दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका कुल-सचिव माधव अधिकारीलाई विद्यार्थीले शुक्रबार आधा घन्टा कार्यकक्षमै थुनेका छन्।
असार १० गते भएको बिएएमएस तेस्रो वर्षको परीक्षाफल प्रकाशित गर्न ढिला भएको विषयलाई लिएर स्वतन्त्र विद्यार्थी युनियनको पदाधिकारीले कुल सचिव अधिकारीलाई शुक्रबार बिहान साढे ११ बजेदेखि १२ बजेसम्म बाहिरबाट ताला लगाई कार्यकक्षमै थुनेका हुन्।
आफूले परीक्षाफल नरोकेको र सल्लाह गरी जति हुन्छ छिटो सार्वजनिक गर्ने प्रतिबद्धता थुनिएको कक्षबाटै अधिकारीले जनाएपछि विद्यार्थीले ताला खोलिदिएका थिए।
त्यसपछि स्ववियुका पदाधिकारी र कुल-सचिव अधिकारीसहितका पदाधिकारीका बीचमा वार्ता भएको थियो। वार्तामा भदौ १५ गतेभित्रै परीक्षाफल प्रकाशित गरिसक्ने सहमति भएको विश्वविद्यालय स्ववियुका सदस्य पारस गिरीले जानकारी दिए।
दुई महिनापछि खुलेको थियो ताला
यो विश्वविद्यालयमा विभिन्न निकायमा विद्यार्थी संगठनहरूले लगाएको ताला दुई महिनापछि मात्रै खोलेका थिए। सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालयमा लगाएको ताला दुई महिनापछि बुधबार बल्ल खुलेको हो। जसले गर्दा विद्यार्थीले समयमै परीक्षा दिनबाट बञ्चित हुनु परेको थियो। परीक्षा दिन भनेर काठमाडौं पुगेका देशभरका विद्यार्थी पनि सोही कारण फर्किनु परेको थियो।
दुई महिनापछि ताला खुलेपछि विश्वविद्यालयका सबै प्रशासनिक काम सुरू भएका थिए। तर, त्यसको तीन दिन बित्न नपाउँदै फेरि कुल सचिव अधिकारीलाई विद्यार्थीले कार्यकक्षमै थुनेका हुन्।
गत बुधबार विश्वविद्यालयले तालाबन्दीबारे निकास निकाल्न सहप्रशासक सुरजकुमार लामाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।
समितिका सदस्यमा सुधिरकुमार पोखरेल, विष्णु दाहाल, कमल पोखरेल र सदस्यसचिव विनयकुमार पोख्रेल थिए। समिति र विद्यार्थी संगठनबीच त्यतिखेर भएको वार्तामा सेवा आयोगको कार्यालय र आयुर्वेद अध्ययन संस्थानसँग सम्बन्धित माग पूरा गर्ने सहमति भएको थियो।
सेवा आयोगका सबै परीक्षा लोक सेवा आयोगलाई सञ्चालन गर्न दिने र यसअघिका परीक्षामा अनियमितता भएको भनिएको विषयमा छानबिन गर्ने जिम्मेवारी विश्वविद्यालयका उपकुलपति यादवप्रकाश लामिछानेलाई दिने निर्णय गरिएको थियो।
आयुर्वेदको पाठ्यक्रम परिमार्जन गर्ने, प्रयोगात्मक परीक्षाको छात्रवृत्ति २०७९ साउनदेखि लागू हुने गरी ५० प्रतिशत वृद्धि गर्ने, परीक्षालाई कोडिङ, डिकोडिङ प्रणालीमार्फत् सञ्चालन गर्न एक अध्ययन समिति गठन गर्ने र पठनपाठन नियमित सञ्चालन गर्ने सहमति पनि भएको थियो।
सेवा आयोगको कार्यालयमा तालाबन्दी भएपछि असार २१ गतेदेखि हुने उपप्राध्यापक र वरिष्ठ प्रशिक्षकको परीक्षाका साथै असार २७ देखि हुने सहप्राध्यापकका परीक्षा स्थगित हुन पुगेका थिए ।
गत वर्ष पनि यिनै विषयमा केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा तालाबन्दी भएकोमा उच्च अदालत तुलसीपुरको आदेशपछि खुलेका थिए।
त्यसपछि वैशाख १९ गतेदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालयस्थित उपकुलपति, कुलसचिव कार्यालयलगायत आर्थिक महाशाखामा नेविसंघले लगाएको ताला साउन २५ मा खुलेको थियो। साउन १८ गतेदेखि अनेरास्ववियुले सेवा आयोगको कार्यालयमा लगाएको ताला साउन २५ मा खुलेको थियो।
विश्वविद्यालयमा नियुक्त सरूवा र बढुवाको विषयमा विद्यार्थी संगठन तथा विभिन्न राजनीतिक दलको भागवण्डका कारण विभिन्न समयमा ताला लगाउने प्रवृति अन्त्य हुन सकेको छैन।