मैले सडक र शोरूममा अनगिन्ती कारहरू देखेको छु। तीमध्ये कुनै कहिल्यै आफ्नाजस्ता लागेनन्।
तर त्यस दिन शोरूमको एउटा कार आफ्नैजस्तो लाग्न थाल्यो। अगाडि कार थियो, बैंक खातामा सुरूमा बुझाउनुपर्ने रकम थियो, मासिक किस्ता बुझाउने नियमित आय थियो।
मैले घुमीघुमी कार हेरेँ। अचानक कार लिएर घर गयो भने सबै कति दंग पर्छन् होला भन्ने सम्झिँदा आङ जिरिंग पनि भयो।
तर अन्ततः म कार नलिई त्यहाँबाट निस्केर लुसुक्क घरतिर गएँ।
किन त? त्यसको पहिले पृष्ठभूमि बुझौं, अनि कारण बुझौंला।
हरिवंश राय बच्चनको भनेर एकपल्ट इन्टरनेटमा चर्चित बनेको तर कसको भनेर यकिन नलागेको एउटा लोकप्रिय कविताका हरफ छन्ः
बैठ जाता हुँ मिट्टी पे अक्सर
क्योंकि मुझे मेरी औकात अच्छी लगती है।
जीवनमा किनमेलसम्बन्धी निर्णय गर्ने मेरो कसी लामो समयसम्म एउटै रह्यो, औकात। एउटा कमिज मात्रै किन्ने औकात छ भने त्यसैलाई धुँदै लगाउँदै गर तर ऋण काढेर अर्को नकिन। खाजा खाने पैसा खल्तीमा छैन भने धाराको पानीले तिर्खा मेट, पसलमा उधारो खाजा खाएर नहिँड। डेढ लाखको मोटरबाइक किन्ने औकात हो भने किस्ताबन्दीमा पाइयो भन्दैमा अढाइ लाखको नकिन।
जीवनभर काम लाग्ने यस्तो सदावहार शिक्षा हामीले घरमै पाएको हौं, आमाबुवाबाट। त्यो अमूल्य थियो, छ र रहनेछ।
केही वर्ष अगाडिसम्म पनि मेरा लागि कार औकातबाहिरको विषय थियो। त्यसैले मलाई त्यसको इच्छा हुनु र नुहुनुले खास अर्थ राख्थेन। मेरो औकात थिएन भन्ने घरमा सबैलाई थाहा थियो। त्यसैले मैले कार किन्न सक्ने शंका घरमा कसैले गर्थेन।
बिहे अगाडिको वार्तामा चाहिँ कारको विषयले प्रवेश पायो। दोस्रो भेटतिरै मैले उनलाई दिएका 'डाइलग' हरूमध्ये एउटा यस्तो थियो- मसित अहिले कार छैन, दुई-चार वर्षमा हुनेवाला पनि छैन, सायद जीवनभर हुँदैन।
बिहेपछिका दुई वर्षमा जीवनमा अपूर्व सन्तुलन आयो। आर्थिक अवस्था पनि सुध्रिँदै गयो। बचत ऋणात्मकबाट शून्य हुँदै धनात्मकतिर लाग्यो। दोस्रो वर्षको अन्त्यतिर छोरा जन्मियो। व्यक्तिगत र पारिवारिक जीवनले नयाँ गति लियो।
त्यही नयाँ गतिले नयाँ आवश्यकताहरू सिर्जना गर्न थाल्यो। दुई जना पुरानो स्कुटरमा हुरूरू कुदे पनि हुन्थ्यो, दुइटा साइकलमा बत्तिए पनि हुन्थ्यो। तर अब छोरालाई घुमाउनुपर्छ, स्कुल पुर्याउनुपर्छ। अब कार विलासिता होइन, आवश्यकता हो।
दाइले यस्तै सल्लाह दिएपछि मलाई पनि हो जस्तै लाग्यो।
यसबीच जीवनभर हामीलाई मितव्ययीताको पाठ पढाउनुभएका बुवा र आमाले क्रमशः ७५ र ६५ वर्षको उमेर काट्दै हुनुहुन्थ्यो। बुवा अझै पनि २०६५ सालमा किनेको ‘लेडीज’ साइकल चलाउनुहुन्छ। तर उहाँका हड्डीहरूलाई बुढेसकालले गाल्दै ल्याएको छ। आमा अझै पनि दिनभर भरतपुर नगरका अनेक कुना पैदलै चहारेर बाग्लुङेहरूको खोजी गर्नुहुन्छ। तर उहाँलाई पनि बुढेसकालले छोप्दै छ।
यस्तोमा छिमेकका सामान्य परिवारका मानिसहरूले धमाधम कार चढेको देख्दा उहाँहरूलाई पनि इच्छा हुँदो हो छोराहरूका कार चढ्ने।
बीचमा दाइले एउटा पुरानो कार किन्नुभएको पनि थियो। एकाधपल्ट हामी चढेका पनि थियौं। तर त्यो कारले ओरालो बाटोमा नालीतिर कुद्ने व्यवहार देखाउन थालेपछि दाइले राम्रै घाटामा त्यसलाई बेच्नुभयो। अहिले घरमा चार वटा साइकल छन्। एउटा ब्याट्रीजडित साइकल छ। एक थान मोटरसाइकल र दुई थान स्कुटर छन्। कार छैन।
जीवनभर छोराहरूलाई मितव्ययीताको पाठ पढाएपछि अब कार चढ्ने इच्छा जनाउन सायद बुवालाई दकस हुन्छ। त्यसैले कहिलेकाहीँ बतासे व्यंग्य मात्रै गर्नुहुन्छ- अरूका छोराले मोटरसाइकलपछि कार किन्छन्, तिमीहरू साइकल किन।
मेरो प्रकाशोन्मुख किताबको मूल प्रवाहमा हाम्रो तीन पुस्ताबीचको सम्बन्ध छ। मूलतः निरक्षर र भोकमरीसित हुर्केको बुवाको पुस्ताले हाम्रो पुस्तालाई कसरी भरपेट खुवायो, शिक्षित बनायो र आफ्नोभन्दा निकै फराकिलो संसारमा जान बाटो खोलिदियो भन्ने त्यसको मूल पाठ हो। अन्ततिरको उल्लेख्य हिस्सामा चाहिँ मैले हाम्रो पुस्ताले छोराको पुस्तालाई के दिन सक्ला भनेर मन्थन गरेको छु।
स्वभावतः त्यसमा जलवायु संकटको मुद्दाको बलियो उपस्थिति छ।
जस्तो कि, बुवा सानो हुँदा भात खान दसैं कुर्नुपर्थ्यो। हामी सानो हुँदा गाउँमा धेरैले मासु खान दसैं कुर्नुपर्थ्यो। अब हाम्रा छोराछोरीले चाहे भने दिनदिनै, छाकैपिच्छे मासुभात खान सक्छन्। हामी मध्यम वर्गकै आमाबाबुले त्यो पुर्याउन सक्छौं।
तर बुवाहरूले र हामीले बाल्यकालमा जुन स्वच्छ हावामा सास फेर्यौं, मूलको जुन कञ्चन पानी पियौं, खस्रै भए पनि विषादीरहित जुन खाना खायौं, हाम्रा सन्तानले त्यो गर्न पाउँछन्?
आजै दम र केही वर्षपछि क्यान्सर बनाउने हावामा सास फेरेर उनीहरूले जति नै मीठो र पोषक खाना खाए पनि के त्यसलाई जीवनस्तर सुध्रिएको वा प्रगति भएको भन्न सकिन्छ?
सधैंभर मनको कुनामा कतै रहँदै आएको यो प्रश्न छोरा जन्मेसँगै मेरो मन्थन र लेखनको अग्रभागतिर सर्यो। त्यस दिन कारको वरिपरि घुम्दै गर्दा पनि मेरो मनमा यही विषयले ठाउँ ओगटेको थियो।
छोराको स्वच्छ हावामा सास फेर्न पाउने अधिकार ठूलो कि कार चढ्न पाउने अधिकार ठूलो? यो एउटा सैद्धान्तिक प्रश्न थियो।
मैले कार नचढ्दैमा भरतपुर र नेपालको हावा स्वच्छ भइहाल्ने, छोराले सफा हावामा सास फेर्न पाउने होइन। तर सबै जनाले त्यसो भन्दै कार किन्दै गरेका कारण हामी आजको संकटग्रस्त अवस्थामा पुगेका होइनौं र? आखिर मान्छेको व्यवहार परिवर्तन सुरू हुने एक व्यक्तिबाट होइन र? यी एकदमै व्यवहारिक प्रश्नहरू थिए।
उसो त पेट्रोल गाडी चढ्ने कल्पना मेरो दिमागमा कहिल्यै आएन। त्यस दिन मैले हेरेको विद्युतीय गाडीले वायु प्रदूषणमा खासै योगदान पनि गर्दैनथ्यो। तर त्यस दिन एउटा विशेष अनुभवले मलाई कार किन्नबाट रोक्यो।
जन्मेपछिका डेढ दशकसम्म मेरो सवारीका लागि खुट्टा काफी भए। त्यसपछि बस र माइक्रो-बसजस्ता सार्वजनिक सवारी थपिए। साइकल सिकेपछि साइकल थपियो। २५ वर्ष कट्ने बेला मोटरसाइकल थपियो, वा भनौं त्यसले साइकललाई विस्थापित गर्यो। म आफ्नै साधनमा पचासौं किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्न सक्ने भएँ।
गुड्दा होस् वा पार्किङ गर्दा, मोटरसाइकलले ओगट्ने जमिन साइकलकोभन्दा अलिकति मात्रै बढी थियो। तर त्यस दिन आफ्नो हुन सक्ने कारको फैलावट हेरेपछि त म झसंग भएँ- यसले त मोटरसाइकलले भन्दा निकै बढी जमिन पो ओगटेको छ।
आफ्नो नाममा जमिन राख्ने औकात मेरो अझै बनिसकेको छैन। यो साधन किनेँ भने यो मेरो रहुन्जेल यसले यो पृथ्वीको झन्डै ८ गुणा ६ वर्ग फुटको जमिन ओगट्नेछ, गुड्दा होस्, पार्किङ गर्दा होस् वा धुँदा।
अर्थात्, म केही इन्च आकारका पैताला भएको प्राणीले पृथ्वीमा फुट आकारको जमिन ओगट्नेछु। आखिर मानिसको यस्तै आरिसे प्रवृत्तिकै कारण आज उसको सभ्यता संकटको ढिकमा पुगेको होइन र?
पेट्रोलियम कार चढ्नुभन्दा विद्युतीय कार चढ्नु धेरै गुणा ठीक हो। आजको समयमा नयाँ कार किन्दा पनि पेट्रोलियम कार किन्नु त मेरो विचारमा वातावरण र भावी पुस्ता विरूद्धको अपराध नै हो।
तर विद्युतीय कार पनि समस्याको समाधान होइन।
नेपालजस्तो देशमा त यातायातका समस्या समाधान गर्ने साधन भनेका सहरका कुनाकुनासम्म पुग्ने ठूला सार्वजनिक बसहरू, धुँवा ननिकाली गल्लीगल्ली पुग्न सक्ने साइकल र इ–बाइकहरू, साँघुरो गोरेटोमा सहजै गुड्न सक्ने अनि सिँढीमा बोक्न मिल्ने माउन्टेन बाइकहरू हुन्।
यसरी हेर्दा पेट्रोलियम कार बितेको समयको साधन थियो भने विद्युतीय कार आजको। मसित भएको सस्तो र मितव्ययी साधन साइकल त भविष्यको साधन थियो। आजको भीडभाड, धुलो र धुँवामय सहरमा त साइकलले काम दिएको छ भने भविष्यमा बन्ने खुकुलो र साइकलमैत्री सहरमा यसको महत्व झनै बढ्ने निश्चित छ।
निकट भविष्यमा सडकबाट विस्थापित हुनै पर्ने हिजोको पेट्रोलियम गाडी हटाएर धेरै साथीहरूले अहिले युगअनुसारको विद्युतीय कार किन्दैछन्। तर मसित त अहिल्यै भोलिको साधन साइकल छ। ब्याट्री भएको, बच्चाका लागि सिट भएको, दुई पेडल र दुई सिट भएको, भारी बोक्न मिल्ने लगायत अनेक खाले साइकलहरूलाई बिस्तारै यातायातका मुख्य साधन नबनाइ हामी नेपालीहरूलाई धरै छैन।
त्यसैले त्यो दिन म कार नकिनी घर फर्केँ।
हिजोको साधन हुनेले पो आजको साधन किन्नु, म भोलिको साधन हुनेले किन व्यर्थै पैसा खर्च गर्नु?
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)