सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट ल्याएको छ। झन्डै दुई तिहाइ बहुमत पाएको कम्युनिष्ट सरकारले कस्तो बजेट ल्याउँछ भन्ने आम चासो थियो।
सुरू सकारात्मक कुराबाटै गरौं। बजेटको आकार वास्तविक छ। अन्टसन्ट, पानीजहाज, ७६५ केभिएको प्रसारण लाइनजस्ता योजना बजेटमा परेका छैनन्।
अर्थमन्त्रीज्यूले बजेट श्रमबाट सुरू गर्नुभयो। उहाँको प्राथमिकता नै श्रम हो भनेर बजेट बनाउनुभएको छ।
आयोजना छनौट र कार्यक्रम बनाउँदा भने बजेट चुकेको छ।
जस्तो, २ वर्षमा २० लाख ल्याउने पर्यटक ल्याउने भनिएको छ। यो भनेको वार्षिक ३५ प्रतिशतको वृद्धि हो, जुन अहिलेका लागि हावादारी हो।
पर्यटक ल्याउने भनेर मात्र हुँदैन त्यसका लागि आधार तयार पार्नुपर्छ।
पर्यटक ल्याउने बाटोमा उहाँहरुको ध्यान छैन। निजगढ विमानस्थलल पाँच वर्षमा बनाउने भनेर वाम घोषणापत्रमा लेखिएको छ। नीति तथा कार्यक्रममा पाँच वर्षमा बनाउने भनेर तोकिएको छ। बजेटमासुरु गरिने भनिएको छ तर समय तोकिएको छैन। यसको अर्थ यो सरकारले निजगढ विमानस्थल बनाउँदैन बरु काभ्रेको नागीडाँडातिर जोड दिन्छ। किनकी बजेटमा काभ्रेमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरेर निर्माण पनि थालिने उल्लेख छ।
निजगढ विमानस्थल नबन्ने हो भने द्रुतमार्गको भविष्य पनि अन्यौल हुन्छ।
बजेटमा कृषिमा उत्पादन भन्नुभएको छ। योभन्दा अगाडि नीति तथा कार्यक्रममा उत्पादकत्व भन्नुभएको थियो। उत्पादन र उत्पादकत्व फरक हुन्। उहाँहरू यता र उता घुमिराख्नुभएको छ। कृषिको विकास गर्न अरु केही गर्नपर्दैन मुख्य चार वटा सिचाइँ आयोजनालाई पूरा गरे पुग्छ।
करको दायरा बढाएर २० प्रतिशत अतिरिक्त लगाउने भनिएको छ। हाम्रो चुनौती भनेको कर तिर्ने मान्छे बढाउने हो। बजेटले जसले कर तिरेको छ त्यसलाई ठोक्ने नीति लिएको छ। आधार विस्तार नगरेर दर बढाइएको छ। उहाँहरु दायरा बढाउनेतिर लाग्नु लाग्नुभएन।
बजेटमा धेरै कार्यक्रम पहिलेकै निरन्तरता छन् त्यसमा केही भन्नु छैन।
आर्थिक वृद्धिदरमा अहिले टिप्पणी गर्नु हतार हुन्छ। यसमा अध्ययन गर्न आवश्यक छ।
पछिल्ला दुई वर्षको आर्थिक वृद्धिदरलाई कायम राख्ने हो भने ८ प्रतिशतको वृद्धिदर हासिल चुनौतीपूर्ण छ तर असम्भव छैन।