काठमाडौं हरियो होस्, भरिलो बनोस्, यो कसले चाहँदैन होला?
सदियौंसम्म प्राकृतिक जलाधार र जल संशोधन/प्रशोधनका रूपमा उपत्यकाको नाभीमा रहेको विशाल सार्वजनिक वन समयक्रममा शासकहरूको शान प्रदर्शन गर्ने सीमा बनाउन थालियो र जनताको पहुँच विच्छेद गरी साँध लगाइयो।
नेवाः समुदायको तिनि ख्यः (तिं ख्यः), पुरानो नाम ‘तेन्दोख्यल’ बाट विकसित सार्वजनिक स्थान। सांस्कृतिक सम्पदा, समुदायको एउटा आस्था केन्द्र गुरुमापा (काल्पनिक लाखय्) को बासस्थान, देवाली पूजाको स्थल, मूर्त–अमूर्त संस्कृतिको केन्द्र।
अरूका लागि टुुँडिखेल। सेनाले आफ्नो मौजा ठान्छ, सरकारले वार्षिक कर्मकाण्ड गर्ने थलो। पहिले त्यस्तो थिएन, अब कहिल्यै त्यस्तो हुन दिनु हुँदैन।
रूखविरुवा हुर्काए नागरिकले सास फेर्न पाउनेछन्, सहरलाई पुग्ने आकाशेपानी जमिनमा सिञ्चन हुनेछ, सञ्चित हुनेछ, पुनर्भरण हुनेछ। सिंगो सहरको रसिलो शोभा बन्नेछ। यसले बन्दुकको राइँदाइँ होइन, हराभरा रनवन खोजेको छ।
लोकतन्त्र दिवस अवसरमा नागरिक आन्दोलन महानगर प्रमुखलाई अपिल गर्छ, तिनि ख्यःमा सेनाको घेराबारा हटाएर नागरिकले निस्फिक्री टहल्ने र सास फेर्ने हक सुनिश्चित गर्नुपर्छ। रानीपोखरीदेखि रंगशालासम्म, भृकुटीमण्डपदेखि माइतीघरसम्म पूरै तिनि ख्यः कायम गरिनुपर्छ। लोकतन्त्र बलियो बनाउन समुदायको सम्पदा समुदायकै जिम्मा फर्काउनुपर्छ।
खुला ठाउँ, चउर र वनबाटिका मौलाउन नसकेको सहरमा लोकतन्त्र फस्टाउन सक्दैन। जनसाधारणको सम्मान गर्न नसक्ने सहरले आमवृत्त बलियो बनाउँदैन। अभिव्यक्ति स्वतन्त्रताका लागि आमवृत्त जति महत्वपूर्ण हुन्छ, सहज पहुँच भएको खुला ठाउँ नगरबासीको समग्र विकासका लागि उति नै जरूरी छ।
स्वस्थ हावामा सास फेर्नु, अन्तरसंवाद चलाउनु, सार्वजनिक क्रियाकलाप गर्नु, चाडबाड मनाउनु, खेलकुद गर्नु, कलाकारिता प्रदर्शन गर्नु, राजनीतिक अन्तर्क्रिया गर्नु, विपदमा भेला हुनु, आमसभा र भेला गर्नु सर्वसाधारणका अधिकार हुन्। संविधानप्रदत्त अधिकार।
सामुदायिक सम्पदा नष्ट गर्ने, खुला ठाउँलाई शासकीय र व्यापारिक लेनदेनको माध्यम बनाउने व्यक्ति/शक्तिलाई लोकतन्त्रमा कुनै स्थान हुनुहुँदैन।
जनप्रतिनिधिले यो आधारभूत सत्य भुल्ने होइन, यसलाई साकार गर्न सक्नुपर्छ। नगरलाई स्वस्थ, सुन्दर र गुणस्तरीय जीवन अनुकूल राख्ने कबोलसहित काम गर्न सक्नुपर्छ। ठूला पक्की भवन, कालोपत्रे सडकका जालो, व्यापारिक अड्डा र कंक्रिटका स्मारकले नगर समृद्ध बन्ने होइन। नगरबासीको जीवन्त उपस्थिति, समानता र सह–अस्तित्वमा आधारित सामुदायिक अन्तर्क्रिया, सांस्कृतिक रौनक, सम्पदा संवर्द्धन र सबैको सहज पहुँच भएका खुला ठाउँ, वनबाटिकाले मात्र नगर सुन्दर बनाउँछ।
प्रकृति र सम्पदा/संस्कृतिले यतिविघ्न साथ दिँदा समेत काठमाडौंलाई जीवन्त लोकतान्त्रिक सहरमा दरिन नदिनु जनप्रतिनिधिको कर्तव्यबाट पन्छिनु हो। संसारको प्रदूषितमध्ये एक नगर, आमनागरिकको सम्रग विकासका लागि अपरिहार्य खुला ठाउँ नभएको फोहोर र अस्वस्थ सहरको महानगर प्रमुख हुनु गर्व होइन, हीनताको विषय हो।
तसर्थ, काठमाडौंलाई सभ्य र स्वस्थ लोकतान्त्रिक सहरको पहिचान निम्ति तिनि ख्यःसहित सार्वजनिक सम्पत्ति, सम्पदा, सभ्यताको सुरक्षा गर्नुहोस्, नागरिक हक, सक्रियता र सकारात्मकता रक्षा गर्नुहोस्।
आज वैशाख ११ गते, दोस्रो जनआन्दोलन सफल भएको दिन। लोकतन्त्र पुनर्बहाली भएको सुखद् क्षण। दोस्रो जनआन्दोलनले नागरिक सर्वोच्चतालाई नयाँ उचाइ दिएको थियो। संघर्षशील जनताले लोकतान्त्रिक आकांक्षाको जगमा स्वतन्त्र, समता र न्यायमूलक समाजको आकांक्षा राखेका थिए। त्यसका लागि लोकतान्त्रिक राज्यको अपेक्षा गरेका थिए।
नागरिक आन्दोलन आह्वान गर्छ, हजारौंको बलिदानीबाट हासिल लोकतन्त्रको सम्मानमा लोकको बृहत् स्वार्थ निम्ति काठमाडौं महानगरपालिकाले तिनि ख्यःमा समुदाय र नागरिकको अधिकार स्थापित गर्न तत्काल अग्रसरता लेओस्, सांकेतिक रूपमै किन नहोस्!
र, लोकतन्त्रमा कम्तीमा पनि सार्वजनिक स्थलमाथि नागरिक स्वामित्व स्थापित हुन सम्भव छ भन्ने यथार्थ प्रदर्शित गरोस्।
संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय सरकारले पनि मनन् गरून्, धेरै खुला ठाउँमा समुदाय र नागरिकको स्वामित्व स्थापित गर्नु छ। उनीहरूले आत्मसात् गर्नुपर्ने छ– सामुदायिक स्रोतलाई आफ्नो बपौतीजस्तै व्यवहार गर्ने अधिकार कसैसँग छैन। राज्य र बजारबाट यस्तो भोगचलन बेरोकतोक हुनु अर्को विभेद–चक्र हो र त्यो अन्ततः हाम्रो लोकतन्त्रप्रति अनास्था हो, समुदाय र नागरिकका अधिकारप्रति बेवास्ता हो।
लोकतन्त्र दिवसको अवसरमा नागरिक आन्दोलन समग्र नागरिकगणमा समेत अपिल गर्छ, खुला स्थानमा नागरिक पहुँच कायम गर्न, नागरिक आत्मसम्मान र स्वामित्व रक्षा गर्न, आउनोस् हामी नागरिक आवाज बुलन्द गरौं।
लोकतन्त्र बलियो बनाउन लोक चेतना र लोक जागरणलाई सशक्त बनाऔं।
(काठमाडाैं महानगरपालिकाका प्रमुखलाई बृहत् नागरिक आन्दोलनले पठाएकाे अपिल पत्र)