काठमाडौं महानगरपालिकाबाट प्रत्येक दिन करिब १,०२० मेट्रिक टन फोहोरमैला निस्किन्छ। योमध्ये ५६% फोहोरमैला प्राङ्गारिक रहने र कम्पोस्ट मल बनाउनका लागि स्रोतमै सजिलै छुट्याउन सकिने भएता पनि, यीमध्ये अधिकांश ल्याण्डफिल साइटमा, खुला स्थानमा फालिन्छन् वा घरधुरी स्तरमै जलाइन्छन्।
घरधुरी स्तरमै जलाइने फोहोरमैला वायु प्रदूषणको प्रमुख कारकमध्ये एक हो। काठमाडौं उपत्यकाको वायु प्रदूषणको १९% भन्दा बढी प्रदूषक फोहोरमैलालाई खुला रूपमा जलाउनाले उत्सर्जन हुन्छ।
कोभिड-१९ महामारीपूर्व पनि फोहारमैलाको व्यवस्थापन तथा यससँग सम्बन्धित वायु प्रदूषणको बारेमा विश्वले ठूलो चुनौतीको सामना गर्दै आइरहेको थियो। यो महामारीले यी दुवै चुनौतीहरूलाई झनै विकराल बनाइदिएको छ।
व्यापक मात्रामा प्रयोग हुने व्यक्तिगत सुरक्षा उपकरण (पिपिई), एकपटक प्रयोग गरेपछि फालिने मास्क र पञ्जाहरू घरेलु तथा औद्योगिक फोहोरमैलासँगै फ्यालिँदै आइएको छ।
विश्व स्वास्थ्य संगठनअनुसार, पिपिई तथा कोभिड-१९ बाट संक्रमित फोहोरको अनुपयुक्त व्यवस्थापनले भाइरसको फैलावटको जोखिमलाई उल्लेखनीय मात्रामा बढाउन सक्छ (२०२०)। संक्रमित फोहोरलाई यदि प्रष्ट रूपमा देखिने गरी चिन्ह नलगाइएमा वा विसर्जन नगरिएमा, यसले फोहोरमैला संकलकहरूलाई उच्च जोखिमतर्फ धकेल्छ।
तसर्थ, फोहोरमैला संकलक तथा सफाइकर्मीहरू भाइरसबाट संक्रमित हुने तथा उनीहरूले यसलाई थप फैलाउन सक्ने सम्भावना उच्च हुन्छ।
पालिका तहमा कार्यरत ठोस फोहोरमैला संकलकको सुरक्षा
महामारीको दौरान फोहोरमैला संकलकहरूले अत्यावश्यक सेवा प्रदान गर्नका लागि अनवरत काम गरिरहेका छन्। स्वास्थ्यकर्मीहरूको निष्ठा र त्यागलाई विश्वभरि र नेपालमा पनि प्रशंसा गरिएको अवस्थामा, सफाइकर्मी तथा उनीहरूको निकायको सेवालाई पनि पोहोरको लकडाउनभरि नजरअन्दाज गरियो।
महामारीको दौरान फोहोरमैलाको व्यवस्थापनको सघन बुझाइका लागि, हामीले फोहोरमैला संकलक, प्रशोधक तथा व्यक्तिगत, संस्थागत तथा सरकारको तहमा हुने व्यवस्थापनमा सहभागी महिला तथा पुरुषहरूसँग केही अनौपचारिक अन्तर्वार्ता लिएका थियौँ।
नगरपालिकाले आफ्ना सफाइकर्मीहरूलाई पिपिई लगाउन सुझाव दिएको थियो। काठमाडौं वडा नम्बर १ की कुचीकार मइछोरी भाइरसको संक्रमण हुने होकि भनेर सधैँ चिन्तित छिन्। काममा जाँदा उनको समुदायका मानिसहरूले उनलाई शंकाको नजरले हेर्दा उनलाई पीडा हुने गरेको बताउछिन्।
उनी अहिले सखारै कोही पनि नहुने समयमा कुची चलाउँछिन्। हात मुख जोर्नको संघर्षमा र आफ्ना श्रीमानबाट कुनै आर्थिक सहयोग नपाउँदा, उनले आफ्नो लागि पिपिई किन्न सकेकी छैनन्।
महामारीको दौरान फोहोरमैलाको व्यवस्थापनमा सफाइकर्मीहरूले सामना गर्ने उच्च जोखिमबीच उनीहरूको निष्ठाको सरकारी तथा सार्वजनिक प्रशंसा हुनसकेमा आफ्नो कामलाई निरन्तरता दिन उनीहरुलाई हौसला मिल्नेछ। तर योभन्दा पनि महत्वपूर्ण, उनीहरूलाई पर्याप्त मात्रामा सुरक्षात्मक उपकरणहरू उपलब्ध गराइनु पर्दछ।
यसले हाम्रो सामु अझै ठूलो प्रश्न खडा गर्छ- नेपालको विद्यमान फोहारमैला व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी र सबैका लागि अझ सुरक्षित कसरी बनाउन सकिन्छ?
फोहोरमैलाको विसर्जन
फोहोरमैलाको व्यवस्थापन स्वास्थ्यको प्रतिफलका जरुरी रहेको छ र महामारीको प्रतिकार्यको एक अभिन्न अंगको रूपमा फोहोरमैला व्यवस्थापनमा केन्द्रित हुनु महत्वपूर्ण हुन्छ।
ब्लु वेस्ट टु भ्यालुका प्रमुख कार्यकारी अधिकृत तथा ठोस फोहोरमैला व्यवस्थापन संघका प्राविधिक सल्लाहकार नवीन विकास महर्जनले महामारीको सुरुआती चरणमा नै अन्य मुलुकहरूको जस्तो विकेन्द्रीकृत तथा घुम्ती फोहोर प्रशोधान केन्द्र स्थापना गर्न पहल गरेका थिए। तर उनको प्रयासलाई सरकारी निकायहरूले लागू गरेनन्।
सम्भावित संक्रमित फोहोरको सुरक्षित व्यवस्थापनको बारेमा जनचेतनाको कमी रहेको अवस्थामा, सुरक्षित विसर्जनको बारेमा सर्वसाधारण जनता तथा फोहोरमैलाको सुरक्षित व्यवस्थापनको विषयमा सफाइकर्मीहरूलाई शिक्षित बनाउनु पर्ने आवश्यकता रहेको छ।
फोहोर कहाँ ल्याउने, के गर्ने र त्यसको प्रशोधन, निर्मलीकरण तथा विसर्जन कसरी गर्ने भन्ने विषयमा पूर्ण जानकारीसहित अभिलेख राख्दै फोहोर विसर्जनको नक्सांकन गर्नु महत्वपूर्ण हुन्छ। संक्रमित फोहोरहरूको स्थलगत निर्मलीकरणसम्बन्धी विश्व स्वास्थ्य संगठनको मार्गदर्शनको अनुसरण गरिनुपर्छ, र फोहोर संकलकहरूलाई पिपिई उपलब्ध गराइनु पर्छ।
ठोस फोहोरमैला व्यवस्थापन विज्ञ, ढुण्डीराज पाठक सहभागितामूलक तरिकाले फोहोरमैलाको संकलनको योजना तथा कार्यान्वयनमा जोड दिन्छन्। घरेलु तथा संस्थागत रूपमा खरिद हुने सामानहरू नेपालभरिका पालिकाहरूमा फोहोरमैला व्यवस्थापनमा व्यवस्थित परिवर्तन ल्याउनका लागि महत्वपूर्ण रहेका छन्।
फोहोरमैला व्यवस्थापनको प्रक्रियालाई उपयुक्त ढंगबाट योजना गर्नका लागि तथ्यांकको पनि उत्तिकै आवश्यकता रहेको छ। पालिका तहको प्रभावकारी फोहोरमैला व्यवस्थापन, सरकारले सबै पालिकाहरूमा फोहोरमैला व्यवस्थापन योजना अनिवार्य बनाएमा मात्रै हासिल गर्न सक्ने देखिन्छ।
त्यसैगरी, फोहोरमैला व्यवस्थापनका लागि पालिकाहरूले बजेट विनियोजन गर्ने मात्रै नभएर अनुगमन संयन्त्रहरू लागू गर्ने र फोहोरमैला व्यवस्थापनमा सरोकार राख्ने निजी क्षेत्रसँगको साझेदारीलाई पनि हेर्नु पर्छ। यसले उपयुक्त फोहोरमैला व्यवस्थापन प्रणालीको स्थापना तथा प्रभावकारी कार्यान्वयन गर्नका लागि समन्वयात्मक दूरदृष्टि उपलब्ध गराउँछ।
यद्यपि, योजनाहरू आफैँमा पर्याप्त भने हुन्नन्। कार्यान्वयनको व्यावहारिक पद्धति, क्रियाकलापको समयतालिका तथा समयसीमा, र सम्बन्धित निकायहरूको आधिकारिक मूल्यांकनमार्फत पुरस्कार तथा दण्ड प्रणालीले योजनाहरूको कार्यान्वयनलाई सहज बनाउन सहयोग गर्छ।
यो कार्यका लागि वातावरणको संरक्षण तथा व्यवस्थापनका लागि विनियोजन गरिएको सरकारी कोषहरूको पनि प्रयोग गर्न सकिन्छ। केही पालिकाहरूले प्रभावकारी फोहोरमैला व्यवस्थापन प्रणालीको महत्वलाई स्पष्ट रूपमा बोध गरेको अवस्थामा, पालिका तथा सार्वजनिक निजी साझेदारीमार्फत स्थानीय तहमा प्रभावकारी फोहोरमैला व्यवस्थापनलाई सहयोग गर्न स्थानीय निकाय तथा नीतिगत तहमा अझै धेरै कामहरू गरिनुपर्छ।
फोहोर जलाउने प्रवृत्ति तथा सफाइकर्मी
यदि उपयुक्त रूपमा कार्यान्वयन गरिएन भने, स्रोतमा छुट्याइने फोहोर र फोहोरमैला व्यवस्थापनको नकारात्मक प्रभाव पर्न सक्छ, वातावरणमा मात्रै नभएर सफाइकर्मीहरूको जीविकोपार्जनमा पनि।
पोहोरको लकडाउनका सुरुआती दिनहरूमा, नियमित रूपमा फोहोरमैलाको संकलन हुँदैन भन्ने अनुमान धेरैले लगाए। केहीले आफूले उत्पादन गरेको फोहोरलाई कम्पोष्ट मल बनाएर व्यस्थापन गरे भने अन्य केहीले आफूले उत्पादन गरेको फोहोर जलाए।
फोहोरको पुनःचक्रण उद्यमी रामहिरा पाठक भन्छन्, 'फोहोरमैला जलाइएका कारण प्रारम्भिक चरणमा फोहोरमैला संकलनमा कमी आएको थियो।' उक्त प्रारम्भिक चरणमा, संकलन गरिनुपर्ने फोहोरको मात्रामा कमीका साथै कोरोना भाइरसको संक्रमण हुन सक्ने डरका कारण उनका धेरै कर्मचारीहरू काममा आएनन्।
दुष्चक्र जस्तो देखिने यस्तो प्रकृयामा, फोहोरमैला संकलन गर्ने कर्मचारीको अभावले गर्दा झनै धेरै मात्रामा फोहोरमैला जलाइयो र संकलन गरिने फोहोरमैलाको परिमाण घट्यो। समयसँगै, फोहोरको पुनःचक्रणका धेरै व्यवयासीहरूले आफ्ना कर्मचारीलाई बिदा दिन बाध्य भए।
घरधुरी तहको फोहोरमैला व्यवस्थापनका अभ्यासको परिवर्तन
फोहोरमैला छुट्याउने काम घरधुरी तहबाटै सुरू गरिनुपर्छ। नेपालमा घरधुरीबाट निस्किने फोहोरको ६०-७०% फोहोरहरू प्रांगारिक हुन्छन्। यदि उपयुक्त तरिकाले व्यवस्थापन गरिएमा, यसले घरधुरी तहमा प्रतिफल ल्याउन सक्छ, पालिकाका कर्मचारीमा रहेको कार्यबोझ तथा जोखिम कम गर्न सक्छ, र ल्याण्डफिल साइटको आयु पनि बढाउन सक्छ।
पोहोर लकडाउनको दौरान व्यावसायिक गतिविधिहरू सीमित भएका थिए तर पनि मानिसहरूले घरमा धेरै समय बिताउँदा र फलस्वरूप पकाउने र सफाइ गर्ने गतिविधिका कारण कुहिने फोहोरमैलाको परिमाणमा वृद्धि भएको थियो।
यसले मानिसहरूलाई कम्पोष्ट मल बनाउने र कौसी खेती गर्न प्रोत्साहन गरेको थियो। महामारीसम्बद्ध पोहोर लकडाउनले घरधुरी तहको फोहोरमैला व्यवस्थापनलाई विस्तारै परिवर्तन गर्दै लगेको प्रतीत हुन्छ।
काठमाडौं महानगरपालिकाकी एक स्थानीय कमला श्रेष्ठले घरमा बिताउने धेरै समय हुँदा पहिलो पटक कम्पोष्ट मल बनाएको र कौसी खेती गरेको हामीलाई बताइन्। एक तरिकाले हेर्दा, महामारीले स्रोतमा फोहोरमैला छु्ट्याउने र कुहिने फोहोरलाई स्रोतमा नै व्यवस्थापन गर्ने लामो समयदेखि सम्बोधन हुन नसकेको सवाललाई सम्बोधन गर्ने अवसर सर्वसाधारणलाई उपलब्ध गरायो।
फोहोरमैला व्यवस्थापनको लागि सहयोगी वातावरण तथा संस्थागत अभ्यास
सबै सरोकारवालाको सुरक्षा सुनिश्चित गर्नका लागि कोभिड-१९ महामारी नेपालको फोहोरमैला व्यवस्थापन क्षेत्रलाई घरधुरी तहबाट रूपान्तरण गर्ने अवसर हुनसक्छ।
महामारीपश्चातको तत्कालीन प्रतिकार्यबाट सुरु गरी नेपालमा अझ सुधारिएको फोहोरमैला व्यवस्थापन र अझ सफा हावासम्म डोहोर्याउनका लागि।
महामारीले सफा हावाको फाइदा तथा सरसफाइको आवश्यकताका बारेमा जनचेतनालाई बढाएको छ। यसले कुहिने र नकुहिने फोहोर, उपयुक्त संकलन तथा विसर्जन लागू गर्ने सरकारद्वारा नेतृत्व गरिएको अभियानको ग्रहणमा सुधार ल्याउन सक्छ।
फोहोरमैलाको उपयुक्त व्यवस्थापनलाई प्रोत्साहन गर्ने केन्द्रित पहलकदमीले मानव र पशुको स्वास्थ्य तथा समग्रमा वातावरणको सुरक्षा गर्नका लागि फोहोर जलाउने अभ्यासलाई निरुत्साहन गर्नेसहित घरधुरी तथा संस्थागत तहमा फोहोरमैला व्यवस्थापनसम्बन्धी व्यवहारालई परिवर्तन गर्न सहयोग गर्नसक्छ।
ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ ठोस फोहोर, फोहोर पानी तथा मानव मलमूत्रजन्य फोहोर समेट्ने गरी समग्र सहरी फोहोरमैला व्यवस्थापनमा जोड दिन्छन्।
उनले प्रभावकारी फोहोरमैला व्यवस्थापनको पाँचवटा पक्षलाई प्रकाश पारेका छन्ः अनावश्यक फोहोर उत्पादन नगर्ने, फोहोरको उत्पादन कम गरेर फोहोर कम गर्ने, परम्परागत रूपमा फोहोरको रूपमा हेरिने वस्तुहरूलाई पुनःप्रयोग तथा अर्को प्रयोजनका लागि प्रयोग गर्ने, प्रशोधनमार्फत फोहोरको पुनःचक्रण गर्ने र अन्तिम विसर्जनपूर्व प्रशोधनमार्फत ऊर्जा निकालेर पुनर्लाभ लिने।
घरधुरी तथा संस्थागत तहको स्रोतदेखि नै यी पाँचवटा पक्षमा केन्द्रित भएर, फोहोरलाई प्रभावकारी र समग्र रूपमा बहुलाभका लागि व्यवस्थापन गर्न सकिन्छ। यी पाँचवटा पक्षको प्रयोग गरेर फोहोरलाई रूपान्तरण गर्ने गरी नवीनतम् समाधानका उपायहरू विकास गर्नका लागि हरित उद्यमहरूलाई प्रोत्साहन गरिएको छ।
यसले ठोस फोहोरमैला व्यवस्थापन तथा बढ्दो वायु प्रदूषणका सवाललाई सम्बोधन गर्नेछ। पालिकाहरूसँग यस्ता गतिविधिहरूको सुरुआत गर्नका लागि बजेट उपलब्ध हुनसक्छ, तर उनीहरूलाई फोहोरमैलाको प्रभावकारी व्यवस्थापनका अभ्यासहरू बुझ्न तथा अघि बढाउनका लागि सहयोगको आवश्यकता पर्दछ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को वायु प्रदूषण समाधान कार्यक्रमले महालक्ष्मी नगरपालिकाको शून्य फोहोरको अभियानमा साझेदारीको हात अघि बढाएको छ।
यसमा क्षमता अभिवृद्धि, क्षेत्रमा भएका फोहोरमैला व्यवस्थापनसम्बन्धी सफलतम् रणनीतिसँग अभियानलाई जोड्ने कार्य, फोहोरमा आधारित व्यापारिक अवसरहरूको खोजी, तथा फोहोर जलाउने कार्यलाई न्यूनीकरण गर्न जनचेतना वृद्धि गर्ने कार्यक्रमहरू पर्दछन्।
(लेखक श्रेष्ठ ग्रामीण उद्यम तथा मूल्य श्रृंखला विज्ञ र शर्मा ज्ञान व्यवस्थापन तथा सञ्चार अधिकृत हुन्।)