नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसिसी विषयमा प्रश्न गर्ने एमालेका कार्यकर्तालाई ‘बालकोटमा गएर बालाई सोध’ भन्ने जवाफ दिन निर्देशन दिएका छन्।
नेपाली कांग्रेस चितवनको नवनिर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले जिल्लामा एमसिसीको विषयमा प्रश्न उठाउने माओवादी कार्यकर्तालाई खुमलटारमा बालाई सोध भनेर जहाजको टिकट काटिदिनुपर्ने बताए।
एमसिसी पास हुनेबित्तिकै अमेरिकाबाट सेना आउँछ भन्नेलाई घर-घरमा गएर ‘सेना खोइ’ भनेर सोध्न उनले कार्यकर्तालाई आग्रह गरे।
कम्युनिष्ट पार्टीहरूले जनतामा भ्रम छरेर उत्तेजना र प्रोपोगाण्डाको राजनीति गरिरहेको आरोप उनले लगाए।
‘कांग्रेसका साथीहरूले अब मैदान छाड्ने होइन। एमालेका साथीले बढी बोले भने प्रस्ट भन्ने- हामीसँग बढी बोल्ने होइन।चितवनबाट टिकट काटिदिने, बसमा हालेर काठमाडौं पठाउने, त्यहाँबाट सरासर बालकोट जा भन्ने, त्यहाँ गएर आफ्नो बालाई सोध भन्ने,’ उनले भने, ‘माओवादीका साथीले बढी बोले भने जहाजको टिकट काटिदिए पनि हुन्छ। काठमाडौं खुमलटार गएर बालाई सोध भन्नु हिजो सम्झौता किन गरेको भनेर।’
उनले उनीहरूलाई नेपाली कांग्रेसले कुनै जवाफ दिनु आवश्यक नरहेको बताए। बरू उनीहरूले किन भ्रम छरे भनेर नेपाली कांग्रेसलाई जवाफ दिनुपर्ने थापाले बताए।
‘तर जनतालाई जवाफ दिनुपर्छ। जनता कांग्रेस, एमाले, माओवादी कोही होइन, जनता जनता हुन्,’ उनले भने, ‘जनतामा छरिएको भ्रमलाई हामीले चिर्नुपर्छ।’
उनले जनतामा भ्रम छरेर प्रोपोगाण्डा गर्ने कम्युनिष्ट प्रवृत्तिको बारेमा जनतालाई बताउनुपर्ने बताए।
‘प्रोपोगाण्ड गर्ने मेसिनरी प्रयोग भएको छ। मुठी कसेर अस्पताल मागेर बनाउनुहुँदैन भन्ने नेता भारत र सिंगापुर गएर उपचार गर्छन्। विद्यालय मागेर बनाउने होइन भन्छन् तर छोराछोरी अमेरिका, बेलायत पढ्न पठाएको कुरा जनतालाई भन्दैनन्,’ उनले भने, ‘जनतालाई भ्रम दिएर उत्तेजित बनाइरहेको छ। अब जे बोले पनि हुन्छ भन्ने दिन गए। कांग्रेस बोल्छ, पढ्छ। यो प्रवृत्तिलाई चिर्छ।’
उनले कुनै देशबाट जति सहयोग लिए पनि हुने, कुनै देशबाट सित्तैमा दिए पनि नलिने भन्ने नहुने बताए।
नेपाली कांग्रेसको चाहना अरू देशबाट पनि सहयोग ल्याएर देशको विकास गर्ने रहेको उनले बताए।
महामन्त्री थापाले कोरोना महामारीपछि देशको अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै यसलाई ट्रयाकमा ल्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको बताए।
‘बाहिरबाट पैसा आउनेक्रम घट्दैछ, सामानको आयात बढ्दो छ। आम्दानी अर्बमा, खर्च खर्बमा हुन थालेपछि देश चल्दैन। यसलाई हामीले सम्हाल्नुपर्नेछ। चुनावसँगै यसलाई सम्हालेर जनतालाई भरोसा दिनसक्नुपर्छ,’ थापाले भने, ‘लामो समय कम्युनिष्टले शासन चलाउँदाका गलत नीति र कामले संविधान र अर्थतन्त्र डामाडोल भएको छ। संविधानलाई सम्हालेजस्तै हामी अर्थतन्त्रलाई पनि सम्हाल्छौं।’
चितवनमा यसपटक रूखबाहेकको चिन्हमा भोट हाल्नु पर्दैन
उनले नेपाली कांग्रेसले चुनाव जित्न कुनै दलको सहयोग आवश्यक नपर्ने बताए। ३०–३२ लाख भोट ल्याउने गरेको नेपाली कांग्रेसले अबको निर्वाचनमा ४०–४५ लाख भोट ल्याउनेमा विश्वस्त रहेको उनले बताए।
‘सबै पार्टीहरू टुटफुट भएको अवस्थामा एक जुट भएको कांग्रेस ठीक सन्देश लिएर गयो भने हामी आफ्नै ताकतको आधारमा रूख चिन्हमा पाएको मतको आधारमै पनि एक्लै सरकार पनि बनाउन सक्छौं। त्यो सरकारको आधारमा जनताको जीवनमा परिवर्तन ल्याउन नि सक्छौं,’ उनले भने।
उनले नेतृत्वलाई सबै जिल्लाका कार्यकर्ताले रूख चिन्हमार्फत् नै जिताएर पठाउँछौं भनेर भरोसा दिलाउनुपर्ने बताए।
उनले चितवनमा यसपटक कोही पनि कांग्रेस कार्यकर्ताको रूखबाहेकका चुनाव चिन्हमा भोट गर्नु नपरोस् भन्ने चाहनाको सम्मान गरिने बताए।
‘वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन्छ, तिथि, मिति एक दिन पनि तल, माथि हुँदैन,’ जिल्ला समितिलाई निर्देशन दिँदै उनले भने, ‘आजैबाट तयारीमा लाग्नुस्।’