जाजरकोटमा एम्बुलेन्स दुर्घटनामा परी चालकको मृत्यु भएको छ।
दुर्घटनामा परी भेरी नगरपालिका – १ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त शर्माका अनुसार दुर्घटनाबारे प्रहरीलाई बिहान ८ बजेपछि मात्रै सूचना आएको थियो।
दुर्घटना स्थलमा जिल्लाका प्रहरी निरीक्षक हरिराम डाँगीको टोली पुगेको छ।
डिएसपी शर्माका अनुसार भेरी नगरपालिका – १ कोलचौर नजिकै कल्ले बाट मैदेतर्फ जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्ले खोलामा मध्य रातिमा दुर्घटना परेको थियो।
चालक चनारा मात्रै एम्बुलेन्समा सवार थिए। भित्री सडक खण्डमा दुर्घटनामा परेको एम्बुलेन्स सडक खण्डदेखि झन्डै एक सय मिटर मुनी खसेको डिएसपी शर्माले बताए।
एम्बुलेन्स उदय युथ क्लब रुकुम पश्चिमको हो।
डिएसपी शर्माका अनुसार असार तेस्रो सातातिर मात्रै चालक चनारा हप्ता दिन बढी प्रहरी हिरासतमा बसेर सजाय भुक्तान गरी निस्किएका थिए।
असार २२ गते पनि मदिरा सेवन गरि चनाराले चलाएको एम्बुलेन्स नालामा खसेको थियो।
त्यसपछि चनारामा माथि अभद्र ब्यबहार सम्बन्धी मुद्दा चलेको थियो। सोही मुद्दामा उनी एक हप्ता बढी प्रहरी हिरासतमा बसेर निस्किएका थिए।
चालक चनाराको घटनास्थलमै मृत्यु भएको हुँदा उनी कहाँ बाट आउँदै थिए भन्ने अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।