भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्ययनरत निशा सुनार बुधबार नेपाल कम्युनिष्ट पार्टीको हँसिया हथौडा अंकित झण्डा बोकेर सडकमा आइपुगिन्।
भरतपुरको चौबीसकोठीबाट केन्द्रीय बस टर्मिनलतर्फ जाँदै गरेको जुलुसमा भेटिएकी उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ को भाषण सुन्न चाहन्थिन्।
‘दाइहरूले प्रचण्ड आउँछन्, विद्यार्थीको लागि र्याली हो भनेर भनेर बोलाउनु भएर आएको,’ उनले भनिन्, ‘हाम्रो लागि राम्रो हुन्छ कि भनेर आयौं।’
उनीसँगै रहेका सोही क्याम्पसका अधिकांश छात्राहरूले के को लागि जुलुसमा आएको हो मेसो नपाएको बताए।
उनीहरूलाई सभामा प्रचण्डले सम्बोधन गर्दैछन् भनिएको थियो तर सभा सकिनै लाग्दा पनि उनीहरूले प्रचण्ड नआएको मेसो पाएका थिएनन्।
प्रतिनिधिसभा पुनर्स्थापनाबारे थाहा छ? भन्ने प्रश्नमा उनीहरूले थाहा नभएको प्रतिक्रिया दिए।
सूर्य चिन्ह अंकित झण्डा बोकेर विजय जुलुसमा पुगेकी गुरुकुल कलेजकी एक छात्राले सेतोपाटीसँग भनिन्, ‘केका लागि विजय जुलुस हो त थाहा छैन। हामी त कलेजको शुल्क घटाइदिने सुनेर आयौं।’
समूहमा रहेका उनीहरूले अनलाइन कक्षा नचलाई कलेजले शुल्क मागेको भन्दै शुल्क मिनाहका लागि जुलुसमा आएको बताए।
‘पार्टीका दाइहरूले जुलुसमा गयो भने शुल्क घट्छ भन्नुभएको थियो, पढ्दै नपढेको शुल्क घट्यो भने पनि राम्रै हुन्थ्यो भनेर आएको,’ उनले भनिन्।
सभामा सम्बोधन गर्न नेकपाका अध्यक्ष प्रचण्ड मंगलबार चितवन आएर पनि फर्किएको उनीहरूले सुनेका थिए तर किन सम्बोधन नगरी फर्किए भन्ने कुरा भने नबुझेको उनीहरूले बताए।
सभामा सम्बोधन गरेका कुनै पनि नेतालाई नचिनेको उनीहरूले बताए।
नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको विजय जुलुस र सभामा सयौंको संख्यामा विद्यार्थीहरू सहभागि थिए।
उनीहरूले ‘प्रचण्ड हाई–हाई, केपी ओली बाई–बाई’, ‘प्रचण्ड–आइ लभ यू’ जस्ता नारा लगाएका थिए।