नेपाल सरकार र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको कम्युनिष्ट पार्टीबीच सहमति भएसँगै लामो समय भूमिगत रहेका विप्लव शुक्रबार सार्वजनिक भए।
२५ हजार रुपैयाँ धरौटी बुझाए छुट्ने उनका दाइ भने अझै पनि चितवन जिल्ला कारागारभित्रै छन्।
‘वीरजंग’ उपनामले चिनिने विप्लवका दाइ चन्द्रबहादुर चन्द गत असोजदेखि चितवनको कारागारमा छन्। दाङबाट पक्राउ परेका उनलाई वम विष्फोटको अभियोगमा मुद्दा चलाइएको थियो।
जिल्ला अदालत नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)ले गत असोज २१ गते वीरजंगलाई २५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो। तर उनले धरौटी बुझाउन अस्वीकार गरेका थिए। त्यसपछि उनलाई नवलपरासीस्थित कारागारमा राखियो।
घाँटी, पेट, छातीमा समस्या देखिएपछि उनलाई उपचारमा सहज होस् भनेर २८ गते भरतपुरस्थित कारागारमा सारिएको थियो।
जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेकाअनुसार वीरजंगलाई अदालतले २५ हजार रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको थियो।
‘तर उहाँले त्यो तिर्न अस्वीकार गर्नुभएछ,’ उनले भने, ‘पछि उपचारका लागि भनेर नवलपरासीको कारागारबाट यता स्थानान्तरण हुनुभयो।’
उनलाई छाड्ने विषयमा अहिलेसम्म आधिकारिकरूपमा कतैबाट कुनै सर्कुलर नआएको काफ्लेले बताए।
‘कार्यकर्ता रिहाइको सहमति भएको जानकारी मैले पनि समाचारमा देखेको थिएँ तर हामीलाई कतैबाट आधिकारिक खबर आएको छैन,’ काफ्लेले भने, ‘आदेश आए त हामी छाडिहाल्छौं।’
काफ्लेकाअनुसार वीरजंगको भरतपुर अस्पतालमा नियमित परीक्षण भइरहेको छ। उनी उक्त पार्टीको पोलिटब्युरो सदस्य तथा मध्यपश्चिम कमाण्डका इन्चार्ज हुन्।
उनीमाथि २०७६ साल साउन १६ गते नवलपरासीस्थित बर्दघाट नगरपालिका १३ धनेवामा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोग थियो।
उनीसहित २०७६ असोज ३१ मा विप्लवका २१ जना नेता तथा कार्यकर्ता दाङबाट पक्राउ परेका थिए। अदालतबाट रिहा भएलगत्तै पुनः पक्राउ पर्दै आएका चन्द ८ ठाउँमा अड्डा सार भएका थिए।
यसअघि दाङको देउखुरी जिल्ला अदालतको आदेशअनुसार १५ हजार धरौटी बुझाएर रिहा भएपछि पुनः पक्राउ परेका थिए।
पछि धरानस्थित प्रहरी हिरासतमा रहेको बेलामा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो।
यस कारागारमा अहिले वीरजंगबाहेक उक्त पार्टीका अन्य नेता कार्यकर्ता छैनन्। कपिलवस्तु शिवराज नगरपालिका–९ शिवपुरगढी घर भएका उनी विप्लवका जेठा दाजु हुन्।
शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्रीसँगै देखिनुपूर्व सरकार र विप्लवको पार्टीको वार्ता टोलीका बीचमा पार्टीलाई लगाइएको प्रतिबन्ध हटाउने, कार्याकर्ताको रिहाइ र सबै मुद्दा खारेज गर्नेसहितको ३ बुँदे सहमति भएको थियो।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सोही सहमतिअनुसार प्रतिबन्ध हटाउने निर्णय गरेको थियो भने गृह मन्त्रालयले पक्राउ परेका विप्लव समूहका नेता कार्यकर्ताहरूलाई छाड्न सर्कुलर जारी गरेको थियो।
‘तर अदालतको आदेशमा कारागार आएकाहरूको रिहाइका लागि थप केही प्रकृया पूरा गर्नुपर्ने भएकाले ढिला भएको होला,’ काफ्लेले भने।