स्थानीय तहको निर्वाचन अघि भरतपुरमा भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला नेतृत्वको प्रशंसा गरेका थिए।
सुकुम्बासीलाई लालपुर्जा वितरणका लागि भरतपुर महानगरले गरेको कार्यक्रममा उनले ‘२०७४ मा रेनु दाहाल भरतपुर आउँदा प्रचण्डकी छोरी आइन् भनेर मान्छेले चिन्ने गरेकोमा अहिले आफूलाई रेनुका बा भनेर चिन्न थालेको’ बताएका थिए।
भरतपुरमा रेनु दाहाल मेयर भएपछि विकासको लहर आएको भन्दै उनले भनेका थिए, ‘महिलाले अग्रसरता लिएकोमा सफलता, इमान्दारिता, सुशासन तुलनात्मक रुपले बढी देखिएको छ। मेरो अब महिलालाई धेरै ठाउँमा मेयर बनाउने विचार छ। एकचोटी मेरो इच्छा के छ भने महिलालाई अल्ली धेरै नै जिम्मेवारी दिएर हेरौं भन्ने छ। कयौं वर्षदेखि पुरुषले राज गरेर आइया छ, केही वर्ष महिला राज हेरौं न त, हुन सक्छ, किन हुँदैन?’
हुन पनि प्रचण्डको निर्वाचन क्षेत्रका स्थानीय तहमा महिलाहरू नै प्रमुख निर्वाचित भए। तर दुईमध्ये एक जना उनले चाहेका र अर्का उनले नचाहेका महिला मेयर बनेका छन्।
प्रचण्ड ०७४ मा भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए। यस क्षेत्रमा भरतपुर महानगरपालिकाको आधाभन्दा बढी क्षेत्र र माडी नगरपालिकाको पुरै क्षेत्र पर्छ।
स्थानीय तहको निर्वाचन सकिएपछि चितवनमा सबैभन्दा पहिले माडी नगरपालिकाले मतपरिणाम सार्वजनिक गर्यो। जिल्लाका सात स्थानीय तहमध्येमा सबैभन्दा पछि मतपरिणाम सार्वजनिक भरतपुर महानगरपालिकाको भयो।
माडीमा नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेलाई पराजित गरेर नेकपा एमालेकी ताराकाजी कुमारी महतो मेयर बनिन्। भरतपुरमा एमालेका विजय सुवेदीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेनु दाहाल मेयर भइन्।
दुबैले विपक्षीलाई धेरै मतान्तरले पराजित गरेका छन्। माडीमा महतोले काफ्लेलाई २ हजार भन्दा बढी र भरतपुरमा दाहालले सुवेदीलाई १२ हजार भन्दा बढी मतान्तरले पराजित गरिन्। जित–हारको सामान्य आँकलन स्वभाविक भए पनि यति धेरै मतान्तरको जित आँकलन कमैले गरेका थिए।
यो निर्वाचनमार्फत यी दुई महिला चितवनमा यसरी उदाए की उनीहरूका कारण शक्तिशाली प्रचण्ड एकैसाथ झस्किने र हौसिने अवस्थामा पुगेका छन्।
स्थानीय तहको निर्वाचनको परिणामले भरतपुरमा माओवादीको प्रभाव बढ्दो क्रममा रहेको र माडीमा साख गिर्दोक्रममा रहेको संकेत गर्छ।
भरतपुरमा नेपाली कांग्रेस सँगको सहकार्यमा चुनाव जित्ने गरेपनि माडीलाई माओवादीले आफ्नो आधार क्षेत्रकै रुपमा मान्दै आएको थियो। तर नगरपालिकामा भएको पराजयले पार्टी अध्यक्ष प्रचण्डलाई चिन्तित बनाएको माओवादीका जिल्ला नेताहरू बताउँछन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा ठोरी र माडी क्षेत्रलाई भगवान रामको जन्मभूमि घोषणा गरेका थिए। घोषणासँगै उनले माडीको अयोध्यापुरी क्षेत्रमा राम–सीता मन्दिर बनाउने योजना अघि सारे।
आफैंले राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति बनाएर रथयात्रासहित माडी लगेर प्रतिस्थापन गराए। पछि आफैं माडी पुगेर उनले प्रचण्डले गर्न नसकेको माडीको विकास अयोध्याधामले गर्ने दाबी गरेका थिए। संयोग के भयो भने यसपालि माडी नगरपालिका र ठोरी गाउँपालिका दुबैमा नेकपा एमालेले जित हातपार्यो।
यसले ओलीको अयोध्याधामसँग जोडिएको धार्मिक राजनीतिको प्रभाव स्थानीय तहको निर्वाचनमासमेत परेको मान्नेहरूलाई थप बल पुगेको छ। एमालेले माडीमा मेयर जित्नुमा धार्मिक कारण नभई उनी सशक्त महिला र आदिवासी थारु समुदायको उम्मेदवार हुनु रहेको मान्नेहरू पनि यहाँ उत्तिकै छन्।
यही साल प्रतिनिधि सभाको निर्वाचन हुनेवाला छ। प्रचण्ड यसपालि पनि यही क्षेत्रबाट चुनाव लड्ने चर्चा छ। माडीमा पार्टीको पराजयबाट झस्किएका प्रचण्डलाई भरतपुरमा फराकिलो मतान्तरले जित हातपार्दा हौसला मिलेको छ। तर संघीय निर्वाचनमा यहाँबाट उनको हार–जितमा यी दुई शक्तिशाली महिलाको प्रभाव भने अवश्य पर्ने देखिन्छ।
भरतपुर महानगरमा रेनुले दोस्रो पटक मेयर जितेकी हुन्। उनी प्रचण्डकी छोरी पनि हुन्। उनले पहिलो कार्यकालमा गरेका कामबाट यसपालि प्रशस्त जनमत बटुलेकी छन्।
महतो यसअघि माडी नगरपालिकाको उपमेयर थिइन्। गैरसरकारी संस्था, गाविसको कर्मचारी हुँदै जनप्रतिनिधि बनेकी महतोको प्रभाव माडीमा महिला तथा थारु समुदायमा विशेष छ।