नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले प्रधानमन्त्री बन्न आफू लालयित नभएको दाबी गरेका छन्। तर टाउकोमा आइहाले भाग्नेवाला पनि आफू नरहेको उनले बताए।
पार्टीको तरुण विभागले चितवनमा गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले भने,‘सबैले शेरबहादुर देउवा प्रधानमन्त्री किन बनेन भनिरहेका छन् तर म प्रधानमन्त्री बन्न लालयित छैन, टाउकोमा आयो भने भाग्नेवाला पनि छैन।’
उनले सरकारको नेतृत्व गर्नमा भन्दा निर्वाचनको तयारीमा ध्यान दिनु उपयुक्त हुने बताए।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म केपी शर्मा ओली नेतृत्वको सरकार बहुमतमा रहिरहने भन्दै उनले सरकारमा जान लालयित हुनुपर्ने अवस्था नरहेको बताए।
‘सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र र एमाले पुरानै अवस्थामा फर्कियो, प्रचण्डजीले समर्थन फिर्ता गर्नुभएको छैन, माधवजी कसरी अघि बढ्ने हो पनि थाहा छैन,’ उनले भने, ‘उनीहरू कसरी अघि बढ्छन् हेरौं।’
उनले सरकार भन्दा पार्टी बनाउनतिर लाग्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे।
स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको समय आउन लागिसकेको भन्दै जनताको माझमा जान देउवाले आग्रह गरे।
‘आपसी मतभेद र झगडा त्यागेर अघि बढ्नुस्, जनताले हामीलाई बहुमत दिन्छन् तपाईंहरू अब जनताकोमा जानुस्,’ उनले भने, ‘बहुमत पाएपछि त हाम्रै भइहाल्छ।’
कार्यक्रममा कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले अन्य दलले बिनासर्त समर्थन गरेमात्र पार्टीले सरकारको नेतृत्व गर्ने दाबी गरे।
‘हामी हात, खुट्टा बाँधिएको सरकारको नेतृत्व गर्ने पक्षमा छैनौं,’ उनले भने, ‘माओवादी केन्द्र र मधेसबादी दललले चाहँदा यो सरकारको विकल्पमा अर्को सरकार बन्न सक्छ तर त्यस्तो सरकारको नेतृत्व गर्न उनीहरुले हाम्रो पार्टीलाई बिनासर्त समर्थन गर्नुपर्छ।