स्कुल बिदा थियो। भाइ र म हाम्रो घरमुनि छिमेकीको बारीमा खेल्न गएका थियौं।
तल्लो कान्लामा केही महिलाहरू खन्दै थिए। हामी खेल्दै गरेकै कान्लाको एक छेउमा उनीहरूले खाजाको झोला राखेका रहेछन्।
हामीलाई देख्नासाथ भने – त्यता छुने होइन है, छोउला!
हामीलाई त्यो झोलाबारे केही थाहा थिएन। देखेका पनि थिएनौं तर नछोऊ भनेपछि चार वर्षको भाइलाई उत्सुकता जाग्यो। छुँदा के हुन्छ होला भन्दै भाइ सुटुक्क झोला छुन पुग्यो। काम गर्दै गरेकी एउटी महिलाले देखिहालिन्।
'भन्दाभन्दै छोयो, हेर त कति अटेरी,' शान्त वातावरणमा एक्कासि तिखो र चर्को स्वर फैलियो।
हामी दिदीभाइ स्तब्ध भयौं। ती महिलाको अनुहार कठोर देखिएको थियो। आँखाहरू रिसले बलेका थिए। उनका हात थरथर काँपेका थिए। उनी छिटोछिटो पाइला चाल्दै, कराउँदै हामी भएका ठाउँमा आइपुगिन्। हामीले अक्कबक्क भएर उनलाई हेरिरह्यौं।
उनले के के भनिन्, आधाभन्दा बढी बुझ्न सकिनँ। हामी डरले आँखाभरि आँसु बनाएर उभिरह्यौं।
उनले अझ रिसाउँदै आदेश दिइन् – जा, तेरी आमालाई बोलाएर लिएर आइज!
म रूँदै दौडिएँ। भाइ त्यहीँ बस्यो।
घटना थाहा पाएपछि आमाले पनि गाली थप्नुभयो – छुकछुक नगर भनेको मान्दैनौं, चउरमा खेल्न गएको भए हुँदैन थियो?
आमा र म ठाउँमा पुग्यौं। आमा आफ्नो टाउको झुकाएर ती महिलामा अगाडि उभिनुभयो। उनले आफ्नो मनमा उब्जेको जति गालीगलौज गरिन्।
आमाले 'एकचोटिलाई माफ पाऊँ, आइन्दा यस्तो हुने छैन भन्दै' हात जोडेर बिन्ती गर्नुभयो। ती महिलाको नजरमा हामीले ठूलो 'अपराध' गरेका थियौं, हात जोड्दैमा माफी दिने खालको 'अपराध' थिएन।
हामीले छोएर पुगेको क्षतिको पूर्तिबापत जरिवानाको रकम तोकिन्। आमाले ४५ रूपैयाँ तिर्नुपर्ने भयो। आमाले बडो नम्रतापूर्वक आज्ञा पालना गर्दै थैली खोल्नुभयो र ४५ रूपैयाँ तिर्नुभयो।
जाँदाजाँदै ती महिलाले आमालाई अर्को आदेश दिइन् – यिनीहरूलाई राम्रोसित सम्झाएस्, कत्ति अटेरी हुन् त, यो खाजा लैजा!
खाजाको पोको लिएर हामी घर फर्कियौं। त्यो साँझ हाम्रो खाना त्यही पोकोमा भएकै सुख्खा रोटी र चनाको तरकारी भयो। जे जति थियो, त्यही बाँडीचुँडी खाएर सुत्यौं।
क्षेत्री र बाहुनहरूका माझमा सार्कीको टोल थियो। त्यही टोलमा म सार्कीको कोखबाट जन्मिएँ। हाम्रो आफ्नो भन्नु एउटा घर थियो। त्यसबाहेक अरू केही पनि थिएन। घरवरिपरिको बारी सबै कथित 'उपल्लो जातका' मानिसहरूकै थियो।
बुबा अरूको जुत्ता पसलमा जुत्ता बनाउने काम गर्नुहुन्थ्यो, आमा मेलापात जानुहुन्थ्यो। एक दिनको ज्याला ६०-६५ रूपैयाँ हुन्थ्यो। घरधन्दा गर्ने र भाइलाई लिएर स्कुल जाने मेरो काम थियो।
आमालाई आफ्ना छोराछोरी पढून् भन्ने चाहना थियो। उहाँले छिमेकी क्षेत्री परिवारको बच्चाका पुरानो स्कुल ड्रेस मागेर हाम्रो लागि ल्याइदिनुभयो। त्यही पोसाक लगाएर हामी स्कुल जान पाएका थियौं।
प्रत्येक दिन स्कुल जाँदा-आउँदा 'उपल्लो जात' का केटाकेटीहरू हाम्रो बाटो छेक्थे। हामीलाई गिज्याउँथे। मनलागी भन्थे। मनपरी गर्न खोज्थे।
एक दिन हामी घर फर्किंदा त्यसरी नै बाटो छेकेर बसेका थिए। सधैंको बाटो छेकाइले म दिक्क थिएँ, त्यो दिन त पैसा माग्न थाले। बाटो हिँड्न पनि मैले पैसा पनि दिनुपर्ने भयो।
मैले 'पैसा छैन, हामीलाई जान देऊ' भनेर बिन्ती गरेँ। अहँ, उनीहरूले बाटो छाडेनन्। मलाई सहिनसक्नुभयो। बाटो छेक्न बसेकालाई जोडले धक्का मारेर दौडिएँ। म घरनजिकै पुगेपछि बिस्तारै हिड्न थालेँ।
त्यही बेला एक्कासि मान्छेहरूको हल्ला सुनेँ। फर्केर हेर्छु त गाउँलेहरू सबै भेला भएको देखेँ।
'समात् त्यसलाई, त्यो सर्किनीले मेरी छोरी झन्डै मारेकी, ओई चमारे' भन्दै चिच्याएको सुनेँ।
पछ्याउँदै आएको भिड देखेर मेरो हंसले ठाउँ छाड्यो।
मैले धकेल्दा एक जना लडिछ। उसको टाउकोमा चोट लागेर रगत बगेछ। त्यति भएपछि अरू के चाहियो र? एकैछिनमा म गाउँलेहरूद्वारा घेरिएँ। उनीहरू ममाथि खनिए, कुनै शिकारीले शिकार भेटेको जस्तो गरे। म लछारपछार पारिँदै थिएँ।
म आज मारिने भएँ भन्ने लाग्यो। संयोगले मेरी फुपू टुप्लुक्क आइपुग्नुभयो। फुपूले मलाई त्यो आक्रोशित भिडबाट बचाउनुभयो। मेरो शरीरमा लागेको चोटपटक र बालमनमा पुगेको धक्काको त कसैलाई हेक्का हुने कुरै भएन।
उल्टै मैले धकेल्दा टाउकोमा चोट लागेको उपचार खर्च फुपूसँग असुलेर धम्क्याए – आइन्दा यस्तो भयो भने छाड्दैनौं।
ममाथि आक्रमण भएको देखेपछि भाइको मनमा धेरै चोट पर्यो। गाउँका केटाकेटीले पिट्लान्, बाटो हिँड्न नदेलान् भनेर साह्रै डरायो। ऊ स्कुलको शौचालय पछाडि रहेको सेपिलो झाडीमा लुक्थ्यो। महिनौंसम्म उसले यसै गर्यो। त्यो वर्ष ऊ परीक्षामा अनुत्तीर्ण भयो।
समय सँगसँगै अन्याय र भेदभाव सकिएला भन्ने लाग्थ्यो तर त्यसको स्वरूप र शक्ति बढ्दै गयो। त्यसले सिर्जना गर्ने पीडा शक्तिशाली बनेर आइदिन्थ्यो। हाम्रा लागि दैनिक नभई नहुने पानी पाउनु पनि एउटा युद्ध जित्नुसरह हुन्थ्यो।
हुन त हाम्रो घरअगाडि सार्की समुदायकै लागि भनेर एउटा धारो बनाइएको थियो। हिउँदमा खोलो सुक्थ्यो, धारमा पानी आउँदैन थियो। बर्खामा पनि बाढीले पाइप बगाइदिन्थ्यो। सङ्लो पानी कहिल्यै झर्दैन थियो। पहेँलो माटो, झार, पातपतिंगर मिसिएको पानी आउँथ्यो। त्यो पानी पिउन त के, भाँडा धुन पनि नमिल्ने हुन्थ्यो।
हामी पिउने पानी लिन अर्को समुदायको धारोमा पुग्नुपर्थ्यो। उनीहरूको धारो कहिल्यै सुक्दैन थियो। सफा पानी आइरहन्थ्यो। पानीको मुहानमा सुरक्षित पानी ट्यांकी बनाइएको थियो। उनीहरूको धारामा त्यही ट्यांकीको पानी आउँथ्यो।
हामी घन्टौंसम्म एक छेउमा उभिएर पालो कुर्थ्यौं। उनीहरू आउँथे, आफ्नो काम सकेर जान्थे, हाम्रो वास्तै गर्दैन थिए।
तीमध्येकै कसैले दया देखाएपछि मात्र हाम्रो रित्तो भाँडोमा पानी पर्थ्यो। तर त्यही पनि फोहोर, कहिलेदेखि सफा नगरेर कट्कटिएको भाँडोबाट हामीलाई पानी दिन्थे। पानी थापौं भाँडो फोहोर, नथापौं पानी नभई नहुने!
फेरि पानी नथाप्दा अपमान गर्यो भनेर रडाको मच्चिन्थ्यो।
म चुपचाप थाप्थेँ। त्यही पानी लिएर घर जाऊँ कि सफा पानी थाप्न पर्खिऊँ जस्तो हुन्थ्यो। म दोधारमा पर्थेँ। घरमा आमा पानी पर्खेर बस्नुभएको हुन्थ्यो। अर्को पानी थाप्न दिनै बित्ने डर हुन्थ्यो।
उनीहरूको धारो, मैले भनेझैं कहाँ हुन्थ्यो र! जस्तो भए पनि त्यही पानी लिएर घर जान्थेँ।
त्यसो त सार्की समुदायकै लागि बनाइएको धारामा पनि उनीहरू आउँथे। त्यस बेला धारामा हाम्रो हक लाग्दैन थियो।
एक दिन हाम्रो घरनजिकको धारोमा अलिक धमिलो पानी मजाले आइराखेको थियो। म लुगा भिजाएर साबुन दल्दै थिएँ। दुई जना क्षेत्रिनी (जेठानी-देउरानी) घरैमा साबुन दलेर लुगा पखाल्न आइपुगे। आउनासाथ लुगा पखाल्न थाले।
मैले 'मेरो पालो हो, मलाई पखाल्न दिनुहोस्' भनेँ। उनीहरूले त 'तेरो आँखा फुटेको छ कि क्या हो, हामीले पखालेको देखिनस्' भन्दै झपारे।
उनीहरूको धारोमा जाँदा हामीले कुर्नु त ठीकै होला, हाम्रो धारोमा पनि हामीले कुर्नुपर्ने?
त्यस बेला म १३ वर्षकी थिएँ।
रिसले मुर्मुरिँदै भनेँ – अर्काको धारामा आएर मेरै पालोमा पखाल्ने अनि मलाई नै गाली गर्ने?
'अझ चोथालो चलाउँदी रहिछ, कसरी घर गरेर खान्छे यस्तीले? चमारेको बुद्धि हुँदैन भन्थे, हो रहेछ' भन्दै सराप्न थाले।
मैले पनि रूँदै जबाफ दिएँ – म पनि बाहुनसँग बिहे गर्छु अनि क्षेत्रिनीहरूभन्दा पनि म ठूलो हुन्छु।
यस्ता अनेक घटना झेल्दै गर्दा मलाई पनि दलितबाहेक अरूलाई आफ्नो घरआँगनमा पस्न र बस्न नदिन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। उनीहरूले छोएको हामी पनि नखाने; हाम्रो आफ्नो धारो भएझैं आफ्नै मन्दिर र आफ्नै गाउँसमाज भइदिए कति जाति हुन्थ्यो जस्तो लाग्थ्यो।
यसो भए शोषण र अत्याचारबाट मुक्त हुन्थ्यौं भन्ने सोच्थेँ।
म घरकी जेठी छोरी, जेठो सन्तान पनि मै थिएँ। सानै उमेरमा धेरैजसो घरधन्दा, चुह्लोचौको, पानीपँधेराको काममा लाग्नुपर्यो। भाइहरू हुर्किँदै जाँदा पनि धेरै काम मेरै जिम्मामा हुन्थ्यो।
एकदिन मैले भाइहरूले पनि काम गर्नुपर्छ, म एक्लै गर्दिनँ भन्ने अडान लिएँ। भाइ 'छोरी मान्छेले गर्ने काम म गर्दिंनँ' भन्दै मुर्मुरियो। म पनि काम नगरी आरामले बस्न थालेँ। त्यसपछि आमाले सम्झाएर भाइलाई पनि काम अह्राउनुभयो। मैले आफ्नो मात्रै लुगा धुन थालेँ। मलाई त्यो दिन निकै सन्तोष भएको थियो, खुसी भएकी थिएँ।
एक दिन स्कुलमा साह्रै पेट दुख्यो। शौचालय जाँदा रगत आयो। डर लाग्यो। साथीलाई सुनाएँ। 'तँ पर सरेकी हो, नडरा' भनी।
पर सरेको – सुन्दै अचम्मै लाग्यो। घरमा आएर आमालाई भनेँ। मलाई पल्लो गाउँमा ठूलोबाको घरमा लगेर राख्नुभयो। अर्काको घरमा दिनभरि एक्लै भएँ, दुखाइले गर्दा दिनभरि रोएर बस्थेँ।
बिहान आमा खाना लिएर आउनुहुन्थ्यो। परै राखिदिएर फर्किनुहुन्थ्यो। आफ्नै घरमा बस्न पाएको भए पनि हुन्थ्यो भन्ने सोच्थेँ। एघारौं दिनमा मुख हेर्ने कार्यक्रम भयो। मलाई नयाँ लुगा दिए, टीका लगाएर पैसा पनि दिए। म दंग परेँ।
तर त्यो त ममाथिको विभेदको अर्को सुरूआत रहेछ। हरेक महिना म 'पर सरेँ'। मैले केही छुन मिल्दैन थियो। एक्लिनुपर्थ्यो। अलि पछि मैले यसरी नबारौं, 'नछुने' नभनौं भनेर आमालाई भन्न थालेँ। समय लाग्यो तर त्यो गलत अभ्यास घरबाटै हटाएर छाडेँ। त्यो बेला मैले एउटा संसार जितेझैं लाग्यो।
म विभेद र शोषणका विरूद्धमा थिएँ। नेकपा माओवादीको 'जनयुद्ध' चल्दै थियो। जनयुद्धमा लागेकाहरू जातभात र छुवाछुत मान्दैनन्, दलितले पकाएको गैरदलितले पनि खान्छन्, सँगै बस्छन् भन्ने सुनेँ।
त्यस्तो सुनेपछि म माओवादीतिर आकर्षित भएँ। अलिकपछि बृहत् शान्ति सम्झौता भयो। त्यसपछि माओवादीहरू खुलेरै गाउँ र स्कुलहरूमा संगठन बनाउन आए। म पढ्ने स्कुलमा पनि आइपुगे।
हाम्रो स्कुलमा पनि विद्यार्थी मुक्ति मोर्चा गठन भयो। म पनि त्यसको सदस्य बनेँ। म त्यस बेला १३ वर्षकी थिएँ।
चार वर्ष स्कुल र कलेजको विद्यार्थी संगठनमा बस्दा मैले सुनेझैं मलाई उत्प्रेरणा मिल्ने, दलितका निमित्त लड्ने, समतामूलक समाज निर्माणका लागि गर्नुपर्ने काम भएको महसुस भएन।
म त्यहाँबाट स्वेच्छाले बाहिरिएँ। त्यसपछि मैले दलितका निमित्त काम गर्ने सामाजिक संघसंस्थाहरू खोजेँ, केहीमा आबद्ध भएँ। केही कार्यक्रममा सहभागी पनि भएँ। दलितका मुद्दाहरू बुझ्दै गएँ।
२०७४ सालको स्थानीय निर्वाचनको चहलपहल थियो। केही पार्टीले मलाई 'दलित महिला सदस्य' पदमा उम्मेदवार बनाउन खोजे। कहिले कुन पार्टीको प्रस्ताव आउँथ्यो त कहिले कुनको।
दलहरूले त्यसरी मलाई सम्झिँदा कताकता खुसी पनि लाग्थ्यो। एक दिन एउटा पार्टीका १५ जनाजति मान्छे हाम्रो घरमा आए, बेलुकी ७ बजे। उनीहरूले बुबाआमा र मलाई केही आश्वासन दिए, केही लालच देखाए।
'हाम्रो पार्टीबाट उठ (उम्मेदवार बन), तिमीहरूका सबै आवश्यकता पूरा गरिदिन्छौं, पैसा पनि दिऔंला, तिमी कति पैसा भन्छौ' भने।
'मलाई पैसामा किन्न खोजेको? मेरो आत्मसम्मानमा ठेस पुग्यो,' प्रतिवाद गर्दै मैले भनेँ, 'संविधानमा लेखिएको भएर तपाईंहरू मेरो घरमा आएर मलाई आफ्नो पार्टीबाट उठ्न भन्दै हुनुहुन्छ। यसअघि तपाईंहरू पनि राजनीति गर्नुहुन्थ्यो तर हामीलाई खोज्नुभएन।'
उनीहरू केही बोलेनन्। मेरो कुरा सकिएकै थिएन।
थप कुरा भनेँ, 'हामीलाई समावेश गर्नु तपाईंहरूको बाध्यता भएको छ। मलाई तपाईंहरूको पैसा चाहिएको छैन, तपाईंको पार्टीबाट उठ्दिनँ तर म दलित महिला सदस्यमा उठ्छु नै। मेरा काकालाई तपाईंको पार्टीबाट वडा अध्यक्षको टिकट दिनुहोस्, हुन्छ?'
उनीहरू अकमकिए। केही पनि जबाफ नदिई गए।
म नेपाली कांग्रेस पार्टीबाट चुनावमा दलित महिला सदस्य पदमा उम्मेदवार भएँ। मैले र मेरो समुदायले भोग्दै आएको छुवाछुत हटाउने मेरो रूचि र कार्यक्षेत्रमा मलाई काम गर्न दिने सहमति भएपछि कांग्रेसबाट उठ्ने निर्णय लिएकी थिएँ।
बुबाको झुकाब अर्कै पार्टीमा थियो। उहाँ मेरो निर्णयमा खुसी हुनुभएन।
'म नै तँलाई भोट दिन्नँ, कसरी जित्छेस्' भन्नुभयो।
मैले हाँस्दै बुबालाई भनेँ, 'पार्टी रोज्ने मेरो अधिकार हो। म उठेपछि भोट माग्न पाउने पनि मेरो अधिकार हो। भोट कसलाई भन्ने पनि दिनेकै अधिकार हो। मलाई हारिएला भन्ने चिन्ता छैन तर बुबाले भोट दिनुहुन्छ भन्ने आशा गर्छु।'
जोडतोड चुनाव प्रचारप्रसार भयो। चुनावको दिन आयो। मनमा डर र उत्साह दुवै थियो। चुनावको नतिजा आयो। वडा समितिका पाँचै जना सदस्य नेपाली कांग्रेसबाटै चुनिए। त्यो विजय हाम्रा लागि ऐतिहासिक बन्यो।
चुनावको नतिजा आएलगत्तै जयकार र ढोलको आवाज गुन्जियो। हाम्रो विजयको साक्षी हुन हजारौं मानिस सडकमा भेला भए। समर्थकहरूको उत्साहको सीमा थिएन। मेरो हृदय गर्वले फुल्यो। त्यो विजय उत्सव चलिरहँदा भिडको बीचमा म अग्लो भएर उभिएको जस्तो भान भयो।
मानिसहरूको भिडमाझ देखिएका ब्यानर र हावामा फहराइरहेका झन्डासँगै सडकमा हिँड्दा ममा आशाको लहर फैलिएको थियो। आफ्नो समुदायका लागि केही काम गर्ने मेरो पहिलो कदम हो भन्ने सोचेर म उत्साहित थिएँ।
त्यही बेला मैले एउटा यस्तो भविष्यको सपना देखेँ, जहाँ जातले कसैको भाग्य निर्देशित गर्दैन। जहाँ लिंगले मात्रै पनि भाग्य निर्देशित गर्नेछैन। जहाँ प्रत्येक व्यक्तिले आफ्नो बाटो आफै कोर्ने अधिकार पाउनेछ। हरेक व्यक्ति सम्मानित मान्छे भएर बाँच्न पाउँनेछ, त्यही संसार बनाउन मेरो भूमिका रहनेछ।
म आममानिसबाट एक जनप्रतिनिधि बनेँ। आफ्नो कर्तव्य पूरा गर्न निस्किएँ। जात, वर्ग, लिंग कुनै कुराको आधारमा भेदभाव नगरी सबै क्षेत्रको सेवा गर्न कटिबद्ध भएँ।
मेरो बाटो मैले सोचेजस्तो सहज हुनेवाला थिएन। हरेक मोडमा बाधाहरू खडा भएकै हुन्थे। कहिलेकाहीँ यस्तो लाग्थ्यो ती बाधाहरू मसँगै, मेरो जातसँगै मात्रै प्रेममा परेका छन्, ती मेरा लागि मात्रै उभिएका वा उभ्याइएका हुन्थे।
एक दिन वडाका जनप्रतिनिधिको टोलीलाई एउटा घरको सप्ताह पुराणमा निम्ता आयो। हामी सबै गयौं। सप्ताहस्थल फूलले सजिसजाउ थियो, हेर्दै मन आनन्द हुने!
हामी सप्ताह लगाइएको स्थलभित्र पस्यौं। हावामा धुपको सुगन्ध हावामा फैलिएको थियो। ताजा फूलको बास्ना पनि उस्तै थियो।
मैले देखेँ – मेरा पाइलाहरू हेर्दै, ममाथि नजर लगाउँदै मानिसहरू कानेखुसी गर्दैछन्।
पूजाको माहौलमा मैले आफूलाई संयमित राखेँ। सबैसरह त्यहाँको माहोलमा रमाएझैं गरेर बसेँ।
टीका लगाइदिन र प्रसाद दिन पण्डित आए। संयोगले पण्डित आएको दिशाबाट म पहिलो जनप्रतिनिधि थिएँ। उनले मलाई टीका लगाइदिन सकेनन्, अरूलाई लगाइदिँदै अघि बढे। अन्तिममा मलाई लगाइदिए।
मलाई उनको व्यवहार खड्कियो। मेरो उपस्थितिले त्यहाँ धेरैजसोको मन केही न केही खल्लो भएकै थियो। सायद कतिका लागि त मेरो उपस्थितिले सप्ताहको पवित्रतामै आँच आएको थियो।
तर गाउँसमाज नै हाम्रो परिवार हो, मर्दापर्दा जनप्रतिनिधिहरू पुग्नैपर्छ। जनताका हरेक सुखदुःखमा सामेल हुनैपर्छ।
एक परिवारले आफ्ना एक सदस्य गुमायो। शोक सन्तप्त परिवारलाई सान्त्वना दिन र दिवंगत आत्माको शान्तिको कामना गर्न हामी जनप्रतिनिधिहरू पुग्यौं। सँगै सबैजना किरिया बसेकाहरूलाई भेट्न खुरूखुरू भित्र छिरे। मलाई ढोका बाहिरै एउटा कुर्सीको व्यवस्था भयो।
त्यो बेला मलाई मेरा लागि ढोका बन्द गरिदिएझैं भयो। मेरो ओठ र घाँटी सुकेझैं भयो। आँखामा आँसु टिलपिलायो। कसोकसो आफूलाई सम्हालेँ। सान्त्वना दिन गएकी मलाई नै सान्त्वना चाहिने भयो।
पुराना बस्तीहरूमा प्रायः मेरा लागि मुखैमा ढोका लाग्थ्यो। नयाँ बस्तीहरूमा भने खुला हृदयले स्वागत गर्थे। कतै त मैले आफू हुनुको बोध गर्ने ठाउँ पनि छ भन्ने लाग्थ्यो, खुसी हुन्थेँ। जनताले बनाइदिएको घाउ जनताले नै पुरिदिएको जस्तो महसुस हुन्थ्यो।
स्थानीय तहमा नौ हजार तीन सय जना स्थायी कर्मचारी भर्ना आह्वान गर्दा आरक्षण प्रणाली अपनाइएन। त्यसको विरोध भयो। मुद्दासमेत दायर भयो तर सर्वोच्च अदालतले लोक सेवा आयोगको कदम सही ठहर्यायो।
स्थानीय जनप्रतिनिधिले आवाज उठाउने थलो नगर सभा हो।
नगर सभाको हलमा मैले लोक सेवा आयोग र सर्वोच्च अदालतले आरक्षणको मान्यता विपरीत गरेको कामको विरोधमा आवाज उठाएँ। सबैका लागि समानता र न्याय प्रवर्द्धन गर्ने र भेदभाव हटाउने नीति आवश्यक छ भनेँ। नगरपालिकाले दलितका लागि उचित बजेट विनियोजन गर्नुपर्ने र दलित विद्यार्थीका लागि छात्रवृत्ति र रोजगारीको अवसर उपलब्ध गराउने विषय ऐनमै राख्नुपर्छ भनेँ।
कथित 'उपल्लो जात' जनप्रतिनिधिहरूले मेरो विचारको विरोध गरे, मेरो विचारविरूद्ध खनिए।
विरोध गर्नेहरूको भनाइ थि यो – दलित भनेर कोटा (आरक्षण) पनि तिमीहरूलाई नै चाहिने, दलित भनेर विभेद भयो पनि भन्ने, यो त मिलेन!
दलितहरूमाथि हुँदै आएको शोषण र दमनको कारण दलित स्वयं हो भन्ने उनीहरूको तर्क थियो।
नगर सभाका सभाध्यक्षले पनि समाजबाट विभेद हटिसकेको, केही अवशेष मात्रै बाँकी रहेको र त्यो पनि बिस्तारै हट्दै जाने बताए। वडामा आउने बजेटबाट दलित महिला जनप्रतिनिधिले आवश्यक बजेट छुट्ट्याउन सक्ने बताएर आफ्नो कुरा टुंग्याए।
समाजबाट विभेद हटेको छैन। म आफै दिनहुँ अनेक विभेदको सिकार भइरहेकी छु।
बजेटको कुरा गरौं। स्थानीय तहको बजेट विनियोजन गर्नु त्यति असजिलो काम होइन रहेछ तर दलितका लागि बजेट छुट्टयाउनु सबैका निम्ति असाध्यै कठिन रहेछ। मैले दलितका निम्ति बजेट खोइ भनेर सोध्दा 'तिमी दलितको मात्रै प्रतिनिधि होइनौं, सबैको हौ; तिमीले पनि सबैलाई बराबरीमा राखेर बजेटको कुरा गर्नुपर्छ' भनेर पन्छाउने प्रयास हुन्छ।
महिला, ज्येष्ठ नागरिक, युवा, अपांगता जस्ता सामाजिक समूहहरूका लागि बजेटको कुरा गर्दा केही असहज भए पनि त्यसलाई सिधै नकारेको देख्दिनँ। जब दलित, अझ दलित महिलाका निम्ति बजेटको कुरा आउँछ, तब पन्छाउने प्रयास भएको पाउँछु।
जनताको प्राथमिकतामा पनि भौतिक पूर्वाधार निर्माणका योजनाहरू नै पर्छन्। क्लब, ज्येष्ठ नागरिक भवन, किरियापुत्री भवन, गुठीघर इत्यादिका लागि सहजै बजेट छुट्टिने गरेको छ। निर्माण पनि हुने गरेको छ तर यस्ता संरचना दलित समुदायको पहुँचमा हुँदैनन्। मेरो पहलमा दलित बाल क्लब बनाउन वडाबाट थोरै बजेट छुट्ट्याइयो तर नगरपालिकाले निर्माणको सम्झौता गर्न मानेन। मैले आफ्नो अडान नछाडेपछि मात्र सम्झौता भयो।
कुनै कारणले वडाअध्यक्ष अनुपस्थित हुँदा कार्यवाहक अध्यक्ष रहने कानुनी प्रावधान छ। पाँच वर्षको अवधिमा अन्य जनप्रतिनिधिले कार्यवाहक अध्यक्ष हुने जिम्मा पाए। कुनै दिन म पनि कार्यवाहक अध्यक्ष हुन पाउने रहेछु भन्ने सोचेँ, त्यति सोच्दा पनि उत्साहित भएँ।
स्थानीय सरकार सञ्चालन ऐनका आधारमा कार्यवाहक जिम्मेवारी उमेरको ज्येष्ठताका आधारमा र अध्यक्षले रोजेको जनप्रतिनिधिले पाउँछ भनियो।
म त २१ वर्षको उमेरमा जनप्रितिनिधि बनेकी थिएँ। उमेरको हिसाबले मेरो पालो आउने कुरै भएन। अध्यक्षको रोजाइमा पनि परिनँ। मेरो एउटा सपना अधुरै रह्यो।
यदि म पुरूष र गैरदलित भएको भए के मेरो उमेरले मलाई कार्यवाहक अध्यक्ष हुन यसरी नै रोक्थ्यो – मेरो मनमा यो प्रश्न उब्जियो।
नगर सभा र जनप्रतिनिधिको भेटघाटमा म प्रायः दलित जनप्रतिनिधिहरूसँग अनुभव साटासाट गर्थेँ। एकजना दलित महिला जनप्रतिनिधिलाई बैठकमा नबोलाउने गरिएको रहेछ। बैठकमा भएको छलफलबारे जानकारी पनि दिइँदो रहेनछ।
त्यसबारे उहाँले अध्यक्षसँग सोध्नुभएछ।
'तपाईंलाई दलित महिला कोटा भएकाले यहाँ ल्याइएको हो, बैठकमा बोलाउनुपर्ने आवश्यकता नै छैन' भन्ने जबाफ पाउनुभएछ।
यो घटनाले हामी दलितहरू कति शोषित छौं भन्ने प्रस्ट देखाउँछ।
हामी दलित महिलालाई राजनीतिमा कहिल्यै पनि ठाउँ थिएन। चुनावमा भोट दिने बेलामा बाहेक कहिल्यै पनि हाम्रो गन्ती भएन। संविधानले दिएको अधिकार पनि व्यवहारमा राजनीतिक पार्टीहरूले नै खोस्छन्, नेतृत्व स्वीकार गर्नु त टाढाको कुरा।
यस्तो अवस्थामा चुप बस्न सक्ने कुरा भएन। यसबारे दलित समुदायबाटै सांसद बन्नुभएकी एक जना महिला सांसदसँग छलफल गर्यौं। उहाँले केही पहल पनि गर्नुभयो। तर दलितमाथिको विभेद एउटा पहल र एउटा बहसले मात्र अन्त्य हुने होइन।
२०७९ सालमा दोस्रो निर्वाचन भयो। म फेरि पनि निर्वाचित भएर थाती रहेका केही सपना पूरा गर्न चाहन्थेँ। म फेरि उम्मेदवार भएँ तर यसपल्ट नेपाली कांग्रेसका एक जना सदस्यबाहेक सबै पराजित भयौं।
हामी पार्टीभत्रको मनुमटाव र किचलोका कारण पराजित भयौं। चुनावपछि म कार्यपालिकामा मनोनीत गरिएँ। कार्यपालिकामा मैले सार्वजनिक स्थलहरूमा दलितहरूमाथि कसरी विभेद हुन्छ भन्ने कुरा उदाहरणसहित राख्दै आएँ।
कुक, वेटर, बारिस्ताजस्ता सीपमूलक तालिम लिए पनि दलितहरूले जातकै आधारले काम पाउँदैनन्। गाई पाल्दा दूध बिक्री हुँदैन। यो समस्याको मूल कारण जातका आधारमा हुने विभेद नै हो।
यस्ता कुरामा कार्यपालिका बैठकमा सधैं एकै खालको जबाफ पाउने गरेकी छु – हामीले सार्वजनिक ठाउँहरूमा विभेद हुन दिएका छैनौं। कति विकसित राष्ट्रहरूमा अहिले पनि होटलहरूमा 'ब्ल्याक पिपल नट अलाउड' भनेर लेखिएको हुन्छ; कति देशहरूमा अझै महिलाहरू बोल्न पाउँदैनन्; हाम्रो देशमा त धेरै प्रगति भएको छ; पुस्तौंदेखि चल्दै आएको कुरा एकैचोटी जबर्जस्ती हटाउन सकिँदैन; जबर्जस्ती गर्दा द्वन्द्व सिर्जना हुन्छ; हतार गर्नु हुँदैन। बिस्तारै हट्दै जान्छ।
दलितमाथिको विभेद अन्त्य गर्न हतार नहुनेहरूको जमातमा म आफ्नो कुरा उठाउन छाड्दिनँ।
मैले कार्यपालिकामा आवाज उठाइरहँदा एक जनाले 'आइरन लेडी' भन्ने संज्ञा दिए। त्यस दिनदेखि उनले मलाई त्यसै भन्ने गरेका छन्।
कति जना त मेरो तर्क क्षमताको प्रशंसा गर्दै कानुन विषय पढ्न सुझाउँछन्। यस्ता केही सकारात्मक कुराले मलाई ऊर्जा दिन्छन्।
तर यो राज्यले, यो समाजले, यो संरचनाले, यो प्रणालीले जनप्रतिनिधिको जात कहिलेसम्म देखिराख्छ? कहिलेसम्म हाम्रो ऊर्जा, आवाज, क्षमता र सिर्जनात्मकतालाई उचित स्थान दिन र उपयोग गर्नु निषेध गरिराख्छ?