।
नागरिकता बन्यो। उनलाई नागरिकताको प्रमाणपत्र र कार्यालयतर्फबाट एक थान कम्मल दिँदै गर्दा आमैका खाली खुट्टामा नजर अडिए। कर्मचारीको तर्फबाट एक हजार पाँच सय रूपैयाँ दियौं। खुसीले उनका गाला तन्किएर आँखा चिम्सा भए।
अघि उनले सोचेजस्तै नागरिकता पाइएपछि पैसा पाइए। पैसा डल्लो पारेर खै कता राखिन्?
आमा जुत्ता किनेर लैजानू है।
'नाइँ,' मुन्टो हल्लाइन्।
किन नि?
'कहिल्यै लायाका नाइँ जुत्ता।'
म ट्वाँ परेँ।
छिमेकीले भने, 'अहिलेसम्म यिनले जुत्ता लगाएकी छैनन्। कसैले किनिदिएन। सबै हेला गर्थे। यति धेरै पैसा पनि सायद जीवनमा पहिलो पटक पाएकी हुन्। जुत्ता त लगाउन जान्दिनन् पनि होला सर।'
उसोभए जे मन लाग्छ किन्नुहोला है त।
'औ।'
नागरिकता पनि। कम्मल पनि। अलिकति पैसा पनि। जानेबेला आमैका आँखा फेरि चिम्सा भए।
(लेखक गोकर्णप्रसाद उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।)
(गोकर्णप्रसाद उपाध्यायका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)