नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले दलको नेताबाट गंगाराम चौधरीलाई हटाएकी छन्।
अध्यक्ष श्रेष्ठले गत साउन १५ गते चौधरीलाई स्पष्टीकरण सोधेकी थिइन्।
त्यसको जबाफ चित्तबुझ्दो नभएको भन्दै श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएकी हुन्।
दलका नेता चौधरीले साउन ३, ९ र ११ गते पार्टीको अन्तरिम विधान २०७८ विपरीत गएर बैठक बोलाएको, हुँदै नभएको महासचिवको ओहोदा उल्लेख गरी पार्टीको लेटरप्याड र छापसमेतको दुरूपयोग गरेको भन्दै अध्यक्ष श्रेष्ठले स्पष्टीकरण सोधेकी थिइन्।
'उक्त स्पष्टीकरण पेस गर्ने पत्रको जबाफ स्वरूप तपाईंबाट प्राप्त भएको पत्रमा आफूलाई लागेको आरोप उपर स्पष्ट पार्नुको साटो उल्टै आरोप प्रत्यारोप गर्ने किसिमले पत्राचार गरेकोमा तपाईंले साउन स्पष्टीकरण सन्तोषजनक नभई अनुशासन विपरीत कार्य गरेकोमा किन कारबाही नगर्ने भनी पुनः स्पष्टीकरण पेस गर्न साउन गते पुनः पत्राचार गरेकोमा तपाईंबाट कुनै स्पष्टीकरण प्राप्त भएको छैन,' अध्यक्ष श्रेष्ठले भनेकी छन्।
पार्टीको अन्तरिम विधान, २०७८ को धारा १७ (क) बुदा नम्बर (२), (३), (४) मा उल्लेखित पार्टीको हितविपरीत हुने गरी काम गरेको पुष्टि भएकाले चौधरीलाई दलको नेताबाट हटाएको श्रेष्ठले बताएकी छन्।
अध्यक्ष श्रेष्ठले संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधानविपरीत केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेकाले कारबाही गर्नुपरेको उल्लेख गरेकी छन्।
त्यस्तै संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको बैठकको निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरूपयोग गरी विभिन्न निर्णय एवं पत्राचार गरेको पनि आरोप लगाएकी छन्।
यस्तै दल त्याग गरेको एवं केन्द्रीय कमिटी पदाधिकारीसमेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको पनि उल्लेख गरेकी छन्।
नाउपा संरक्षक रेशम चौधरी पक्षले राष्ट्रिय भेला डाकेर गत साउन १४ गते रञ्जिता श्रेष्ठलाई पार्टीको अध्यक्षबाट हटाएको थियो। सोही भेलाले संरक्षक रेशम चौधरीको पिता लालवीर चौधरीलाई पार्टी अध्यक्ष पनि बनाएको थियो। तर पार्टी अध्यक्षले नबोलाएको बैठकलाई वैध मान्न नसक्ने र संस्थापक केन्द्रीय सदस्य नभएको व्यक्ति दलको नेता बन्न नसक्ने भन्दै निर्वाचन आयोगले अद्यावधिक गरिदिएन।
निर्वाचन आयोगले लालवीरलाई अध्यक्ष बनाउने राष्ट्रिय भेलाको निर्णय खारेज गरेपछि नाउपा विग्रहतिर अघि बढेको छ।
रञ्जिताले गंगाराम श्रेष्ठलाई गरेको कारबाही यसैको सिलसिला भएको नेताहरू बताउँछन्।
यसअघि संरक्षक चौधरी पक्षले अध्यक्ष रञ्जितालाई संसदीय दलको नेताबाट हटाएको थियो।

