आमा सधैँ भन्थिन्, ‘आमा बनेपछि थाहा पाउलिस्, आमा हुन कति गाह्रो छ।’
पक्कै पनि थाहा पाउनु पर्ने कुरा जीवनमा धेरै छन्, अझ आमाले भनेझैं आमा भएर भोग्नु पर्ने कुरा त कति छन् कति छन्। आमाको मुख हेर्ने यो महिना मेरी आमाका मुजा पर्दै गएका गाला र बढ्दै गरेको मेरो छोरोलाई एकसाथ हेर्दा अहिले मलाई लाग्छ, ‘आमा हुनु पक्कै सजिलो रहेनछ।’
यसका कारणहरू छन्। पितृसत्ताले आमालाई आधा आकाश भन्यो। तर यस्तो आकाश जहाँ सधैं धुम्म बादलमात्रै लागिरह्यो। राजनीतिक र शैक्षिक रूपमा सचेत मेरो परिवारमा आमाले भोगेका मसिनामसिना कुरा सम्झेर अहिले म भन्न सक्छु, ‘आमा हुनु भनेको हरेक पलमा अनेक सम्झौता गरेर बाँच्नु हो।’
आमा बनेको पाँच वर्षमा अहिले म ठान्छु हरेक आमाहरू पीडा र त्यागका कथा हुन्। छोराछोरी जन्माउने कुरा नितान्त वैयक्तिक निर्णय हुन्। तर के हरेक आमाले यो वैयक्तिक निर्णयको उपयोग गर्न पाएका छन्? पक्कै छैनन्। यद्यपी सन्तान हुर्काउने क्रममा भोगिने ‘दु:ख’ (कति अर्थमा सुख पनि) लाई हाम्रो समाजमा त्यति स्वभाविक मानिंदैन। त्यही भएर हाम्रा आमाहरू सहजै पीडा सहिदिन्छन्। सामाजले लादेको ‘आमाले त सहनु पर्छ’ भन्ने भार बोक्नुमा उनीहरू गर्व गर्छन्। भनिन्छ, पीडामात्रै व्यक्त गरिरहनेहरू आमा हुँदैनन्।
एउटी आमाको दैनिकी फुक्काफाल महिलाको जस्तो हुँदैन। हिजो आमा नबन्दा जस्तो थियो आज मेरो दैनिकी त्यस्तो छैन। म मेरो हैन, छोराको दैनिकीअनुसार चलेको छु। छोरो कतिखेर उठ्छ, उसको दैनिक आवश्यकता के हो ? मेरो प्राथमिकतामा त्यही हो।
उसले के खान खोज्छ म त्यही बनाउँछु, खुवाउँछु र म पनि त्यही खान्छु। उसको निद्राअनुसार मेरो सुत्ने बन्दोबस्त मिलाउँछु। सकेसम्म ऊ सुतेको बेला आफ्नो दैनिक कामको मेलोमेसो मिलाउँछु। कहिलकाहीँ अस्वस्थ भैदियो भने एक धारमा चलिरहेको नियमितता एकाएक खलबलिन्छ। काम छुट्छ, काम खप्टिन्छ र कहिलेकाहीँ त काम नै पूरा गर्न नसक्ने दिन पनि आउँछ। जीवनमा अगाडि देखिने अवसरका अनेक बाटामा हिँड्ने कि नहिँड्ने म छोरोलाई हेरेर तय गर्छु। कहिलेकाहिँ त पेशागत उन्नति गर्न नसकेको अनुभूत पनि हुन्छ। यतिखेर फेरि म मेरी आमा सम्झिन्छु, ‘म एउटा छोरो हुर्काउँदै गर्दा यस्तो अवस्थामा छु, मेरी आमाले चार-चार सन्तान हुर्काएर पारिवारिक, सामाजिक, आफ्नो पेशागत जीवन कसरी अगाडि बढाएर अहिलेको उचाइमा पुगिन् होला?’
कहिलेकाहीँ मेरो कुन्ठाग्रस्त मनमा यस्तो प्रश्न पनि आउँछ, ‘आमाबुवाले हामी सन्तानका लागि आफूलाई बिर्सेर गरेको त्यो त्याग आज मैले पूरा गरेको छु?’ त्यही भएर त बेलाबेला आमाले भेनको सम्झिन्छु, ‘आमा भएपछि थाहा पाउलिस्।’ सायद मैले थाहा पाउन त अझ धेरै बाँकी छ।
गोरखाको गाउँमा जन्मे-हुर्केकी मेरी आमाले नौ-दस वर्षको उमेरमा सावाँ अक्षर चिनिन्। बीस वर्षमा स्कुल सकिन्। गाउँका धेरै छोरीले नपाएको सुविधा थियो त्यो। धेरैले नटेकेको चुचुरो थियो।
त्यतिबेला छोरीले पनि पढ्नु पर्छ भन्ने चेतना यति साह्रो विकास भइसकेको थिएन। शिक्षाको अधिकार छोराको मात्रै ठानिन्थ्यो। मिसन स्कुल गोरखामा खुल्नु र मेरी हजुरआमाले छोरीलाई पढाउने ढिपी गर्नु आमाका लागि शिक्षा आर्जनको अवसर बन्यो। बिहेपछि छोराछोरी हुर्काउँदै उच्च शिक्षाको अध्ययनलाई नियमित गर्नु आमाका लागि असम्भव भयो। पढाइ छुट्दै, त्यसलाई फेरि जोड्दै उनले उच्च शिक्षा सकिन्।
बिहेपछि आमा तनहुँमा शिक्षिका थिइन्। पढाइ त बिचबिचमा छुटिरहेकै थियो। म जन्मेपछि आलो सुत्केरी बेलामै उनले बल्ल प्राइभेट परीक्षा दिएर स्नातक सकिन्। बीस महिनाकी छोरी र पेटमा हुर्कँदै गरेको बच्चा बोकेर अध्ययन, अध्यापन कसरी सम्भव भयो होला? शिक्षक हुँदा दैनिक पाठयोजना बनाउनु, दिनको पाँच-सात वटा कक्षा लिनु, परीक्षा लिनु, परीक्षण गर्नु जागिरको नियमित पाटो थियो। त्यसबाहेक बिहान चार बजे उठेर घाँसदाउरा, खेतीपाती र घरको दैनिक काम आफैंले भ्याउनु पर्ने अवस्था। बच्चा जन्माउँदै हुर्काउँदै आमाको डेढ दशक बित्यो।
बिस्तारै छोराछोरी बढे। गाउँबाट शहर पस्ने लहर बढ्यो। छोराछोरीको शिक्षादीक्षाकै लागि आमा पनि काठमाडौं आइन्। यसो गर्दा चार वर्षपछि पेन्सन आउनै लागेको आमाको शिक्षक जागिर छुट्यो। आमाको आफ्नो आम्दानी शून्यमा झर्यो। छोराछोरी पढाउन काठमाडौं आएकी मेरी आमा आफू पनि पढ्न थालिन्। तर उनका लागि त्यो सजिलो काम थिएन। सबै छोराछोरीलाई खुवाइपियाइ स्कुल पठाएर आफू दुई-दुईवटा बस फेर्दै क्याम्पस जानु आमाको दैनिकी थियो। मलाई थाहा छैन मनमा छोराछोरी भोकतीर्खा र चासो राखेर आमाले कक्षामा कसरी ध्यान दिइन्। हाम्रो पढाइ नभएका दिन आमाले कक्षा लिन पाइनन्। छोराछोरीकै लागि उनले कति कक्षा छाडिन् त्यसको कुनै लेखा रहेन। कक्षा लिन पाएकै दिन पनि घरमा दोहर्याएर पुस्तक हेर्ने फुर्सद उनलाई भएन। यसरी दोस्रो श्रेणीमा आमाको स्नातकोत्तर सकियो। स्नातकोत्तर सकेको खुसीभन्दा पनि दुई नम्बर नपुगेर प्रथम श्रेणी हुन नपाएको थकथकी आमालाई अहिलेसम्म छ। त्यसपछि पनि उनले पढाइ छोडिनन्। भारतको जेएनयुबाट विद्यावारिधी सकिन्। कम्प्युटर सिकिन् र अरू प्राविधिक ज्ञान पनि। यी ज्ञान सिक्दाका आमाका साथीहरू हामीभन्दा कान्छाकान्छी छन्।
घर, परिवार, समाज र छोराछोरीको सबै दायित्व थाप्लामा बोकेर पनि आमाले विश्वविद्यालयको जागिरबाट अवकाश जीवन बिताइरहेकी छन्। र पनि उनलाई फुर्सद छैन। लेखपढ, साहित्य, सामाजिक क्रियाकलापमा सहभागिता, राजनीतिमा चासो आमा अहिले पनि बेफुर्सदी छिन्। तर मलाई एउटा छोरो हुर्काउँदैमा जीवनको लय मेरो गतिमा कसरी चल्छ होला भन्ने लाग्दैछ।
हामी आमाको संघर्षको प्रशंसा गर्छौं। तर आमा भन्छिन्, मेरी आमाले गरेको दु:खको अघि मैले के गरें र?
म हजुरआमासित डराउँथें र कहिल्यै नजिक हुन सकिनँ। आमाले पछिल्लो २ वर्षमा सुनाएका हजुरआमाका कथाले म अनुमान गर्न सक्छु, त्यो समयको सामाजिक संरचना र परिवेशमा मेरी हजुरआमाले के-केमात्रै भोगिनन् होला? सम्वत् १९८३ सालमा गोरखा हर्मीमा जन्मिएकी हजुरआमा विद्या देवीको विवाह लिगलिग बोहोरा गाउँका देवकोटासँग नौ वर्षको उमेरमा भएको थियो जबकी त्यतिबेला हजुरबाको उमेर ३० वर्षको थियो। उमेर छिप्पेका पतिको हिंसा सहँदै हजुरआमा चार सन्तान भएपछि विधवा हुनुभयो।
आफ्नी आमाको संस्मरणात्मक पुस्तक ‘विद्या पुकार’मा मेरी आमा प्रभा कैनीले लेखेकी छिन्, ‘मेरी आमाले जे-जे गर्नुभयो त्यो सहज र अनुकूल अवस्थाको परिणाम होइन। प्रतिकुलतासँग जुध्दै र संघर्ष गर्दै अघि बढेअनुसार हात लागेको उपलब्धिमात्र हो। आज धेरै महिलाहरू आफू महिला भएर जन्मेकोमा हिनता बोध गर्छन्, पढ्न नपाएकाले आफूले केही गर्न नसकेको बताउँछन्। कोही आफू चाँडै विधवा भएका कारण केही गर्न नसकेको बिलौना गर्छन्। त्यसैगरी असमयमा नै विवाह भएका कारण आफ्नो उन्नति रोकिएको कुरा अघि सार्छन्। अझ कोही-कोही धेरै छोराछोरी भएका कारण आफ्नो वैयक्तिक प्रगतिमा बाधा पुगेको कुरा बढाइचढाइ सुनाउँछन्, अनि कोही विपन्नताको कुरा पनि अघि सार्छन्। यी अनेकमध्ये एकमात्र कारण देखाएर चुप लागेर बस्ने महिला मैले प्रशस्त देखेको छु। मेरी आमाको हकमा यी सबै व्यवधान थिए।’ यी सारा व्यवधानका बाबजुद मेरी हजुरआमा पञ्चायतकालमा सहायक मन्त्रीसम्म बन्नु सानो उपलब्धि थिएन।
मेरी आमा र हजुरआमाका संघर्ष उस्तै थिए, बालखैमा बिहे। उमेर नपुग्दै लालाबाला। आफ्नो इच्छाभन्दा पनि छोराछोरीको इच्छामा जीवन यात्रा। यो मेरी आमा र हजुरआमाकोमात्रै कथा होइन, शैली अलि फरक होला हरेक आमाहरूको अवस्था अहिले पनि उही छ।
बाउहरूले यस्तो संघर्ष गुर्न पर्दैन। ठालु समाजले ठान्छ, सन्तानको जिम्मा ‘आमा’को हो। त्यसैले संसारमा आमाका संघर्ष अनन्त छन्। र त सन्तानका लागि तिनले जीवनका हरेक सेकेन्ड संघर्षमा बिताउनु पर्छ। आमाहरू सन्तान हुर्काउन पाउँदा खुसी नै हुन्छन्। आफ्ना सपनाभन्दा उनीहरूले सन्तानका लागि देखेको सपना विशाल बन्छन्। त्यसैले सन्तान हुर्काउन गरेको संघर्षमा आमालाई कुनै दु:खमनाउ छैन, हुँदैन। हाम्रो संरचनाले आमालाई जसरी ‘बालबच्चा स्याहार्ने’ जिम्मेवारीमा खुम्च्याएको छ त्योचाहिँ उनीहरूमाथि लादिएको सामाजिक विभेद हो।
मेरी आमा र हजुरआमाले गरेका संघर्ष र प्रगतिका अगाडि म आफूलाई असफल र बहाना खोजिरहेझैं महशुस गर्छु। त्यसैले अहिले म सम्झिन्छु, मेरी आमाले किन मलाई भन्थिन्, ‘आमा बनेपछि थाहा पाउलिस्, आमा हुन कति गाह्रो छ।'