एकैछिनअघि ब्रेकफास्ट खाएर पल्टिन जानुभएको ड्याडीले मलाई कोठाबाटै फोन गर्नुभयो। उहाँ कोरोना संक्रमित हुनुहुन्छ। गलेर लल्याकलुलुक हुनुभएको छ।
त्यो बिहान एक्कासि उहाँको अक्सिजन लेभल कम भएछ। सधैं चम्किलो देखिने बाको अनुहारमा आज आँखा तल झरेको देख्दा मेरो मन फुटेर दुई टुक्रा होलाजस्तो भयो।
म त्यसो त कमै आत्तिने गर्छु। धेरैले संयम छु भन्छन्। तर, बाको त्यस्तो हालत देख्दा म संयम रहन सकिनँ। निकै चिन्तित भएँ। निकै डराएँ।
म आफैं पनि कोरोनाको शिकार छु। त्यति बेला चाहिँ आफ्नो छातीमा भाइरसले हमला गरेभन्दा बाको चिन्ताले बढी गाह्रो अनुभव भयो। उहाँको अगाडि आत्तेजस्तो देखाइनँ। देखाउनु पनि भएन।
चाँजोपाँजो मिलाएर उहाँलाई दोस्रोपटक अस्पताल लगियो।
अहिले ड्याडी ठिकै हुनुहुन्छ। मलाई केही शितल महशुस भइरहेको छ। त्यसैले केही लेख्न मन लाग्यो। मेरो बुबा मदनकृष्ण श्रेष्ठको बारेमा, जसलाई मैले चिनेको छु, भित्रैबाट।
माया
'नभएको भए माया भन्ने कुरा, पृथ्वी त रगतमा डुबिसक्थे पूरा!'
ड्याडीले नै लेख्नुभएका यी शब्दजस्तै, साँच्चै माया नहुँदो हो त के हो यो दुईदिने जीवन?
हरेक मान्छेको जीवन कसै न कसैको मायाले भरिएको हुन्छ। मायाको परिभाषा जीवनको अनुभूतिअनुसार सबैले आफ्नै ढंगले व्याख्या गरेका हुन्छन्। परिवारमा बस्ने माया निसर्त हुन्छ। आमा, बुबा, लोग्ने, स्वास्नी, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी यी सबैमा मायाको खानी हुन्छ।
बुबा सधैं हामीलाई भन्नुहुन्छ, 'परिवार एउटा छुट्टै देश हो।' मलाई पनि त्यस्तै लाग्छ। यो हाम्रो परिवारको सानो देशमा मेरो बुबा राष्ट्रपति हुनुहुन्छ। उहाँ आफ्नो देशलाई औधी माया गर्नुहुन्छ। एउटा पनि खोट नराखी उहाँले अभिभावकको जिम्मेवारी पूरा गर्नुभएको छ।
ड्याडीले गर्दा आज हामीलाई कुनै पनि चिजको अभाव महशुस भएन। भौतिक सुविधाहरू त आफ्नो ठाउँमा छँदैछ, त्योभन्दा ठूलो कुरा माया र ममताको अभाव हामीलाई कहिल्यै खट्किएन।
त्यसैले पनि मलाई आफू एकदमै भाग्यमानी छोरीजस्तो लाग्छ।
यो कुरा म व्यक्त गरिरहन्छु, किनकि व्यक्त गर्नु, कृतज्ञ हुनु अत्यावश्यक छ जस्तो मलाई लाग्छ, तर सफा मनले।
बाबाले मेरी आमालाई गर्नुभएको माया त झन् विशाल छ। त्यसमा एउटा छुट्टै तपस्या छ। आफ्नी प्राणभन्दा प्यारी अर्धांगिनी तीन वर्षअघि गुमाएपछि बुबाको सामु आमाको नाम मात्र लिदा पनि आँशुको सागर खस्न थाल्छ। म त्यस्तो बेला ड्याडीलाई रुन दिन्छु। किनकि, यो पनि एक किसिमले आफ्नो मायालाई गरेको सम्मान हो।
कुरा नगरे बिर्सिंदै जाने मानिसको स्वभाव हुँदो रहेछ। त्यसैले रूने कुरा गरे पनि म उहाँलाई आमा सम्झिन दिइरहन्छु। यस्तो किसिमको गाढा भावना सबैले बाँचुञ्जेल राख्नुपर्छ भन्ने मलाई लाग्छ।
भनिन्छ, संसारमा बाबुछोरीको माया बिछट्टै हुन्छ। हाम्रो माया पनि त्यस्तै छ। मेरो बुबा रूनुभएको म हेर्न सक्दिनँ। मेरो बिहेमा त्यस्तै हुन लाग्दा म आफू एकदमै कुल भएर स्थिति सामान्य पारेको थिएँ। अन्माएपछि भने म गाडीमा आफ्नो श्रीमानको अगाडि खुब रोएँ। बुबा पनि घर आएर एक्लै बाथरुममा ह्वाह्वा रुनुभएको रहेछ।
जीवनमा मान्छेको बसाइँ जता भए पनि, मनको बसाइँ चाहिँ सानो परिवाररूपी देशमै हुन्छ। त्यसैले परिवारको महत्व बुझ्नु जरूरी छ। हरेक सदस्यको इज्जत गर्नु जरूरी छ। सबैले आफ्नो सानो परिवाररूपी देशलाई देखौटी होइन, मनदेखि माया गर्दै जीवन अगाडि बढाए खुसीसाथ बाँच्न सहज हुने रहेछ।
यही पाठ बुबाले हामीलाई व्यवहारिक रूपमा सिकाइरहनुभएको छ।
सेवा
मैले महशुस गरेको के भने, बुबाले गर्ने माया सबैमा समान छ। चाहे त्यो परिवारलाई गर्ने माया होस्, चाहे साथीभाइ, नातेदार, समाज वा देशप्रतिको माया। उहाँ सबैलाई निष्पक्ष माया गर्नुहुन्छ र त्यसैअनुसार व्यवहार गर्ने उहाँको स्वभाव छ।
बुबा सधैं भन्नुहुन्छ, 'मानवताभन्दा ठूलो धर्म अरू हुन्न। सबैलाई माया गर्नू है छोरी! अरूलाई जब निष्पक्ष मनले माया गर्न थालिन्छ, अनि बल्ल समाजसेवा गर्नुपर्छ।'
ड्याडी र हरिवंश (आचार्य) अंकलले आपसी सहकार्यबाट नेपाली समाजलाई गरेको सेवा र योगदान उदाहरणीय र उल्लेखनीय छ। केही दिनअघि एक जना साथीले मलाई भनिन्, 'तिमीहरूको त काठमाडौं मोडेल हस्पिटलबाट कति प्रोफिट आउँछ होला है, तिम्रो बुबा नै त्यहाँको पहिलेको अध्यक्ष अनि अहिलेको संरक्षक हुनुहुँदो रहेछ!'
त्यति बेलै पुरानो मोबाइलमा पुराना तस्बिर हेर्दै जाँदा बुबाहरूको स्टेज शोको एउटा तस्बिरमा मेरो आँखामा पर्यो। त्यसमा एउटा ब्यानर थियो, जसमा लेखिएको थियो- 'मह इन जापान- च्यारिटी शो फर काठमाडौं मोडेल हस्पिटल।'
त्यो तस्बिरले याद दिलायो, मोडेल हस्पिटलका लागि आर्थिक सहयोग उठाउन जापानमा उक्त कार्यक्रम गरिएको थियो। मलाई भन्नुहुँदा जापानमा बुबाहरूले लाज पचाएर भए पनि हात फैलाई फैलाई जापानी ग्रुपसँग हस्पिटलका लागि रकम उठाउनुभएको थियो।
माेडेल हस्पिटल खोलेको दिनदेखि बुबाहरू त्यसमा निरन्तर सहभागी भएको मलाई याद छ। यत्रो वर्षसम्म बुबाहरूले एक पैसा नलिई, बोर्ड मिटिङको भत्तासमेत नलिई निस्वार्थ मनले समाजसेवा गरेको देख्दा मेरो शिर गर्वले उँचो हुन्छ।
म स्कुल जाँदादेखि आजको दिनसम्म यस्ता थुप्रै संघ-सस्थामा आबद्ध भएर काम गर्नुभएका केही न केही कुरा ड्याडीको मुखबाट सुन्दै आएको छु। मेरो आफ्नै आँखाले देख्दै आएको छु र यो मनले महशुस पनि गर्दै आएको छु।
उहाँ यस्ता थुप्रै समाजसेवामा सरिक हुनुहुन्छ। कति देखिएका छन्, कति नदेखिएका।
घरमा आएका जोगीलाई ड्याडीले कहिल्यै खाली हात पठाउनुभएन। साथीभाइ र नातेदारहरूको दु:खमा जसरी पनि सामेल हुनुभयो। छिमेकीको घरमा बत्ती ल्याउन उहाँ रातरातभर नसुतेको उदाहरण छ। अभावमा परेका नातेदारलाई तलब दिएस्वरूप सहयोग गरेको, समाजसेवा र परिवर्तनका लागि केही नकारात्मक व्यक्तिबाट कुटाई खानसमेत तयार भएको मैले देखेको छु।
आफू भोकै भए पनि पहिले अरूले नै खाओस् जस्तो गरेको, केही नजिकका साथीहरूले इर्ष्या, डाहा गरी दबाउन खोज्दा स्वयं आफूले त्याग गरेको, समाजलाई जतिखेर पनि दिने दिने र मात्र दिने गरेको र सबभन्दा गहिरो कुरा चाहिँ हरेकको अनुहारमा मुस्कान छर्न खोजेको मैले देखेको छु।
यी सब मानवता नै त हुन्! एकले अर्कोलाई गर्ने स्नेह अनि प्रेम।
यसरी मानवता के हो, सेवा के हो अनि हामी मान्छेको धर्म के हो, यी सब कुरा म बुबाबाटै सिक्दै छु।
सिर्जना
अरूका बारेमा एकैछिन सोच्न छाडेर ड्याडी जब गानामा मगनमस्त हुनुहुन्छ, त्यस बखत उहाँका आँखीभुइँ नाच्न थाल्छन्। आँखा चमक्क चम्किन्छन्। उहाँ हातका औंलाले सुर कोट्टयाउन थाल्नुहुन्छ। खुट्टाले ताल भेट्टाउनुहुन्छ। मानौं, संगीतको रस पूरै शरीरमा बगेजस्तो।
मैले गाउँदा पनि उहाँको ध्यान मैमा केन्द्रित हुन्छ। त्यस्तो बेला आफू मोबाइलमा केही चिज हेर्न लागेको भए पनि मोबाइल पन्छाएर पूरै मतिर एकोहोरिनुहुन्छ। उहाँको अनुहारको भाव परिवर्तन हुँदै जान्छ। गाउन त म ठिकै गाउँछु, तर मेरो गायन सुनेर उहाँ कुनै प्रख्यात गायिकालाई जस्तो तारिफ गर्नुहुन्छ।
त्यस्तो बेला मलाई लाग्छ, यति धेरै नेपालीहरू बुबाको फ्यान हुनुहुन्छ, तर मेरो फ्यान मेरो बुबा! सोचेरै गज्जब लागेर आउँछ।
हरेक आमाबुबाले छोराछोरीको सानै खुबीलाई पनि ठूलो मन अनि मायाले तारिफ गरेको हुन्छ। बुबाका धेरै गुणमध्ये गायनको एक छिटा गुण मैले पाएकोमा भगवानलाई धन्यवाद दिन मन लाग्छ। अरूले बुबाको स्वरजस्तै तिम्रो स्वर पनि राम्रो छ, बुबाकै गुण आएको रहेछ भन्दा खुसी लाग्छ।
कलाकार वा साथीभाइको जमघटमा पनि बुबाले प्राय: मेरो तारिफ गर्नुहुन्छ। धेरै नै भो कि, सुन्नेलाई नपच्ला कि भनेर मलाई अलि अप्ठ्यारो चाहिँ लाग्छ। ड्याडी भने यसै हाम्रो गुणगान गर्न थाक्नुहुन्न।
प्राय: आफूलाई सबैले गायक नै भन्दियोस् भन्न रुचाउने मेरो बुबा गीतमा पुरै डुब्नुहुन्छ। उहाँ प्रकृतिमा बज्ने कतिपय ध्वनिहरू नै संगीतमय भएको सुनाउनुहुन्छ। उहाँ एक उत्कृष्ट गायक त हुनुहुन्छ नै, तर मलाई उहाँको शब्द चयन एकदम बौद्धिक लाग्छ। उहाँका हास्य गीतहरू घत लाग्ने खालका छन् भने गम्भीर गाना मनमस्तिष्क छुने गरी लेख्नुहुन्छ।
'अरबौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे' मलाई उहाँको असाध्यै मनपर्ने रचना हो। गीत लेख्दा उहाँ प्राय: एकचित्त भएर कहिले कौसीमा जानुहुन्छ त कहिले कोठामै थुतुनो चुच्चो पार्दै कलम सार्नुहुन्छ।
त्यस बखत चिया लिएर कोही गयो भने उसले त्यो चिया दुई-तीनपटक तताउनैपर्ने हुन्छ। सायद कलामा डुब्ने भनेको यही हो।
पहिले पहिले म सानी हुँदा सँगै खाना खाएको याद आउँछ। हामी खानाको स्वाद लिएर चपाई चपाई खाइरहँदा ड्याडी सोचको दुनियामा कतै पुगिसकेको हुनुहुन्थ्यो। उहाँलाई के खाएको, के तरकारी, केही होस हुन्न थियो। त्यस्तो बेला 'दालमा नुन पुग्या छ र ड्याडी?' भनेर मैले सोध्दा जवाफ नै आउँदैन थियो। ममीलाइ 'ममी, हेर्नु न ड्याडी त कता टोलाउनुभो' भनेर भन्दा ममीले 'छोड्दे, टोलाउन दे। सोच्ने र टोलाउने नै ड्याडीको काम हो, त्यसैमा सिर्जना बन्छ' भनेर हामीलाई बुझाउनु हुन्थ्यो।
त्यस दिनपछि ड्याडीको टोलाउने र सोचमा डुब्दै गर्ने सिर्जनालाई हामीले कहिल्यै डिस्टर्ब गर्न खोजेनौं।
पारिवारिक वातावरण
हाम्रो घरको वातावरण एकदम रमाइलो हुन्छ। बुबाको नरम अनि मैत्री स्वभावले उहाँ मलाई मेरो बेस्टफ्रेन्डजस्तो लाग्छ। हामी घरमा कहिले गाउने, कहिले नाच्ने, कहिले जोक गरेर हाँस्ने त कहिले राजनीतिक, सामाजिक र कहिले दार्शनिक अनि आध्यात्मिक कुरा गर्छौं।
बुबाले विभिन्न कुरा गर्दै जाँदा कुनै पनि विषयमा हामीलाई आफ्नो विचारधारा राख्ने वातावरण बनाइदिनुहुन्छ।
मेरो बुवा र आमाको त्यो बेला अन्तरजातीय बिहे भएकाले हामीमा जातिवादको संकुचित विचार कहिल्यै आएन। बुबाको घरपट्टि जाँदा अरूबाट कहिलेकाहीँ बाहुनको मजाक उडाउने अनि आमाको घरतिर जाँदा नेवारको मजाक उडाउने वातावरण बनेको खण्डमा हामी त्यसलाई साधारण किसिमले लिन्थ्यौं। पहिले मानिस, त्यसपछि मानिसमा बस्ने प्रेम र त्यो प्रेममा रहने संसार- जीवनको सार यति मात्र हो भन्ने बुबाले बारम्बार सिकाइरहेकाले सायद हामीमा अलिकति भए पनि फराकिलो सोच आएजस्तो लाग्छ।
सानो छँदा ड्याडीले मलाई कहिल्यै गाली वा पिट्ने गर्नुभएन। केही उट्पटांग काम गरेकै छ भने पनि ड्याडीले लामो समयसम्म नरम स्वरमा सम्झाउँदा सम्झाउँदा 'ओहो गल्ती नै गरेछु बाबा' जस्तो लाग्थ्यो। अनि बल्ल आँशु आउँथ्यो। आफ्नो गल्ती आफैंले मानेपछि मात्र पश्चातापको आँशु झर्थ्यो। यसो हुँदा जिन्दगीमा त्यो गल्ती दोहोर्याउन कहिल्यै मन लाग्दैन थियो।
यस अर्थमा बुबाको सम्झाउने शैली मैले बुझ्दै गएँ। अहिले म आफ्नो छोरालाई त्यही फर्मुला लगाउने प्रयास गर्दैछु।
रमाइला प्रसंग
ड्याडीलाई हँसाउन मलाई असाध्यै मन लागिरहन्छ। धेरै पहिले म यस्तै सात-आठ वर्ष हुँदाको कुरा हो। हामी भुइँतल्ले घरमा खाना खाइरहेका थियौं। खाँदा खाँदै म जुरुक्क उठेर बाहिर गएँ।
बुबाले 'कहाँ हिँडेकी' भन्दा मैले सिंगान पुछेर आउँछु भनेछु। म अगाडिको मेन ढोकाबाट गएँ, फर्किने बेला पछाडि भान्छाघरको ढोका ढकढक गरेर आएको थिएँ।
बुबाले पछाडिबाट को आएछ भन्दै 'को हँ बाहिर?' भनेर प्रश्न गर्नुभयो।
यसो भन्दा 'म तिम्रो उही छोरी' भन्न लाज पो लागेछ कि क्या हो, मैले 'म के त, उही सिंगान पुछेर आएको मान्छे' भनेर जवाफ दिएछु।
त्यसपछि निकै बेर गलल्ल हाँसो चलेको थियो।
दिनभरि सबैले 'ओ, सिंगान पुछेर आएको मान्छे' भनेर मलाई उल्लीबिल्ली जिस्काइरहे। आजसम्म यो प्रसंग ड्याडी आफ्ना साथीभाइलाई सुनाइरहनु हुन्छ।
म सानै हुँदाको अर्को घटना पनि सम्झन्छु।
बुबाको लोकप्रियताले हामीलाई पनि असर पर्न थालिसकेको थियो। एक दिन मलाई फिल्म हेर्न जान मन लाग्यो। तर कुनै साथीको अनुकूल समय मिलेन। केटी मान्छेले एक्लै हलमा जाने सामाजिक वातावरण राम्रो बनिसकेको थिएन।
मैले केटाको भेष बदलेर फिल्म हेर्न जाने योजना बनाएँ। दाइको लुगा र टोपी लगाएर हलमा गएँ। कसैले चिनेन भनेर दंग पर्दै अब चाहिँ मज्जाले फिल्म हेर्छु भनेर सिटमा बसेको मात्र के थिएँ, आफ्नै टोलको एक जना दाइले 'ओहो नानी, तिमी त मदनकृष्ण श्रेष्ठकी छोरी होइन र भन्या?' भनेर सोध्नुभयो।
'हो दाइ ,मै हुँ' भन्दै तिनै व्यक्तिसँग तीन घन्टा फिल्म हेर्नुपरेको थियो।
यो कुरा मैले बीसौं वर्षपछि मात्र ड्याडीलाई सुनाएँ। उहाँ खुब हाँस्नुभो। उहाँ हाँसेको देखेर अहिले पनि त्यो घटना सम्झिँदा रमाइलो लाग्छ।
त्यस्तै एकचोटि ममीलाई भान्छामा सघाउने क्रममा मैले काउलीको तरकारी बनाएको थिएँ। त्यो काउली सायद शताब्दीकै नमिठो काउलीमा गनिन्थ्यो होला!
म उताको कोठामा लुकेझैं गरी बसिरहेको थिएँ। यता भान्छामा ममीले 'ल तपाईंको छोरीले बनाएको काउली खानुस् आज' भनेर बुबालाई खान दिनुभयो।
उहाँले केही चम्चा मुखमा हालेपछि ममीले 'कस्तो लाग्यो त?' भनेर सोध्नुभयो।
ड्याडीले म लुकेको देख्नुभएको थिएन। उहाँले मिठो छैन भनेर संकेत गरेजस्तो गरी अमिलो मुख पारेर टाउको हल्लाउनु मात्र के भएको थियो, म त्यहाँ टुप्लुक्क देखापरेपछि उहाँको हाउभाउ नै बदलियो। पहिले मिठो छैन भन्ने भावमा हल्लाएको टाउकोलाई तुरुन्त मिठो छ भनेझैं गरेर हल्लाउनुभयो।
त्यो देखेर मलाई एकदमै हाँसो उठ्यो। छोरीको मन राख्न त्यसो गरेको हो भन्ने महशुस हुनेबित्तिकै म त्यो काउलीको नमिठो तरकारी खाइरहेको मेरो बाबाको गालामा 'चु' गर्न गएँ।
अहिले पनि काउलीको तरकारी बनाउने बेला त्यस्तै नमिठो होला भनेर डर लागिरहन्छ।
अलिक ठूलो हुँदै गएपछि बाटोमा केटाहरूले जिस्क्याउने बेलाको घटना याद आउँछ। उनीहरू मलाई बुबाहरूकै फिल्म वा टेलिफिल्मका चरित्र अनि प्रसंग झिकेर जिस्क्याउने गर्थे। जस्तै- लालपुर्जाको घनश्यामकी छोरी, १५ गतेको बैकुण्ठकी छोरी, २१६७७७ टेलिफिल्मको घास काट्नेको छोरी आदि इत्यादि भनेर जिस्क्याउँथे।
त्यसो सुन्दा उनीहरूसँग रिस उठ्नेभन्दा मलाई त हामी पनि बुबाका ती लोकप्रिय सिर्जनामा केही हदसम्म भए पनि गासिएछौं भनेजस्तो लाग्थ्यो।
हामी किशोरावस्थामा हुँदा केटीहरूलाई घरमा फोन गरेर ब्लफ कल दिने खुब चलन थियो। हाम्रो घरमा भने छोरीलाई भन्दा बाबुलाई नै बढी ब्लफकल आउथ्यो। 'त्यहाँ मदन दाइ हुनुन्छ? म उहाँको फ्यान' भनेर धेरै नै अनियमित कल आयो भने म कहिले चाइनिज बोलेजस्तो त कहिले फ्रेन्च बोलेजस्तो गरेर भिन्न-भिन्न आवाज निकाल्थेँ।
यस्तो गर्दा उनीहरूलाई खुब झुक्याएछु भन्ने मलाई लाग्थ्यो। उनीहरू चाहिँ 'मदन दाइको घरमा सब जना रमाइला रहेछन्' भन्ठान्थे कि क्या हो, घरमा झन् झन् धेरै फोन आउने गर्थ्यो।
ड्याडीले कुनै पनि कुरामा हामीलाई रोकतोक गर्नुभएन। हामीलाई स्वतन्त्र भएर बाँच्नुपर्छ, तर आफू सधैं अनुशासित रहनुपर्छ भन्ने पाठ पढाइ रहनुभयो।
बुबा मदनकृष्ण श्रेष्ठ
सारा नेपालीहरूका लागि मेरो बुबा एक कलाकार भए पनि मेरो लागि त मदनकृष्ण श्रेष्ठ मेरो आफ्नो बुबा हो। त्योभन्दा पनि पहिले मेरो बुबा एक असल व्यक्ति हो, जो कसैको आँखामा बिझाउनुहुन्न। जसमा मलाई सदैव गर्व छ।
धेरै पढेर डाक्टर, इञ्जिनियर, मन्त्री वा वकिल त बनिएला, तर 'असल मान्छे' को टाइटल जो कसैले नपाउने रहेछ। असल मान्छे बन्न कुनै मापदण्ड तोकिएको पनि हुँदैन रहेछ। असल मान्छे अरू धेरै मान्छेभन्दा असाधारण चाहिँ हुने नै रहेछ। यस्ता असाधारण मान्छेले आफूलाई 'म असल मान्छे हुँ' भनेर घोषणा पनि गरेको हुँदैन।
मैले असल व्यक्ति कहाँ छ भनेर प्रेरणा खोज्न टाढा जानै पर्दैन। मलाई यति थाहा छ, बुबामा त्यस्ता असाधारण अनि असल मान्छेमा देखिने राम्रा विशेषणहरू जस्तै इमानदार, भलाद्मी, मानवतावादी, सकारात्मक अनि परोपकारी यी सबै गुणहरू छन्।
'असल मान्छे' पछि बल्ल उहाँको कामसँगै आएका यी अनगिन्ती टाइटलहरू जोडिन्छन्।
एक दिन बुबाले मलाई उहाँको 'बायो डेटा बनाइदेऊ न छोरी' भन्नुभयो। मलाई त्यो बनाउन यसोउसो गरेर तीन-चार दिन नै लाग्यो। जीवनमा मनोरञ्जन र हास्यव्यंग्य क्षेत्रमार्फत् नेपाली कला-संकृतिको संरक्षण गर्दै सामाजिक योगदान गरेको कदरस्वरूप विभिन्न पुरस्कार प्राप्त गरेको मेरो बाको 'बायोडेटा' बनाउँदा मैले के बुझेँ भने, कुनै पदनामका लागि मानिसले काम गर्ने होइन, समर्पण, प्रतिबद्धता र इमानदारीका साथ काम गर्यो भने टाइटलहरू त आफैं आउँदै जाने रहेछन्।
सबभन्दा ठूलो कुरा, मान्छेले यी सब पदनाम र लोकप्रियता अस्थायी हुन् भन्ने बुझ्नुपर्छ र बाँचुञ्जेल आफ्नो कामप्रति मात्र दृढ संकल्पित रहनुपर्छ। बुवाले आफ्नो कामलाई नै स्थायीजस्तो गरेर अगाडि लानुभएको मैले पाएँ।
जीवनमा संसारभरिका विभिन्न मान्छेसँग मेरो पनि परिचय भयो, भेट भयो, दोस्ती भयो। हरेक व्यक्ति जो मेरो जिन्दगीसँग जोडिएको छ, ती व्यक्तिले मेरो जीवनमा केही न केही महत्वपूर्ण भूमिका खेलेकै छ। मैले उनीहरूको जीवनबाट आफ्नो जीवनको अस्तित्व पनि बुझेको छु जस्तो मलाई लाग्छ।
मलाई अरूले थाेरै थोरै बुझेका भए पनि भित्रैबाट बुझ्ने मेरो बुबा नै हो। बुबालाई भित्रबाट बुझ्ने पनि मै हुँ। हामी बाबुछोरी कहिलेकाहीँ केही नबोले पनि एकअर्काका आँखा पढ्न सक्छौं। नबोलेका कुरा पनि मनले महशुस गर्न सक्छौं।
कहिलेकाहीँ उस्तै कोही नकारात्मक व्यक्तिले मेरो सोझो बुबालाई घेर्दा कतै ठग्ने पो हो कि, छलकपट गर्ने पो हो कि, चित्त दुखाउने पो हो कि भनेर म होसियार रहन्छु। किनभने, बुबाले नकारात्मक व्यक्तिलाई समेत ठूलो मन राखी माफी दिने गरेको धेरैपल्ट देखिसकेकी छु। तै पनि त्यस्ता मान्छेले आफ्नो आचरण कहिल्यै नबदलेको र अरूलाई समस्या अनि मानसिक तनावमा पारेको मैले देखेको छु।
यस्तो भित्री कुरा सायद एउटा माया गर्ने छोरीले आफ्नो बाबुका लागि र बाबुले छोरीका लागि महशुस गरेको हुन्छ। मलाई लाग्छ, सायद सबैजसो बाबुछोरीको सम्बम्ध अलि अलि हाम्रोजस्तै होला, त्यस्तो गहिरो प्रेम भएको बाबुछोरीले यो कुरा बुझ्नेछ भन्ने मलाई लाग्छ।
पाँच-छवटा रोग बोके पनि अझै काम गरिरहने, हाँसिरहने, सबैलाई सहयोग गरिरहने, सबैलाई उस्तै माया बाँडिरहने मेरो बुबा मेरो लागि संसारकै सबभन्दा बेस्ट व्यक्ति हुनुहुन्छ।
'जीवन अमूल्य छ, बाँचिरहनुपर्छ, के के देखिन्छ, के के भोगिन्छ' भनेर ड्याडीले भनिरहनुहुन्छ। हामीले यो जीवनका दुवै रस (दु:ख र खुसी) लाई भित्रबाट बुझ्न सक्यौं भने जिन्दगीका जस्ता पनि अनुभव अंगाल्नसक्छौं। सबै जना सेलेब्रिटीका छोराछोरी हुँदैनन्, सबैका आमाबुबा सेलेब्रिटी हुँदैनन्, सबैको धन प्रशस्त हुँदैन, सबैको सम्बन्ध राम्रो पनि हुँदैन, केही न केही नपुगेको अवश्य हुन्छ। तर, सबै उतारचढावमा जिन्दगी हाँस्दै हाँस्दै बिताउन भनेरै सबैले जन्म लिएको हुने रहेछ। हामी सबैले जीवन भोग्दै, अनुभव बटुल्दै जानुपर्ने रहेछ।
जीवनका थुप्रै उतारचढाव, केही हृदयविदारक कथा, केही हाँसो अनि खुसी, केही लोकप्रियता, यी सब देखिसकेको मेरो ड्याडी भन्नुहुन्छ, 'वाह, यी सब अनुभव गरेर मज्जा आइरहेको छ। सायद यी सब अनुभव नै हाम्रो अमूल्य जीवनका उपहार हुन्।'
म भाग्यशाली छु र कृतज्ञ छु मेरो बाआमाप्रति, मेरो आफ्नो परिवारप्रति, मलाई माया गर्नेहरूप्रति, मेरा इष्टमित्र, नातेदारप्रति, यो जीवनप्रति अनि जीवनका सबै सुखदु:ख अनुभवहरूप्रति, सधैं सधैं आभारी रहिरहनेछु।
सबै तस्बिर सौजन्य: सराना श्रेष्ठ