अस्पतालै अस्पतालले भरिएको र 'मेडिकल सिटी' भनिने चितवनको भरतपुरमा अहिले कोरोना संक्रमितको उपचार गर्न एउटा पनि शैया छैन। केही दिनयता चितवनमा संक्रमण बढेपछि यस्तो अवस्था आएको हो।
अहिलेसम्म चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित यहाँ २०९ जनामा कोरोना संक्रमण भइसकेको छ। पछिल्लो समय सक्रिय संक्रमित संख्या नै ८३ पुगेको छ।
सोमबार मात्र कन्ट्याक्ट ट्रेसिङका क्रममा तीन जना संक्रमित भेटिए। भरतपुर महानगरपालिकाका जनस्वास्थ्य अधिकृत केशव भट्टले सोमबार दिउँसो उनीहरूलाई राख्न भरतपुर अस्पतालमा सम्पर्क गरे। तर, ठाउँ छैन भन्ने जवाफ आयो।
अस्पतालले अन्तिम दुई जनासम्म राख्न सकिने तर अर्कोलाई नसकिने जवाफ पठाए पनि उनीहरूले गाडीमा हालेर तीनै जनालाई पठाइदिए।
‘शैया छैन भन्दै हुनुहुन्थ्यो, हामीसँग पनि अन्य विकल्प थिएन। केही गरेर व्यवस्थापन गर्नुभयो होला,’ भट्टले सेतोपाटीसँग भने।
भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले पनि कोरोना संक्रमितहरूका लागि तयार पारिएको ७५ शैया भरिएको बताए। ‘५३ जना कोरोना पोजेटिभ छन्। अन्यj शैयामा उनीहरूसँग सम्पर्कमा रहेकाहरू छन्,' उनले भने।
सोमबार महानगरले पठाएका ३ सहित १० जना नयाँ संक्रमित अस्पतालमा थपिएका छन्। उनीहरूलाई जसोतसो राख्ने ठाउँ निकाले पनि अब थप बिरामी राख्ने शैया नभएको अस्पताल प्रशासन बताउँछ।
सूचना अधिकारी पौडेलले अब राख्नै पर्ने भए वरू वार्ड खाली गर्नुपर्ने बताए।
‘अब अस्पतालको प्रसूति वार्ड, मेडिसिन वार्डहरूलाई खाली गरेर कोरोना संक्रमितलाई राख्नेबाहेक विकल्प छैन,' पौडेलले भने, ‘हामीले अब तत्काल नयाँ बिरामी राख्न सकिँदैन भनेका छौं।’
चितवनमा ३० जना संक्रमित होमआइसोलेसनमा छन्। 'घर हुनेलाई त होम आइसोलेसनमा बस भनौँला नहुनेलाई कता जाउ भन्ने?' भरतपुरमा कन्ट्याक्ट ट्रेसिङको नेतृत्व गर्दै आएका अधिकृत भट्टले भने, 'कोरोना संक्रमितको व्यवस्थापनका लागि तत्काल निर्णय नगरे यहाँ जटिल अवस्था आउन सक्छ ।'
सरकारले निजी अस्पतालहरूलाई पनि कोरोनाका बिरामी जाँच्न निर्देशन दिए पनि सबैले भरतपुर अस्पताल नै रिफर गर्दै आएका छन्।
भरतपुरमै तामझामका साथ बनाइएको ७५ शैयाको अस्थायी कोरोना अस्पताल असारदेखि बन्द छ। बिरामीको चाप बढ्दै गए स्कुल अफ हेल्थ साइन्सको भवनमा अस्थायी अस्पताल सञ्चालन गर्ने विकल्प रहेको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारी बताउँछन्।
त्यसका लागि स्वीकृति पाइसकेको भए पनि अस्थायी अस्पताल सञ्चालनको काम अघि बढाइसकेको छैन। कोरोना संक्रमण भने दिनहुँ बढेको छ।
सरकारी अस्पतालमा १० आइसियू र भेन्टिलेटर दुईवटा मात्रै छन्। यहाँ कार्यरत ५ जना चिकित्सक र दुई जना नर्सलाई कोरोना संक्रमण भएको छ। चितवन जिल्लाभरमा अहिलेसम्म करिब दुई दर्जन स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ।
सरकारी निर्णयले महामारी बढाउँछ : निजी अस्पताल
सरकारी अस्पतालले नयाँ संक्रमितलाई उपचार गर्न ठाउँ नभएको बताइरहँदा चितवनका निजी अस्पताल तथा मेडिकल कलेजहरूले पनि तत्काल कोरोना संक्रमितको उपचार गर्न नसक्ने बताएका छन्।
निजी अस्पताल सञ्चालक समिति चितवनका सचिव विक्रम अधिकारीले निजी अस्पतालहरूले कोरोना संक्रमितको उपचार गर्नैपर्ने सरकारको निर्देशन अव्यवहारिक रहेको बताए।
‘सबै अस्पतालले कोरोनाका बिरामीको उपचार गर्दा महामारी झन् बढ्छ,' उनले सेतोपाटीसँग भने, ‘सरकारले अवस्थाको अध्ययन नै नगरी जबर्जस्ती निर्णय लाद्न खोजेको छ। यो सम्भव छैन।’
उनले कनिका छरेजसरी बिरामी छर्दा भुसको आगोझैं महामारी फैलिने भन्दै निर्णय फिर्ता लिन माग गरे।
‘यस्तो निर्णय लाद्ने हो भने बिरालोलाई कोठामा थुनेर पिट्दाको जस्तो अवस्था हुन्छ’, अधिकारीले भने, ‘निजी अस्पतालमा ताला लगाउने अवस्था आउन सक्छ।’
चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा. हरिशचन्द्र न्यौपाने २० प्रतिशत संक्रमित राखेर बाँकी ८० प्रतिशत बिरामीलाई जोखिममा धकेल्न नसकिने बताउँछन्।
उनले कुनै एउटा अस्पताललाई कोरोना विशेष अस्पताल बनाएर अन्य अस्पतालमा अन्य रोगका बिरामी उपचार गराउनुपर्ने बताए।
‘भरतपुर अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेको छ, यहाँको पूरै ६ सय शैयालाई कोरोना संक्रमितको उपचारका लागि प्रयोगमा ल्याउन सकिन्छ,’ उनले भने, ‘पूरै शैयाले पनि धानेन भने हामी अस्पताल खाली गरेर कोरोना संक्रमितको उपचारका लागि तयार हुन्छौं।’
अन्य बिरामी हुँदाहुँदै उनीहरूको स्वास्थ्यलाई जोखिममा राखेर कोरोना संक्रमितको उपचार गर्न नसकिने उनको तर्क छ।
चितवनमा निजी अस्पतालहरूको ७ सय शैया क्षमता छ। दुईवटा मेडिकल कलेजहरूको क्षमता १५ सय शैयाको छ। निजी अस्पतालहरू १५ शैया सम्मका पनि छन्।
‘साना अस्पतालका स्रोत, साधन र जनशक्ति कम हुन्छन्, त्यहाँ कोरोना संक्रमितका लागि छुट्टै व्यवस्था कसरी मिलाउने?’ सचिव अधिकारीले भने, ‘भएका स्वास्थ्यकर्मीलाई संक्रमण भइहाले बिरामीलाई कसले हेर्ने?’
स्रोतसाधन भएको क्यान्सर अस्पतालसमेत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि बन्द भएको अवस्थामा निजीबाट अपेक्षा गर्नु नै गलत भएको उनको भनाइ छ।
अधिकारीले सरकारी अस्पताललाई कोरोना संक्रमितको अस्पताल बनाएर त्यहाँका अन्य बिरामीलाई निजी अस्पतालले सरकारी शुल्कमा उपचार गराउने व्यवस्था गर्न सकिने बताए।