कोभिड अस्पतालमा राख्ने ठाउँ थिएन। उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा पुर्याइयो। ती बिरामीलाई सघन उपचार कक्ष (आइसियू) चाहिएको थियो। स्वास्थ्यकर्मीहरूलाई यसको राम्रै हेक्का पनि थियो। तर, त्यहाँ पनि आइसियू भरिभराउ थियो। केही सिप नचलेपछि बाराका ती बिरामीलाई आकस्मिक कक्षमै राखियो।
त्यहीँ उनले आफ्नो अन्तिम सास फेरे।
यसअघि बुधबार राति यस्तै अवस्थामा अस्पताल ल्याइएका ६० वर्षीय पुरुषले बल्लतल्ल भेन्टिलेटर पाएका थिए। बिहीबार बिहान उनको पनि निधन भएको छ।
उनीहरू दुवैलाई कोरोना लागेको-नलागेको पुष्टि भइसकेको छैन। मृत्यु हुनुअघि नै स्वाब लिइएपनि रिपोर्ट नआएको अस्पतालले जनाएको छ।
यी दुई घटनाले पछिल्लो समय कोरोना संक्रमणको 'हटस्पट' बनेको वीरगन्जको वेदना झल्काउँछ। वीरगन्जस्थित गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय सिंह बिरामी राख्ने ठाउँ नभएर उपचारमा समस्या आएको बताउँछन्।
‘क्षमताभन्दा बढी बिरामी राखेर उपचार गराइरहेका छौं। बरण्डा, प्यासेज कहीँ खाली ठाउँ बाँकी छैन,’ उनले सेतोपाटीसँग भने, 'उपचार गर्ने ठाउँ नहुँदा कतिपय बिरामी घन्टौंसम्म अस्पतालअगाडि गाडीमै बस्न बाध्यता छन्।'
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय पनि कोरोना संक्रमितहरू बढेसँगै एकैपटक धेरै जटिल बिरामी अस्पताल आइपुग्ने र सेवा दिन नसक्ने अवस्था बनेको बताउँछन्।
कोरोना महामारीपछि नारायणी अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन मिलाउने र वीरगन्ज महानगरपालिकाले आर्थिक पाटो हेर्ने गरी करिब चार किलोमिटर परको गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पतालमा रूपान्तरण गरिएको छ। सँगै रहेको वीरगन्ज हेल्थ केयर कोभिड अस्पताल पनि सञ्चालनमा ल्याइएको छ।
गण्डकको क्षमता १०० शैया र वीरगन्ज हेल्थ केयरको ५० शैया गरी जम्मा १५० जना कोरोना बिरामीको उपचार गर्न सक्ने क्षमता छ। तर, अहिले नै यी दुई अस्थायी अस्पतालमा १७३ जना बिरामी उपचाररत छन्।
महानगरका केही होटल, धर्मशाला र विद्यालयहरूलाई आइसोलेसन बनाइएको छ, जहाँ अहिल्यै करिब ४०० कोरोना संक्रमित छन्।
अस्थायी अस्पतालहरूमा रहेको ३४ शैयाको आइसियू पनि बिरामीले भरिएको छ। केही दिनअघि कोरोना बिरामीकै लागि भनेर नारायणी अस्पतालमै ५ शैयाको आइसियू तयार पारिएको थियो, जुन भरिभराउ छ।
असार मसान्तसम्म दुई जना मात्रै संक्रमित रहेको वीरगन्जमा अहिले संक्रमित संख्या ११०० नाघेको छ। तीमध्ये ४५० जना संक्रमित होम आइसोलेसनमा रहेको रेकर्ड अस्पतालले राखेको छ। तिनको खबर भने छैन।
‘उनीहरू के गर्दै छन्, कसरी बस्दैछन् हामीलाई जानकारी छैन,' डा. सिंहले भने, ‘उनीहरूको निगरानी र अनुगमन गर्न हामीसँग जनशक्ति नै छैन।'
वीरगन्जमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ। डा. सिंहका अनुसार पछिल्ला दिनमा लक्षणसहितका संक्रमित धेरै देखिन थालेका छन्। अस्पतालमा स्रोत, साधन र जनशक्ति अभावले उनीहरूको उपचार गर्न सकिएको छैन।
‘उपचार नपाएर मान्छे मरेको हामीले लाचार भएर टुलुटुलु हेरिरहनुपर्ने अवस्था आएको छ,’ डा. सिंहले भने।
पर्साका विभिन्न अस्पतालका १०० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। नारायणी अस्पतालमा काम गर्ने मात्रै ५१ जना स्वास्थ्यकर्मी संक्रमित छन्। बाँकीमध्ये २० जना गण्डक अस्पतालमा काम गर्छन् भने अन्य २० जनाले अन्यत्र रहेका आइसोलेसनमा काम गर्छन्।
‘सयौं बिरामीलाई २०/२५ जनाले सेवा दिनुपर्ने बाध्यता छ,’ नारायणी अस्पतालका मेसु डा. उपाध्याय भन्छन्, ‘कोरोनाको हटस्पटमा यति जनशक्तिले काम दिनुपर्ने बाध्यताले कस्तो अवस्था निम्त्याउला म आफैं कल्पना गर्न सक्दिनँ।’
आइसियू क्षमतालाई १०० शैया र आइसोलेसन क्षमता १००० पुर्याउन सके मात्र अहिलेको अवस्थामा सबै बिरामीलाई सेवा दिन सकिने उनको भनाइ छ। बेलैमा तयारी गर्न नसक्दा अवस्था संवेदनशील बन्दै गएको डा. उपाध्यायले बताए।
‘चुनौती ठूलो छ, अब तत्काल संरचना निर्माण गर्न पनि सहज छैन,’ उनले भने।
जटिल अवस्था सिर्जना भएको भन्दै प्रदेश र केन्द्र सरकारले अझै पनि चासो नदेखाए केही दिनमा भयावह अवस्था आउने डा. सिंह बताउँछन्।
जिम्मेवारी पनि प्रदेश र केन्द्र सरकारले नै लियोस्: मेयर सरावगी
वीरगन्जका मेयर विजयकुमार सरावगी धेरै कोशिस गर्दा पनि आफूलाई काम गर्न नदिइएको दाबी गर्छन्। आफैंलाई कोरोना संक्रमण भएपछि काठमाडौं गएर आइसोलेसनमा बसेका सरावगी वीरगन्जमा भयावह अवस्था अउनुमा दुईवटा विषय जिम्मेवार ठान्छन्।
पहिलो, भारतसँगको सीमामा कडाइ गर्न नसक्नु। दोस्रो, पिसिआर परीक्षणको दायरा नबढाइनु।
‘यी दुई विषयमा ध्यान जाओस् भनेर मैले प्रदेश र संघीय सरकारलाई पटक–पटक आग्रह गरेँ, तर कसैले मेरो कुरा वास्ता गरेनन्,' उनले भने, ‘त्यसैको परिणाम हो यो। हेर्दै जानुस् अझै के–के हुन्छ।’
उनले स्थानीय निकायलाई अधिकार नदिँदा कोरोना भाइरसले भयावह अवस्था सिर्जना गरेको बताए।
सरकारसँग कोरोना नियन्त्रणका लागि स्पष्ट योजना नरहेको भन्दै उनले थपे, ‘प्रमुख जिल्ला अधिकारीलाई मालिक बनाएर हामीलाई कारिन्दा बनाउने नीतिले डाँवाडोल बनायो।’
वीरगन्जका कर्मचारीहरूले कामभन्दा बढी राजनीति गर्ने गरेको टिप्पणी गर्दै उनले कोरोना नियन्त्रणका लागि उनीहरूले कुनै प्रयास नगरेको दाबी गरे।
‘वीरगन्जमा जति पनि काम भएका छन्, महानगरको प्रयासले भएका छन्। कोभिड अस्पताल, आइसोलेसन, क्वारेन्टिनदेखि ल्याबसम्मको व्यवस्था महानगरले गर्यो,' उनले भने, ‘प्रदेश सरकारले केही पनि गरेन। संघीय सरकारले एउटा पिसिआर मेसिन दिनेबाहेक केही गरेको छैन।’
कोरोना रोकथामका लागि अर्बौं खर्च गरेको भनिए पनि वीरगन्जले अनुभूति गर्न नपाएको उनले बताए। उनका अनुसार अस्पतालमा जनशक्ति, औषधि, किट माग गर्दा कहिल्यै समयमा दिइएन।
‘नसक्ने भए हामी सक्दैनौं, महानगरले नै गर्नुपर्यो भन्नुपर्थ्यो। हामी तयार छौं, सक्षम पनि छौं तर आफू पनि नगर्ने हामीलाई पनि गर्न नदिने अवस्था आयो,' उनले भने, ‘यो अवस्था ल्याएकोमा जिम्मेवारी पनि प्रदेश र केन्द्र सरकारले नै लियोस्।’
वीरगन्जलाई चौपट बनाएको भन्दै उनले काठमाडौंले यसको मूल्य चुकाउनुपर्ने बताए। भने, ‘जनताको सुरक्षाका लागि हामी सदा खटिरहेका छौं, अझै पनि सकेको प्रयास गर्छौं।’