भन्न त पश्चिम महाकाली नदीसम्म नेपालको सिमाना भनिन्छ। राष्ट्रगानमै पनि ‘...सार्वभौम भई फैलिएका मेची-महाकाली’ भनिएको छ।
तर धेरै महाकाली नदीपारि पनि नेपालको एक स्थानीय तह छ- कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका। यसको सिमाना कञ्चनपुरबाट महाकाली नदी पार गरेपछि सुरू हुन्छ।
कुनै बेला यहाँका बासिन्दाको सम्पर्क महाकालीवारिको नेपाली भूमिसँग विरलै हुन्थ्यो। महाकाली नदी वारपार गर्ने सहज उपाय नहुँदा यहाँका बासिन्दाहरू सरकारी कामकाजको लागि समेत वारी आउन सक्दैन थिए।
भारतकै भरमा जीवन चलाउने बाध्यता थियो।
दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ का मोतीराम भट्टका अनुसार केही वर्षअघिसम्म यहाँका बासिन्दाहरू राज्यबाट टाढा भएको र हेपिएको महसुस गर्थे।
‘पहिला हाम्रोमा नेताहरू आउँदैनथे। बोर्डर एरिया हो भन्थे, हेला गर्थे। सरकारी कामका लागि महेन्द्रनगर जाँदा पनि हाम्रो काम छिटो गरिदिँदैनथेा,’ उनले भने।
अहिले यस्तो अवस्था नरहेको उनको अनुभव छ।
‘महाकालीमा झोलुंगे पुल र मोटर चल्ने पुल बन्यो। पहिलाभन्दा केही विकास पनि भयो,’ उनले भने, ‘अहिले त हाम्रोमा प्रधानमन्त्री, मन्त्रीहरू र अरू नेताहरू पनि आउन थाल्नुभएको छ।’
उनकाअनुसार पाँच वर्षयता दोधारा चाँदनीमा सुख्खा बन्दरगाह बन्ने चर्चा निकै चुलिएको छ। समय–समयमा सरकारी मान्छेहरू पुग्ने गरेका छन्।
आफ्नो ठाउँमा सुख्खा बन्दरगाह बन्ने कुराले चहलपहल बढेको मोतीरामको भनाइ छ। यसबाट दोधारा चाँदनीका बासिन्दाहरू खुसी छन्।
'सुख्खा बन्दरगाह बनेपछि यहाँ व्यापारिक गतिविधि बढ्छ। रोजगारी पाइन्छ। इन्डियाले पनि रेल चलाउँछ भन्ने कुरा छ। हाम्रो ठाउँको विकास हुन्छ,’ मोतीरामले भने।
सुख्खा बन्दरगाह निर्माण सुरु गर्ने भनेकै पाँच वर्ष पुग्यो। सुख्खा बन्दरगाह बनाउने कुराले दोधारा चाँदनीको चर्चा पनि बढ्दै छ।
सरकारले दोधारा चाँदनीमा राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुख्खा बन्दरगाह निर्माण गर्ने भनेको छ। राज्यबाट अलग रहेको गुनासो गर्ने यहाँका बासिन्दाहरू चाँडै निर्माणकार्य सुरु हुनेमा आशावादी छन्।
२०५४ सालदेखि दोधारा चाँदनीमा बसोवास गरेका गणेशदत्त जोशी खाद्यन्न सामग्री र मलखाद भारतबाट पिठ्युँमा बोकेर ल्याउने गर्छन्। उनीमात्रै होइन त्यहाँका सबैको अवस्था उही हो। सबैले भारतबाट पिठ्युँ र मोटरसाइकलमा सामान ल्याउँछन्।
‘पिठ्युँमा बोकेर सामान ल्याउने हामी यहाँ सुख्खा बन्दरगाह बन्छ भन्ने विश्वासमा छौँ। काम सुरु हुने दिनको पर्खाइमा छौँ,’ गणेशदत्त भन्छन्। उनी त्यहाँ बन्दरगाह बनेर ठूल्ठूला मालसामान ओसारपसार भएको देख्न चाहन्छन्।
दोधारा चाँदनी नगरपालिकामा सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढेको पाँच वर्ष भएको छ। बन्दरगाह निर्माणका लागि २०६४ सालमै प्रस्ताव भएको थियो। प्रस्ताव भएको झन्डै १० वर्षपछि सरकारले निर्माण प्रक्रिया सुरु गरेको हो।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा राखेर निरीक्षण लगायतको काम भएको छ। निर्माणको काम कहिले सुरु हुन्छ भन्ने अझै प्रष्ट छैन।
बन्दरगाह निर्माणमा पहल गर्ने भन्दै विभिन्न दलका केन्द्रीय नेताहरूले समेत पटक–पटक निर्माण स्थलको निरीक्षण गरेका छन्। गत फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सुख्खा बन्दरगाह निर्माण गर्ने भनिएको ठाउँको निरीक्षणमा गएका थिए।
उनले तीन वर्षभित्र निर्माण पूरा गर्ने गरी प्राथमिकता साथ सरकारले काम गरिरहेको बताए।
प्रधानमन्त्री लगायतका धेरै नेताले सुख्खा बन्दरगाह निर्माणको आश्वासन दिएका भए पनि निर्माण सुरु नभएकोमा यहाँका कतिपय बासिन्दाहरू खिन्न पनि छन्।
स्थानीय लोकबहादुर पन्तले भने, ‘सुख्खा बन्दरगाह बन्ने कुरा सुनेको धेरै साल पुग्यो। अहिलेसम्म काम सुरु भएको छैन। प्रधानमन्त्रीले दिएको आश्वासनमा विश्वास लाग्न छाडेको छ।’
सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले नगरपालिकाको मायापुरी र गौरीशंकर सामुदायिक वनको २८० बिघा जमिन छनौट गरेको छ। यी दुई वनले वडा नम्बर १, २ र ३ को भूभाग समेट्छन्।
बन्दरगाह निर्माणका लागि हाल वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम भइरहेको छ।
सुख्खा बन्दरगाह निर्माणमा भारत सरकारको भारतीय सरकारको सहयोगमा रहने जनाइएको छ। निर्माण सुरु भएपछि तीन वर्षभित्र सम्पन्न गर्ने गरी दुई देशको बीचमा छिटै समझदारी हुने भनिएको छ।
नगरपालिकाका मेयर किशोरकुमार लिम्बुका अनुसार हालसम्म विविध कारणले काम अघि बढ्न नसकेको भए पनि अब सम्भावना बलियो हुँदै गएको छ।
‘सुख्खा बन्दरगाहको आवश्यक सबै प्रक्रिया सुरु भएको छ। अब काम अघि बढ्छ,’ उनी भन्छन्, ‘यहाँ सुख्खा बन्दरगाह बन्नु दोधार चाँदनीलाई मात्र नभई सिंगो देशका लागि राष्ट्रिय गौरवको विषय हुनेछ।’
भारतीय पक्षले भने आफ्नो क्षेत्रमा काम अघि बढाएको छ। सडकको काम सुरु गर्न जंगलमा रहेका बस्तीहरू उठाएको छ। नापीको काम पनि पूरा गरेको छ।
सुख्खा बन्दरगाहमा सडक, रेल्वे प्लेटफर्म, गोदाम, पार्किङ, भन्सार कार्यालय, तौल पुल, कन्टेनर यार्ड, यात्रु टर्मिनल, पशुपन्छी–खाद्य प्रयोगशाला, बैंक, प्रहरी केन्द्र तथा प्रशासनिक भवन लगायतका संरचना निर्माण हुनेछन्।
गोदामको क्षेत्रफल आयाततर्फ सात हजार वर्गमिटर र निर्याततर्फ दुई हजार पाँच सय वर्गमिटर हुने जनाइएको छ। रेल्वे वेयर हाउस १७ हजार पाँच सय वर्गमिटरको र कन्टेनर स्ट्याकिङ यार्ड १० हजार वर्गमिटर क्षेत्रफलको हुनेछ।
महाकाली नदीमा बनेको मोटरेबल पुल, ६ लेनको सडक लगायतका पूर्वाधारले सुख्खा बन्दरगाह निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।