आगामी फागुन २३ गते प्रतिनिधि सभाको बैठक बस्दैछ। सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका दुई समूह बैठकमा कसरी प्रस्तुत होलान्, नेपाली कांग्रेसले कुन समूहलाई साथ देला भन्ने जिज्ञासा सर्वत्र छ।
पदाधिकारी बैठकको केही घण्टाअघि चितवनमा प्रेस युनियनले गरेको पत्रकार भेटघाटमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले प्रचण्ड–नेपाल समूहलाई सहयोग गर्ने निर्णय लिनुपर्ने बताए।
प्रचण्ड–नेपाल समूहलाई नेतृत्व मानेर जान कांग्रेस तयार हो त?, भन्ने पत्रकारको जिज्ञासामा पौडेलले त्यसमा पोजेटिभ हुन सकिने प्रतिक्रिया दिए। ‘त्यो सम्बन्धमा पार्टीमा छलफल चल्छ, पोजिटिभल्ली छलफल हुन्छ,’ उनले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले देश, व्यवस्था र संविधानलाई जेखिममा पारेकाले उनलाई सहयोग गर्न कांग्रेसको नैतिकताले नदिने बताए। देशको राजनीतिमा समस्या पैदा भइसकेको भन्दै उनले यथास्थितिलाई अब रहन दिन नहुने बताए।
पत्रकारले थप जिज्ञासा राखे, ‘प्रचण्ड–नेपाल समूहले तपाईलाई राष्ट्रपति बन्ने अफर गरेको छ रे, त्यहीँ भएर समर्थन हो कि?’
पौडेलले जवाफ दिए, ‘म बाँचुञ्जेलसम्म यो लक्जरियस पदमा गएर थान्को लागेर बस्ने मान्छे होइन, म लड्ने मान्छे हो। प्रधानमन्त्री पद पनि छाडेको छु।’ उनले देशको पहिलो राष्ट्रपति बन्न तत्कालिन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई प्रस्ताव गरेकोसमेत दाबी गरे।
‘म प्रथम राष्ट्रपति हुन छोड्या मान्छे हो, गिरिजाबाबूलाई राष्ट्रपति हुन नदिने भए उहाँले बोलाएर राष्ट्रपतिका लागि नम्बर एकमा रामचन्द्र जी, दुईमा रामशरण जी, तीनमा रामवरण र चारमा शेरबहादुर जी भन्नुभयो। मैले चाही लोकतन्त्रको लडाईँ अझै पनि बाँकी छ त्यो लडाई म मैदानमा बसेर लड्न चाहन्छु म राष्ट्रपतिमा थान्को लाग्न चाहन्न भनेँ,’ पौडेलले भने, ‘अहिले पनि यो लडाईँ जारी छ।’
उनले संविधानसभा असफल भएको दिन प्रचण्डले प्रधानमन्त्रीको कक्ष बालुवाटारमा सबै नेतालाई बोलाएर प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा पनि आफूले अस्वीकार गरेको दाबी गरे। ‘दश राज्यको सिद्धान्तलाई मानिदिनुस् बाबुरामजीले अहिल्यै छाडिदिनुहुन्छ तपाईँ प्रधानमन्त्री भएर जाने, संविधान पनि पास गर्ने भन्दा मैले जात–जातको राज्य मानेर प्रधानमन्त्री त के इन्द्राशन पाए पनि मलाई चाहिँदैन भनेको हो,’ उनले भने, ‘त्यहीँ बेलामा छोड्या हो प्रधानमन्त्री।’
कांग्रेसलाई प्रचण्डले बारम्बार धोका दिएको प्रसंगमा पौडेलले कसले कसलाई धोका दियो भन्ने कुरा राजनीतिमा रहिनरहने बताए। प्रधानमन्त्री ओलीलाई यतिखेरको राजनीतिको दोषी र अभियुक्त भन्दै उनले केपी ओलीबाहेक अरूसँग समझदारी गरेर अहिलेको संकटलाई निराकरण गर्नुपर्ने बताए।
यद्यपी उक्त सहयोग सरकारमा नगई पनि गर्न सकिने उनको भनाई थियो। उनले सरकारमा किन जाने, कसरी जाने, के रूपमा जाने भन्ने विषयमा भने बिहीबार अपरान्ह बस्ने पदाधिकारी बैठकमा छलफल हुने बताए।
‘पहिलो कुरा त सरकारमा जाने नै किन भन्ने विषयमा छलफल हुन्छ आज,’ पौडेलले भने, ‘किन जाने सरकारमा, के गर्न जाने र के हैसियत लिएर जाने भन्ने कुराको छलफल पार्टीमा जरूरि छ भनेर मैले अलिकति कुरा हिजो पनि उप्काएको छु र आजको कुरा पनि त्यहीँ हो।’
बुधबार पार्टीका नेता एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले कांग्रेसको औकात र हैसियत प्रतिपक्षमा रहने भएको भन्दै सरकारमा जान नहुने आशयको धारणा राखेका थिए।
प्रत्युत्तरमा सभापति शेरबहादुर देउवाले काँधमा जिम्मेवारी आए बोक्नुपर्ने भन्दै सानो चित्त नगर्न पौडेललाई आग्रह गरेका थिए। परिआए जुनसुकै समूहलाई साथ लिएर सरकारको नेतृत्व गर्न आफू तयार रहेको सन्देश देउवाले चितवनबाट दिएका थिए।
बिहीबार पत्रकारले तपाईँले सानो चित्त गर्नुभयो भन्ने सभापतिको गुनासो छ नि?, भनेर सोध्दा पौडेलले देउवाको बुझाईमा पूर्णता नदेखिएको बताए। ‘उहाँले जवाफै दिनुपर्ने गरेर मैले बोल्या जस्तो लाग्दैन, जवाफ दिन तिर नलागेको भए उहाँलाई नै राम्रो हुन्थ्यो,’ उनले भने, ‘उहाँले त्यसरी बुझ्नुभयो तर उहाँको बुझाईमा पूर्णता ठानिनँ मैले। अपूर्णता देखेँ।’
पौडेलले देउवालाई प्रधामन्त्री बन्नबाट रोक्ने भन्दा पनि प्रजातन्त्र र प्रणालीलाई जे गर्दा फाइदा हुन्छ त्यहीँ गर्नुपर्ने बताए।
नेपाल कम्युनिष्ट पार्टी भने संसदबाटै फुट्ने उनले दाबी गरे। ‘नेपालमा दलले संसद बनाउँछन्, बेलायतमा संसदले दल जन्माउँछ तर हाम्रोमा कम्युनिष्ट पार्टी संसदमा गएर फुट्दैछ,’ उनले भने, ‘निर्वाचन आयोग कर्तयच्यूत भइरहेको छ। समयमै निर्णय दिनुपर्दथ्यो, आलटाल गरेर, मुख हेरेर बसिरहेको छ। अब कम्युनिष्ट पार्टी संसदमा गएर फुट्छ।’
पौडेलले कांग्रेस, जसपा र प्रचण्ड–नेपाल समूहको गठबन्धन सरकार भारत र चीनलाई कम्फर्टेबल हुने प्रचण्डको भनाईको कुरा आफूले नबुझेको बताए। ‘अरूलाई होइन नेपालको सिस्टमलाई कम्फर्टेबल हुनुपर्छ। यो संबिधान बचाउन जे अनुकूल हुन्छ त्यहीँ कुरा गर्ने हो हामीले,’ उनले भने, ‘नेपाललाई कतिचोटि प्रयोगको थलो बनाइरहने? भारत र चीनले उही व्यवस्थामा देश चलाइराख्या छन् हामी कहाँ सँधै फेरिएको फेरियै। अब देशले धान्न सक्दैन। बल्ल–बल्ल ल्याएको संविधान र व्यवस्था यसलाई बचाउने कुरामा मेरो सबै भन्दा जोड छ।’
पौडेल समूहबाट एक मात्र उम्मेदवार
वरिष्ठ नेता पौडेलले आसन्न महाधिवेशनमा आफ्नो समूहबाट एक जना मात्रै उम्मेद्वार बन्ने घोषणा गरे।
सभापति पदका लागि उक्त समूहबाट धेरै जना आकांक्षी रहेको प्रसंगमा पौडेलले भने, ‘अन्तिममा सबै मिल्ने हो। मैले नि छोड्न सक्छु, अरूले नि छोड्न सक्छन् अन्तिममा एउटा उम्मेदवार हुन्छ।’
यद्यपी को–को मिलेर लड्ने भन्ने निर्णय हुन भने काँकी रहेको उनले बताए।
उनले क्रियाशील सदस्यताको काम सकिएपछि जेठको अन्तिममा वडाको अधिवेशन सुरू हुने दाबी गरे। ‘त्यसपछि त एक महिनामा सबै सकिन्छ,’ उनले भने।