नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले भनेजस्तो प्रधानमन्त्री पद पार्टीले लिन सजिलो नदेखिएको बताएका छन्।
देउवाले पदाधिकारी बैठक आज अपरान्ह ३ बजे बुढानिलकण्ठमा बोलाएको सन्दर्भमा पौडेलले किन र केका लागि कांग्रेस सरकारमा जाने भन्ने प्रश्न पनि उठान गरेका छन्।
चितवनमा आज बिहान पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले भने, ‘हाम्रो सभापतिजीले भन्नुभएजस्तो त्यति सजिलो पनि छैन प्रधानमन्त्री बन्न।’
सभापति देउवाले बुधबार चितवनमा आयोजित कार्यक्रमबाट प्रधानमन्त्री पदका लागि मरिहत्ते नगर्ने तर जिम्मेवारी आए नभाग्ने बताएका थिए।
देश संकटपूर्ण अवस्थामा रहेकोले यसलाई पार लगाउने जिम्मेवारी कांग्रेसले लिनुपर्ने पौडेलको भनाइ छ। आज बस्ने पदाधिकारी बैठकमा समग्र विषयबारे छलफल गर्ने पौडेलले बताए।
‘हामी के हैसियतमा सरकारमा जाने भन्ने छलफल पार्टीमा हुनुपर्छ। आज बैठकमा पनि त्यसबारे छलफल हुन्छ,’ उनले भने।
पौडेलका अनुसार अरूलाई सहयोग गरेर पनि सरकारमा जान भने सकिन्छ।
‘अरूलाई पनि सरकार बनाउन सहयोग पुर्यायो भने कांग्रेसको भूमिका झन् बढ्छ,’ उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीले देश, व्यवस्था र संविधानलाई जोखिममा पारेकोले ओलीलाई सहयोग गर्न नसकिने उनले बताए।
साथै उनले पार्टीले प्रचण्ड-नेपाल समूहलाई सहयोग गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर असंबैधानिक काम गरेको भन्दै उनले अर्को समूहलाई सहयोग गर्नुपर्न धारणा राखेका छन्।
उनले प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा कांग्रेसको समर्थन हुने दाबी पनि गरेका छन्।
'पदाधिकारीको बैठक बस्दैछ, मैले केन्द्रीय समितिकै बैठकको माग गरेको छु,' उनले भने, 'बैठकले यस विषयमा निर्णय गर्छ।'
सभापति देउवाले काँधमा जिम्मेवारी आए नछाड्ने भनेको प्रसंगमा उनले असंबैधानिक काम गर्ने ओली समूहलाई समर्थन गर्दा लोकतन्त्र खतरामा पर्ने बताए।
प्रचण्ड-नेपाल समूहले राष्ट्रपतिको अफर गरेको भन्ने पत्रकारको जिज्ञासामा नेता पौडेलले आफूलाई पदको कुनै लोभ नभएको दाबी गरे।
'बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा संबिधानसभाले संबिधान बनाउन नसकेको समयमा नै प्रचण्डले मलाई प्रधानमन्त्री बन्नुस भनेका थिए तर मैले हुँदिन भनें,' उनले भने, 'मलाई यस्ता लक्जरियस पदमा लोभ छैन।'