बाजुरा, मार्तडीकी ५५ वर्षीया गीता बोहरा आफ्नी २३ वर्षीया छोरी कृष्णालाई देखाउँदै बडो टिठलाग्दो भावमा रून्चे स्वरले भन्दै थिइन् —
'मेरी छोरी बिरामी परेको १० वर्ष पुग्यो। १३ वर्षकी हुँदा घाँटी दुख्ने, टन्सिल पाक्ने भइराख्थ्यो। पछि हातखुट्टाका जोर्नी दुख्ने र सुन्निने भयो। हुँदाहुँदा हिँड्नै नसक्ने भई। औषधि पसलमा बस्ने डाक्टरले दिएका चक्कीले व्यथा केही निको भएको थियो, पछि फेरि जोर्नीहरू दुख्ने, सुन्निने र ज्वरो आउने व्यथा फर्कियो।'
म उनको कुरा ध्यान दिएर सुन्दै थिएँ।
उनले अगाडि भनिन् —
'यो १६ वर्षकी हुँदादेखि हिँड्दा स्याँ स्याँ गर्ने, मुटु काम्ने हुन्छ। गाउँका डाक्टरहरूलाई धेरैचोटि देखाएँ। झाँक्री पनि लगाएँ। तर व्यथा झन् बढ्दै गयो। घरको गाईबस्तु बेचेर धनगढी र लखनउसम्म पुर्याएँ, उपचार हुन्छ कि भनेर। लखनउको डाक्टरले मुटुको अप्रेसन गर्नुपर्छ, दुइटा भल्भ फेर्नुपर्छ, १० लाख रूपैयाँ लिएर आऊ भनेको छ। सम्पत्ति सबै सकिइसक्यो, तर अझै उपचार भएन।'
'हामी गरिबका लागि मर्नुभन्दा अर्को बाटो छैन रैछ डाक्टरसाब, म त्यत्रो पैसा कहाँबाट खोजूँ!'
यति भन्दाभन्दै उनी डाँको छाडेर रून थालिन्।
यस्तो कथा मेरो लागि नयाँ थिएन। यसअघि कर्णालीका कालिकोट, दैलेख र जाजरकोटदेखि मधेसका सप्तरी, महोत्तरी र रौतहटसम्म; अनि पूर्व र पश्चिमका धेरै जिल्लामा मुटु स्वास्थ्य शिविर र स्कुले बालबालिकाको मुटु परीक्षण गर्ने अभियानमा जाँदा यस्ता दुःख र पीडाले भरिएका धेरै कथा मैले सुनिसकेको थिएँ।
मैले गीता बोहराको बायाँ कुम हातले थुमथुम्याउँदै सम्झाउने र सान्त्वना दिने प्रयास गरेँ।
'तपाईंकी छोरीलाई एक पैसा पनि खर्च नलाग्ने गरी अप्रेसन गराइदिने जिम्मा मेरो भयो। मेरो नाम र फोन नम्बर लेखेर राख्नोस्,' मैले भनेँ, 'तपाईंकी छोरीलाई निःशुल्क उपचार गराई खेत जोत्न सक्ने बनाउन प्रयास गर्नेछु। चिन्ता नलिनू है।'
मेरो कुरा सुनेर गीता र उनकी छोरी कृष्णा एकटकले मलाई नै हेर्न थाले।
उनीहरूका आँखाबाट आँसुका धारा बगिरहे। अनुहारमा खुसीको सानो झिल्का पनि देखियो।
उनीहरूको खुसीको आँसु रोकिन नपाउँदै मैले डाक्टरी पुर्जा (प्रेस्क्रिप्सन) लेखेर कृष्णाको हातमा थमाएँ र भनेँ, 'दस दिनपछि फोन गरेर काठमाडौं आउनू। मेरो नम्बर यसमा लेखेको छ। बाटो खर्च, खाने, बस्ने र उपचार सबैको व्यवस्था नेपाल हार्ट फाउन्डेसन र पाटन रोटरी क्लबले गर्छ। तपाईंको एक पैसा पनि खर्च हुँदैन। अब काठमाडौंमै भेटौंला।'
यति भन्दै म अर्को मुटु बिरामी जाँच्नतर्फ लागेँ।
अछाम, बाजुरा र बझाङमा गरी १२ हजार बालबालिकाको मुटु परीक्षण गर्ने हाम्रो लक्ष्य थियो। हामी सात जना मुटुरोग विशेषज्ञ, छ जना प्राविधिक र सात जना स्वयंसेवक सहितको टोली यो अभियानमा निस्केका थियौं। हामीले सबभन्दा पहिला अछामको मंगलसेन र साँफेबगरका ११ वटा स्कुलका ३ हजार ७ सय २४ बालबालिकाको मुटु परीक्षण गर्यौं। त्यसपछि मंगलसेनको जिल्ला अस्पतालमा सञ्चालित नि:शुल्क मुटु रोग उपचार शिविरमा पाँच सयभन्दा बढी बिरामीको परीक्षण र उपचार गरेर हामी बाजुरा आइपुगेका थियौं।
अछाममा पनि कृष्णाको जस्तै अज्ञानता, गरिबी र सामाजिक अन्यायमा परेका मुटुरोगीको कथा सुन्ने मौका मिलेको थियो। तीमध्ये १० वर्षीय मंगले सार्कीको कथा कम पीडादायी थिएन।
उनकी आमा रोग लागेर बितिसकेकी थिइन्। बाबु पाँच वर्षअघि वैदेशिक रोजगारीमा मलेसिया गएका थिए, तर सम्पर्कमा थिएनन्। मामाघरमा हुर्किएका मंगलेलाई बाथ मुटु रोगले ग्रस्त पारेको थियो। मुटुको एउटा भल्भ बिग्रिएको थियो। अझ बिग्रिनबाट बचाउन प्रत्येक तीन सातामा पेनिसिलिन सुई लगाउने वा पेनिसिलिन चक्की दैनिक दुईपल्ट धेरै वर्षसम्म खानुपर्ने आवश्यकता थियो।
सुई लगाए एक वर्षमा ५०० रूपैयाँ खर्चले पुग्ने, तर चक्कीमा वर्षको ५ हजार रूपैयाँ खर्च हुने देखियो। अछाम र त्यस वरपर यो औषधि उपलब्ध थिएन। सरकारी अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य बिमा कसैले पनि यति थोरै पैसामा आउने औषधि बाथ मुटु रोगीलाई उपलब्ध गराउने प्रयास गरेको देखिएन।
औषधि अभावमा मंगले सार्कीजस्ता धेरै कलिला बालबालिकाको मुटुको भल्भ बिग्रँदै गएर अप्रेसन गर्नुपर्ने बाध्यता थियो। उनीहरू पछि उही बाजुराकी कृष्णाको जस्तै अवस्थामा पुग्ने स्पष्ट बुझिन्थ्यो।
मंगले सार्कीका मामालाई मैले भनेको थिएँ, 'हेर्नुहोस् बाबुलाई मुटुरोग छ। अहिले धेरै बिग्रिएको छैन, उपचार गर्यो भने ठिक हुन्छ। पछि ऊ ठूलो हुँदा केही समस्या पर्दैन। तर उपचार नगर्ने हो भने उसको मुटुको भल्भ बिग्रँदै गएर हार्टफेल हुन्छ। अनि मुटुको भल्भ फेर्नुपर्ने अप्रेसन गर्नुपर्छ। यसमा मृत्युसमेत हुनसक्छ। अप्रेसन भइहाल्यो भने पनि जिन्दगीभर औषधि खाने र विभिन्न समस्या झेलिराख्नुपर्ने हुन्छ।'
मंगलेका मामाले मुन्टो हल्लाउँदै सोधेका थिए, 'कुन औषधि हो त्यो, अनि कहाँ पाइन्छ, कति खर्च लाग्छ?'
यी प्रश्नका उत्तर दिन खोज्दा मलाई अत्यन्त पीडा भएको थियो। मैले नेपाल सरकारले विपन्न वर्गका मुटुरोगीलाई दिने गरेको नीतिगत सहयोग सम्झिएँ।
नेपाल सरकारले नीतिगत रूपमै १५ वर्ष मुनिका बालबालिका, ७५ वर्ष माथिका वृद्ध नागरिक र जुनसुकै उमेरका बाथ मुटु रोगीको मुटुको अप्रेसन सेवा नि:शुल्क गरेको छ। यसअन्तर्गत सहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्र लगायतका अस्पतालमा यो सुविधा उपलब्ध छ। तर यो सुविधा अप्रेसन गर्न मात्र हो। यसका लागि सरकारको वार्षिक ३० देखि ५० करोड रूपैयाँ खर्च हुन्छ।
मंगले सार्कीजस्ता अप्रेसन गर्नुपर्ने अवस्थामा नपुगेका, तर वार्षिक ५ हजार रूपैयाँको औषधि भए पुग्ने बालकलाई यो सुविधा छैन। भल्भ नबिग्रियोस् भनेर रोगको रोकथाम गर्ने पेनिसिलिन सुई र चक्की बाथ मुटु रोगीलाई सरकारले उपलब्ध गराउने नीति लिएको छैन।
सरकार भन्छ — बाबुनानी हो, तिमीलाई बाथ मुटु रोगले छोए पनि नआत्तिनू। भोलि मर्ने अवस्था आएछ भने ३-४ लाख रूपैयाँ खर्च लागे पनि सरकारले नि:शुल्क अप्रेसन गराइदिन्छ। हाललाई रोग पालेर बस्नू।
वार्षिक एक करोड रूपैयाँ खर्च छुट्याउने हो भने देशभरिका बाथ मुटु रोगीको रोकथामका लागि औषधि पुग्छ। तर सरकारले यो खर्च गर्न चाहेको छैन। उसले बरू उपचारमै वार्षिक ५० करोड रूपैयाँ खर्च गर्नेमा भलाइ देख्छ!
मंगलेले पेनिसिलिन चक्की वार्षिक पाँच हजार खर्च गरेर खाने हैसियत राख्दैन। उसले ५ सयसम्मको पेनिसिलिन सुईमा खर्च जुटाउन सक्छ। तर त्यो किन्न पाइँदैन। नेपालगन्ज, काठमाडौंबाट कुनै प्रकारले किनेर लग्यो भने पनि धेरै ठाउँमा स्वास्थ्यकर्मीले सुई लगाइदिन मान्दैनन्; एलर्जीको डरले र सुई लगाउँदा मान्छेको ज्यान जाला कि भन्ने डरले। तर यो डर स्वास्थ्यकर्मीको अज्ञानता मात्र हो।
कसैले सुई लगाइदियो भने पनि सेवा शुल्क सय रूपैयाँ लिन्छन्। ३० रूपैयाको सुई लगाएको सय रूपैयाँ!
यति मात्र होइन, मंगलसेन र आसपासको स्वास्थ्य केन्द्रमा पेनिसिलिन सुई लगाइदिने व्यवस्था छैन, औषधि पनि छैन। देशको बिमा सेवा, विपन्न वर्गको सुविधा, पिछडिएका जाति, गरिब र अन्यायमा परेका वर्गको भलाइ र उत्थानका कुरा भाषणमा मात्र सीमित भएको मैले देखेँ। वास्तविक दुःखी र पीडितसम्म त यस्ता सुविधा पुगेकै छैनन्।
सरकारले स्वास्थ्य उपचारमा यति धेरै सेवासुविधा दिएको छ भन्ने कुरा यी सुदूरपश्चिमका मुटु रोगी जनतालाई थाहै छैन। अन्यथा, गंगालाल अस्पतालमा नि:शुल्क हुने मुटुको भल्भ अप्रेसनतर्फ नलागेर बाजुराकी गीता र कृष्णा बोहरा उपचारको खोजीमा लखनउ पुग्ने थिएनन्। दस लाख रूपैयाँ जुटाउने चिन्ताको भारले उनीहरूलाई जीवनभर थिचिराख्ने थिएन।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अनुसार बाथ मुटु रोगका कारण नेपालमा बर्सेनि एक हजार बालबालिकाको मृत्यु हुने गरेको छ। त्यस्तै, बच्चा जन्माउँदा आमाको मृत्यु हुने प्रमुख कारणमा बाथ मुटुरोगले गर्भवती महिला पीडित हुनु पनि एक हो। यसमा कसैको ध्यान गएको छैन।
यो रोगको रोकथाम कार्यक्रम सरकारी नीतिभित्र परेकै छैन। विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म अल्पायुमा हुने मृत्युदर ३० प्रतिशत घटाउने लक्ष्य लिएको छ। पाँचदेखि १८ वर्ष उमेरका बालबालिकालाई प्रमुख रूपले असर पार्ने बाथ मुटुरोगको रोकथाम अघि नबढाएसम्म यो लक्ष्य प्राप्त नहुने निश्चित छ।
हामीले २०८१ जेठ २० देखि २७ सम्म सुदूरपश्चिमका ३३ स्कुलका १३ हजार १ सय ७८ बालबालिकाको मुटु परीक्षण गर्यौं। अछाम, बाजुरा र बझाङका ७५० मुटुरोगीको परीक्षण उपचारमा सहयोग गर्यौं। १२१ जना मुटुरोगी बालबालिका पत्ता लागे। तीमध्ये २० जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने देखियो। यसमा हाम्रो प्रयास केन्द्रित रह्यो।
त्यसका साथै स्थानीय जनताका दुःख, पीडाबारे केही कुरा बुझ्ने मौका पनि पायौं। सुदूरपश्चिमको त्यो भेगमा लोकतन्त्र अझै पुगेको रहेनछ भन्ने थाहा पायौं। गरिब, विपन्न, दुःखी, पीडित, दलित, शोषित लगायतको उत्थानको कुरा गरेर नथाक्ने नेताहरूले हाँकेको सरकारले आफ्नो नीति तथा कार्यक्रममा यस्ता विषय कहिले समेट्ने होला? हाम्रो देशको स्वास्थ्य नीति रोगको उपचारभन्दा रोकथाममुखी कहिले हुने होला?
सुदूरपश्चिमका ती चिरिएका मुटु लिएर बाँचेकाहरूको वेदना कसले सुनिदिने होला?
देशमा आएको परिवर्तनको फल ती पीडितहरूले कहिले चाख्न पाउने होलान्?
चिल्लो गाडी चढेर सिंहदरबारभित्र पस्नेहरूका छोराछोरीको मुटु बाथरोगले छिया छिया नपार्दासम्म अप्रेसन होइन, समयमै पेनिसिलिन सुई वा चक्की पो चाहिने रहेछ भन्ने बुद्धि नीति निर्माताहरूमा सायद पलाउने छैन। हामीजस्ता विज्ञले हजारपटक तिनका कानमा फुक्दा पनि बाथ मुटुरोगको व्यवस्थापनमा पेनिसिलिन सुई र चक्कीको महत्त्व नबुझ्ने ती नीति निर्माताहरूलाई धिक्कार छ।
यस्तै तीतामीठा अनुभव संगाल्दै सुदूरपश्चिमका ती दुखेका मुटुहरूलाई बाटाभरि सम्झिँदै हाम्रो टोली काठमाडौं फर्कियो।
***