महात्मा गान्धीलाई म मार्क्सवादको आँखाबाट हेर्छु। किनभने म कबुल गर्छु म मार्क्सवादी हुँ। गान्धीलाई मार्क्सवादको आँखाबाट हेर्न सकिन्छ। हेर्दा हुन्छ।
मार्क्सवादी दृष्टिकोणले गान्धीलाई हेर्ने भनेको गान्धी कस्तो समाजको उपज, कस्तो समाजलाई उहाँले लिड गर्नुभयो, कस्तो समाजले उहाँलाई जन्मायो यो कुरा मुख्यत: गान्धीलाई चिन्ने कुरा हो।
यस्तो चिन्तनले गान्धीलाई न ईश्वर बनाउँछ न त खाली प्रशंसा मात्रै गर्छ। प्रशंसा मात्रै गरेपछि सिक्ने कुरा केही हुँदैन। कसैलाई ईश्वर बनाएपछि ऊबाट केही सिकिँदैन। उसका प्रति भक्ति मात्रै हुन्छ। सिक्नका लागि त मान्छे नै खडा गर्नुपर्छ। जस्ताको त्यस्तै सिक्ने विधि नै मार्क्सवादको विधि हो भनेर म आफ्नो कुरा राख्छु।
एक वाक्यमा भन्ने हो भने रक्तरञ्जित साम्राज्यको, उपनिवेश विस्तारको अर्थमा व्रिटिस उपनिवेशको ठूलो इतिहास छ। रक्तरञ्जित कहानी छ। भारत विभाजनसम्म थुप्रो इतिहास छ। यत्रो रक्तरञ्जित हिंसात्मक इतिहासको एउटा अहिंसात्मकताबादी नेता देखिन्छ गान्धी। यस्तो अहिंश्रक, अहिंसाबादी नेता जसको मन बचन र कर्मले ऊ अहिंश्रक देखिन्छ। हिंसाको विरुद्धमा देखिन्छ तर उसले नेतृत्व गरेको समग्र इतिहास अहिंसात्मक छैन। असाध्यै धेरै रगत र पसिना बगेको छ। दु:ख पीडा बगेको देखिन्छ गान्धीलाई हेर्दा।
अर्को भाषामा भन्दा हरेक राष्ट्रिय आन्दोलनले कुनै न कुनै हिसाबले आफ्नो प्रतिनिधि जन्माएका छन्। विभिन्न ठाउँमा। भारतीय स्वतन्त्रता संग्राम एउटा लामो संघर्षको इतिहास हो। त्यसमा समग्र भारतको प्रतिनिधित्वका रुपमा गान्धी देखा पर्नुहुन्छ।
कस्तो समाज, कसरी उहाँ जन्मिनुभयो भन्ने कुरा आज फेरि फर्केर हेर्दा महत्वपूर्ण हुन्छ। एउटा सम्पन्न ब्यापारीको छोरो, इङ्ल्याण्ड पढेको, त्यतिखेर संसारभरि फैलिएको तर थाम्न असाध्यै गाह्रो भइरहेको साम्राज्यको बीचमा पढेको। पछि अफ्रिका, त्यहाँको भेदभाव। न्यायको त्यो आदर्शको कुरा पढेको मान्छेका लागि अफ्रिकामा भएको वर्णविभेदले उद्धेलित गर्नु स्वभाविक नै थियो।
भारत फर्किसकेपछि पनि साम्राज्य एकदम उत्कर्षमा पुगेको। पहिलो विश्वयुद्धको रिहलसल सुरु हुँदै थियो। उपनिवेशहरुको बाँडचुँडमा साम्राज्य तानातानीले विश्वयुद्धमा जाँदैछ संसार भन्ने कुरा करिब करिब सबैले बुझ्न थालेका थिए।
भारतजस्तो ठूलो ठाउँ जहाँ मुक्तिका लागि ठूला प्रयत्न भइराखेका थिए त्यहाँ गान्धी आउनुभयो। समाजका हिसावले भन्ने हो भने त्यहाँ हिन्दु थिए। ४/५ हजार वर्षको हिन्दु इतिहास छ। मुसलमानहरुको इतिहास छ। बुद्धले अहिंसाका लागि त ठूलो प्रभाव पारेको छ। क्रिश्चियन पनि छ। एउटा युगको चेतनालाई हामी यसरी हेर्न सक्छौं।
विविधतापूर्ण ठाउँमा पुँजीवाद। त्यो पनि साम्यवादले थुपारेको पुँजीवाद। विकास हुँदैछ तर जमिनदारहरुको पकड भारतभरि छ। पुँजीवाद बढ्दै छ। जमिनदारको पकड उत्तिकै छ। धेरै ठाउँमा जमिनदार र व्रिटिस पूँजीपतिहरु मिलेका छन् र त्यहाँको स्वतन्त्रता आन्दोलनविरुद्धमा षड्यन्त्र गरेका छन्। यो एउटा वस्तुगत अवस्था।
त्यहाँको जमिनदारले पनि गान्धीलाई आफ्नो नेता भन्न सक्ने। त्यहाँको राष्ट्रिय पूँजीपति जो व्रिटिसहरुले आफ्नो देशलाई लुटेर आफ्नो देशको ब्यापार सत्यानाश भएको कुरामा चिन्तित हुन्थे ती उद्योगपति व्यापारीहरु पनि आफ्नो नेता गान्धीलाई देख्ने। धनीको शासन न्यायपूर्ण हुँदैन। तर गान्धी न्यायको कुरा गर्नुहुन्छ। यसले समस्त किसान र मजदुरले पनि आफ्नो अनुहार गान्धीमा देख्छन्। कुनै न कुनै हिसावले यो त हाम्रो कुरा गर्दैछ भन्छ। न्यायको कुरा गर्दैछ। गरिबी विरुद्धको कुरा गर्दैछ। साना उद्योगहरुको कुरा गर्दैछ। सबैको पहुँचको कुरा गर्दैछ।
गान्धीको व्यक्तित्व किन राष्ट्रिय भयो? किन एक जना मान्छे भारतीय स्वतन्त्रता संग्रामको केन्द्रीय पात्र बन्यो भने समग्र परिस्थितिमा गान्धी त्यो पात्र बन्नुभयो। अहिंसा अर्थात् गान्धीजी भाग्ने कुरा गर्नुहुन्न। असाध्यै क्रान्तिकारीहरुले पनि कहीँ न कहीँ गान्धीमा आफ्नो छायाँ देख्छन् किनभने त्यहाँ प्रतिरोधको कुरा छ।
गान्धीबाट हामीले सिक्ने?
भारतले मुक्त हुन एउटा नेता खोजिराखेको थियो। सबैले आफ्नो अनुहार देख्ने नेता गान्धी हुनुभयो। गान्धीबाट हामीले आज के सिक्ने भन्दा मुख्यत अहिंसा नै होला। तपाईंको धर्म के हो भन्दा गान्धी पटक पटक के भन्नुहुन्छ भने सत्य मेरो ईश्वर हो, ईश्वर प्राप्त गर्ने साधन चाहिँ अहिंसा हो भन्नुहुन्छ।
उहाँ धार्मिकभन्दा आस्तिक हुनुहुन्थ्यो। कुनै खास धर्मका पछाडि उहाँको लगाव थिएन। यसले धर्मविरोधी समाजलाई पनि लिड गर्न सक्ने गरी उहाँ आउनुभएको थियो भन्ने लाग्छ।
मार्क्सका बारेमा कुरा गर्दा पनि धर्मविरोधी भनेर प्रचार गरिएको छ। मार्क्सलाई धर्म र ईश्वरसँग कुनै दुश्मनी थिएन। तर ईश्वर र धर्मलाई मान्छेभन्दा ठूलो राखेर जब मान्छेलाई दास बनाउन कसैले उपयोग गर्थ्यो त्यस्तो धर्म र ईश्वरविरुद्ध मार्क्स हुनुहुन्थ्यो।
गान्धी सामाजिक परिवर्तनको कुरा गर्दा सानो उत्पादनको पक्षमा हुनुहुन्थ्यो। मान्छेहरुका आफ्नो स्वामित्वमा साना कुटिल उद्योगहरु हुनेछन् त्यसमा मानिसहरु मिलेर काम गर्नेछन् र बस्नेछन् भन्ने। आफ्नो उत्पादनको राजनीतिक प्रणाली आफैँ चलाउनेछन् त्यस्तो एउटा गाउँ र समाज हुनेछ भन्ने गान्धीको कुरा छ।
हिंसा भन्ने कुरा सधैँभरि रहिरहने कुरा होइन। यसको पनि ऐतिहासिकता छ। कहाँ हिंसा हुन्छ कहाँ हिंसा हुँदैन। कसलाई हिंसा भनिन्छ कसलाई हिंसा भनिँदैन। हिंसाको सबै ठेक्का पहिला ईश्वरकै थियो। ईश्वरका नाममा राजाहरुको थियो। जमिनदारहरुको थियो। हिंसा गर्ने एक मात्र ठेक्का ईश्वरका तर्फबाट राजाहरुले र जिमदारहरुले लिएका थिए।
पछि विज्ञान र प्रविधिले ईश्वरमाथि प्रश्न खडा गर्दै गयो। अब हिंसा मान्छेको बनोटमा सामाजिक संगठनमा आउन थाल्यो। जहाँ लोकतन्त्र छैन, सामन्तबाद छ ती ठाउँमा निसन्देह त्यो क्रान्तिकारी आन्दोलन, स्वाधीन आन्दोलन, राष्ट्रियताको आन्दोलन त्यो हिंसात्मक हुन्छ।
लोकतान्त्रिक देशमा क्रान्ति शान्तिपूर्ण अहिंसात्मक हुन्छ भन्नेमा म विश्वास गर्छु। भारतीय कांग्रेस बनाउने गान्धीको स्वतन्त्रता हुँदैनथ्यो भने गान्धीहरु के गर्नुहुन्थ्यो? गान्धीको आदर्श सिक्ने भनेको सबै राष्ट्रबीच सम्मान, साझा, स्वतन्त्रतापूर्ण सम्वन्ध, एकले अर्कोको सार्वभौमसत्तालाई साँच्चिकै स्वीकार गर्ने। यस्ता विषय कमजोर पारेर गान्धीका आदर्श स्वीकार गर्न सकिन्न।
(नेकपा नेता घनश्याम भुसालले मंगलबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५० औं गान्धी जयन्तीको अबसरमा २१ औं शताब्दीको लोकतन्त्र र गान्धी विचार विषयक कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश।)