चितवनको रत्ननगर नगरपालिकाकी उपमेयर हुन् विमला देवी दुवाडी। उनी आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मेयर पदमा दाबी गर्दैछिन्।
उनी महिलाले पुरुषले भन्दा राम्रो र बढी काम गर्न सक्छन् भन्ने देखाउन चाहन्छिन्। उपमेयरका रूपमा बितेको एक कार्यकालको अनुभले उनलाई मेयर बनेर काम देखाउने आत्मविश्वास जगाइदिएको हो।
उपमेयर हुँदा आफूले पाएका सबै जिम्मेवारी सफल रुपमा समयमै पूरा गरेको र जनतामा विश्वास सिर्जना गरेकाले आफू आसन्न निर्वाचनमा स्वाभाविकरूपमा मेयरको दाबेदार रहेको दुवाडीको भनाइ छ। उपमेयर पदमा रहँदा गर्नै पर्ने भनेर आफूले देखेका कतिपय काम गर्न पनि आफू मेयर बन्नुपर्ने चुनौती खडा भएको उनले बताइन्।
‘उपमेयरको त मुख्य काम नै अनुगमन हो। अनुगमन र अन्य कामको सिलसिलामा म गाउँहरूमा पुगेको हुन्छु। मैले मानिसका समस्याहरू नजिकबाट देखेको छु तर ती समस्या उपमेयरको कुर्सीबाट समाधान गर्न सकिने रहेछ,’ दुवाडी भन्छिन्, ‘म मेयर निर्वाचित भएँ भने उपमेयर हुँदा देखेका र गर्न नसकेका काम गर्छु।’
उपमेयर निकै महत्वको पद भए पनि सबै काम गर्न नसक्ने उनले बताइन्। ‘मान्छेका पीडा कस्ता हुँदा रहेछन् भन्ने बुझेर कार्यक्रम ल्याउन सके पो पीडा सुन्नुको सार्थकता हुन्छ,’ उनी भन्छिन्, ‘मैले समस्या पहिचान गरेँ तर सम्बोधन गर्न सकिनँ।’
रत्ननगरमा मेयर र उपमेयर दुवै नेकपा एमालेबाट निर्वाचित भएका थिए। मेयर नारायण वन पार्टीमा दुवाडी भन्दा वरिष्ठ हुन्, दुवाडीलाई भाउजु भनेर सम्बोधन गर्छन्।
‘हाम्रो नाता साँच्चै देवर–भाउजुको जस्तो छ। एउटै परिवारका भएपछि कहिलेकाहीँ विवाद त भइहाल्छ,’ दुवाडी भन्छिन्, ‘काम गर्ने क्रममा कहिले चित्त बुझ्यो, कहिले बुझेन्। कहिले मनले नमान्दा नमान्दै पनि चित्त बझाउनुपर्ने अवस्था पनि आयो। तैपनी पाँच वर्षको कार्यकालमा हामीबीच बाहिर देखिने कुनै विवाद भएन।’
दुवाडीले योजना बनाउने क्रममा आफूले चाहेका योजनाहरू नपर्दा दुःख लाग्ने गरेको बताइन्। ‘यो कार्यक्रम त यो पटक राख्नै पर्छ भन्छु तर परेको हुँदैन,’ उनी भन्छिन्, ‘कहिलेकाही मेयरलाई भन्छु– बाबु हामी त दुइटा पार्टीको हुनुपर्ने रहेछ, कमसेकम मनमा लागेको कुरा राख्न त पाइन्थ्यो।’
मेयरले चाहेको कार्यक्रम कार्यान्वयन गर्न हुने उनको ठहर छ। उपमेयरको कार्यकाल सफलतापूर्वक पूरा भएकोले उनी अब एक पटक मेयर निर्वाचित भएर आफ्नो क्षमता देखाउन चान्छिन्। यसमा पार्टीबाट आफूलाई सहयोग हुने उनको विश्वस छ।
दुवाडी अहिले अखिल नेपाल महिला संघको चितवन जिल्ला अध्यक्ष छिन्। बैसठ्ठी वर्षीय दुवाडी २०४३ सालमा जनपक्षीय उम्मेदवार जागृतप्रसाद भेटवालको चुनाव प्रचारमा सहभागी भएर राजनीतिमा प्रवेश गरेकी थिइन्।
स्थानीय तहमा न्यायिक समितिको नेतृत्व गर्ने; योजनाहरू अनुगमन गर्ने; महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरूसँग सम्बन्धित कामहरूमा संयोजन गर्नेलगायतका जिम्मेवारी उपमेयरलाई तोकिएका छन्। यसबाहेक मेयरले पनि अधिकार प्रत्यायोजन गर्न सक्छन्।
रत्ननगरकी उपमेयर दुवाडीको २०६० सालदेखि मेलमिलापकर्ताका रूपमा काम गरेकी हुन्। उपमेयरमा निर्वाचित भएपछि पनि त्यस्तै जिम्मेवारी पाइन्।
नगरपालिकाको न्यायिक समितिको संयोजक भएर काम गर्दा उनको बढी ध्यान मेलमिलाप गराउनमै गयो। गाउँघरमा हुने झैझगडा, लेनदेन, अंश विवाद, सम्बन्धका विवाद जस्ता उजुरीमा उनले सम्बन्ध सुधार र मेलमिलापका लागि अधिकतम प्रयास गरिन्।
‘म त लामो समयसम्म जिल्ला अदालतमा मेलमिलापकर्ता भएर बसेको। यहाँ न्यायिक समितिको जिम्मेवारीमा रहँदा सम्बन्ध सुधार र मेलमिलापमै जोड दिएँ। अधिकांश विवादमा मेलमिलाप गराएँ,’ उनी भन्छिन्, ‘फैसलामा हारजित हुन्छ। एकै ठाउँमा बसेपछि सकेसम्म हारजिततर्फ नगई मेलमिलाप नै गराउनुपर्छ भन्नेमा मेरो ध्यान गयो।’
नगरपालिकाका योजनाहरूको अनुगमन गर्ने उनको अर्को जिम्मेवारी थियो। यस जिम्मेवारीलाई जनतासँग नजिक हुने अवसरका रूपमा उपयोग गरिन्। उनी भन्छिन्, ‘म नगरपालिकाका सबैजसो योजनाहरू अनुगमन गर्न पुगेँ। यसबाट मलाई जनतासँग नजिक हुने अवसर मिल्यो।’
उपमेयरका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न पहिलाको तुलनामा बिहान एक घण्टा छिटो उठ्ने र राति एक घण्टा ढिला सुत्ने गरेको उनले बताइन्। ‘म त घरको गृहिणी पनि हुँ। घरको कामधन्दा पनि मेरो जिम्मेवारीमा पर्छ,’ उनले भनिन्, ‘बिहान र बेलुका अलिक बढी समय दिएर घरको जिम्मेवारी पनि पूरा गर्दै आएकी छु।’
जनप्रतिनिधिका रूपमा समय व्यवस्थापन गर्न कठिन भए पनि जनताको काम ध्यानमा राखेर अघि बढेको उनको भनाइ छ।