बेइजिङ डायरी
'त्यसो भए तिमीले छङ्तूमा ह्वा ह्वालाई पनि भेट्यौ होला! उनी सबभन्दा सुन्दर छिन्। छङ्तू जाने सबैले उनलाई अवश्य एकपटक भेट्ने गर्छन्। गोलमोल शरीर अनि लचकदार हिँडाइ। उनको लजालु बानीले पर्यटकलाई तुरून्तै मोहित बनाइहाल्छ। सबै पाहुनालाई सहजै आकर्षण गर्ने सक्ने क्षमता छ उनमा। उनलाई देखेर तिमी पनि भुतुक्कै भयौ होला है!'
यो प्रश्न यही अगस्ट १८, आइतबार साँझ बेइजिङको एक रेस्टुरेन्टमा खाना खाँदै गर्दा एक चिनियाँ युवतीले मलाई अकस्मात सोधेकी थिइन्। मलाई एकैपटक अप्ठ्यारो, संकोच र असहज लाग्यो।
नेपालबाट आएका पत्रकारहरू मनोज दाहाल, अमृत तिमिल्सिना, कुलमणि ज्ञवालीसँगै शरद चौधरी, ओमप्रकाश गैरे र अमृत आचार्यलाई भेट्न गएको थिएँ म। उनीहरूका लागि दोभासेको काम गर्ने युवती थिइन् लिज वाङ। उनको घर सछ्वान प्रान्तको छङ्तूमा रहेछ।
'मैले थुप्रैपटक छङ्तू भ्रमण गरेको छु' भन्दा उनले उल्लिखित भनाइ राखेकी थिइन्।
मलाई सबै चिनियाँ उस्तै लाग्छन्, गुडिया जस्ता। साना आँखा, खिरिलो ज्यान, सर्लक्क कपाल अनि पहेँलो अनुहार। छङ्तूमा देखिएका हजारौं चिनियाँ युवतीमध्ये कुन चाहिँ थिइन् 'ह्वा ह्वा'!
नाम पनि कस्तो अनौठो फेरि!
'छङ्तूका सबै युवती सुन्दर छन्। त्यसमाथि चीनमा सबभन्दा सुन्दर युवती हुने ठाउँ भनेर छङ्तूलाई भनिन्छ होइन र,' कालोनीलो हुन खोजेको मेरो अनुहारको भाव लुकाउँदै साथीहरूका अगाडि मैले थोरै स्पष्टीकरण र केही नादानपन व्यक्त गरेँ।
लिज वाङले खितखिताउँदै भनिन्, 'हत्तेरिका! मैले त पाण्डाको पो कुरा गरेकी!'
केहीबेर मेरो अनुहारमा हेरेर हाँसोको फोहोरासँगै कराइन्, 'छङ्तूका केटीहरू राम्रा हुन्छन् तर ह्वा ह्वा जस्ती कसै गरे पनि हुन्नन् के!'
केही समय अगाडि लाजलाई लुकाउँदै गरेको मेरो मनोदशा अब चाहिँ लज्जावती झारझैं एकै डल्लो भएको थियो। उनका कुरा थिए आग्राका, म बुझ्दै थिएँ गाग्राका।
लिज वाङलाई भने केही फरक परेको थिएन।
उनी भन्दै थिइन्, 'अहिले चीनमा सबभन्दा प्रसिद्ध पाण्डामध्ये एक हुन् ह्वा ह्वा। यही पाण्डाको चित्रलाई गृष्मकालीन विश्व विश्वविद्यालय खेलकुद २०२१ को विज्ञापनमा देखाइएको थियो। ह्वा ह्वा आफ्नी जुम्ल्याहा बहिनी ह ये सँगै 'छङ्तू पाण्डा प्रजनन अनुसन्धान आधार' मा बस्छिन्। तिनीहरूका बाबु मेइ ल्यान अमेरिकामा जन्मेका हुन्। अहिले उनीहरूका बाबु पनि त्यहीँ छन्।'
लिज वाङको मुख्य काम विदेशीका लागि दोभासे। त्यसमाथि उनी पाण्डाको राजधानी भनेर चिनिने चीनको सछ्वान प्रान्तको छङ्तूकी। पाण्डा सम्बन्धी उनको व्याख्याले हामीलाई आश्चर्यसँगै मन्त्रमुग्ध बनायो। चीनमा हरेक पाण्डाको मान्छेको जस्तै नाम र पहिचान हुन्छ भन्ने कुरा पनि उनले बताइन्।
पाण्डा चीनको पहिचान पनि हो। संसारभरका मान्छेलाई चीन भनिसक्दा के सम्झनुहुन्छ भनेर प्रश्न गर्ने हो भने उनीहरूले दिने जबाफमा ग्रेटवाल र पाण्डा छुट्दैन। चीनका हरेक जसो चिडियाखानामा पाण्डा राखिएकै हुन्छ। चिडियाखानाभित्र पाण्डाका लागि अलग्गै क्षेत्र हुन्छ र त्यहाँ प्रवेश गर्न अलग्गै टिकट किन्नुपर्छ।
बेइजिङ, शाङहाई र शच्याच्वाङको चिडियाखानामा जाँदा भए भरका मान्छेहरू पाण्डा भएतिर नै झुम्मिएको मैले देखेको छु। अझ सछ्वान प्रान्तको सदरमुकाम छङ्तूको पाण्डा प्रजनन अनुसन्धान आधारमा त मान्छेको समुद्र नै ओइरिँदो रहेछ। सन् २०२३ जुन २५ मा त्यहाँ पुग्दा उखरमाउलो गर्मीमा पनि कहालीलाग्दो भिड थियो।
शिशु पाण्डा राखिएको ठाउँ अवलोकन गर्न मात्र पनि एक घण्टाभन्दा बढी पालो कुर्नुपर्ने।
वाह, पाण्डा क्रेज!
प्राकृतिक रूपमा पाण्डा चीनमा मात्र पाइने भएकाले यसमाथि चीनको एकाधिकार छ। चीनका लागि पाण्डा इज्जत, मान, सम्मान र प्रतिष्ठा मात्र नभइ पर्यटक आकर्षित गर्ने बल्छी र आम्दानीको मुख्य स्रोत पनि हो। त्यति मात्र होइन, अन्य देशसँगको सम्बन्ध सुधारमा पनि चीनले पाण्डालाई अगाडि सार्ने गरेको छ।
चीनको पाण्डा कूटनीति
चीनले पाण्डा कूटनीतिलाई निकै प्रभावकारी रूपमा अँगालेको छ। चीनले सन् १९४१ देखि १९८४ सम्म विभिन्न देशहरूलाई पाण्डा उपहार दिएको थियो। सन् १९८४ मा चीनले पाण्डालाई उपहार दिने नीति परिवर्तन गर्दै भाडामा दिने कानुन बनायो।
सन् १९४१ मा चियाङ काइसेककी श्रीमती सुङ मेइलिङले अमेरिकालाई पाण्डा उपहार दिएकी थिइन्। जापान विरूद्धको युद्धमा अमेरिकाले चियाङ काइसेकको कोमिङताङ सरकारलाई सहयोग गरेवापत उनले पाण्डा उपहार दिएकी थिइन्।
सन् १९४९ अक्टोबर १ मा जनगणतन्त्र चीन स्थापना भएपछि पनि चीनले पाण्डा कूटनीति कायम राख्यो।
सन् १९५७ देखि १९८३ सम्म चीनले विभिन्न नौ देशलाई २४ पाण्डा उपहार स्वरूप दियो। चीनबाट उपहारमा पाण्डा पाउने राष्ट्रहरू तत्कालीन सोभियत संघ, उत्तर कोरिया, अमेरिका, बेलायत, मेक्सिको लगायत थिए।
सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले चीन भ्रमण गर्दा अध्यक्ष माओले अमेरिकालाई एकजोडी पाण्डा उपहार दिएका थिए। त्यसको सट्टामा अमेरिकाले पनि चीनलाई एक जोडी कस्तुरी मृग उपहार दियो।
अमेरिकासँगको पाण्डा कूटनीतिले व्यापक सफलता प्राप्त गरेपछि सन् १९७४ मा ब्रिटिस प्रधानमन्त्री एडवर्ड हिथले चीन भ्रमण गर्दा पाण्डा उपहार मागे। चीनले बेलायतलाई दिएको त्यही एक जोडी पाण्डाको लोकप्रियताले गर्दा नै विश्व वन्य जन्तु कोषले आफ्नो लोगोमा पाण्डाको चित्र राखेको हो।
सन् २०१४ को मे २१ मा चीन मलेसिया कूटनीतिक सम्बन्धको ४० औं वार्षिकोत्सवका अवसरमा चीनले एक जोडी पाण्डा मलेसियालाई दियो। सोही वर्षको मार्चमा क्वालालम्पुरबाट बेइजिङ उडेको मलेसियन एयरलाइन्सको विमान बेपत्ता भएपछि चिसिएको सम्बन्धलाई पाण्डा उपहारबाट सुमधुर बनाउने काम गरेको थियो।
त्यसैगरी सन् २०१८ मा फिनल्यान्डले एक-चीन नीतिलाई अनुमोदन गरेपछि चीनले एक जोडी पाण्डा उपहार दियो। सन् २०१७ मा चीन-इन्डोनेसिया कूटनीतिक सम्बन्धको ६० औं वार्षिकोत्सवका अवसरमा इन्डोनेसियाले पनि एक जोडी पाण्डा प्राप्त गर्न सफल भयो। पाण्डा कूटनीति अनुसारै चीनले सन् २०१९ मा रूसलाई र सन् २०२३ मा बेलायतलाई एक/एक जोडी पाण्डा दियो।
चीनले पाण्डा कूटनीतिलाई निरन्तरता दिँदै आए पनि सन् १९८४ पछि पाण्डा उपहारमा नभई भाडामा दिन सुरू गरेको हो। तसर्थ, सन् १९८४ पछि चीनले दिएका हरेक पाण्डाको निश्चित भाडा असुल्ने गरेको छ।
भाडामा पाण्डा
सन् १९८४ मा चीनले पाण्डालाई उपहार दिनुको सट्टा भाडामा दिने नीति ल्यायो। चीनले पहिलोपटक पाण्डा भाडामा दिएको सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा आयोजित ओलम्पिक खेलकुदमा हो। उसले एक पाण्डाको मासिक ५० हजार अमेरिकी डलर भाडा लिने गरी दुइटा पाण्डा दिएको थियो। यो छोटो अवधिका लागि भाडामा दिने नीति थियो।
सन् १९९१ मा नीति परिमार्जन गर्दै दस वर्षसम्मका लागि पाण्डा भाडामा दिने अभ्यास सुरू गर्यो। यो अभ्यास अनुसार चीनले एउटा पाण्डाको वार्षिक १० लाख डलर भाडा लिन्छ। विदेशमा रहेको पाण्डाले बच्चा जन्माएमा त्यसको पूर्ण अधिकार चीनकै हुनेछ र बच्चाको पनि उही दरमा भाडा लाग्छ। दस वर्षपछि सम्बन्धित मुलुकले बच्चासहित पाण्डा फिर्ता गर्नुपर्छ।
पाण्डा भाडामा लिने देशलाई पनि सहज कहाँ छ र! पाण्डाको पालनपोषण र हेरचाह निकै महँगो पर्छ। पाण्डाको प्रिय खाद्यवस्तु बाँस हो। एउटा वयस्क पाण्डाले दैनिक सरदर ४० किलो बाँसको घाँस अथवा तामा खान्छ। सन् २०११ को एउटा प्रतिवेदन अनुसार स्कटल्यान्डको एडिनबर्ग चिडियाघरमा एक जोडी पाण्डाका लागि बाँसको घाँस र तामा खुवाउन वर्षमा एक लाख ७ हजार अमेरिकी डलर खर्च भएको थियो। पाण्डाको हेरचाह, औषधि उपचार, बासस्थान आदिको खर्च त कहाँ हो कहाँ!
चीनको सछ्वान प्रान्तमा सबभन्दा बढी पाण्डा पाइन्छ। त्यही भएर पनि यो प्रान्तलाई पाण्डाको राजधानी पनि भनिन्छ। सछ्वानबाहेक चीनका पल्लो शान्सी र कान्सु प्रान्तमा पनि पाण्डा पाइन्छ। यी तीनवटा प्रान्तका घना जंगलमा प्राकृतिक रूपमा रहेका १८६४ पाण्डा छन्। चिडियाखानामा संरक्षण गरेर राखिएका थप ६ सय पाण्डा छन्।
चीनको सछ्वान प्रान्तको 'छङ्तू पाण्डा प्रजनन आधार' मा पाण्डा हुर्काउन त्यहाँका कर्मचारीको मेहनत थाहा पाउँदा मात्र पनि अचम्म लाग्छ।
पाण्डा लजालु स्वाभावको हुन्छ। हेरचाह गर्ने मान्छेसँग रत्तियोस् भनेर त्यहाँका कर्मचारीले पाण्डाको पिसाब ड्रममा भेला गर्छन्। त्यो पिसाबमा पाण्डाको आकृति जस्तै कालो र सेतो रङको कपडा चोब्छन्। रेखदेख गर्ने मान्छे त्यही कपडा लगाएर पाण्डाको छेउछाउ जान्छन्। यसो गर्दा पाण्डाले मान्छेलाई पनि पाण्डा जस्तै मानेर रत्तिन्छ र उसको हेरचाह गर्न सहज हुन्छ।
पाण्डा राखेपछि संसारभरका लाखौं प्रशंसकहरू चिडियाखानामा आउँछन्। यसले चिडियाखानाको आम्दानीमा वृद्धि भए पनि पाण्डाको प्राकृतिक वातावरण भने बिथोल्छ। यसै पनि पाण्डा निकै लजालु र प्रजननका लागि सहबासमा त्यति जाँगर नदेखाउने स्वभावको जनावर हो।
आमाको शारीरिक बनोट अनुसार पाण्डाको बच्चा अत्यन्त सानो जन्मिन्छ। स्तनधारी जीवमा सबभन्दा सानो बच्चा जन्माउने प्राणी हो पाण्डा। जन्मिने बित्तिकै शिशु पाण्डाको वजन ९० देखि १३० ग्राम मात्र हुन्छ। जबकि आमा पाण्डा ७० देखि १२५ किलोसम्मको हुन्छ।
प्रजननमा कम रूचि राख्ने, एकपटकमा प्रायः एउटा मात्र बच्चा जन्मिने, जन्मिएको बच्चा बचाउन पनि निकै कठिन हुने आदि कारणले गर्दा पाण्डाको संख्या निकै कम रहेको मानिन्छ।
कोभिड महामारीको समयमा संसारभरका अधिकांश चिडियाखानामा दर्शकलाई प्रतिबन्ध लगाइएको थियो। अवलोकनकर्ताहरू नभएपछि हङकङका एक जोडी पाण्डाले सहबास गरेको समाचार नै बन्नुले पनि यिनीहरू प्रजननमा त्यति रूचि राख्दैनन् भन्ने बुझिन्छ। यद्यपि चिडियाखानामा संरक्षित पाण्डालाई सहबासको रूचि बढाउने औषधि खुवाएर अथवा कृत्रिम गर्भाधान गराएर पनि संख्या वृद्धि गराइँदै आएको छ। तसर्थ पछिल्लो समय संरक्षित पाण्डाको संख्या उल्लेख्य वृद्धि भएको छ।
हामीले गैंडासँग पाण्डा किन नसाट्ने?
सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्दैछ।
यो अवसरमा नेपालले चीनसँग पाण्डा किन नमाग्ने?
नेपालले चीनलाई अहिलेसम्म तीन जोडी गैंडा उपहार दिइसकेको छ। सन् २०१८ मा मात्र रूपसी र भद्र अनि मितिनी र सोल्टी (दुई जोडी गैंडाका नाम) दिएको थियो। तर एक चीनको सिद्धान्तमा अडिग नेपाललाई चीनले पाण्डा दिएको छैन।
एक जोडी पाण्डाको वार्षिक भाडा २० लाख डलर अनि यसको हेरचाहमा हुने थप खर्च। त्यसैले नेपालले चीनसँग पाण्डा माग्ने आँट गरेको छैन। पाण्डा भाडामा दिने चिनियाँ कानुन पनि तगारो बनेको हुन सक्छ।
तर अब नेपालले पहल गर्न सक्छ।
नेपालले पनि केटाकेटी (गैंडाका बच्चा) को भाडा लिने व्यवस्था गर्न सक्छ। नभए चिडियाखानामा पाण्डा राख्ने व्यवस्था मिलाउन सक्छ!
(चेतनाथ आचार्यका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)